साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साउथ एसियन ब्वाँसो

Nepal Telecom ad

बिहानमा आकाशले घाम बाँड्छ
तिमीलाई पनि मलाई पनि
ठूलो हत्केला छ भन्दैमा तिमी
किन छेक्छौ मेरो घाम ?

तिमी चाहन्थ्यौ–
तिम्रो ऐच्छिक गर्भबाट म जन्मिऊँ
र, तिम्रा मस्तिष्कका तारले म सोचूँ !
तिमी चाहन्छौ–
निर्बाध बगिरहून् मेरा आँसुका हिमनदीहरू
र, नुहाइरहन पाओस् तिम्रो ‘थार’ अनुहारले !
तिमी अझै चाहन्छौ–
पटकपटक फुटिरहोस् मेरो स्वाभिमानको मुटु
र, रगत्ले रङ्गिरहोस् तिम्रो आर्यावर्त !

तिम्रो ‘ऋषिमन’
चक्कु चलाइरहन्छ तिम्रै देवर्षि भूमिमा
तिम्रो ‘पञ्चशील’
आत्महत्या गरिरहन्छ तिम्रै विस्तारवादी झण्डामुनि
युएनमा ‘भाइचारा’ गर्जने तिमी
‘भा–रत’को लगौँटीमा भाइमारा पाली बस्छौ !

तिम्रो संविधानमा
मेरो रगतको ल्याप्चे लागेको छैन
मेरो खुकुरी
कहिल्यै तिम्रो खुट्टाको दुश्मन भएन
इतिहास पल्टाऊ–
तिम्रो शत्रुको घाँटी कसले छप्कायो,
तिम्रो समथर छातीको रक्षक को हो ?

ओ ! मेरो दक्षिणी रिपुमित्र,
मेरो नागरिक–रङले लेखिएको संविधानमा
तिमी किन आफ्नो पञ्जाछाप चाहन्छौ ?
बरु सोध तिम्रै धमिरे संविधानलाई–
कश्मिरको धुवाँ किन झन् पिरोकालो भैरहेछ,
किन चिच्याइरहेछ गोर्खाल्याण्ड,
खालिस्तान किन बौलाउन थालेको छ ?

आफ्नै नाकमा ताल्चा ठोकेर
तिमी ‘नाकाबन्दी’ त गर्छौ
तर लगाउन मान्दैनौ सीमानामा पर्खाल
तिम्रो ‘विहारी लू’ पसेर
पोलिरहन्छ मेरो मधेश
खुलेआम छिर्ने लामखुट्टेहरूले
फैलाइरहन्छन् ‘घातक डेंग्यु’ !

म पनि सक्थेँ–
तिम्रो सिमानादेखि ढोकासम्म तैनाथ
वीर ‘दरबान’हरूलाई उक्साउन,
वर्षेनी मेरो देश डुबाउने
तिम्रो घमण्डको ब्यारेज भत्काउन,
तिर्खा मेट्ने मूलहरू थुनिदिन,
‘डिजिटल इन्डिया’ बनाइदिने बिजुली काट्न !
तर म छुद्र प्राणी भइनँ,
यो आत्मसम्मानमा तिमीले दिने ठेसले
म अझ अगाडि हुत्तिएर सोच्नेछु !

मेरो मानवअधिकार विरुद्ध
तिमीले ‘पेट्रोल युद्ध’ सुरु गरेपछि
विरत्वको जिन उम्लिएको छ
रगत् इन्धन बनेको छ,
मेरो राष्ट्रियताको इन्जिन बेजोडले चलिरहेछ !

तिम्रो सम्मानको मतलव
मेरो रगत्माथिको ‘मोनोपोली’ होइन
तिम्रो ‘रोटी–बेटी’को मतलव
सीमापार आतङ्कको निर्यात होइन !

सक्छौ भने च्यात–
आँखामा टाँसिएको ‘सुगौली सन्धि’को कालो पट्टी
र, नियालेर हेर आफ्नै पञ्जालाई
त्यहाँ मानवताभन्दा ब्वाँसो धेरै गन्हाइरहेछ
साउथ एसियामा ब्वाँसो घृणित छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x