मनोज गजुरेलबीपीको सपनामाथि गजुरियल बिपना
रियल प्रश्न : कांग्रेसहरू किन बीपीको पाइँलामा हिंड्दैनन् ?
गजुरियल जवाफ : किनभने उनीहरू बीपीको पाइला मेट्न चाहँदैनन् ।
आउनुहोस्, आज यही विषयमाथि गजुरियल विश्लेषण गरौं । कुरा कांग्रेसको मात्र भए त मैले केही नलेखे पनि हुन्थ्यो । किनभने संसारमा यस्ता कांग्रेस भैरहेका हुन्छन् । अमेरिकी कंग्रेस, चिनियाँ कंग्रेस, बेलायती कंग्रेस भए हामीलाई चासो हुने थिएन । कंग्रेसको अगाडि नेपाली जोडिएको हुनाले यसका बारेमा प्रत्येक नेपालीले चिन्ता र चासो राख्नुपर्ने गजुरियल ठम्याइ छ ।
मनमनै भन्नुभयो होला, यो गजुरियल विश्लेषकलाई अकस्मात् नेपाली कांग्रेसको भूत कहाँबाट चढ्यो ? वास्तवमा अहिले ममाथि कांग्रेसको भूत, वर्तमान र भविष्य तीनवटै सवार भएको छ । गरिबको झुप्रालाई हेरेर योजना बनाउनु भन्ने बीपीको सुन्दर भूत, गुटको मान्छे हेरेर संगठन बनाउनु भन्ने खतरनाक वर्तमान अनि लुट र फुटको भविष्यले एकैपटक लपेटेको छ ।
नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ । यो अधिवेशन मात्र हुँदो हो त गजुरियल विश्लेषण जरुरी थिएन, तर अगाडि महा जोडिएकाले महाधिशेन प्रतिनिधिहरूलाई केही रियल सुझाव पस्किने प्रयास गरिएको छ । पस्किने काम भान्छेको हो, खाने–नखाने मान्छेहरूको इच्छा ।
हुनत यो विश्लेषक कसैलाई सल्लाह दिने हैसियत राख्दैन । त्यसमा पनि कांग्रेसलाई त सुझाव दिनै पनि गाह्रो हुन्छ । सबैभन्दा पुरानो पार्टी र्पयो । धेरैभन्दा धेरै ज्येष्ठ नेता त्यही पार्टीमा छन् । अधिक से अधिक प्रजातन्त्र सेनानी यहीं छन् । यस्तो पार्टीमा बस्नेलाई एकल प्रस्तुति दिने यो विश्लेषकले सल्लाह दिने कुरै होइन, तर पार्टीलाई सुझाव दिन नसके पनि प्रतिनिधिहरूसमक्ष केही प्रश्न राख्ने दुस्साहस गरेको छु ।
यसलाई मेरो सल्लाह नमान्नुहोला । त्यसै पनि सल्लाहकार भनेको एउटा थपना मात्र हो । सल्लाहकारले सल्लाह दिनु र भक्तले भगवान्लाई प्रसाद चढाउनु उस्तै हो । भक्तको काम प्रसाद चढाउने हो, स्वीकार गर्नु–नगर्नु भगवान्को कुरा हो । सल्लाह नै माने पनि खासै सल्लाहकारले सल्लाह दिने हो, लिनु–नलिनु सम्बन्धितको नैसर्गिक अधिकार हो ।
कांग्रेसका अगाडि पनि नेपाली जोडिएकाले यो पार्टीमा धेरै नेपालीको जान्ने, बुझ्ने अधिकार छ भन्ने गजुरियल ठम्याइ छ । आफ्नो पार्टी बिग्रिनु र सप्रिनुमा नेपाली जनको चासो हुनु स्वभाविक हो । त्यसमा पनि बीपी कोइरालाजस्ता महान् नेताको सपनाले सिञ्चित पार्टीका बारेमा रियल चासो राख्न पाउनु हामी सबै नेपालीको नेपाली टाइपको अधिकार हो ।
सबैभन्दा पहिले ध्यान दिनुहोस्, के तपाईंको पार्टी बीपीको सपना साकार पार्ने दिशातिर हिँडिरहेको छ ? कि पीपीको बिपना सफल पार्न तल्लीन छ ? (पीपीको रियल अर्थ त मलाई पनि थाहा छैन, तर पीपीको गजुरियल अर्थचाहिं प्राइभेट प्रपर्टी भन्ने हुन्छ ।) बीपीले भन्नुभएको थियो रे, योजना बनाउँदा गरिबको झुप्रोलाई हेरेर बनाउनु । गजुरियल विश्लेषण भन्छ, नेताहरूले गरिबको झुप्रातिर हेर्नै सक्दैनन्, किनभने अग्लो महलबाट तलको झुप्रातिर हेर्न थाल्यो भने उनीहरूलाई ढाड दुख्न थाल्छ ।
जसरी सर्वहाराहरूलाई हेरेर नीति बनाउनु भन्ने माक्र्सबाजेको सुझावलाई उनका नेपाली चेलाहरूले सर्ब आहारालाई हेरेर योजना बनाउन थाले, त्यसरी नै बीपीका चेलाहरूले पनि गरिबको झुप्रोलाई होइन, धनको थुप्रो हेरेर काम गरिरहेको गजुरियल ठम्याइ छ । महाधिवेशनमा प्रतिनिधिहरूले यो कुरा उठाउलान् कि नउठाउलान्, गजुरियल कान त्यतातिर थापिइरहेको छ ।
अर्को कुरा, यो पार्टी नेपाली कांग्रेस हो कि नेपाली गुटांग्रेस हो ? महाधिवेशन प्रतिनिधिहरूले यस्तो प्रश्न गर्लान् कि नगर्लान् ? एउटै पार्टी, एउटै सिद्धान्त, एउटै लक्ष, एउटै उद्देश्य तर गुटचाहिं किन दुई–तीनवटा ? नेताहरूलाई प्रतिनिधिले यो प्रश्न सोधेर्र यार्खयाख्ती पार्ने, पानी–पानी बनाउने, सातो–पुत्लो लिने हो भने अर्को महाधिवेशनसम्ममा गुटांग्रेस पार्टी कांग्रेस पार्टी्तिर फर्कन सक्ने गजुरियल आशा छ, तर भर छैन ।
बुझिएअनुसार, कांग्रेसको नीति प्रजातान्त्रिक समाजवाद हो, तर भोगिएअनुसार, प्रजायान्त्रिक समात्वाद भएको छ । प्रजालाई भोट बटुल्ने यन्त्रका रूपमा समात्ने वाद्को नाम प्रजायान्त्रिक समात्वाद हो ।
पार्टीलाई समात्वादबाट समाजवादको व्यवहारमा फर्काउन महाधिवेशन प्रतिनिधिले प्रभावशाली पापड बेल्लान् कि पापड र पापडको पार्टनर पिउँदै महाधिवेशन सिध्याउलान्, गजुरियल आँखा त्यतैतिर तेर्सिएको छ ।
साप्ताहिक, फाल्गुन २१, २०७२
Subscribe
Login
0 Comments
Oldest










































