साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ शक्तिमा कलाकार

Nepal Telecom ad

बाबुरामजीको ‘नयाँ शक्ति’ मा पुराना कलाकारहरू समाहित भएपछि एउटा नयाँ बहस प्रारम्भ भएको छ । उनीहरूको पार्टी गमनलाई कसैले रिटार्यडहरूको मन बुुझाउने मेलो भनेका छन्, कसैले चर्चा कमाउने खेलो भनेका छन् । कोही आफ्नो लोकप्रियता सिध्याउने काम भन्छन् भने कोही नेतासँग जोडिनुलाई बदनामीको बाटो मान्छन् । कलाकार स्वयंचाहिँ के भन्छन्, त्यो आफ्नै ठाउँमा छ । देश विकासका लागि भने पनि, समस्या निकासका लागि भने पनि त्यसको गजुरियल विश्लेषण हुनुपर्ने गजुरियल ठम्याइ छ ।

आउनुहोस्, यी बहसहरूको गजुरियल विश्लेषण गरौं । बहसमा उठेको पहिलो मुद्दा हो, के एउटा कलाकार रिटायर्ड हुन्छ ? गजुरियल विश्लेषण भन्छ, कलाकार टायर्ड पनि हुँदैन, रिटायर्ड पनि हुँदैन । यदि कसैले त्यस्तो सोचेको छ भने त्यो गलत हुनेछ । जसरी एउटा जर्नेल भूतपूर्व हुँदैन, त्यसैगरी एउटा कलाकारलाई पनि पूर्वकलाकार भन्न मिल्दैन, हुँदैन र बन्दैनन् । हो, उसको कलाकर्मको रूप फेरिन सक्छ, अभिनयको शैली फरक हुन सक्छ, सिर्जनाको तरिका भिन्न हुन सक्ला तर सर्जक कहिल्यै रिटायर्ड हुन सक्दैन । यसर्थ, गजुरियल विश्लेषण मान्छ, कलाकारहरूको पार्टी प्रवेश रिटायर्ड लाइफको संकेत हो भन्ने कुरा गलत हो ।

बहसको अर्को एजेन्डा छ, के त्यसो भए एउटा कलाकारले आफ्नो कलाकारिताको उच्चतम लक्ष्य कुनै राजनीतिक पार्टीको सदस्यता लिनु मात्र हो ? गजुरियल विश्लेषण भन्छ— अहँ, पटक्कै होइन । कलाकारले चर्चित कलाकार बन्न खोज्नुपर्छ । चर्चित कलाकारले लोकप्रिय कलाकार हुन खोज्नुपर्छ । लोकप्रिय कलाकारहरू वरिष्ठ कलाकार बन्नुपर्छ । वरिष्ठले सम्मानित, सम्मानितले अतिमानित हुने लक्ष्य राख्नुपर्छ । राजनीतिको खेलमा फसेर अपमानित हुनुुहुँदैन ।

कस्तूरीलाई आफूसँग रहेको बिनाका बारेमा थाहा नहुँदा जिन्दगीभरि भौंतारिएजस्तै कलाकारले आफूसँग भएको शक्ति थाहा नपाउँदा यो पार्टी र त्यो पार्टी चहारिरहनु परेको गजुरियल ठम्याइ छ । एउटा वरिष्ठ नेताको घण्टौं लामो भाषणभन्दा एउटा गायकको पाँच मिनेटको गीत प्रभावकारी हुन्छ । पार्टीका सयौं पेजका घोषणापत्रभन्दा अभिनेताको एउटा संवादले जनताको मन जित्न सक्छ । स्रष्टाहरूले आफूभित्रको यो शक्ति पहिचान गर्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

एउटा सिपाहीको सपना हवल्दार हुने हुन्छ । खलासीको सपना ड्राइभर बन्ने हुन्छ । वेटरको सपना रेस्टुराँ खोल्ने हुन्छ । जो जमिनबाट उठेर आफ्नो खुट्टामा उभिएको हुन्छ, त्यसले मात्र आफूलाई सुखी बनाउँछ र अरूलाई पनि खुसी बनाउँछ । गजुरियल विश्लेषक भन्छ, कलाकारले आफ्नै आकार फैलाउनुपर्छ, राजनीतिको विकारमा बिग्रने डर रहन्छ ।

नेपालमा हुने धेरै सडक दुर्घटना खलासीले गाडी कुदाउँदा भएको एउटा प्रहरी प्रतिवेदनमा उल्लेख छ । जहाजमा पनि को–पाइलट हावी भयो भने जोखिम बढ्छ । स्वतन्त्रतापूर्वक आकाशमा उड्ने सुगालाई पिँजडामा थुनिदियो भने लाटिइन्छ । अस्तित्वले प्रत्येकलाई एक–एकवटा कला दिएको हुन्छ, त्यसलाई चिन्ने मान्छे मात्र सफल हुन्छ ।

यद्यपि त्यो सफलताबाट आत्तिएर वा मात्तिएर अर्को बाटो खोज्नेहरूबाट प्रकृतिले दिएको क्षमता फिर्ता लिन पनि सक्छ । यसर्थ एउटा क्षेत्रमा हिट भएको मान्छे अर्को क्षेत्रमा चेट् हुन सक्ने सम्भावनालाई ध्यान दिन गजुरियल अनुरोध छ ।

गजुरियल विश्लेषण भन्छ, कुनै पनि कलाकारको लक्ष्य कलाकारिता नै हुुनुपर्छ । यो सिर्जनाभन्दा त्यो सिर्जना राम्रो बन्नुपर्छ । यो प्रस्तुतिलाई अर्को प्रस्तुतिले जित्नुपर्छ । पोहोर बनाएको चलचित्रमाभन्दा आगामी चलचित्र अझ राम्रो बन्नुपर्छ । यो पार्टी वा त्यो पार्टीको होइन, हाम्रो बन्नुपर्छ ।

यसको अर्थ कलाकारले राजनीति गर्नै हुँदैन भन्ने होइन । राजनीति गर्दिनँ भन्नेहरू पनि कुनै न कुनै तरिकाले राजनीति गरिरहेकै हुन्छन् र गर्नु पनि पर्छ । राजनीति सबै नीतिको माउ नीति भएकाले लेखक, कलाकार, वकिल, इन्जिनियर हरेकले राजनीति जान्नुपर्छ, मान्नुपर्छ । यद्यपि सबैले आफ्नै पेसागत क्षेत्रको विकास, उन्नति, समृद्धि, नीति–निर्माण एवं मार्गदर्शनमा केन्द्रित हुनुपर्ने गजुरियल विश्लेषण छ ।

साप्ताहिक, माघ १५, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x