सुलसुलेतिन सय छपन्नऔँ साहित्य सन्ध्या
साहित्य सन्ध्याको नियमित मासिक ३५६ औँ शृङ्खला माघ २ गते राजधानीमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भयो । ‘प्रगतिशील महिला स्रष्टा र सिर्जना’ विषयमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले चर्चा गर्नु भएको समारोहको सञ्चालन पूर्वार्धमा भागवत आचार्यले र उत्तराद्र्धमा रमेश पोखरेलले गर्नु भएको थियो । अतिथिका रूपमा प्राज्ञ प्रा.जगत् उपाध्याय प्रेक्षित, प्राज्ञ विष्णु प्रभात, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ सानु पहाडी, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, वरिष्ठ कवि कणाद महर्षि, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय उपस्थित हुनु हुन्थ्यो ।
प्राज्ञ विष्णु प्रभातले प्रगतिशीलताको मापन कार्लमाक्र्सको उदय पश्चात मात्र गर्न थालिएको भए पनि आत्मा छैन भन्न सक्ने विदुषी योगमाया आफ्नो समयकी प्रगतिशील विचारक र विद्रोही स्रष्टा हुन् भन्नु भयो । उहाँले भन्नु भयो– वास्तवमा कविता भनेको चाहिँ कला, विचार र तानको संयोजन हो । विचार चाहिँ दर्शन हो, गुदी हो । द्वन्द्वात्मक भौतिकवादी अवधारणा अनुसार हरेक विषय वस्तुलाई स्रष्टाले विश्लेषण गर्नु पर्छ, गम्भीरतापूर्वक केलाउनु पर्छ र आफ्ना सिर्जनालाई सुन्दर बनाउनु पर्छ ।
अर्का वक्ता प्रा.जगत् उपाध्याय प्रेक्षितले नेपाली साहित्यमा महिला स्रष्टाको योगदानको समग्र चर्चा गर्दै उनीहरूले भाषा साहित्यको उत्पत्ति कालदेखि नै साहित्यको सेवा गरि रहेको बताउनु भयो । उहाँले भन्नु भयो– १३३५–४० तिरको जितारी मल्लको ‘भारत’ पहिलो लोकभाका वा कविता मान्न सकिन्छ । १८७० मा प्राणमञ्जरीदेवीदेखि ‘सर्वार्थ योगवाणी’की स्रष्टा न्यौपाने परिवारकी बाल विधवा योगमायाको सङ्घर्ष, विद्रोह हुँदै १९९१ को शारदा पत्रिकाको प्रकाशनपछि धेरै महिला स्रष्टा नेपाली प्रगतिशील साहित्यको फाँटमा देखा परेका छन् । यी स्रष्टाहरूले समाजमा देखिएका याबत विकृतिको अन्त गर्ने, लैङ्गक विभेदको अन्त्य र समतामूलक समाज निर्माणका पक्षमा आफूलाई उभ्याइ रहेका छन् ।
कार्यक्रममा बालकविहरू प्रलिशा अधिकारी र प्रजिशा सत्याल, अन्य कविहरू ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, भोलानाथ सुवेदी, पूर्ण विराम, बैरागी जेठा, असीम सागर, अतृप्त पाण्डेय, कणाद महर्षि, मधुसूदन लामिछाने, डिल्लीप्रसाद मुल्तिहुन, रामचन्द्र दाहाल, डिल्लीराज अर्याल, मोहनमणि पोखरेल, सानु पहाडी, अभ्यस्त यात्री, ऋषिराम अर्याल, अर्जुन अन्यौल, इन्द्रजित शर्मा चौलागाईँ, ब्रह्मप्रिय प्रेमस्वरूप, निर्भीक राई, विजयध्वज थापा, गोपाल नेपाल, नर्मदेश्वरी सत्याल, गीता सापकोटा, गौरी दाहाल, टेकबहादुर कोइराला, इन्दु अंशु, उर्मिला पन्त पाण्डेय, कमलप्रसाद अर्याल, पुनाराम गिरी, नीलहरि शर्मा, अनुप चापागाईँ र राम विनयले समसामयिक कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।
गोष्ठीका साभाध्यक्ष राम विनयले साहित्य सन्ध्याको हरेक महिनाको गोष्ठीलाई विशेष महत्त्वको पार्ने हाम्रो प्रयत्न रहेको बताउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































