चन्द्र गुरूङफेरि भुइँचालो गएको छ मन–मुटुहरूमा
(चिसोले मरेका भूकम्प–पीडितमा समर्पित कविता )
र,
राहत थाप्नेहरूको लाईनबाट
हराएको छ त्यो अँध्यारो अनुहार
यी टेन्टमुनि बाँचिरहेका ख्याउटे जीवनहरूमाझ
गायब छ एउटा संख्या
सरकारबाट सहयोग थाप्नेहरूको नामावलीमा
घटेको छ एक नाम
यसरी–
धिपिक्क
धिपिक्क
एउटा उज्यालो दियो निभेको छ
हावाहुरीसित जुध्दैे ।
झर्दाझर्दैको आँसु सुकेर गएको छ गालैमा
अन्धकारसित लड्दा–लड्दै
एउटा थकित तारा झरेर गएको छ बिहान हुनुअघि
र, सम्बन्ध–विच्छेद गर्दै
थुप्रै पीडाहरूसित
अकाल मृत्यु भएको छ एक पीडाको ।
छाडी गयौ–
बा’का बूढौली आँखाका खोपीमा जवान रहरहरू
आमाको छातिभरि ममताको दुःखाई
भाईबहिनीको लागि अभावका अग्ला–अग्ला पहाडहरू
सन्तानका अनुहारभरि रित्तोपन
र आफ्नो मायालुको पछ्यौरीभरि सुटुक्क राखी गयौ
केही भाग छट्पटी र उदासी ।
तिम्रो मृत्युको खबरले
यस चिसो साँझमा
फेरि एउटा भुइँचालो गएको छ मनमुटुहरूमा …
ए जीवन
कत्ति नमिठो गयौ तिमी
एक जोरदार थप्पड हान्दै नालायक सरकारलाई
घिनलाग्दो थुक्दै एउटा लाचार जीवनले कुशासनलाई
ठड्याउँदै चोर औँला विवेकहीनहरूमाथि ।
तिम्रो मृत्युमा
मौनधारण गरेकाछन् हिमालहरूले
आँसु खसालेका छन् पहाडहरूले
सुकसुकाउँदै छ डाँडाकाँडा उडिहिँड्ने बतास
ए जीवन
कत्ति बेस्वाद भएर गयौ तिमी …
अलपत्र छोड्दै तिम्रो चिहानमाथि सरकारी राहतका–
दुई किलो चामल,
एक पाउ दाल
र, केही थोत्रा लत्ताकपडा ।
Subscribe
Login
0 Comments
Oldest








































