दुर्गाप्रसाद ग्वालटारेखर्क

भेडीगोठको कुकुरले स्याललाई स्याल भनेर कहिल्यै चिन्न सकेन । टाढाटाढा दचक मात्र पाउँदा त नाइटो खुस्किने गरी कराउँथ्यो । {{read_more}} जब उसको
नजिक पर्थ्यो, लजावन्तीको मुण्टा बन्थ्यो ऊ ।
भेडाहरू आक्रोशित थिए कुकुरदेखि । आफुआफू कुरा गर्थे “यो कुकुरले हाम्रो रख्खे गर्ला भनेर के सोच्नुँ, भुक्नसम्मको मात्र हो यो । हैन भने कस्तो बिर्सेको हँ स्यालको करामत ! हाम्रा बाजेकै पालादेखी चैनले बस्न दिएको छ र हाम्लाई !” यो कुरो कुकुरलाई भन्ने हिम्मत भने कसैको थिएन ।
एक दिन मूली नभएको मौका छोपेर भेडाहरू एकान्तमा बैठक बसे । स्यालसंगको व्यवहार मन नपरेको कुरा मूली मार्फत् कुकुरसमक्ष पेश गर्ने निर्णय गरे । र त्यसै अनुसार गरे ।
आफ्ना मतियार भेडाको असन्तुष्टि र गुनासो सुनेपछि मूलीको पनि घैंटामा घाम लाग्यो ।
भेडाहरू खर्कमा चर्दै थिए । एकछिन् अघिसम्म भुकेको कुकुर ठप्पै रोकियो । यही मौका छोपेर मूलीले कुकुरलाई एकान्तमा बोलायो र भेडाको जमातको तर्फबाट गुनासो राख्यो ।
निकै बेर सुनिसकेपछि कुकुरले मूलीलाई शान गरेर उसको टाउको नजिकै तान्यो र कानमा फुस्फुसायो–
“मैले पनि त यही खर्कमा बाँच्नु पर्छ नि ठूला !”
२०७५ बैशाख २९
कौसलटार, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest








































