कृष्ण प्रधानसाँढ्याको कवित्
ऊ जति स्वतन्त्र
को छ र ?
भनेको
मान्दैन
नभनेको मात्र गर्छ
हेर्दा
अजङ्गको जूरो उचाल्छ ।
हानुलाझैँ गरी
तीखा तीखा सिङ
तेसमाथि
सुवर्ण–अक्षरले मोरिएका सिङ
छुन पनि सकिदैँन
मिल्दैन, जातै जाने हो कि जस्तो !
डामेर छोडेका साँढेलाई
समात्ने हुती कसको ?
ऐँचमा छैन,
समागमको रति–पीडाले
चटारिएका गाईहरू
यसका वरिपरि
झुमेका छन् ।
यसबेला छेउ लागेर
हिँड्न पनि हुँदैन,
मात्तिएका साँढेहरू
रति–रागमा मदान्त छन् ।
चौकुन
सीमानाको के कुरा ?
सिमाना पर्खाल
नाघ्दै हिँड्ने
उसको स्वभाव छ
पिताम्बरधारी
स्वयम् नारायणकै अवतारमा
साँढ्या भरखरै हो
तीर्थाटनमा निस्किएको छ ।
यसबेला
नारायणः नारायणः नारायणः
मात्र गर्न सकिन्छ
पाउ पर्न मात्र सकिन्छ
कविता चढाएर
आचमनी मात्र गर्न सकिन्छ
अक्षेरको अच्छेता चढाउने
वा
शब्दको भर्याङ बनाएर
स्वस्ती गाउने हो
कविजी !
अब पालो तिम्रै परेको छ
साँढ्यालाई
कवित
सुनाउने !
इमाडोल–९ ललितपुर
(‘साँढ्याको कवित्’ शृङ्खलाबद्ध कविताको तेस्रो अंश।)
Subscribe
Login
0 Comments
Oldest








































