डा. रमेश शुभेच्छुहामी वौलाहाहरू
१. हामी वौलाहाहरू
सज्जनहरूका खेलौनाहरू
डन्डीवियो र गुच्चाहरू
बोराभित्र कोचिएका मकै र कोदाहरू
नबोल्ने देवताहरू वा बोल्ने तर बिग्रेका ग्रामोफोनहरू
कस्तो आनन्द ! दर्शक र बुद्धिमानहरूलाई हामीलाई उधिन्न
र रक्षानको माझमा कुखुराले खोतलेका किराहरू जस्तै
कुक्कुरले भेट्टाएका हाडका गन्हाउने टुकाहरू जस्तै,
बाँदरले फेलापारेका जिउका लिखा र जुम्राहरू झैं
राँगोले उडाएको आफ्नो आङको छारो झैं,
आमा ! तिमीले बिर्सेर जन्म दिएका हामी अर्धमृत स्पन्दनहरू ।
२. हामी खेल्न मन गर्छौ नदीका छालहरूसित
जसरी जिस्कन्छन माझीका छोराहरू देब्रे हात र गोडा मात्रले पनि
हामी पाहार ताप्न खोज्छौं यो अग्लो ढिस्कोमा
सिंहले निस्फिक्री आङ ताने झैं गरी,
हामी स्वयम् खेलाडी हौं–यस विश्व टुँडिखेलमा
दगुर्ने र उफ्रने इच्छा छ खेलाडीहरूको झैं,
हामी स्वतन्त्रताको शुद्ध हावा सोस्न खोज्छौं प्वाँख हाली
हाँसले पानीवाट दूध छाने झैं गरेर ।
३. आहा ! हामी हेर्न खुशी छौं त्यो विशाल हिमाल
संघर्ष प्रति विश्वासको अचल काल्पनिक शिव
उनका सेता केश र दा¥हीवाट खसेका नदीहरू कति पवित्र हुन्,
हासी नुहाउँछौं तिनका जलमा जिउ माडी माडी
ओहो ! कस्तो छाँया परेको त्यो नीलो र उज्यालो आकाशको !
रात र दिन दुवै देखिने छर्लङ्ग, राम्रो नराम्रो ऐना जस्तो,
त्यो पारि देखिने मेरी मन परेकीको केश जस्तो कालो जंगल
र वारिपट्टिको त्यो मगमगाउँदो फूलवारी र वगैंचा
मेरी छोरीका राता ओठ र गाला जस्ता पाकेका फल भएका,
यी यो वारि !– हरीयै हरीयो सारीको भूई जस्तो
हाम्रा पाखुराका पसिना परेका छन् त्यसमा तपाईकै जस्तो !
४. हामीसित पनि जीवन छ र त्यसभित्र प्रेमको थैलो छ,
हाम्रो अधवैशे शरीरलाई नहेप्नोस्– त्यसमा पनि अनुभव र शक्ति छ,
हाम्रो वुढ्यौली तपाईकै जति उपयोगी छ
चाउरिएका गोडा र सेप्रिएका हड्डी पनि वेलामा काम लाग्छन्,
हामीसित कुनै पनि नपुग्दो छ भने
मान्छे मात्रामा पाइने अभाव छ, विकाशको साह्रो खाँचो छ ।
५. तर महोदय हो ! तपाईहरूले हामीलाई यो पर्खाल भित्र हुल्नु भयो
किनभने हामी वौलाहा रे ! र सनकी रे !!
हामीलाई झिंगा डुबेको भात र मुसाले छेरेको दाल दिनु हुन्छ
किनभने हामीले मान्छेको श्रेणी आफैं गुमायौं रे ।
खोइ, हामीलाई बस्ने र सुत्ने कोठोसम्म दिनु भएको छ तपाईले ?
हाम्रा पनि मगज छन् चिन्तन गर्न,
चाहिन्छन् किताव, कापी, कलम र कागज हाम्रा अनुभूति उतार्न
तर तपाई हाम्रो मृत्यु मन पराउनु हुन्छ मनमनमा
र सुताउनु हुन्छ ईट्टा, सिमेन्ट, माटो र वालुवामा
ओढाउँदै हामीलाई भाङ्ग्र्रो, त्यो पनि बाँकी बसेको हाम्रै जतनमा
आहा ! हाम्रो रोग निको पार्ने तपाई निरोगीहरू !
धन्य छ त्यो स्वस्थ खप्पर र मान्छेको भनिदो मुटुलाई ।
६. के तपाई सज्जनहरू बाझ्नुहुन्न आपसमा कुक्कुरले झैं
एक टुक्रा हड्डीको निम्ति, अझ अर्काको भाग खोस्न भनी ?
के यहाँहरू राक्षसले झैं हास्ने र रुने गर्नुहुन्न
जाँड लाग्यो भनी र विरह चल्यो भनी ?
तपाईहरूलाई महल चाहिन्छ सध्ये बन्न
र अनेकौं आइमाई चाहिन्छन् जिउको जाडो भगाउन,
मान्छेलाई तपाई भन्नुहुन्छ जन्तु, दुई खुट्टे, जो त्यो सक्दैन,
र थाल्नुहुन्छ दिउँसै लुट्न आफ्नो महल र ऐशको तलो थप्न
तर आज हामीलाई कोच्नु भएको छ यो नरकमा
हाम्रो उद्धार गर्ने वहाना गरी, हाम्रो मुटु कलेजो चुसीचुसी ।
७. महोदय, फर्काउनोस् हाम्रा श्रीमती, दिदी वहिनी र आमाहरू
जस्लाई तपाईले आफ्ना महलमा थुन्नु भएको छ र
कारभित्र धुरुधुरु रुवाउनु भएको छ,
हामी कुनै आइमाईमाथि जाइलाग्ने छैनौं, किरिया खान्छौं,
फर्काउनोस् हाम्रा छाप्रा र खेतवारीहरू, हाम्रो जीवनका निम्ति
हामी तपाईहरूका नाम छुच्याई र अपशब्दका धूप हाल्ने छैनौं,
हामी आफ्नै जस्तो मेल गरी बस्ने छौं, दोश्रो प्रतीज्ञा गर्छाैं
किन खोस्नु भएथ्यो हाम्रो कृयाशीलतालाई र
लोभ्याउनु भएथ्यो जुवा, रक्सी र रण्डीवाजी तिर ?
भन्नोस्– “हामीले भूल गरेछौं, जानाजानी, क्षमा गर”
हामी तपाईका दुःखमा ज्यानको वाजी लगाइदिनेछौं,
देशको झण्डा उच्चा राख्न फुक्नुहुन्थ्यो ढुवाङ् होइन ?
लिनोस् हाम्रो एकएक थोपा रगत र दिनोस आफ्नो पनि
सारा विदेशी नङ्गा र पाइतालाहरू लखेट्न
हामी एटमबमका विस्फोटमा खरानी भै दिने छौं हाँसी हाँसी
हे हाम्रो उद्धारक नेपाली महावली समाज
भन्नोस् के गरौं हामी यो वन्धनभित्र २४ सै घण्टा चूप लागी ?
८. हाम्रा यी उज्याला आँखाका नानीदेखि तपाईलाई थाहा हुन्छ होला
र एउटा निउँ पारी फोर्न खोज्नुहुन्छ
हामी त्यसको विरोध गर्छौ– उफ्रेर, कराएर, रोएर, भागेर जसरी नै होस्
हाम्रा हाँसचाले हिंडाई देखी तपाई “यी त ठूला भएका ।” भन्नुहोला
र फलामे डण्डी डण्डीले भाँच्न खोज्नुहुन्छ
हामी त्यसको झन ठूलो विरोध गर्छौ, आकाश थर्किने कोहोलो मचाएर
तपाई हाम्रो गास र वासमै हमला गर्नुहुन्छ–
हामीले मीठो खायौं र स्वतन्त्र गीत गाई आफ्ना विछ्यौनालाई
आराम दियौं भनेर
त हामी त्यसको पनि घनघोर विरोध गर्छौ, भित्तो फोरिदिन्छौं
हाम्रो लुगा छैन भनी हेलाँ गरी आङका लुगा सुद्धै पानीमा चोवल्नुहुन्छ
हामी पनि तपाईलाई नरुझाई छाड्दैनौं
के गर्नुहोला तपाईहरूले बढी भन्दा बढी– ?
उही इट्टा, ढुङ्गा र फलामले कुट्ने मार्ने होइन ?
त्यो फलामे चक्कामा लगी निल पर्ने गरी बाँध्ने होइन ?
नाङ्गा पीठ र टाउकामा वज्ने गरी गोद्ने होइन ?
–लौ त्यो पनि मञ्जूरै छ हामीलाई–
तर याद राख्नोस् हामी एक होइनौं, जम्मै मिली
कराएको करायै गर्छौ–फेरि नारा लगायो नभन्नुहोला ।
एक थलोमा नवसी घुमेको घुम्यै गर्छौ–जुलुस झिक्यो नभन्नुहोला
हाम्रो बासको एक एक ईट्टा र बालुवा उधिनी मिल्काइदिन्छौं
ध्वंसात्मक र खर्चात्मक काम ग¥यो नभन्नुहोला,
अनि… अनि… पनि शान्तिले… शान्तिले बस्न हिंड्न दिनुभएन भने
तपाई आइलाग्दा जाइ लाग्ने छौं– आत्मरक्षार्थ, क्रान्ति ग¥यो नभन्नुहोला,
कोर्रा, संगीत, गोली र अगुल्टा देखाउनु भएछ भने
चपाचप समाती आएकै दिशातिर हिर्काई पठाउनेछौं
आफ्नो पनि ज्यानको मायाँ नछोड्नुहोला
हे हाम्रो भाग्यदाता समाज !
अनि भयो हाम्रो गिदी खल्वल्याएको–होस राख्नुहोला ।
९. त्यसैले जे सुकै भन्नोस् वा ठान्नोस् तपाईहरू
हामी आफ्नो स्वतन्त्रताको धुन छोड्दैनौं र भन्दै गर्छौ–
हामीलाई तपाईले जस्तै मीठो खान दिनोस्
हामी पनि आफ्ना आमा र वावुका छोरा हौं
हामीले सन्तानको भोक र तिर्खा चिनेका छौं
हामीलाई युग युगदेखि खोसेको हाम्रो जेथा फर्काईदिनोस्
हामी दश नङ्ग्री गरेर दुई पेट पाल्ने धर्मका हौं
हामीलाई नयां नयां वन्दोवस्त गर्दिनोस्
हामी त्यसैका निम्ति कल्पी तरङ्गी भएका छौं,
मान्छे मात्रलाई मान्छे जस्तो पार्न झोली भिर्नोस्
गाउँ गाउँमा गई–चुस्नु नर्क हो भन्नोस्,
हामी त गाउँ घरकै हौं–हाम्रो मुक्त स्वभावमा शंका नगर्नोस्
हामी त नाचिरहने वानीमा– भुई भत्कुन्जेल नाचिरहन्छौं, गाइरहन्छौं,
त्यस्तै गाउने बानीमा– अभ्यास हुइञ्जेल गाइरहन्छौं
लेक र वेसी त हाम्रो मृग उफार्न– हामी एक ठाउँमा अल्मलिन्नौं अल्मलिन्नौं
खवरदार हामी माथि फेरि हात छोड्नुहोला !
हामी त्यस्ता हावा खुस्केकाको गिदी ठीक पारिदिन्छौं
सज्जनवृन्द, हामी सित्तै वौलाएका छैनौं– दोषीलाई चपरीमुनि सुताई छाड्नेछौं ।
अहिलेसम्म हाम्रो राजधानीका जेलहरूमा वहुलाहरूलाई पनि देवानी,
फौदारी मुद्दाका र सुरक्षा कानुन अन्तर्गतका वन्दीहरूसँगै थुन्ने चलन छ ।
सदर भद्रगोल जेलमा देखेका वौलाहाहरूलाई लिई यो कविता लेखिएको हो ।
त्यसैले वौलाहाहरूलाई जेलभित्र वर्वराइरहेको कल्पना गर्नु व्यावहारिक हुनेछ ।
(‘आनन्द’ का नामले २०२६ सालमा ‘नौलो राँको’ –१, भरतपुरबाट प्रकाशित
भट्टको यो कविता चूडामणि रेग्मीको सौजन्यबाट प्राप्त भएको हो ।)
Subscribe
Login
0 Comments
Oldest






































