औचित्य
हाम्रा जीवनका मिठा र नमिठा भोगाइका सार हुन्
खोज्दा सूक्ति, उखानभित्र गहिरा, उम्दा अलङ्कार छन् । {{read_more}}
मान्छे सञ्चयमा रमाउँछ सधैँ के लान्छ खल्ती भरी
‘टेढो आँगन’ भन्छ नाच्न नसके भन्दैन गल्ती गरी ?
पक्री बाँदर नारिकेल फलको औचित्य बुझ्थ्यो कहाँ
के सुन्थ्यो र पुराण भालु मनमा वेदार्थ सुझ्थ्यो कहाँ ?
बाँकी दोष रहन्छ कुन्नि किन हो सारा समेटे पनि
‘खुर्पाको बिँड’ भन्छ मूर्ख मनुवा श्रीखण्ड भेटे पनि ।।
खस्रो बात मिठो उखान छ यहाँ रोटी छ चिल्लो मिठो
शङ्का गर्छ प्रवेश भित्र मनमा सल्किन्छ लङ्का छिटो ।
‘पेडा’ भन्दछ, खान्छ आलु’ दुनियाँ त्यै भन्छ पाउन्न जे
जो मान्छे मह काढ्छ हात उसले चाटी बिरायो र के ?
घाँटी हेर र हाड निल्न त्यसरी सिक्ने र चल्ने गर
चौतारातिर चोर, साधु सजिलै शूली चढाए तर ।
गर्दा बेर पलाउँछन् सय मुना अग्राखमा बेसरी
जाँच्तैनन् सुन हो भने अकबरीलाई कसी जौहरी ।।
जो होचो छ सदैव पर्छ मुखमा घोचो यही हाल छ
हार्ने जित्छ र हार्छ व्यक्ति विजयी, को भन्छ बेहाल छ ?
गर्दा पाप धुरी कराउँछ अरे के ढाँट्नु खै व्यक्तिले
भित्ताको पनि कान हुन्छ, कमिला मर्छन् पखेटा मिले ।।
भन्छन् इन्द्र अगाडि स्वर्ग छ यसो पुग्दा गफाडी उता
हात्ती खाडलमा परे यदि कतै जिस्क्याउँछन् भ्यागुता ।
लङ्का ध्वस्त गरेर वानर फिरे फेटा गुथ्यो ढेडुले
खाने धान मुसो सजाय कसरी पाएछ मण्डूकले ।।
सुर्खेत