खेमराज खनाललुतो कविता

देश सिमानामा हराउँछ 
नेता कुर्चीको दिवानामा हराउँछ
सचिव मन्त्रीसँग कराउँछ {{read_more}}
हाकिम पिउनसँग डराउँछ
देश बनाउँछु भन्दै
कम्मर कसेर हिँडेको नेता
दिनभर लैनचौरको मदिरामा रमाउँछ ।
भाइ र सालालाई पि.ए. बनाउँछ
जनतालाई राम्रो कहलाउँछ
डलर र कालो धनमा हराउँछ
महिलालाई अधिकार भराउँछ
जनतालाई थाङनामा सुताउँछ
घरकी श्रीमती छक्याउँछ
र
पाँचतारे होटलमा मस्ती गर्दै
रातभर तरुनीको साप्रा कन्याउँछ ।
चुनाव आउँछ, नारा आउँछ
नेता भाषँणमा कराउँछ
जनता सपनामा हराउँछ
कार्यकर्ता नेताको ललीपपमा मन बहलाउँछ
युवा खाडीमा हराउँछ
रेमिटेन्सले मन्त्रीको भुँडी भराउँछ
युवा घरमा फर्किनसक्दै
त्यही मन्त्रीले घरकी श्रीमती भगाउँछ ।
एउटा आउँछ पानी जहाज कुदाउँछ
हावा कुरा हावामै उडाउँछ
अर्काे आउँछ सिंगपुर बनाउँछ
जुँगामा ताउ लगाउँदै
युरोप र अमेरिकाको भाउ लगाउँछ
अर्को आउँछ
ज्योतिषसँग भवीष्यको दाउ लगाउँछ
के के भुनभुनाउँछ, गुनगुनाउँछ
नयाँ पाइन देखाउँछु भन्दै
अर्काे आउँछ
डुङडुङ्ती गन्हाउँछ,
सँधैभरी उही श्रीमतीकै लुतो कन्याउँछ ।
एउटा आउँछ
सिंहदरवार गाउँमा पु¥याउँछ
मोटर कुदाउँछ, धुलो उडाउँछ
जनताको मन कुडाउँछ
अर्काे आउँछ गाउँ सिंहदरवार फर्काउँछ
महङ्गीले जनताको ढाड बङ्गाउँछ
गर्छु गर्छु भन्दै
अर्काे आउँछ
र
उही
उत्तरकै आङ कन्याउँछ ।
फेरि अर्काे
मुड्की बजार्दै आउँछ
जनता अल्मलाउँछ
दिमाग ढल्मलाउँछ
अब हुन्छ हुन्छ
भन्दै
जनताको आश झल्मलाउँछ
कार्यकर्ताको मगज धल्मलाउँछ
आशै आशमा बसेका जनतालाई
यता अल्मलाउँछ
उता अल्मलाउँछ
शहिद र जनताका सपना
टोकरीमा थन्काउँछ
र
दक्षीणकै जाङ कन्याउँछ ।
कन्याउँदा कन्याउँदै हड्डी नै
खिइ सक्यो
हरे ! शिव
यसरी देश
कहिले र कस्ले बनाउँछ ?
झिमरुक गाउँपालिका ४ प्युठान
Subscribe
Login
0 Comments
Oldest





































