फित्काैली डटकमज्वाइँ महात्म्य
ज्वाइँ भन्नाले छोरी, वहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ । ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरू तीन प्रकारका हुन्छन् । आज म तिनै ज्वाइँहरूका बारेमा लेख्दैछु र तपाईं पढ्दै हुनुहुन्छ । झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईं कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ ।
१.भलाद्मी ज्वाइँ–
भलाद्मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा एक पटक ससुरालीको आँगन टेक्ने । समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरूले कमै दर्शन दिन्छन् । यिनलाई मैले भलाद्मी ज्वाइँ भन्ने गरेको छु । तपाईंले जेसुकै भने पनि फरक पर्दैन । मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन । जसले जे भने पनि तर यी ज्वाइँहरू मेरा नजरमा भलाद्मी ज्वाइँ हुन् । यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको । हुन्छ भने निजकै ईज्जतको ख्याल हुन्छ । यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने । असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन् । ‘विवि हो तो येसी’ भने जस्तो ज्वाइँ हुन् त यस्ता !
२. लिब्रिके ज्वाइँ–
यी ज्वाइँहरू कस्ता हुन्छन् भने साह्रै नै सस्ता । लिब्रिक लिब्रिक ससुराली धाइरहने र साली छिन् भने तीसँग प्रेमगीत गाइरहने यिनको वानी हुन्छ । महिनाका सवैजसो दिन ससुरालीमै बिताउन चाहने यस्ता ज्वाइँहरू लाजघिन पचेका र इज्जत नबचेका हुन्छन् । यस्ता ज्वाइँहरू यसरी ससुराली धाउँछन् कि मानौं घर चैँ ससुराली र ससुराली चैँ घर हो झैँ । यिनलाई ससुरालीमा सत्कार कम र दुत्कार बढी मिल्छ । तर पनि यिनीहरूको नजर ससुरालीतिरै हुन्छ । ससुरालीमा साली रहुञ्जेल र साँझविहान भरिएको थाली अघिल्तिर रहुञ्जेल यिनको वास ससुरालीमै हुन्छ । ‘ज्वाइँ कहिले फिर्नुहुन्छ ?’ भनेर सासूससुराले नसोधेसम्म यस्ता ज्वाइँले पिर्नसम्म पिर्नुहुन्छ । यस्ता ज्वाइँदेखि सावधान हुनु जरुरी भैसकेको छ । लिब्रिक लिब्रिक ससुराली जाने भएकाले नै मैले यस्ता ज्वाइँलाई लिब्रिके भनेको हुँ । तपाईंं जेसुकै भन्नुहोस् ।
३.घरज्वाइँ–
ससुरालीघरमा केही साल वा सदावहार रुपमा बस्ने ज्वाइँलाई घरज्वाइँ भनिन्छ । छोराविहीन ससुरालीमा यस्ता ज्वाइँहरूले आश्रय पाउँछन् । कतिपयले धनको लोभमा घरज्वाइँ बस्ने गरेको पाइन्छ भने कतिले बाध्यताले । तर घरज्वाइँ बस्नेको हविगत धोवीको कुकुरको झैं भएको देख्छु म त । ‘ज्वाइँ ! पाहुनालाई पिरा दिनु त ।’ भनेर सासू वा जेठीसासूले नोकरको व्यवहार गरेको देखेर ज्वाइँ कहिल्यै छोरो हुँदैन, छेपारो बढेर गोहोरो हुँदैन भन्ने कुरो स्पष्ट हुन्छ । कति घरज्वाइँ होलान् जसले छोराको स्थान पाएका होलान् ? यो धर्तीमा कुन ज्वाइँले स्वास्नीका, उस्तै परे सासूका लुगा नधोएको होस् । जे होस् । घरज्वाइँ बस्ने सयकडा पन्चानब्वे प्रतिशतको हालत भिजेको मुसो र डल्लाले थिचेको उम्रिदै गरेको मकैको टुसो जस्तै होला । सासू वा ससुरा मर्लान् र सम्पत्तिको मालिक बनुँला भनेर यस्ता ज्वाइँको जूनी बितेको देखेको छु । अरुको के कुरा गर्नु ! मेरै कुरो गर्छु ।
नेपालमा हुँदा नभएको घरज्वाइँ कतारमा भइएको छ । तानेको भिषामा कतार पालेको म यहाँ आइपुग्दा पो थाहा पाएँ ससुराली आएको कुरो । ससुरावाहुन यतै र सालो केटो पनि यतै भएपछि म एयरपोर्टबाट नेपालमा मन्त्री चढ्ने पजेरोमा के चडेको थेँ मभित्रको अँधेरो उज्यालोमा परिणत भएहाल्यो र मैले सेलिया ससुरालीको आँगन टेकिहालेँ । केही हप्ताहरू किचनमा खाना खान वाहेक नपसी बिते । जसै कतार टेकेका दिनहरू लम्बिँदै गएँ र म पनि घरज्वाइँ हुँदै गइराछु । अब त्यो दिन नजिक आउँदैछ जब हामी सालाभेना र ससुराज्वाइँ बीचका मर्यादाहरू नाङ्गिनेछन् । त्यसो त केही महान् मान्छेहरूले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरू धेरैपल्ट भत्काई नै सके । तर पनि खुम्चिने क्रम जारी छ मेरो । चाहनालाई भाँचेर बाँच्नुको पीडावोध घरज्वाइँ हुनेहरूलाई बढी हुन्छ सायद ! म त बाध्यताले भइहालेँ । तपाइं चैँ घरज्वाइँ नहुनुहोला । जय होस् !!
दोहा, कतार
Subscribe
Login
0 Comments
Oldest





































