ढल्यो धरहरा
भीमसेन थापाले सुनधारामा
उभ्याएको दिनदेखि
उभिंदा उभिंदा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा …. १
सम्विधानको पूmल फुल्ला अनि
धानका वाला झुल्ला भनी
पर्खिदा पर्खिदा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा …. २
हिउँदमा नेताको बरबर र
वर्खामा भ्यागुताको टरटर
नेता र भ्यागुताको झर्कोलाग्दो स्वर
सुन्दा सुन्दा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा …….३
शहरलाई हराभरा पार
हराभरा पारेर
शहरलाई रहरलाग्दो पार
हराभरा, हराभरा
भन्दा भन्दा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा ……४
शुभ लगनमा नयाँ बेहुली भित्र्याएझैं
शुभ लगनमा नयाँ नेपाल भित्र्याउने शुभ दिन
कैले आउला भनी
गन्दा गन्दा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा ……. ५
भीमसेन थापाले सुनधारामा
उभ्याएको दिनदेखि
उभिदा उभिदा थाकेर
गल्यो धरहरा
भित्रभित्रै पाकेर
ढल्यो धरहरा ……६
अभिव्यक्ति अङ्रक १७८