मनोज गजुरेलकालाबजारीको शरणमा ग्राहकहरू
कालो मन, धन, कालो काम र कालै दामको लेनदेनलाई कालोबजारी भनिन्छ । वास्तवमा कालाबजारमा व्यापारी र ग्राहकहरू पनि कालै हुनुपर्ने हो । तर, परिस्थितिले सेता ग्राहकलाई पनि कालाबजारीको शरणमा पर्नुपर्ने अवस्थामा र्पुयाएको छ । सेतो बजारका पक्षपाती तपाईं हामीले कालोबजारका शंकास्पद सटरहरू भत्काउन के–के गर्नुपर्ला ? आउनुहोस्, आज यसैको गजुरियल विश्लेषण गरौं ।
कालोबजार भनेको के हो ? गजुरियल विश्लेषण भन्छ, देश दुनियाँको कानुन मिच्दै, नियम थिच्दै, कर छल्दै, भ्याट ढाल्दै, नुनलाई सुनको भाउमा, ग्याँसलाई क्यासको दाममा, इन्धनलाई गाडधनका रूपमा, नाफामा नांगो नाच्दै, जनताको ढाड भाँच्दै, गुहुलाई गोबर मान्दै, गोबरलाई गुदपाक भन्दै देश र जनतालाई ठग्ने रात्रिकालीन व्यापार नै कालोबजार हो ।
रात्रिकालीन भनिए पनि नेपालमा कालोबजार अहिले दिउँसै चलिरहेको छ । इन्धनमा भारतीय नाकाबन्दी जारी छ तर सहरमा ट्राफिक जामको ताँती छ । पारिबाट ग्याँस आएको छैन तर क्यास हुनेले भारीका भारी भित्र्याएकै छन् । औषधीको अभाव भन्छन् तर अस्पतालमा अभावको प्रभाव खासै देखिँदैन । अत्यावश्यक सामग्री छैन भन्छन् तर चाहिए जति पाइएकै छ । गजुरियल विश्लेषण भन्छ, कालोबजारी सेतो दिनमा पनि चलिरहेकै छ ।
कालोबजारमा को–को छन् ? बजारका ग्राहक को–को छन्, त्यो मुख्य कुरा होइन । बाध्यताले कालोबजारको ग्राहक बन्नु अर्कै कुरा हो, तर रहरले कालो बजारी बन्नु अपराध हो भन्ने गजुरियल ठम्याइ छ । गाइँगुइँ सुनिएअनुसार, नाकामा धर्ना बसेका आन्दोलनकारीहरूमध्ये धेरै जना कालोबजारीका सहयोगी हुन् । यो वा त्यो पार्टीको कुरो होइन, राजनैतिक दलका थुप्रै कार्यकर्ताको तत्कालीन कार्यनीति नै कालोबजार थाम्ने र दाम कमाउने रहेको गजुरियल ठम्याइ छ ।
सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर ग्याँस तस्करीमा सक्रिय देखिन्छन् । जनपद प्रहरीका डिएसपी पेट्रोल तस्करीमा संलग्न भेटिन्छन् । आयल निगमका कर्मचारी पेट्रोलपम्पसँग मिलेमतो गरेर कमिसन खान्छन् । तिनलाई कारबाही गर्नेहरू आफूभन्दा माथिकालाई रिझाएर कारबाहीलाई निस्तेज पार्छन् । यो सबै गतिविधि हेर्दा को रक्षक हो ? को भक्षक हो ? छुट्याउन गाह्रो परेको गजुरियल ठम्याइ छ ।
के हाम्रो देश अब कालोबजारीकै कब्जामा पुग्यो त ? गजुरियल विश्लेषण भन्छ, यदि हामीले एक घण्टा लाइन बस्नका अल्छीले सय रुपैयाँ बढी तिर्न छोडेनौं भने हाम्रो बजार कालोको कब्जामा पर्नेछ ।
अलिकति अप्ठेरो सहन नसकेर सजिलो बाटोमात्र रोज्यौं भने पनि हामी कहिल्यै कालोबजारको कब्जामा उम्कनेछैनौं । हामीले समय परिस्थितिको मूल्यांकन गरेर थोरैमा, सानोमा, अलिकतिमा चित्त बुझाउने स्वाभावको विकास गरेनौं भने नेपाललाई कालो बजारले क्वाप्पै खानेछ भन्ने गजुरियल विश्लेषण छ ।
मितव्ययिता कालो बजारबाट मुक्ति पाउने अचुक उपाय हो । ग्याँस, पेट्रोललगायतका अत्यावश्यक सामग्रीको प्रयोगलाई मितव्ययी तरिकाले प्रयोग गर्नुपर्छ । सजिलोका लागि भटाभट कालोबजारको भर पर्दा हाम्रो घर पनि बिग्रने र कालोबजारीको मनोबल पनि बढ्छ । त्यसैले मितव्ययिता कालोबजारीलाई कमजोर पार्ने अचुक उपाय रहेको गजुरियल ठम्याइ छ ।
त्यसो त पछिल्लो समय प्रहरी र प्रशासन पनि कालोबजारीलाई धमाधम समाउँदैछन् । आफ्नै हाकिमलाई पनि पक्राउ गरेको छ । सरकारी कर्मचारी पनि धमाधम थुनिएकै छन्, तर जबसम्म हामी सफा मन भएका सेता ग्राहकहरू कालाबजारीप्रति भर पर्छाैं, तबसम्म प्रहरी प्रशासनले मात्र यो बजारको जालो तोड्न सक्दैन भन्ने गजुरियल ठम्याइ छ ।
जापानको एउटा समाचार खुबै चर्चित भएको थियो । त्यहाँ जब कुनै सामानको भाउ बढ्छ, जापानीहरू त्यो सामान किन्न चट्टै छोडिदिन्छन् । केही दिन उनीहरू पुरानैले, थोरैले, सस्तैले काम चलाउँछन् । जब बजारमा आफ्नो सामानको बिक्री कम हुन्छ तब कम्पनी सामानको भाउ घटाउन बाध्य हुन्छ । भलै हामी जापानीहरूको स्तरमा बहिष्कार गर्न नसकौंला, तर नेपाली स्तरमै भए पनि कालाबजारीलाई बहिष्कार गरौं न । सके सामान सस्तोमा बेच्लान्, नसके कालोबजार छोडेर सेतो संसारमा आउलान् ।
साप्ताहिक, माघ २२, २०७२
Subscribe
Login
0 Comments
Oldest










































