छोराको बिहे
छत्तिस वसन्त काटेको छोरो
बिक्ने जनशक्ति हो,
हेर्दा लायक, लक्का र जवान छ
पुरुष पनि हो ।
विवाहका लागि मसँग सम्पति पनि छ
घरव्यवहार मिलेकै छ
नाताकुटुम्ब पनि बाक्लै छन्
कन्या नदिएका पनि हैन
तर,
छोरो एकल छ
बाबुको मन न हो
कहिले सोच्छु तेस्रो लिङ्गि त हैन
कहिले काहिँ त निद्रा लाग्दैन
कहिले सोध्छु तेरो लभ परेन ?
चिन्ताले हर्काछु, बिहे गर्दैनस्
ऊ भन्छ बा, सुकन्या खै ?
सारा डुली सक्यौं,
सबैलाई सोधिसक्यौं
दर्जनौ देखाइसक्यौं
अहँ कसैलाई मन पराउँदैन
किन भनेर सोध्यो
उसको जबाफ छ, बा सुकन्या चाहियो ।
कस्ती भन्दा ऊ भन्छ,
फेसबुक नचलाउने,
मोवाइल प्रयोग नगर्ने
व्याइफ्रेन्डसँग डेटिङ्ग नगएकी
कसैलाई धोका नदिएकी
कपाल नकाटेकी, आँखी भौं नखुर्केकी
बैंसमा छाडा नभएकी,
साडीचोलो लगाउने,
बजार नगएकी
सकेसम्म गोठालो नगएकी
सादा, इमान्दार, विवेकी
सके बत्तीस लक्षणले युक्त
सुकन्या पो भन्छ
म भन्छु,
छोरा त्यो त असम्भव
ऊ भन्छ, बिहे गरिदिन नसक्ने कस्ता बा ।
मलाई मरुभूमीमा पानी खोज्न सजिलो छ,
बरु औंसीको रातमा जून भेटिएला
पौराणिक अप्सराको दर्शन पाइएला
मैले योग्य बुहारी पाइन
बल्ल एक कन्या मिलेको थ्यो
उसलाई पनि कोेक्रामा सुताउँदा नै
कुकुरले चाटेको पो अरे ।
अव कसरी प्राप्त गरुँ
चोखो, पवित्र सुकन्या
बरु छोरा अब तँ नागै बस ।
रामेछाप