फित्काैली डटकमगलगाँडेहरूको गाउँमा
दुर्गम जिल्लाको एउटा गाउँ गलगाँडेहरूको गाउँ भनेर चिनिन्थ्यो । कम्तीमा पनि एउटा गलगाँड नभएको मानिस गाउँमा एक जना पनि थिएन । गलगाँड नभएको कोही मानिस गाउँमा आयो भने गाउँलेहरूले बडो उत्सुक भएर हेर्थे ।
एक दिन एउटी स्वास्थ्य स्वयम्सेविका गाउँमा पुगिन् । उनी त्यहाँ गाउँलेहरूलाई गलगाँडबाट जोगाउने योजना लिएर गएकी थिइन् । खानामा आयोडिनको कमी भयो भने गलगाँड आउँछ, दिमागको विकास पनि ठीकसँग हुँदैन भन्ने सन्देश फैलाउनु तथा गाउँलेहरूलाई आयोडिन मिसिएको नुन खान प्रेरित गर्नु उनको संस्थाको मुख्य उद्देश्य थियो । उनी त्यही कामको लागि गाउँमा पुगेकी थिइन् ।
गाउँमा पुगेर उनले गाउँका प्रमुख मानिसहरूसँग भेटिन् । उनले गाउँको स्वास्थ्यको स्थिति सपार्नका लागि एउटा अन्तर्राष्ट्रिय संस्थाले उनलाई खटाएको कुरा बताइन् । गाउँमा स्वास्थ्य चौकी खुल्ने भयो भनेर गाउँलेहरू दङ्ग परे । उनले सबै गाउँलेहरूलाई भेला गर्ने र गाउँको स्वास्थ्यको अवस्थाबारे छलफल गर्ने कार्यक्रम राख्न उनीहरूसँग अनुरोध गरिन् ।
दिउँसो सराय खेल्ने चौरमा गाउँलेहरू भेला भए । स्वास्थ्य स्वयम्सेविका पनि आइपुगिन् । उनले आफूले आयोडिनयुक्त धुलो नुनका थैलीहरू पनि आफूसँगै ल्याएकी थिइन् । गाउँलेहरू प्लास्टिकका पोकाभित्र राखिएको सेतो नुनको धुलो उत्सुकतापूर्वक हेरिरहेका थिए ।
भेलामा आउने गाउँलेहरूमध्ये स्कुल जाने नानीहरूदेखि लौरो टेक्ने बूढाबूढीसम्म थिए । तर जुन उमेरको भए पनि सबैको घाँटीमा गलगाँड थियो ।
स्वास्थ्य स्वयम्सेविकाले जीवनमा कहिल्यै एकै ठाउँमा यति धेरै गलगाँडेहरूलाई देखेकी थिइनन् । एकातिर गलगाँडेहरूको जमघट देखेर उनी छक्क परिरहेकी थिइन् भने अर्र्कोतिर गाउँलेहरू भेलाको माझमा गलगाँड नभएकी युवतीलाई देखेर अचम्म मानेर हेरिरहेका थिए । स्वास्थ्य स्वयम्सेविकाले गलगाँडेहरूको दुःखपीडा र कुरूपताप्रति दुखित हुँदै मनमनै उनीहरूलाई गलगाँडको अभिशापबाट मुक्त गर्ने सङ्कल्प गर्दै थिइन् ।
यसैबीच गाउँको मुखियाले भेलालाई संबोधन गर्दै भने, “गाउँको विकास गर्न सहरबाट स्वास्थ्य स्वयम्सेविका नानी हाम्रो गाउँमा आउनुभएको छ । उहाँलाई हाम्रो पीरमर्का र समस्या सुनायौँ भने हाम्रा कुरा सहरमा पु¥याउनु होला । यसैले पालैसँग आफ्नो कुरा भन्नुहोला ।”
गाउँलेहरूमध्ये कसैले खेतबारीको उब्जनीले पेटभरि खान नपुग्ने बताए भने कसैले खानेपानीको समस्या सुनाए । तर कसैले पनि गलगाँडले पिरोलेको कुरा गरेनन् । स्वास्थ्य स्वयम्सेविकालाई खुल्दुली लाग्यो । तर यो समस्या गाउँलेहरू आफैले उठाउन् भन्ने उनी चाहन्थिन् । गलगाँडको कुरा उठाएर उनी गाउँलेहरूलाई अपमानित गर्न चाहन्नथिन् ।
उनले घुमाउरो किसिमले सोधिन्, “तपाईँहरूले कस्तो नुन खानुहुन्छ ? ढिके नुन कि धुलो नुन ?”
उनको कुरा सकिन नपाउँदै एक जना अधबैँसे गाउँलेले भन्न थाले, “हो नानी, तपाईँले बिल्कुल ठीक कुरा उठाउनु भयो । हामीलाई हिजोआज नुनको पनि समस्या परेको छ । बजारमा ढिके नुन पाइन छाडेको छ । पसलेले पनि धुलो नुन नै किन्न जोड दिन्छ । नुन किन्न जाँदा हाम्रो घाँटीतिर औँला ठड्याउँदै ढिके नुन खाएर गलगाँड आएको भन्छन् । स्कुलमा पढ्ने सानासाना केटाकेटीले समेत हामीलाई देख्ने बित्तिकै धुलो नुन खाऊ, त्यसमा आयोडिन कि के जाति मिसाएको हुन्छ । त्यो खायो भने गलगाँड आउन्न भनेर सिकाउँछन् । सहरमा हाम्रो धेरै बेइजत हुन थाल्यो ।”
गाउँलेको कुरा सुनेर स्वयम्सेविका छक्क परिन् । गलगाँडबाट मुक्ति पाउने सुझाव दिँदा कसरी उनीहरूको बेइजत हुन्छ भन्ने कुरा उनले बुझ्न सकिनन् ।
त्यही बेला उनले आफ्नो छेउमा बस्ने महिलाहरूले आपसमा खासखुस कुरा गरेको सुनिन् । “हेर त सहरबाट आएकी यी नानी कति राम्री छिन् । तर बिचरा, के गर्नु उनको गलगाँड नै छैन । सानो भए पनि एउटा गलगाँड भएको भए उनी झन् कति राम्री हुन्थिन् हगि !”
यो कुरा सुनेपछि स्वयम्सेविकालाई किन यो गाउँमा आएछु जस्तो लाग्यो । बीचैमा उठेर जान पनि भएन । उनी छटपटाएको देखेर मुखियाले असजिलो मान्दै भने, “स्वयम्सेविका नानी, तपाईंलाई गलगाँड भएको मानिस देख्दा अचम्म लाग्छ होला, तर हामीलाई गलगाँड नभएको मानिस देख्दा अचम्म लाग्छ । जति धेरै गलगाँड भयो उति भाग्यमानी ठान्छौँ हामी । हाम्रो बिहेवारी पनि गलगाँड भएको परिवारमा र तिनका छोराछोरीहरूसँग मात्रै चल्छ । हामी गलगाँडलाई आफ्नो गाउँको परिचय ठान्छौँ र गौरव गर्छौँ । तपाईँ यदि हाम्रो गाउँमा गलगाँड हटाउन आउनु भएको हो भने स्पष्ट भन्नुस् ।”
बिचरी स्वास्थ्य स्वयम्सेविका गाउँलाई गलगाँडरहित बनाउने सङ्कल्पलाई त्यहीँ छाडेर सहरतिर लागिन् ।
सानेपा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest






































