सुलसुलेजलसामा गजलकार बुँद राना सम्मानित
समसामयिक विषयलाई गजलका रूपमा उतार्ने क्रान्तिकारी चेत भएका गजलककार बूँद राना सम्मानित हुनु भएको छ । ०७० माघ ४ गते कोटेश्वरमा जलसा नेपालद्वारा मासिक रूपमा महिनाको पहिलो शनिवार आयोजना गरिने स्रष्टा सम्मान एवम् एकल गजल वाचन कार्यक्रमको दोस्रो शृङ्खलामा सम्मानित राना सम्मानित हुनुभएको हो ।
२०२२ सालदेखि गजल लेखनमा सक्रिय बूँदले कार्यक्रममा करिब एक दर्जन गजलहरू लय हाल्दै वाचन गर्नु भएको थियो । उहाँका शालिन गजलहरू निकै कलात्मक शैलीले प्रस्तुत गरिएका थिए । गजल श्रवणका लागि हलमा उपस्थित दर्शकहरूले उहाँका गजल सुनेर निकै गडगडाहटका साथ ताली बजाएका थिए ।
कार्यक्रममा जलसा नेपालले पहिलो कार्यक्रमको ढाँचालाई फेरेर दुई वटा सङ्गीतवद्ध गजलहरू समेत पेश गरेको थियो । कार्यक्रम सञ्चालक गजलकार आनन्द श्रेष्ठ गायक तथा सङ्गीतकार केशव पौडेल र गजल गायक गोपाल अधिकारीले बूँद रानाका गजललाई स्वर दिनुभएको थियो ।
कार्यक्रम प्रा.डा.सनतकुमार वस्तिको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा पहिलो श्रृङ्खलामा सम्मानित स्रष्टा वरिष्ठ गजलकार ललिजन रावल, सञ्चारकर्मी तथा मुक्तककार रमेश पौडेल, गजलकारहरू करूण थापा, प्रभाती किरण, घनेन्द्र ओझा, डा.दीपक खड्का, साहित्यकार रामविक्रम सिजापति, दीप्स शाह, कल्पना भावुक, रामगोपाल आशुतोष, सुरेश सुवेदी, नेत्रकुमारी अर्याल, मुक्तककार बादल घिमिरे, सङ्गीतकार बालन्द राई, गायक हेमन्त शर्मा तथा सुरेशराज शर्मा लगायत छ दर्जनभन्दा बढी साहित्यकार एवम् सङ्गीतप्रेमीहरूको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित अतिथीहरूलाई जलसा नेपालका संस्थापक सदस्य बिपुल सिजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो । जलसा नेपाललाई सहयोग स्वरूप कार्यक्रममा पुस्तकहरू बिक्रीका लागि राखिएको थियो । सहयोगका लागि पुस्तक उपलब्ध गराउनु हुने सबै सहयोगी हातहरूलाई जलसा नेपालले हार्दिक धन्यवाद ज्ञापन गरेको थियो ।
जलसा नेपालको आगामी कार्यक्रम फागुनको ३ गते शनिवार आयोजना हुनेछ ।
-सुलसुले
Subscribe
Login
0 Comments
Oldest











































