साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईँ कुन खालको ज्वाइँ ?

Nepal Telecom ad

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्। यिनलाई मैले भलाद्‍मी ज्वाइँ भन्ने गरेको छु। तपाईँले जेसुकै भने पनि फरक पर्दैन। मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन। जसले जे भने पनि तर यी ज्वाइँहरु मेरा नजरमा भलाद्‍मी ज्वाइँ हुन्। यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको। हुन्छ भने निजकै इज्जतको ख्याल हुन्छ। यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने। असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन्। ज्वाइँ हुन त यस्ता !

२) लिब्रिके ज्वाइँ— यी ज्वाइँहरु कस्ता हुन्छन् भने साह्रै नै सस्ता। लिब्रिक लिब्रिक ससुराली धाइरहने र साली छिन् भने तीसँग प्रेमगीत गाइरहने यिनको बानी हुन्छ। महिनाका सबैजसो दिन ससुरालीमै बिताउन चाहने यस्ता ज्वाइँहरु लाजघिन पचेका र इज्जत नबचेका हुन्छन्। यस्ता ज्वाइँहुरु यसरी ससुराली धाउँछन् कि मानौं घर चैँ ससुराली र ससुराली चैँ घर हो झैँ। यिनलाई ससुरालीमा सत्कार कम र दुत्कार बढी मिल्छ। तर पनि यिनीहरुको नजर ससुरालीतिरै हुन्छ। ससुरालीमा साली रहुञ्जेल र साँझबिहान भरिएको थाली अघिल्तिर रहुञ्जेल यिनको बास ससुरालीमै हुन्छ।

‘ज्वाइँ कहिले फिर्नुहुन्छ?’ भनेर सासुससुराले नसोधेसम्म यस्ता ज्वाइँले पिर्नसम्म पिर्नुहुन्छ। यस्ता ज्वाइँदेखि सावधान हुनु जरुरी भैसकेको छ। लिब्रिक लिब्रिक ससुराली जाने भएकाले नै मैले यस्ता ज्वाइँलाई लिब्रिके भनेको हुँ। तपाईँ जेसुकै भन्नुहोस्।

३) घर ज्वाइँ— ससुरालीघरमा केही साल वा सदाबहार रुपमा बस्ने ज्वाइँलाई घरज्वाइँ भनिन्छ। छोराबिहीन ससुरालीमा यस्ता ज्वाइँहरुले आश्रय पाउँछन्। कतिपयले धनको लोभमा घरज्वाइँ बस्ने गरेको पाइन्छ भने कतिले बाध्यताले। तर घरज्वाइँ बस्नेको हविगत धोबीको कुकुरको झैँ भएको देख्छु म त। ‘ज्वाइँ ! पाहुनालाई पिरा दिनु त।’ भनेर सासु वा जेठीसासुले नोकरको ब्यवहार गरेको देखेर ज्वाइँ कहिल्यै छोरो हुँदैन, छेपारा बढेर गोहोरो हुँदैन भन्ने कुरो स्पष्ट हुन्छ। कति घरज्वाइँ होलान् जसले छोराको स्थान पाएका होलान्? यो धर्तीमा कुन ज्वाइँले स्वास्नीका, उस्तै परे सासुका लुगा नधोको होस्। जे होस्। घरज्वाइँ बस्ने सयकडा पन्चानब्वे प्रतिशतको हालत भिजेको मुसो र डल्लाले थिचेको उम्रिँदै गरेको मकैको टुसो जस्तै होला। सासु वा ससुरा मर्लान् र सम्पत्तिको मालिक बनुँला भनेर यस्ता ज्वाइँको जुनी बितेको देखेको छु। अरुको के कुरा गर्नु। मेरै कुरो गर्छु।

नेपालमा हुँदा नभएको घरज्वाइँ कतारमा भइएको छ। तानेको भिसामा कतार पालेको म यहाँ आइपुग्दा पो थाहा पाएँ ससुराली आएको कुरो। ससुराबाहुन यतै र सालो केटो पनि यतै भएपछि म एयरपोर्टबाट नेपालमा मन्त्री चढ्ने पजेरोमा के चढेको थेँ मभित्रको अँधेरो उज्यालोमा परिणत भएहाल्यो र मैले सेलिया ससुरालीको आँगन टेकिहालेँ। केही हप्ताहरु किचनमा खाना खान बाहेक नपसी बिते। जसै कतार टेकेका दिनहरु लम्बिँदै गए र म पनि घरज्वाइँ हुँदै गइराछु। अब त्यो दिन नजिक आउँदैछ जब हामी सालाभेना र ससुराज्वाइँबीचका मर्यादाहरु नांगिनेछन्। त्यसो त केही महान् मान्छेहरुले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरु धेरैपल्ट भत्काइ नै सके। तर पनि खुम्चिने क्रम जारी छ मेरो। चाहनालाई भाँचेर बाँच्नुको पीडावोध घरज्वाइँ हुनेहरुलाई बढी हुन्छ सायद ! म त बाध्यताले भइहालेँ। तपाईँ चैँ घरज्वाइँ नहुनुहोला। जय होस् !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x