साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खिचडी बैङ्क

Nepal Telecom ad

बैङ्क अर्थात ढुकुटी । यो ससारमा मरीमरी जम्मा गरेका थरीथरीका ढुकुटी र कोष छन । विश्व कोश पल्टाऔँ या शब्दकोशमा खोतलौँ, बैङ्कका लस्कर भेटिन्छन् । जस्तो कि नोट बैङ्क, ब्लड बैङ्क, प्रश्न बैङ्क, शब्द बैङ्क, कलर बैङ्कÞ …। तर यो भन्दा भिन्न र अनौठो बैक, बैङ्कको पनि बैङ्क, ससारकै बैङ्क भनौँ या ब्रम्हाण्ड बैङ्क । धेरै चीजलाई मिसमास पारेर बनेको, स्वस्र्फूत बैङ्क अर्थात खिचडी वैङ्क । शरीरको टुप्पामा, घाँटीमाथि हल्लिने । बडो शानदार कहल्लिने, एकातिर मासुले लपेटिएको, अर्कोतिर प्वालैप्वालले खोपल्टिएको, रौँ नै रौँले छाइएको, हाडे खप्परले सजाइएको, वैङ्क नै खिचडी बैङ्क हो ।

गजबको छ यो अग्लो खोपल्टिएको डल्ले बैङ्क । चेतन पनि त्यहीँ छ, अवचेतन पनि त्यहीँ छ, होश पनि छ, बेहोश पनि छ, सपना पनि छ, विपना पनि छ, कल्पना पनि छ, जपना पनि छ । तर के छ, के छ ? त्यो आफैमा हराइरहेछ । बेजोडको साहस र शक्तिले ओतप्रोत छ, तर मौन रुपमा चिच्याइरहेछ । न चिच्याओस् पनि किन र ? हिजो जस्तो खरानी र भुसको मिलनले रगडेर टल्ल टल्किने काँसका भाडाँजस्ता झल्कने उज्याला सोचहरू छैनन् अब । सग्ला र बेग्लै रसिला चावल जस्ता विचारहरू पलाउँदैनन् अब । तर्ल्याङ न तुर्लुङ, यता न उता झुण्डिएका, सिङ न पुच्छरका, छेउ न टुप्पाका, अगेनाको वरिपरि भारमुनि टङ्गिएको मोसो जस्तै टङ्गिरहेछन् मुस्लोमय विचारहरू ! फोहर फाल्ने रद्दीको टोकरी जस्तो जेतेमेतेले छर छिट्यान भएको छ यसभरी । वाकवाकी र प्याकप्याकी लाग्ने लाखौँ पदार्थ मिसिएर किच्चिएर खिचडी बनेको छ यो खप्पर ।

र्याले, सिगाने देखिको जुम्रे र धुले जोवनबाटै खोतलौँ त । वरिपरिको बाहिरी आवरणको तहैतहले घर्लप्प छोपेको छ । अरवौ सूक्ष्म तानावाना छन् त्यहाँ । खरबौँ न्युरोन र डेन्डाइट्सले विचारको बिस्फाृट गरी रहेको छ । दिसा पिसाव पनि त्यहीँ छ, भोकको वर्षा पनि त्यहीँ छ, नाङ्गो भुतुङ्गो पनि त्यहीँ छ, फेसनको रन्को पनि त्यहीँ, खुट्टामा ठेस लागेको कुरा देखि, भयङ्कर केस लागेको कुरा त्यहीँ अड्किरहेछ । पल्ला घरकी पातली पोइल गएको कुरादेखि आमुल परिवर्तन र काल्पनिक क्रान्तिका कुरा पनि त्यहीँ छ, मान्छेले चन्द्रमा चाखी मङ्गल ताकी सकेको कुरा पनि त्यहीँ, जङ्गली अवस्थामा ओडारभित्र बसेको कुरा पनि त्यहीँ, रुढीवादी मान्यता पनि त्यहीँ, नयाँ, नयाँ अन्बेषण र खोज नीति पनि त्यहीँ, भर्खरको भु्रणदेखि बृद्ध हुँदै लाशसम्म त्यहीँ, महिला पनि त्यहीँ, पुरुष पनि त्यहीँ, रिसको प्रवाहदेखि बुद्धिको फड्कोसम्म, सगरमाथाको चुच्चोदेखि केचनाकलनको होचो तहसम्म या सहारा मरुभूमिदेखि चेरापुन्जीसम्म त्यहीँ गिदीमा गजगज गरिरहेछ । जुम्राको टोकाईदेखि साम्राज्यवादी भोगाइसम्म, साथीसँग लिएको सापटदेखि विद्यार्थीलाई दिएको झापटसम्म त्यही गिदीमा बास बसिरहेछ ।

प्रकृतिमा आउने भीषण बाढी मात्र होइन, प्रतिघण्टा तीन सय माइलको गतिले आउने लाइनी कुराको आँधी पनि छ । हत्या, आतङ्क, भय, त्रास, अशान्ति मात्र होइन दया, माया, प्रेम, शान्तिको वास पनि त्यही छ । धैर्यता, नैतिकता, विनम्रताको ओइरो मात्र होइन, भ्रष्ट, अनैतिक, पाखण्डी, दुर्जनहरूको घुँइचो पनि त्यहीँ छ । हजारौँ हजार नेपालीको हत्याको तस्वीर पनि त्यहीँ, सयौँ घाइते र अपाङ्गहरूको व्यथा पनि त्यहीँ, साम्यवादी दर्शनदेखि पूँजिवादी घर्षणसँम्म भनौँ या प्रजातन्त्रको लावादेखि गणतन्त्रको हावासम्मको वास छ । यसरी अमृत पनि त्यहीँ छ, विष पनि त्यहीँ छ, बुद्ध पनि त्यहीँ, हिटलर पनि त्यहीँ, गान्धी पनि त्यहीँ, इदी अमिन पनि त्यहीँ, चम्किला तारा पनि त्यहीँ, राक्षसका दाह्रा पनि त्यहीँ, स्वर्ग पनि त्यहीँ, नरक पनि त्यहीँ, ब्रह्माण्ड खिचडी बैङ्कको साइनबोर्ड झुन्डाए पनि फरक नपर्ने यो टाउको बाउको भन्दा पनि धेरै गहुँगो भैसकेको छ ।

हिन्दीमा ‘पैसा फेँक तमासा देख’ भने जस्तो अरबौँ अरब मूल्य परेका बडो भव्य र सभ्य भवनमा भेला भएका सयौँ जोक्कर टाउकाहरू पनि यही खिचडी बैङ्कमा आएर ठोक्किरहेछन् । केही त हुन्छ कि भन्दा भन्दै हरेक व्यवस्थाहरू फोहरको डुङ्गुुरमा परिर्वतन भए जस्तै यसमा पनि चाहिने चीजको थुप्रोभन्दा पनि नचाहिने दुर्गन्धको भयङ्कर पहाड छ । बेहाल व्यवस्थामा अस्तव्यस्त छ यो तालु खुइले खपट्टो ! साँच्चै, यो खिचडी बैङ्क कहिले काम लाग्ने होला हगि ? अस्तु ।
प्युठान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
0
Would love your thoughts, please comment.x
()
x