सुलसुलेबिरामी जाँच्ने अस्पतालमा कविता !
८ माघ, काठमाडौं । तपाई बिरामी भएर शिक्षण अस्पताल महाराजगञ्ज पुग्नुभयो भने पक्कै थाहा पाउनुहुनेछ, सो अस्पतालमा यतिबेला उपचार हैन, थरिथरिका मुक्तक पढ्न बिरामीलाई बाध्य बनाइन्छ । हुनत चिन्ताको बोझमा डुबेको मान्छेलाई कुनै सर्वोत्तम रमिताले शान्त्वना दिन सक्दैन भन्ने आहान पनि हाम्रो समाजमा नभएको होइन । तर, तपाई जति नै बिरामी भए पनि अस्पतालमा उपचार हैन, कविता पढ्न पाउनुहुनेछ । साहित्यकार इन्द्रबहादुर राईले ठीकै लेखेका रहेछन्, आज रमिता छ । त्रिवि शिक्षण अस्पतालमा डा गोविन्द केसीको अनशनसँगै यस्तो फरक दृश्य देखिन थालेको हो । अस्पताल परिसर पुग्नेवित्तिकै भित्ताभरि कोरिएका साहित्यिक अभिव्यक्तिले बिरामीहरुलाई गम खाएर उभिन बाध्य पार्छ । कर्कश ध्वनीमा लगाइने नारावाजी भन्दा त्यहाँका भित्तामा कोरिएका शब्दले मान्छेको मन मस्तिष्क हल्लाइरहेका छन् । तर, अस्पतालको भित्ताका यी कविताले विरामीको मन कति छुँदो हो, नाप्ने कुनै मेसिन छैन । स्टेथेस्कोपले बिरामीका मन र मुटु छाम्ने डाक्टरहरु नै ती सबै चिज थन्क्याएर भित्तेकवि बनेर कवितामार्फत आन्दोलन भित्तामा ओकलिरहेका छन् । भाग खान पल्केकाहरुलाई तीखो शब्दवाण प्रहार गरिएको एउटा साधारण कविताले बिरामीबाहेक जो कोहीलाई उद्वेलित पार्न सक्छ । ‘ए झर्ला र खाउँला भन्नेहरु हो, मर्ला र खाउँला भन्नेहरु हो केसी गल्ने छैनन् केसी ढल्ने छैनन् तिम्रो कालो धनको महल जरूर जल्ने छ केसीका सपना जल्ने छैनन्’ भित्ताभरि रंगिएका तीखा वाणयुक्त शब्दयुक्त साहित्यिक अभिव्यक्ति हेर्दा यस्तो लाग्छ, टिचिङ अस्पतालका भित्ता पनि आन्दोलनका अग्रमोर्चामा छन् । त्रिवि शिक्षण अस्पतालका डिन शशी शर्माविरुद्ध त्यहाँका चिकित्सकले निरन्तर आगो ओकलिरहेका छन् । अर्कातिर डा. केसीलाई सुकरातसँग तुलना गरेर निष्पट्ट अन्धकारमा घामको खोजी गर्नेहरुका भावना पनि भित्तामा छरपष्ट छन् । श्यामकुमार दाइ नामका एक व्यक्तिले यसरी आफ्ना भावना अस्पतालका भित्तामा पोखेका छन् । उसको शरीर मृत्यु शैय्यामा छ, उसको नै विचार हो, त्यो हिमालझैं अटल उभिइरहेको छ । उसको एउटा हत्केलामा हेमलकले भरिएको घडा छ उसको नै अर्को हत्केलामा करोडौंको ढुकढुकी गुन्जिरहेको छ । यस्तो लाग्दैछ निस्पट्ट अन्धकारमा एउटा घाम झुल्किँदैछ यस्तो लाग्दैछ, एउटा सुकरातको उदय भइसकेको छ यहाँ । मनभरि विद्रोहका ज्वाला सल्काएर बसेका चिकित्सकहरु जो आफ्ना भावना पोख्ने नाममा दलका कार्यकर्ताजस्तो सडकमा उत्रेर जिन्दावाद र मूर्दावादका नारा लगाउन सक्दैनन् । १२ दिनदेखि अनशनरत त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीको समर्थमा देशभरिका चिकित्सक आन्दोलनमा उत्रेका छन् । आन्दोलनको केन्द्रविन्दू बनेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका गतिविधिले यतिबेला सबैको ध्यान तानिरहेको छ । प्रा.डा. केसीको अनशनलाई समर्थन गर्नेहरु कसैले राजीनामा दिएका छन् त कसैले काम बन्द गरेका छन् । कतिपय चिकित्सकहरु प्लेकार्ड बोकेर सडकमा निस्केका छन् भने कोहीले डा केसीको जीवनरक्षा गरिदिन भगवानसँग प्राथना गर्दै मैनबत्ती बालिरहेका छन् ।
(अनलाइन खबरबाट)
Subscribe
Login
0 Comments
Oldest












































