मनोज गजुरेलविश्वमानचित्रका नयाँ मुलुकको एक बुलेटिन समाचार
यो बिबिसी लण्डनको ‘नर्थ एसिया’ सेवा हो ।
कविन्द्र मिश्रबाट समाचार सुन्नुहोस् ।
‘लिम्बुवान’ गणतन्त्रमा कुवेरहाङ् थाम्सुहाङ् नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । छिमेकी राज्य ‘कोचिला’ले उपभोग्य सामग्री पठाउन प्रतिबन्ध गरेपछि यस पहाडी राज्यमा सरकार बिरुद्ध प्रदर्शन शुरु भएको थियो । ‘लिम्बुवान’ र ‘कोचिला’ राज्यबिच भएको कन्काई सन्धिलाई सिमा सुरक्षाबलले पालन गर्न छोडेपछि आफूले प्रतिबन्धको कदम चाल्नु परेको कोच विदेशमन्त्री मुर्मु सत्तारले बताए । सन्धि अनुसार, कोचका जनताले लिम्बुवानको दक्षिणी सिमाना ‘चुलाचुली’मा दाउरा घाँस गर्न पाउने सहमती भएको थियो । लिम्बुवान र खम्बुवान राज्यबिच एउटा संयुक्त अन्तराष्ट्रिय एयरपोर्ट बनाउने सहमती अझै कार्यान्वयन हुन सकेको छैन । कुनै एउटा राज्यमा मात्रै त्यति ठूलो एयरपोर्ट बनाउने उपयुक्त स्थानाभावको कारण दुई राज्यका उड्डयन मन्त्रीहरूबिच पाँच बर्ष पहिले यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । खम्बुवान मजदुर युनियनको बिरोधका कारण यो योजना कायम हुन नसकेको बताईन्छ । बिबिसीसँग कुरा गर्दै युनियनका अध्यक्ष डायमण्ड किराँतले भने– ‘पहाडमा हवाईजहाज उड्न थाल्यो भने भरियाहरू भोकै हुन्छन् । त्यसैले हामी यो योजनाको बिरोधमा उत्रिएका हौं ।’
‘तामाङ् गणतन्त्र’ र ‘शेर्पाल्याण्ड’ बिच पुनः युद्ध चर्किएको छ । ऐतिहासिक तेङ्बोचे गुम्बामाथि आफ्नो राज्यको अधिकार दाबी गर्दै आएका ती दुई देश बिच बिसौं बर्षदेखि शितयुद्ध चल्दै आएको थियो । दुई देश बिचको युद्ध वार्ताबाट नटुङ्गिएमा, त्यसको असर आफ्नो राज्यमा पनि पर्नसक्ने भएकाले अर्को छिमेकी मुलुक ‘नेवाःप्रदेश’ले सैनिक हस्तक्षेप गर्ने सङ्केत दिएको छ । यसैबिच गुम्बा बिवाद शान्तिपूर्ण रुपमा समाधानका लागी ‘द लामाज स्टुडेण्ट काउन्सिल’ले राजधानी सल्लेरी बन्दको घोषणा गरेको छ । उता ‘थरुवान’ राज्यमा रहेको सांस्कृतिक नगरी लुम्बिनी प्रवेशका लागि त्यहाँको परराष्ट्र मन्त्रालयले अनिश्चितकालिन भिसा बन्द गरेको जनाएको छ । भगवान बुद्धको जन्मस्थलमा जान आउन सरकारले भिसा लिन नहुने भन्दै त्यहाँको ‘अष्टाङ्गिक भिक्षु मोचा’ले सशस्त्र आन्दोलन शुरु गरेपछि सरकारले उपरोक्त कदम चालेको हो ।
थरुवानका सुरक्षा प्रमुख दुखीराम थारुले भने– भिक्षुहरूले तुरुन्तै हतियारसहित आत्मसर्मपण नगरे सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए । यसैबिच बुद्ध जयन्ती मनाउन ‘तामाङ राज्य’बाट लुम्बिनी हिँडेका यात्रुहरू धादिङको ‘चेपाङ स्वायत प्रदेश’मा अलपत्र परेकाछन् । ‘कर्णाली प्रदेश’बाटका तिर्थाटनको लागि काशी हिँडेका छसय खसहरू मधेश राज्यले प्रवेश अनुमति नदिएका कारण तिन हप्तादेखि ‘मगराँत’ राज्यको सिमाना देउघाटमा अलपत्र परेका छन् । मधेश गणतन्त्रका संस्कृतिमन्त्री सियाराम तेलीले भने यो कुराको खण्डन गर्दै भनेका छन्– ‘जहाँतहीँ दिशा गरेकाले भिसा नदिएको हो, आइन्दा त्यसो नगर्ने राज्य स्तरीय प्रतिबद्धता आएमा निर्णय संशोधन गर्न सकैत छि ।’ उता यस घटनाको बिरोधमा कर्णाली पुरोहित मोर्चाले तिनदिने कर्णाली बन्दको घोषणा गरेको छ ।
विश्वमानचित्रका यी नयाँ मुलुकहरूमा देखिएको किचलो अन्त्य गर्न दक्षिणको विशाल मुलुक ‘लालुल्याण्ड’ले शान्ति सेना पठाउने निर्णय गरेको छ । बर्षौंदेखि उत्तरतिर शान्तिसेना पठाउने आफ्नो मनसुवा बल्ल पूरा भएको बिचार व्यक्त गर्दै ‘लालुल्याण्ड’का प्रतिरक्षामन्त्री बब्लु प्रसादले भने– ‘यसका लागि हामी ती मसिना देशका राजनेताहरूलाई हृदयदेखि नै सुक्रिया अदा करता हुँ ।’ यता ‘लालुल्याण्ड’ सरकारको यो निर्णय बिरुद्ध र एकीकृत राज्य पुनस्र्थापनार्थ सबै राज्यका जनताको ‘संयुक्त नागरिक अभियान’ले हिजैदेखि बिद्रोह शुरु गरेको छ । अब चौतारी ….।’ झल्याँस्स ब्युँझन्छु …..बेलुका रेडियो अफ गर्नै पो बिर्सएछु ! तर, सपनाले पनि मलाई किन बारम्बार झस्काई रहन्छ हँ ???
(डामाडोल डटकमबाट जस्ताको तस्तै)
Subscribe
Login
0 Comments
Oldest










































