टिपनटापनपर्वतमा साहित्यिक पत्रकारिता गोष्ठी
नेपाल साहित्यिक पत्रकार सङ्घ, केन्द्रीय कार्यालयको आयोजना र पर्वत साहित्य सङ्गमको सह–आयोजनामा २०७० माघ १७ गते पर्वतको कुश्मामा ‘पश्चिमाञ्चलको साहित्यिक पत्रकारिता’ विषयक गोष्ठी सम्पन्न भएको छ । माघ १४ देखि २१ गतेसम्म आयोजना भैरहेको पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा चौथो पर्वत महोत्सव– २०७० को अवसर पारेर सम्पन्न गरिएको उक्त गोष्ठीमा कृति विमोचन, पुस्तक परिचर्चा, साहित्यिक पत्रकारिता सम्मान कार्यक्रम तथा साहित्यिक रचनावाचन गरिएको थियो ।
गोष्ठीको उद्घाटन पर्वतका तीनजना साहित्यकारहरू क्रमशः इन्द्रकुमार विकल्पको ‘जीगिषा’, राजेन्द्र पहाडीको ‘बियाड’, इन्द्रमान खत्रीको ‘समय’ हाइकेसङ्ग्रह र काठमाडौंका कवि शुभ श्रेष्ठको कृति ‘सुमति’ उपन्यास– एक चर्चा परिचर्चा’ को विमोचनबाट गरिएको थियो । उक्त कृतिहरूको विमोचन साहित्यकारहरू रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मोहन दुवाल, प्रेम छोटा, प्रा.डा. गार्गी शर्मा, ज्ञानुवाकर पौडेल, रामप्रसाद पन्त र शुभ श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।
विमोचित कृतिहरूमध्ये पर्वतका स्रष्टाका तीनवटा हाइकुसङ्ग्र्रहका बारेमा साहित्यकार तथा ‘कौशिकी’ साहित्यिक पत्रिकाका सम्पादक चेतनाथ धमलाले समीक्षा गर्दै विमोचित हाइकुहरूले वर्तमान समयको विद्रपतालाई कुशलतापूर्वक उठाएको तथा सामाजिक विकृति विसङ्गतिप्रति व्यङ्ग्य प्रस्तुत गरेको बताए । प्रा.डा. गार्गी शर्माले सुमति उपन्यास– एक चर्चा परिचर्चा कृतिमाथि आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गरेकी थिइन् ।
गोष्ठीको उद्घाटन गर्दै नेपाल साहित्यिक पत्रकार सङ्घका सल्लाहकार तथा ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले मोफसलमा बसेर साहित्य सिर्जनामा लाग्नु चुनौतीको काम भए तापनि पर्वतका साहित्यकारहरूले निकै उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक तथा युवाकवि जगन्नाथ पौडेलले पर्वत जिल्लाको साहित्यिक इतिहास र साहित्यिक पत्रकारिताको विकासक्रमबारे सङ्क्षिप्तमा सिंहावलोकन गरेका थिए भने नेपाल प्रज्ञा परिषदका प्राज्ञसभा सदस्य साहित्यकार प्रेम छोटाले पश्चिमाञ्चलको साहित्यिक पत्रकारितामा धवलागिरि अञ्चलको योगदानका विषयमा परिचर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घको तर्फबाट ‘कालीको सुसेली’ त्रैमासिकका सम्पादक इन्द्रकुमार विकल्पलाई दोसल्ला तथा सम्मानपत्रका साथ सम्मान गरिएको थियो भने सम्मानित साहित्यकार इन्द्रकुमार विकल्पको साहित्यिक पत्रकारितामा योगदानका विषयमा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले चर्चा गरेका थिए ।
गोष्ठीमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा ‘दायित्व’ पत्रिकाका सम्पादक साहित्यकार रामप्रसाद पन्तले आफ्नो संस्थाको तर्फबाट पर्वत साहित्य सङ्गमलाई दुईदर्जन साहित्यिक पुस्तक हस्तान्तरण गरेका थिए । पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीले आफ्नो संस्थाले पर्वत जिल्ला, धवलागिरी अञ्चलमात्रै नभएर पश्चिमाञ्चल क्षेत्रमा नै नेपाली साहित्यको श्रीबृद्धिमा उल्लेखनीय गतिविधिहरू सञ्चालन गरिआएको बतए । कार्यक्रममा कवि शुभ श्रेष्ठ, नवराज रिजाल, भारती श्रेष्ठ दुवाल, तुलसीहरी कोइराला, प्रोल्लास सिन्धुलीय, त्रिपुरा पौडेल, नरेश श्रेष्ठ, ठाकुर शर्मा लगायतका स्रष्टाहरूले आ–आफ्ना सिर्जना सुनाउनुका साथै मन्तव्य राखेका थिए ।
बागलुङ, म्याग्दी, मुस्ताङ जिल्लाका साहित्यकारहरू समेतको प्रतिनिधित्व रहेको कार्यक्रममा काठमाण्डौ तथा विभिन्न जिल्लाबाट आएका अतिथिहरूलाई पर्वत साहित्य सङ्गमको तर्फबाट पर्वत जिल्लाका विभिन्न पर्यटकीय महत्व बोकेको स्थान झल्किने सम्झनाको चिनो प्रदान गरिएको थियो । नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष रोचक घिमिरेको अध्यक्षता र महासचिव मोहन दुवालको स्वागत मन्तव्य रहेको गोष्ठीको सञ्चालन राजेन्द्र पहाडी र धन्यवाद ज्ञापन सरस्वती शर्मा जिज्ञाशुले गरेकी थिइन् ।
प्रस्तुति : राजेन्द्र पहाडी
Subscribe
Login
0 Comments
Oldest





































