वासुदेव पाण्डेययो देश मेरो भनूँ
भत्कायो घर बस्दछौँ सडकमा आकाश छानो भयो
हाम्रा लागि विशाल देश किन हो अत्यन्त सानो भयो ।
आफैं पीडित पङ्गुु राज्य बबुरो के आशवादी बनूँ
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?
पर्दा सङ्कट मात्र राहत जुटी थन्केछ गोदाममा
गिद्धे दृष्टि लगाउँछन् कति यहाँ उद्धारका नाममा ।
कैलेसम्म बसिन्छ यो सडकमा भाँचेर औँला गनूँ
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?
केही ढुक्क म देख्छु मानिसहरू जो बस्दछन् पालमा
जो बस्छन् घरभित्र पीडित बढी देख्दैछु नेपालमा ।
बन्दैछन् घर झन् धराप सबका छौँ शान्त के आत्तिनु
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?
साँच्चै भन्दछु भोक, प्यास, डरले आक्रान्त छन् पीडित
गर्छन् सुन्दछु पक्षपात कतिले यो हैन न्यायोचित ।
छन् आफन्त कता न क्यै खबर भो सम्झेर मात्रै रुनु
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?
हाम्रो आग्रह यो छ राहत मिलोस् जो छन् बडो मारमा
मौकाको उपयोग होस् सब मिली कोही नहोस् भारमा ।
साँच्चै पीडित छन् उपेक्षित उता दोकान थापे अनु
नेता पाल लुटेर लान्छ कसरी यो देश मेरो भनूँ ?
त्रिपालभित्रको नेपालबाट
Subscribe
Login
0 Comments
Oldest






































