मनोज गजुरेलसर्वहारावादी रक्सी
‘यो पियोर नेपाली भट्टी हो । यहाँ हामी दुईजना छौं, रक्सीको गिलास र म । म कुर्सीमा बसेको छु । म अगाडिको टेबुलमा गिलासभित्र ऊ छचल्किरहेको छ । आफू कत्रो टेन्सनमा छु, ऊ भने ढुक्कसँग हाँसेर यो वसेको छ !
‘ए भाइ रक्सी, तँलाई अलिकति पनि चिन्ता छैन आफ्नो बारेमा ?’ –मैले ओठको छेवैमा लगेर गिलासलाई गाली गरें । ‘त्यही चिन्ता गर्दागर्दै खिइएर सिन्को जस्तो भइसक्यौ, अझै कति दुब्लाउने बिचार छ हौ ?’ रक्सीको गिलासले सोध्यो । ‘मेरो कुरो छोडिदेऊ न, आफ्नो बारेमा चाँहि सोच ।’ मैले ओठछेउबाट रक्सी हटाउँदै उपदेश दिएँ । ‘मेरो बारेमा मलाई नै चिन्ता छैन भने तिमीलाई केको खसखस हँ ?’– गिलासभित्रबाट रक्सी करायो ‘हेर भाइ, क्रान्तिकारी महिलाहरूले रक्सीविरुद्ध आन्दोलन छेड्दैछन् । तिमीहरूको वंशनाश गर्ने रे ।’ मेरो कुरा सुनेर गिलासभित्रको रक्सी छचल्कियो– ‘वंशनाश ! हामीले के बिगार गरेका छौं हँ यी मानिसहरूको ?’
रक्सी रिसाएको देखर मैलै सम्झाउँदै भने– ‘कुरो के भने, तिमीहरूले मानिसलाई रोगी बनायौ, सक्रिय हैन भोगी बनायौ । समाजलाई ढोंगी बनायौ रे ।’ ‘हामी हात न खुट्टाबिनाका मुर्कुट्टाकार रक्सीहरू, जबर्जस्ती मान्छेका मुखमा पसेका हौं र ! कि हामी फ्याक्ट्रीबाट पाइपद्वारा सिधै तिमीहरूका भुँडीमा घुसेका हौं ?’– रक्सीको गिलासले मलाई हकार्यो ।
‘मैले त्यसो भनेको पनि होइन । तँपाईहरूको दुरुपयोग भयो । फ्याक्ट्रीका साहुहरूले तपाईँहरू मार्फत मानिसमा…’ मेरो कुरो काट्दै रक्सी गर्जियो– ‘मालिकले गरेको अपराध हामीमाथि किन थोपरिन्छ ?’ म अवाक् भएँ । यसको जवाफ मसँग थिएन ।
तत्कालै एकजना क्रान्तिकारी महिला मित्रलाई फोन सम्पर्क गरें– ‘हेलो राँकीताजी, म यहाँ रक्सीको ट्रयापमा परें । कुरो के भने तपाईँहरूले रक्सीमाथि प्रतिबन्ध लगाउनुभन्दा उत्पादनस्थल नै सिज गरिदिए हुदैनथ्यो र भन्या ?’ उताबाट उत्तर आएकै थिएन, रिसिभर खोस्दै गिलासले ड्याम्म फोन राखिदियो ।
‘सबैजना नाटक गर्छन् । फ्याक्ट्री नै सिज गरिदियो भने उनीहरूलाई कसले चन्दा दिन्छ !’ आँखा राताराता पार्दै रक्सी जंगियो । ‘तिमी पूर्वाग्रही भएर बोल्दैछौ ! क्रान्तिकारी महिलाहरूसँग तिम्रो कुनै पुरानो दुस्मनी थियो कि ?’ मैले सोधें । ‘रिस उठ्दैन त ! गरीबको विरुद्धमा लड्छु भन्नेहरू, हामी गरीबकै विरुद्ध आइलागेपछि …!’ रक्सी सुँक्क–सँुक्क गर्न थाल्यो ।
‘तिमी गरिब ! भन्न खोजेको कुरो के हो? मैले त बुझिन है ?’ मैले ओठ लेप्य्राएँ । ‘कारवाही गर्ने भए ह्विस्की र ब्रान्डीहरूलाई गर्नुपर्छ । बिचरा हामी पाँच रुपैयाँ गिलासका रक्सीलाई प्रतिबन्ध लगाएर क्रान्ति हुन्छ ?’ रक्सीले गिलासको वरिपरि लाग्दै गरेको आँसु पुछ्दै भन्यो । ‘ह्विस्की भए पनि रक्सी भए पनि आखिर तिमीहरूको जात त एउटै हो क्यारे ?’ मैले सोधें ।
‘जात एउटै भए पनि हाम्रो वर्ग फरक छ । हामी निगार र रक्सीहरू निम्नवर्गका हौं । भोड्का र रमहरू मध्यमवर्गीय परिवारमा गनिन्छन् । ब्रान्डी र ह्विकीहरू धनी परिवारमा पर्दछन भने रेडलेभल र ह्वाइटलेभल सम्भ्रान्त परिवार भित्र पर्दछन् ।’
रक्सीले वर्ग विश्लेषण ग¥यो । ‘तिमी निम्नवर्गीय भएर के फरक प¥यो त, अरु मद्यपानभन्दा कम दोषी छैनौ ।’ मैले भनें ।
‘सबैजना चोर हुन् भनेर आफू भलो हुन खोज्ने काम नगर ! तिमी किन रक्सी खान्छौ भन त ?’–रक्सीले सोध्यो । ‘मैले त दिनभरि भारी बोक्नुपर्छ । डाइट खान पैसा छैन । त्यसैको बदलामा पिडा विर्सन कान्छीको यो पसलमा रक्सी खाने गर्छु ।’
मैले सत्य कुरा बताएँ । ‘हो, यहींनिर भयो गरिबद्वारा गरिब विरुद्ध शोषण ! क,े तारे र पाङ्ग्रे होटलका धनी रक्सीहरूमाथि कारबाही हुन्छ ?’ उसले सोध्यो । मैले कुन्निको सङ्केतमा ओट लेप्य्राएँ । ‘यसरी नै जे विषयमा पनि ओठ लेप्य्राउँदै गयौ भने तिम्रो मुखमुनिबाट हात्तीको झैं सुँढ निस्किएला, तर तिम्रो प्रश्नको उत्तर कहिल्यै पाउने छैनौ बझ्र्यौ ?’ रक्सीको गिलासले लामो प्रवचन सुनायो ।
‘तर, असर त एउटै हो नि तिमीहरूको । के तिमीचाँहि ठीक छु जस्तो लाग्छ त ?’ मैले प्रश्न गरें । रक्सी मेरो मुखको छेउमा आयो र भन्यो– ‘प्रश्न म ठीक छु वा छैन भन्ने होईन । हाम्रो वंशनाश गर्नेहरू कति प्रतिबद्ध छन् भन्ने हो । साँच्चै परिवर्तनका लागि हो कि सस्तो लोकप्रियताका लागि हो वा धनीको रक्षा र हामी जस्ता गरीब रक्सीको समाप्तिको षड्यन्त्र हो, त्यो थाहा चाहियो ।’
एकैछिन सोची सकेपछि मैले जवाफ दिएँ– ‘यो सब थाहा दिन त रुपचन्द्र विष्ट चाहिन्थ्यो, उनी बितिगए । अब कसरी थाहा पाउनु र !’ मैले लाचारी देखाएँ ।
‘तर हेर्नोस्, जबसम्म मानिसहरूका यस्ता अभियानमा इमान्दारिता आउँदैन तबसम्म हाम्रो वंशनाश कसैले गर्न सक्दैन । भट्टीमा रोके भने रेस्टुराँमा जान्छांै । रेस्टुराँमा छेके भने होटेलमा पस्छौँ । होटलमा प्रतिवन्ध भए डिस्कोतिर छिर्छांै । डिस्कोमा पनि पर्खाल लगाए भने हामी मन्त्री र नेताहरूका सुरक्षित घर र क्वार्टरहरूमा धुसेर हाम्रा धनीवर्गका दाजुभाइले जातीय अस्तित्व जोगाइ राख्नेछन्, बुझ्m्नु भो ?’ रक्सीको चर्को स्वरले म झसङ्ग भएँ ।
मेरो झसङ्गले गर्दा टेबुलमाथिको पानीको गिलास भुइँमा खसेर पानी पोखियो । म भिजेको कपडा निचोर्न थालें ।
के गर्ने यार ! जहाँ बस्यो त्यहाँ सपना देख्ने मेरो बानी पनि कहिल्यै गएन भन्या !
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































