हरिकला उप्रेतीकर्मचारीको मर्म बुझौँ
पुगेन बा पुगेन कर्मचारीलाई तलब पुगेन । कर्मचारी भएर पनि जहिल्यै ब्रह्माचारीको जस्तो विजोगले बस्नु ? जायज कुरामा आवाज उठाउँदा उल्टै लिच्चाराम त किच्चक रहेछ भन्नुहोला । “माथि छोपे तल नाङ्गै, तल छोपेमाथि ह्वाङ्गै” भनेझैँ कर्मचारीको कन्तबिजोग भएको छ ।
सरकारले दिएको भन्या त्यही जाबो जागिर हो । जागिरले जहान छोराछोरीको माग पूरा गर्दै ठिक्क । कर्मचारीलाई त काम सुरु ग¥या दिन र मैना म¥या दिन उस्तै । यसो स्वादले सुरापानको मज्जा लिन पनि सकसै पर्छ । कर्मचारीको मर्म बुझेर केही धर्मात्माले टेबुलमुनिबाट थप कर्म गरे । पापीहरूलाई खपिनसक्नु भएछ क्यार, घुस खाएको दोष लाए । गाँठी कुरो बुझीबुझी बुझ पचाउनेहरू ठाउँमा बसेर कुठाउँमा बकबक गर्छन् । हामी सोझा कर्मचारी झुकीझुकी माग्ने र लुकीलुकी थाप्नेको के हाल होला ?
यो लोकतन्त्रमा सब स्वतन्त्र छन्, कमाउन र रमाउन । ओलाङचुङगोलाका आइते दाइ पाए अर्काको भारी बोक्छन् । नपाए ढाकर र तोक्माको सिरानी लाएर आनन्दले ओडारमा सुत्छन् । टाउकामा नाम्लाको निलडाम डामिए पनि र पाँचसय पाउने ठाउँमा पचास रुपैयाँ मात्र थामिए पनि आइते दाइ आफूलाई भाग्यमानी ठान्छन् ।
उता धनुषाकी धनियाँलाई धन कमाउने धनिरामले सधैँका लागि छोडेर गए । तैपनि धनियाँले ती नाथे छछवटा छोराछोरी छहारीमा बसेर मजाले हुर्काउँछिन् । दिनभरि खोलाकिनारमा गिट्टी कुट्छिन् । बेलुका घानदुएक मकै भुट्छिन् र साउँ भाग लगाएर सन्तानलाई बाँड्छिन् । त्यहाँ कोही बेरोजगार छैनन् पूरापूर नेपाली जनतालाई पुगिसरी आएर हाइसन्चो भएको छ ।
बिचरा कर्मचारीको मात्र बेहाल छ । कामै नभए पनि कहिलेकाहीँ अफिसमा गएर हाजिर गर्नै पर्ने । हाकिमकै कोठामा भए पनि हातको तास भुईंमा राखेर सकिनसकी सही गर्नै पर्ने । “सरकारको काम कहिले जाला घाम” भनेझैँ दिनहरू बिताउनुपर्छ । यस्तो कष्टसँग कमाएको तलब थाप्न पनि महिना दिनसम्म दिन गनीगनी पर्खनुपर्छ । कर्मचारीको त फेरि कहिले बर्थडे, व्रतबन्ध, बिहा, पास्नी र भोजभतेरजस्ता परिपरिका कार्जेहरू परिरहन्छन् । सामाजिक कार्यमा सामेल भई समाजमा मानसम्मान र प्रतिष्ठा पनि पाउनैप¥यो । त्यसैले कर्मचारीलाई तलब कति पनि पुगेन लौ न ! वर्षैपिच्छे बजेट प्रस्तुत हुँदा सय प्रतिशत मात्र भए पनि कर्मचारीलाई तलबचाहिँ थप्नुप¥यो ।
कर्मचारीले यसो पुगनपुग, हुनेनहुने काम गरेर कमाउँदैमा खरदारको जागिर ख¥याकखुरुक र सुब्बाको सम्पति स्वाहा हुनुहुँदैन । यसरी सुटुक्क खाने र ख्वाउने कर्मचारीलाई तिरस्कार हैन नमस्कार गरौँ । यो त भ्रष्टाचार हैन, शिष्टाचार हो । त्यसैले यस्ता नेता हुन् या मन्त्री, कर्मचारी हुन् या सर्मचारी हुन् सबैको सदा जयजयकार गरौँ । सबैलाई सदा नमस्कार गरौँ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































