विमल निभासरकारलाई राहत
नेपालमा आएको महाभूकम्पको स्वाभाविक परिणामस्वरुप जे पनि बेसरी हल्लियो । मेरो भन्नु के भने गाउँ, सहर, घर, खेत, चोक, मन्दिर, पाटी, पौवा, रुखपात, सडक, खम्बा, गहली, फुटपाथ, पुल, पहाड, गजुर, पर्खाल, गाडी, सालिक, तराई, गोठ, गोरेटो, उपत्यका, पसल, चउर, पशु, जंगल, हिमाल, पर्वत, ढुङ्गा, माटो, मानिस इत्यादि। संक्षेपमा पुरै मुलुक नै । तर एकथोक भने हल्लिँदै–हल्लिएन । र त्यो हो, वर्तमान नेपाल सरकार। के यो अपत्यारिलो छैन र ? मलाई त यतातिरको सबभन्दा ठूलो अद्भूत किन्तु सत्यं लागिरहेको छ । वि.सं. २०७२ साल वैशाख महिना १२ गतेका दिन ठिक्क ११ बजेर ५८ मिनेटको क्षणांशमा आएको ७.९ रेक्टरको महाभूकम्प पश्चात नेपाल सरकारको उपल्लो दर्जाको कर्मचारी याने मुख्य सचिव श्रीमान् लीलामणि पौडेल अलिकति हल्लिएको जस्तो लागेको थियो । यसको सशक्त प्रमाण उनीद्वारा तत्कालै प्रेषित वक्तव्य हो । तर सोको मजबुनमा सरसर्ती आँखा डुलाएपछि एकाएक मेरो भ्रमको निवारण भयो । यही सन्दर्भमा महाभूकम्प पीडितहरूलाई नेपाल सरकारले तुरुन्तातुरुन्तै पुर्याउनुपर्ने राहत उद्धारको अनुपस्थितिलाई लक्ष्यित गर्दै मुख्य सचिव पौडेल उवाच– ‘नेपाल सरकारको तर्फबाट राहत आदिको सम्पूर्ण बन्दोबस्त गर्नुपर्ने सरकारी व्यक्तिहरू नै भूकम्पका कारण यताउता लाखापाखा लागेकाले राहत–साहत पुर्याउन नसकिएको हो ।’ लगभग यही शैलीको मुख्य सचिवीय अभिव्यक्तिले नेपाल सरकार विलकुलै नहल्लिएको शत–प्रतिशत प्रमाणित गर्छ । यसको एकमात्र अर्थ के हो भने यो एक स्थिर सरकार हो । यसलाई न्युनतम् रूपले पनि हल्लाउने पिताम कुनै पनि प्राकृतिक अथवा अप्राकृतिक विपत्ति—सिपत्तिको छैन । चाहे त्यो महाभूकम्प नै किन नहोस् !
हो, हालका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारको यस्तो कठोर स्थिरताको फलस्वरुप नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओली भने जरुरै जोडतोडले हल्लिएको हुनुपर्छ । स्मरण रहोस्, यो नेपाली कांग्रेस पार्टी तथा नेकपा एमालेको संयुक्त सरकार हो । एउटा सबैमा खुला भइसकेको दुई ठूला पार्टी कांग्रेस र एमाले बीचको गोप्य सहमति बमोजिम प्रधानमन्त्री कोइराला पश्चात कमरेड ओलीको मुलुकको प्रधानमन्त्री हुने पालो थियो । तर महाभूकम्पको कडा प्रहारले पनि नहल्लिएर बज्रसरह भइसकेको ताजा सरकारी स्थिरताले हत्तपत्त यो सम्भव हुने देखिएन । त्यसकारण पनि यो सरकार अर्ध हल्लिएको भने हो । अर्थात् यो सरकारको आधा भाग नेकपा एमाले आफ्नो प्रधान नेता कमरेड खड्गप्रसाद शर्मा ओलीसहित शनै शनै हल्लिनुले यसलाई पुष्टि गर्दैन र ? तर यो अहिलेका निम्ति चर्चा अयोग्य नितान्त बेग्लै विषय प्रसङ्ग भएकाले म पुन महाभूकम्पतर्फ नै एकोहोरिन्छु ।
नेपाल सरकार राहतर उद्धारस्वरुप कुनै खास तत्परता प्रदर्शन गर्न नसकेकोले भूकम्पपीडित नेपाली जनताले आआफ्नै व्यक्तिगत पहलमा महाभूकम्पसँग सामना गर्ने भरमग्दुर प्रयत्न गरे । यही सिलसिलामा गोरखादेखि राजधानी काठमाडौंसम्मका आमा, बा, दाजु, भाइ, दिदी, बहिनी आदिले खुला स्थानमा एक–एकवटा पाल तानेर घरडेरा बाहिर भयावह त्रासदीका गह्रुंगा दिनरात बिताए । यसमा सहभागी हुनेहरूमध्ये एकजना म पनि हुँ । झन्डै ध्वस्त घर पर्खाल अगाडिको घाँसे जमिनमा पालमुनि तीन–तीन रात बिताएपछि मलाई के आत्मबोध भयो भने ८–९ रेक्टरको महाभूकम्पको बलशाली झड्काले नेपालको ‘ने’लाई उछिट्याएर फगत ‘पाल’मा परिणत गरेको छ । तसर्थ नेपाली जनता तल पालमा सीमित भएको वेदनामय स्थिति थियो भने मास्तिर संयुक्त राष्ट्र संघसहित भारत, चीन, श्रीलंका, बंगलादेश, भुटान, पाकिस्तान, जापान, जर्मनी, फ्रान्स, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, फिनल्यान्ड, डेनमार्क, नर्वे, स्वीडेन आदि मुलुकबाट उदारतापूर्वक सरसहयोगमा आएका पाल आदि टाइपका राहत र उद्धारका सामग्रीहरू नेपाल सरकारको उच्चतम् लायकी वा यथार्थमा नालायकीले गर्दा विमानमै थन्किएका थिए । वस्तुत नेपाली जनता माथि–माथि आकाशमा कावा खाइरहेका स्वदेशी—विदेशी हवाइजहाजहरू अवलोकन गरेर यो चिन्तन–मनन गर्न अभिशप्त थिए– हामी अढाई करोड नेपालीजन भूकम्प पीडित हौं या आकाशकम्प पीडित ? यही सामूहिक सोचमा आफ्नो एकथान फनफनी घुमिरहेको गोलो टाउको जोडेर म पनि सामेल थिएँ। यस्तोमा अरु के गर्न सकिन्छ त ?
अन्त्यमा,
नेपाल सरकारले राहत उद्धार आदिको अग्रसरता लिँदैन भनी आशा एवं विश्वास गर्नु हामी भूकम्प पीडितहरूका अविवेकीपनको उत्कर्ष हो । किनभने क्षयग्रस्त, भग्न र सुस्त देखिएको कमजोर सरकारलाई नै दुखी अनि पीडित नेपाली जनताले राहत र उद्धार पुर्याउनुपर्ने अभूतपूर्व परिस्थितिको हठात् सिर्जना भएको छ, अहिले ।
कान्तिपुर दैनिक
Subscribe
Login
0 Comments
Oldest








































