मनोज गजुरेलगीता सार होइन हरि सार
हे । हरी ! किन व्यर्थ चिन्ता गर्छौं ? व्यर्थै कोसँग डराउँछौ ? कसले तिम्रो सेखी झार्न सक्छ ?
कसले तिमीलाई मार्न सक्छ ? मन्त्रीको न नाम हुन्छ, न बदनाम ! नेताको न जन्म हुन्छ, न मृत्यु !
असार १५ मनायौं, राम्रो भयो । कात्तिक १५ गन्हायौ, झन् राम्रो भयो । समाचारको खण्डन गर्यौ, उत्तम भयो । व्यवहारको मुण्डन गर्यौ, सर्वोत्तम भयो । राजीनामा दियौ, पुरुषोत्तम भयो । बदनाम हुनेछ, त्यो पनि बहुत राम्रो हुनेछ !
हे हरि ! तिमी पदको चिन्ता नगर । प्रतिष्ठाको ख्याल नराख । घरका जन्ती बिर्सिदेऊ । घाटका मलामी भुली देऊ । मन्त्रालय खुस्किए पनि, नेतृत्वमा रही रहनेछौ । रामकुमारीहरू उफ्रिए पनि, पार्टी सदस्य भै रहनेछौ । व्यर्थै किन चिन्ता गर्छौ !
हे हरि ! किन रुन्छौ घरी–घरी ? किन हाँस्छौ डल्लो परी ? पिताको अंश गुमाएको हो र, रुनलाई ? पत्नीको प्रेमी मरेको हो र, हाँस्नलाई ? प्रेमिकाको पति परदेसिएको हो र, दङ्ग पर्नलाई ? न तिमीले धर्मको फलस्वरूप मन्त्री पद लिएका हौ, न कर्मको फल स्वरूप राजीनामा दिएका हौ । जे भयौ पार्टीको कारणले भयौ । जहाँ गयौ, पार्टीकै कारणले गयौ । जे लियौं, नेताबाट नै लियौ । जे दियौ, उसैलाई दियौ । परेको उनीहरूले बेहोर्छन्, तिमी आफ्नो इज्जत जोगाऊ । व्यर्थै किन चिन्ता गर्छौ ?
हे हरि ! किन थाप्लो ठोक्छौ मरी मरी ? किन तर्सिन्छौ झसङ्ग गरी ? झन्डा हल्लाउँदै आयौ, अँगालो मार्दै गयौ । खैनी मोल्दै बढ्यौ, बैनी ठेल्दै लड्यौ । पत्रकार, न आफ्नो हुन्छ, न अर्काको, सबैभन्दा खतरा हुन्छ, मान्छेलाई पर्खाको । जो हिजो तिम्रो गुटमा थियो, आज अर्कैको क्याम्पमा हुन्छ ।
आज आफ्नो ठानेको कार्यकर्ता, भोलि सेरोफेरो घुमेको हुन्छ । तिमी सबैलाई गुटको क्याडर मानेर, जिब्रो निकालेर पोज दिँदै दङ्ग पर्छौं । बस्, यही भ्रमशून्यता तिम्रो गोलखाडीको कारण हो ।
हे हरि ! परिवर्तन सरकारको नियम हो । जेलाई तिमी सम्पत्ति मान्छौं, सबैभन्दा ठूलो कमजोरी त्यही हो । जेमा तिमी बल देख्छौ, सबैभन्दा ठूलो छल त्यसैमा छ । सम्पत्तिको मात लागेपछि मान्छेको जातले दिउँसै रात पार्छ । शक्तिको सनक चढेपछि, ख्याल–ख्यालमा पनि बात लाग्छ ।
हे हरि ! एकछिन अघि तिमी करोडौंका स्वामी हुन्छौ । तुरुन्तै तिमी मगन्ते, गरिब, कंगाल र स्वाहा हुनेछौ । एक क्षण अघि मगमग बास्ना आउने तिम्रो शरीर क्षणभरमै ठ्वास्सै गन्हाउने ढलझैं हुन पुग्छ । त्यही त जीवन हो ।
हे हरि ! मेरो, तेरो, वामदेवको, ओलीको, सुशीलको, प्रचण्डको, पहाडको, मधेसको आदि इत्यादि कुराहरू मनबाट हटाइदेऊ । मस्तिष्कबाट उडाइ देऊ । त्यसपछि, पक्ष पनि तिम्रो बन्नेछ, विपक्ष पनि तिम्रै हुनेछ । सत्ता पनि तिम्रो बन्नेछ, सडक पनि तिम्रै रहनेछ ।
हे हरि ! न यो पार्टी तिम्रो हो, न तिमी यो पार्टीका हौ । न तिमी यो गुटमा छौ, न यही गुटमा रहन्छौ । यो त साली, श्रीमती, सत्ता, शक्ति र सम्पत्तिले बनेको हो । सरकार, सत्ता, सम्पत्ति सबै चलायमान छन् । यसैले बनाउँछ, यसैले बिगार्छ । परन्तु, नेतात्मा स्थिर छ र रहन्छ ।
हे हरि ! तिमी आफूले आफूलाई शीर्षथ नेतामा अर्पित गर । यही सर्वोत्तम सहारा हो । जो नेतादेवको सहारालाई जान्दछ, ऊ पदच्युत, सत्ताच्युत, इज्जतच्युतताबाट सधैं सुरक्षित हुन्छ । सत्ता, सम्पत्ति र ऐस–आरामको समस्याबाट मुक्त रहन्छ । तिमी राम्रा नराम्रा जे–जे काम गर्छौ, ती सबै शीर्ष नेतामा अर्पण गर्दै हिँड । यसो गर्नाले सधैं–सधैं सत्तानन्दको सुमधुर अनुभव गर्न सकिन्छ । हरि ओम् तत्सत् !
साप्ताहिक
Subscribe
Login
0 Comments
Oldest










































