सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आन्दोलन बाबा

Nepal Telecom ad

सेताम्मे लामो दाह्री, जिङग्रिङ्ग कपाल (कतै–कतै भने बटारिएर लट्टा पनि परेको) र अति नै मैलो–धुस्रो कुर्ता–पाइजामा लगाएको एक अत्यन्त जीर्णकाय जोगीको मधेस आन्दोलनमा आफ्नै प्रकारको सहभागिता थियो । नेपालको सर्वा्धिक चलनचल्तीमा रहेको वीरगन्जको नाकामा ‘एक्लै आगो तापेर बसेको जोगी’ भनी एकाध समाचारपत्रमा सरसर्ती उल्लेख भएको बाबा (केही पछि बाबा भन्न थालिएको) एउटै समयमा ठाउँ–ठाउँका सभा तथा जुलुसहरूमा देखिने गर्थे ।

चाहे त्यो वीरगन्जको छपकैयाको भत्किएको सडक किनारको सानो माछापोखरीसँगैको खाली जग्गाबाट सुरु भएको जुलुस (वरिपरिका गाउँ–गाउँबाट आएका बालक, जवान र वृद्धहरूका) होस् अथवा पुरानो नुन गोदामको खुला फुटपाथमा सम्पन्न विशाल जनसभा नै । एउटै बाबा दिउँसोको पौने दुई बजेको तप्त घाममा तरतर्ती पसिना चुहाउँदै दुवै आन्दोलनको कार्यक्रममा एकैपटक कसरी रहन्थे हँ ?

एक पटक त सरकारी पुलिसको अनुदार गोलीबाट हत्या गरिएको दुई कलिला मधेसी किशोरहरूका भावुक स्मरणमा भएका अलखियारोड, रानीघाट, श्रीपुर, माईस्थान, गहवा, रेशमकोठी, कुमारटोल, पशुपति आदर्शनगर, महावीरथान, विर्ता, परवानीपुर, मुरली, पानीट्यांकीको एक दर्जनभन्दा बेसी ठाउँको शोकसभामा बाबा उही बेला मौन श्रद्धाञ्जलीसहित खडा रहेको भनी प्रत्यक्ष देख्नेरभेट्नेहरू आश्चर्यका साथ अहिलेसम्म भन्ने गर्छन् । वीरगन्जमा मात्र नभएर नेपालगन्ज, विराटनगर, भैरहवा, राजविराज, जनकपुर, मलंगवा, हनुमाननगर, कलैया, गौर, कोहलपुर, मटिहानी, लहान, जलेश्वर, इटहरी आदि नगरीमा पनि बाबाको सोही किसिमको सशरीर सामेल रहेको भनिन्थ्यो ।

एउटै व्यक्तिलाई एकै बेलामा विभिन्न स्थानमा एक समान भेटाइनुलाई हत्पत्ति विश्वास गर्न नसकिए पनि यो शतप्रतिशत विशुद्ध सत्यको आफ्नै तर्क त सुन्नोस् । एउटा लेखकको नाताले सत्यको तर्फबाट म नै बयान गर्छु । वस्तुतस् कुरो के हो भने बाबा भनी पुकारिएको यो वृद्ध कुनै लहडवश मधेस आन्दोलनमा होमिएका होइनन् । अहिलेसम्म बेवास्तामा परेका तराई–मधेसका जन–जनप्रति बाबाको अन्तरमा अगाध प्रेम रहेको छ ।

तसर्थ विभेदकारी सत्ताद्वारा बलजफ्ती पछि पारिएका मधेसी जनतालाई तनमनले साथ दिन बाबा आन्दोलनकारी भएका हुन् । उनी तमाम् आन्दोलनकारीसँग काँधमा काँध मिलाई दृढतापूर्वक उभिएका छन् । बाबा नभएर वास्तवमा अनेक आन्दोलनकारी हुन् । यस्तो सच्चा आन्दोलनकारीबाट जे पनि हुनु विलकुलै सम्भव छ । यो कुनै आश्चर्यको विषय नै होइन । मेरो तमाम् लेखन यो सत्यको साक्षी बस्न तयार छ ।

पुस ११ को एक धुम्म कुहिरोले छोपिएको बिहानीको ठिक ७ः३० बजेको एफएम रेडियोमा एउटा सानो सूचना टाइप समाचार प्रसारित भयो– हिजो सीमा पारिबाट भएको ढुंगा हानाहानमा आन्दोलन बाबा घाइते भएका छन् । त्यसपछि मधेस आन्दोलनलाई लगातार पछ्याइरहेको स्थानीय एफएमको नारीस्वर तुरुन्तै अन्तै मोडियो । बाबाबारे यति नै ।

एउटा स्वच्छ एवं निस्कलंक आवेगमा उठेको मधेस आन्दोलन जब दोस्रो चरणमा गएर आफ्नै मुलुकका दाजुभाइ र दिदीबहिनीहरूलाई खान नदिई भोकभोकै पार्ने नाकाबन्दीको निर्णयमा पुग्यो, अनि यदाकदा बोल्ने बाबाको स्वर सुनिन छाड्यो । कहिलेकाहीं भने उनी ओठैओठमा मन्त्रजस्तै केही विस्तारै–विस्तारै फुसफुसाउँथे ।

‘के भनिरहेछ यो बाबा ?’ एक साँझ यसलाई सुन्ने (होइन देख्ने) एउटाले सोध्यो ।
‘हाम्रो नाकाबन्दीको विरोध गरिरहेछ बाबा ।’
‘मलाई त सीआइडी बाबाजस्तो लाग्छ ।’
‘मार, भिखमंगालाई ।’
‘यसलाई कुनै हालतमा पनि छाड्नुहुन्न ।’
‘बेकारमा चुतिया हाम्रो विरोध गर्छ ।’ बाबामाथि खनिन सब तयार भइरहेका थिए ।
‘बाब भएर यस्तो पचडामा किन पर्छ यो ?’
‘चुतडमा दुई–चार लाठी हिर्काए सब ठिक हुन्छ ।’
‘हाम्रो नाकाबन्दीको विरोध गर्नेलाई सबक सिकाउनैपर्छ ।’
‘लगाऊ, जोडले सालेलाई लात ।’
‘आफूलाई बाबा भन्न शरम लाग्दैन यसलाई ।’
‘यो बाबा–साबा केही होइन ।’
‘भगाऊ यहाँबाट यसलाई ।’
(यसपछि बाबा पहिलोपटक निर्घातसँग चुटाइमा परेर मरणासन्न हुनेगरी घाइते भएका थिए ।)

भारतको रक्सौल र वीरगन्जको सिमानासँगैको बहुचर्चित दसगजामा बलियो कपडाको पाल गाडेर नाकाबन्दीमा उत्रेका आन्दोलनकारीसँग बाबा पनि थिए । उनी एकाछेउमा पूर्णतस् मौन रहन्थे । ध्यानस्थ मुद्रामा दुवै आँखा बन्द गरेर सम्भवतस् केही सोचिरहेका हुन्थे । कुनै—कुनै बेला कलेटी परेर फुस्रो भइसकेको ओठको कापमा हलुका–हलुका कम्पन देखापथ्र्याे । र अस्फुट उच्चारणमा मिहिन वेदना सुनिन्थ्यो । (यसलाई महसुस गर्नेलाई) । यसले वरिपरिका केही सशंकित आँखा झस्केर उनको अनुहारमा गाडिन्थे ।

भारतको चम्पारन जिल्लाको एक अग्रवाल थरका सत्ताधारी राजनीतिक बनियाको उदार सौजन्यतामा नेपालका आन्दोलनकारीलाई बिहान, दिउँसो र राति सुस्वादिष्ट भोजन आउने गथ्र्याे । आज बिहानको ताजा जिलेबी र कचौडी अनि सँगसँगै मलाइदार चिया ठिक्क समयमा आइसकेको थियो । र आज पनि बाबाले सदाझैं सीमापारिबाट आएको खाजा खान सोझै अस्वीकार गरे । यद्यपि उनले केही पनि नखाएको डेढ महिनाभन्दा बढी भइसकेको थियो । यतिका दिनसम्म केही पनि नखाएर कोही कसरी जीवित रहन सक्छ ? यता र उताको घोषित, अघोषित नाकाबन्दी भएर पुरै मुलुक भोकभोकै परेको बेला यो कुनै ठूलो कुरा होइन । यस्तो हुन्छ । र बाबा नै यसको एक जिउँदोजाग्दो उदाहरण हुन् ।

एकाएक सीमापारिको रक्सौलबाट यता बेतोडले ढुंगा हान्न थालियो । केही दिनदेखि यस्तो नियमित हुनथालेको थियो । यताबाट गएका आन्दोलनकारी उताका आन्दोलनकारीको परस्पर सहयोगमा यता ढुंगा हान्थे । र बाबा खुला टेन्टमा बसेर उही पाराले विस्तारै–विस्तारै फुसफुसाइरहन्थे । यही बेला एउटा बडेमानको ढुंगो (छेउमा धार भएको) वेगले आएर बाबाको नांगो टाउकोमा बज्रियो । उनी त्यहीं पर्लक्क ढले । र बाबाको एकातिरको कञ्चटबाट रगतको धारो बग्न थाल्यो । उनी निश्चेष्ट अवस्थानमा पनि फुसफुसाइ नै रहेका थिए–
आन्दोलन…आन्दोलन…आन्दोलन…।

यो त कुनै अमूक बाबालाई पात्र बनाएको एक आख्यानजस्तो भएन र ? हुनसक्छ । एक्काइसौं शताब्दीको चुस्त र दुरुस्त मिडियाको तेजिलो आँखाबाट एउटा सिंगो यथार्थ लगभग ओझेल भएकोले आख्यान (यसलाई जे नाम दिनोस्) अघि आउन पनि सक्छ । हो, यही स्मृति, विम्ब, कल्पना, सत्य, स्वप्न, प्रतीक र जीवनबाट सुस्तरी गुज्रेर सायद आख्यान हुँदै गइरहेको मेरो रचनाले मेरो कलमसँग सुटुक्क सोधेको छ– कतै अन्तिम समयसम्म सही आन्दोलनको आत्मिक समर्थनमा आन्दोलन–आन्दोलन–आन्दोलन जप गरिरहेका आन्दोलन बाबा हाम्रो राष्ट्रियता त होइन ? कुन्नि !

कान्तिपुर, फाल्गुन १, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा