नारायण आचार्यअब्बै ! भ्रष्टहजार
शीर्षक देख्नासाथ नजर तिरमिराउन सक्छन् । मेरो नाम पनि भ्रष्टको लिष्टमा छरपस्ट त भएन भनेर उकुसमुकुस हुँदै ठुस्स पर्नु होला नि ! तर नआत्तिनुस् महोदय । बरु अलिकति मनमा खुलदुलीले लपक्क लिपिदिनुस् र नील नदीमा पौडी खेल्दा डुबुल्की मारे झैं नआत्तिएर दिमागको पखेटाहरू फट्फटाउँदै र घोत्लिदै खोतल्नुस् त के होला यसको अर्थ भनेर ! भो–भो त्यत्ति अस्पष्ट भएर बहुत कष्ट गर्नु पर्दैन, नोकरीको क्रममा पर्स र टोकरीमा लुकाएर ल्याएको मालले चमत्कारिक ताल त देखाएका छैनन् ? के कतै माकुरी जालले बेरिएका फुसका छाप्राहरू बडेमानको बैगले विल्डिङमा बदलिएका त छैनन् ? तपार्इंको मनको कुना कन्दरामा कन्चटै तात्तिने गरी झल्याँस्स ठोकिन पुग्छ यो शब्द !
कुरो त बुझ्नु भयो नि होइन ? सदाचारको उल्टो अर्थात् भ्रष्टाचार ! भ्रष्टाचार अब चारमा मात्र सिमीत भएन, यसरी तीब्रतर रुपमा बढ्यो भ्रष्ट पाँच, भ्रष्ट छ, भ्रष्ट दश, भ्रष्ट सय भने पनि कम हुने भो । दुगुना, तीन गुना, चौगुना भ्रष्टाचार भने पनि थोरै हुने भो । त्यसैले त्यसको सट्टा आरनेकहाँ गएर पिटपाट पारी च्याट्ट नयाँ शब्द जन्माउन खोजेको क्या ! मतलव शब्द भण्डारको थुप्रोबाट खोतल खातल पारी वरको पर सारी स्वाट्ट झिकेको होइन । बरु जनजिब्रोबाट ट्याप्प टिपेर ल्याको कुनै अड्डेसो नलाएर । भ्रष्टाचार शब्द अब रद्दीको टोकरीमा कोचारी दिए हुन्छ । यस्तै गतिमा भ्रष्टाचारको विकास हुँदै जाने हो भने यो चार मात्र सिमित रहेन । हजारौँ गुनाले भ्रष्टाचार बढी रहेको छ त्यसैले अब भष्टहजार भने पनि फरक पर्दैन ! किनकि हाम्रो समाज त्यस्तो समाज हो, जहाँ भ्रष्टाचारीको प्रसंसा हुन्छ, मान–सम्मान हुन्छ, घुस खानुमा रौनकता हुन्छ, भ्रष्टाचार गर्नुमा महानता हुन्छ । यो कुरा मलाई मात्र होइन, तपाईलाई पनि थाहा छ, तपाईलाई मात्र होइन उसलाई पनि थाहा छ, उसलाई मात्र होइन तिनीहरूलाई पनि थाहा छ, तिनीहरूलाई मात्र होइन तँ, तिमी र हजुरहरूलाई पनि थाहा छ, अर्थात् होस हुनेहरूलाई पनि थाहा छ बेहोस हुनेहरूलाई पनि थाहा छ । तर तैं चूप मै चूप !
हामी वरिष्ठ मनुष्यहरू दिनरात चढाइ रहेछौं भ्रष्टहजारहरूलाई फूल, माला, अक्षता र धूप ! हामी हरेक भेटमा उसलाई फुर्काउँदै भन्छौं– “तैंले त मजासँग क्या कमाइस् यार ! बधाइ छ । म त भएँ हरित्तन्नम् जख्खम् अर्थात चिलिम च्वाँट !” हो त नि, एउटा भन्सारको भ्रष्ट तल्लो तहको कर्मचारीको घरमा पचास हजार पर्ने खेलौना गुहे बच्चाले खेलाइरहेको हुन्छ, जसका थाल र चम्चाहरू स्वर्ण लेपन गरिएका हुन्छन्, जसका बाल्टिन, गाग्रो र ताउलाहरू चाँदीका हुन्छन्, मार्बलै मार्बलले झल्किने उसको अत्याधुनिक मोडेलको बिल्डिङ र अत्याधुनिक कार ग्यारेजमा टलटल टल्की रहेको हुन्छ, श्रीमतीका शृङ्गार स्वर्णकारकै नाटकीय पसल जस्तो तर उसको मासिक तलव मुस्किलले पन्ध्र हजार ! ल भन्नुस्, आफै गम्नुस् यो भ्रष्टाचार हो कि भ्रष्टहजार ? जसको तलवले एक सानो परिवारलाई हातमुख जोड्न धौ–धौ हुन्छ उसको यस्तो रौनक ! अझ उपल्लो स्तरका भ्रष्ट तालुखुइलेहरूको कमाल कमाई कति होला ?
त्यस्तै माल कुमारले भन्छ “मालमा गए त मालामाल भइन्थ्यो, नापीमा गए झन कमाल, हुन्थ्यो, भन्सारमा जान पाए त झन् गाँठका बिटा त सिठा झै थुप्रिन्थ्यो, कर अफिसमा त झन पैसापैसाको घर बनाए पनि पुग्थ्यो, जो नखाने भन्छ भने त्यो त हो अकालको काल ।” यसरी छाती फुलाई हिँड््नेहरूको रवाफ देख्दा भ्रष्टाचारले दुनियाँलाई अचार बनाइ सकेको छ । त्यस्तै हन्त कुमारले भन्छ “मान्छेले करोडौ खान्छन; हजारौँ लाखौँ खाँदैमा के फरक पर्छ र ? जस्तो पर्ला त्यस्तै टर्ला आफूले त मजाले खाइन्छ ।” त्यस्तै अर्कोले भन्छ– यो किन्दा कति खाइस् ? अझ अर्कोले भन्छ– त्यो किन्दा कति जिप्टाइस् ? जतिखेर पनि खानेकुरै छ, जतिखेर पनि भ्रष्टाचार र दुरुपयोगकै कुरा छ ।
बहुदलको फलमा पल्केका यी धूर्त छुट्टु स्यालको चुहिरहेछ र्याल अविरल ! नेतृत्वको धाकमा रम्नेहरूको चालले अघि बढेका यी पैसाका कालहरू गणतन्त्र कालमा झन कति फुल्लान्, कति फल्लान् ! जहाँ, जहाँ भ्रष्टाचारका केन्द्रहरू छन् त्यहाँ त्यहाँ पैसा सुकाउने गोप्य मान्द्राहरू छन्, जहाँ धन्सार छ, जहाँ भन्सार छ त्यहाँ पैसाको संसार छ भन्दै भुस खाने, जुस खाने, घुस खानेदेखि मोटर गाडी र हवाइजहाज खाने हन्तकालीहरूको तँछाडमछाड छ ।
साच्चै ! मुखमा त नैतिकताका कुराले छयाल्लब्याल्ल होला । कोठाभरी सदाचारी किताबको थुप्रो त होला, सर्टिफिकेटको चाङले बाकसको ढकनीलाई उचालेको त होला, आफूलाई विद्वान् र डिग्रीधारीको भव्य फुर्को हल्लाउँदै बडो सुर्कै ओगट्ने गरी गजधम्म बसेको होला तर विचार टाउकोबाट होइन, खप्परबाट होइन, गिदीबाट होइन, छलफल तर्क बितर्कबाट होइन, चिन्तन मनन र गहन अध्ययनबाट होइन, विचार त यहाँ गजबले पलाइरहेछ अवैध पैसाबाट ! कामचोर, घुसखोर, भ्रष्टाचार, तस्कर, कालोबजारबाट ! ब्ल्याक लेबल, रेड लेबल, भर्जिन र चेप्टेबाट । सपेटो, सुकुमारी र सुकुटीबाट ! अझ भित्र, भित्र खोतल्नुस् क्यासिनो विचारले बेला न कुबेला मन्त्रालयमै बिन्ती गर्दैछ बाउन्न पत्तीको जन्तिबाट ! कार्यालय, विद्यालय, विश्व विद्यालय सव भष्टाचारको शिकार । के शिक्षाले यही सिकायो, भ्रष्टाचार ! चौतर्फी भ्रष्टाचार ! के यही हो हाम्रो संस्कृति र परम्परा ? के यही हो दूधमुखेहरूलाई दिने शिक्षा र सभ्यता ? परिवर्तन भनेर कच्चा चुँडिने डोरी समाएर सच्चा र पक्का हुनसक्छ र ? मतलब चाकडी, चाप्लुसी र खुसामदको मन्त्र साँधेर क्षणभरमै हामी चन्द्रलोकका नाइकेमा रुपान्तरित हुन सक्छौं ? कहिलेसम्म चिल्ला सर्टिफिकेटलाई भ्रष्टाचारले लेपन गरेर विदेशी बोतलमा मुख चोप्दै करेन्ट लागेझैं झननऽऽऽऽ झन्किन्छौँ ? कहिलेसम्म कालो पैसाको माला उनेर हवाइजहाजका पंखाझैं फन्किन्छौँ ? कहिलेसम्म र्याङको ठ्याङ त्यही ड्याङमा झोल्ट्याङ–झोल्ट्याङ गर्दै गुडुल्किन्छौँ ? अनि हामी आफूलाई ठान्छौं भयङ्कर ठूला परिपक्व र शानदार ! आखिर ठूलो को ? खप्पर कि गिदी ? भुँडी कि लिदी ? सुन कि साहु ? छोरो कि बाउ ? शिक्षक कि विद्यार्थी ? जनता कि शासक ? खानेवाला कि बनाउनेवाला ? नोकर कि नोकरी ? रक्सीको भट्टी कि रक्सीबाजहरू ? टपरी कि भतेर ? स्पष्ट छ । कोही छैन ठूलो, भष्टाचारी नै सवभन्दा स्वघोषित ठूला !
सायद त्यही ठूला भएर होला चीनमा भ्रष्टचारीहरूलाई सार्वजनिक स्थलमा पुत्ला झैं झुण्ड्याएर अभिनन्दन गरिन्छ, भारत र अमेरिकामा अचल अन्धकार गोलघरमा वर्षौंबर्ष सम्म सजाएर भव्यरुपले मानसम्मान दिइन्छ भने नेपालमा त खेती न बारी नौ मुरी तोरी गराउने भ्रष्टाचारी भन्दा ठूला कोही रहेनन् । लौ हेर्नुस् न, यहाँका भ्रष्टाचारीहरू ज्यूँको त्यूँ घिउ खाएर अझ बलिया, दुरुस्त र चिप्लाचाप्ला जिउ बनाएका छन् । अब नयाँ भ्रष्टाचारीहरू झन हाम्रै नजर वरिपरि फनफनी रिङी रहेछन । नाता, कृपा, सोर्स, फोर्समा ससार टपेका यी चल्तापूर्जा भ्रष्टाचारीहरूलाई, सुनपानी छर्केर शुद्ध भएको स्वाङ रचेर टाङमुनि लुकाउन खोजियो भने कहाँनिर कति ठूलो भ्वाङ पर्नेछ त्यो त नयाँ नेपालमा चपाइने किसमिस, सुकमेल र ल्वाङले नै छर्लङ्ग पार्नेछ । अस्तु !
रोल्पा
Subscribe
Login
0 Comments
Oldest







































