आर.सी. रिजालस्टुल टेस्ट
खाटमा पल्टेको थिएँ । मनमा केके कुरा खेल्दै थिए । मेरो दृष्टि भित्तामा टाँगेको आमाको फोटोमा पर्न गयो । दिमागमा विगतको घटना फेरि टुप्लुक्क आइपुग्यो-
भीमफेदी महेन्द्र हाइ स्कुलबाट सात कक्षाको जाँच सकेर घर आएको थिएँ । बिहान बेलुकै होटलको खानपिनले हो या अन्य कारणले हो दुई महिनादेखि पेट दुख्ने रोगले सताएको थियो । मैले यो कुरा बाआमालाई सुनाएँ । उहाँहरूले हेटौँडा अस्पताल गएर जँचाएरआइज भन्नुभयो ।
बिहान सबेरै हेटौँडा अस्पतालतिर लागेँ । डाक्टरलाई जँचाउन हिँडेको यो पहिलो पटक हुनुपर्छ । डाक्टरले भोलि बिहानको दिसा ल्याएर ल्याबमा जँचाउनू, रपिोर्ट हेरेर औषधी लेखिदिउँला भने ।
यो कुरा घर गएर आमालाई सुनाएँ । आमाले भोलिपल्ट बिहानै भान्जालाई खुवाइसकेको खाली ल्याक्टोजिनको डिब्बा दिनुभयो । डिब्बालाई कपडाको झोलामा हालेर काँधमा भिरेर हिँडेँ । ल्याबको कर्मचारीले डिब्बाभरि दिसा ल्याएको देखेर- “के यो बारीमा मल हाल्न ल्याएको ?” भन्दै झर्कियो । म ट्वाल्ल परेर हेरिरहें ।
एकछिनपछि उसले टल्कने छेस्को जस्तोले अलिकति झकिेर “ल यो बट्टा रापती खोलाको बगरमा फालेरआउनू, कस्ता कस्ता मान्छे पनि हुन्छन् …” भन्दै के के भट्भट्याउँदै थियो । म भने त्यहाँबाट झोला भिरेर हिँडेँ । वास्तवमा मैले मात्र हैन, आमाले पनि दिसा जाँच्ने भनेपछि ठुलै मेसिनमा हालेर बेपत्ता घुमाएर घोलेर जाँच गर्छ होला भन्ने ठान्नु भएको रहेछ, नत्र एक केजी अट्ने डिब्बा किन दिनुहुन्थ्यो ?
उतिबेला हेटौँडा अस्पतालबाट रापती खोला पुग्न पुरै काँसघारी छिचल्नु पथ्र्यो । मेरो पालो आ त्यो बगरसम्म किन पुग्नु, घर र्फकँदा डिब्बा बाटोमा फालौँला भनी सम्झँदै अस्पतालको उकालोमा रहेको सडक छेउको रुखको हाँगामा झोला झुन्ड्याएर कपाल काट्न बजार निस्कँ ।
हेटौँडामा कपाल काट्ने एउटा मात्र सैलुन थियो धेरैजसो नाइहरू पिर्का वा इट्टामा बसाएर कपाल काट्थे । यस्तोमा बसेर कपाल काट्दा सस्तो पर्थ्यो, जसले गर्दा मलाई बिँडी किनेर खान (नेपालमा कुनै पनि कुरा पिइँदैन खाने गरिन्छ) पैसा उब्रिन्थ्यो ।
म कपाल काट्दै गरेको नाइतिर लम्कँदै थिएँ, एउटा नाइ आएर- “कस्तो कपाल काट्ने बाबु ?” भन्यो । त्यति बेला अरूले ‘गोलकट’ काटेको भन्या सुनेको हुँदा मैले पनि गोलकट काट्ने भने । उसले उभिएरै मेरो एकापट्टि कन्चटको पाखामा चारपाँच चोटि कैँची चलाएर- बाबु ऊ त्यहाँ बस्ने भनी देखायो । यसो त्यता हेरेको त म जस्तै कैँची चलाइएका केटाहरू आफ्नो पालो पर्खँदै टुक्रुक्क बसेको देखेँ । झन्डै डेड घन्टापछि मेरो पालो आयो होला । कपाल काटिसक्नासाथ अस्पतालको ल्याबमा रिपोर्ट लिन गएँ । त्यहाँका कर्मचारीले अघिको मान्छे तिमी नै हौ भनी गलल्ल हाँसेर मलाई रिपोर्ट दिए ।
डाक्टरलाई रिपोर्ट देखाएँ, औषधी लेखिदिए अनि घर फर्कने बेलामा झोला झिक्न गएको त देखिनँ । कुनै उपद्रयाले भुइँतिर फालिदियो कि ठानी दायाँबायाँ हेरेँ, देखिनँ । कसैले बोकेको पो छ कि भनी मान्छेहरूको हातमा हेरेँ, देखिनँ । रित्तै फर्केको देखेर आमाले गाली गर्नु भो, “हरे झन् अस्ति मात्र पाँच मोहरमा किनेको झोला, यसले कहाँ बिर्सेर आएको होला ?”
उता त्यो झोला चोरले पनि निक्कै टाढा एकान्तमा पुगेर वा घरमै गएर जहान केटाकेटी सबैलाई जम्मा पारेर- ल हेर, मैले के ल्याएको छु भन्दै झोलाभित्रको डिब्बामा पक्कै घिउ, मह वा तेल वा बिरामीले खाने खुराक केही हुनुपर्छ भनी सोचेर खोली हेर्दा त्यसले पनि मलाई नै सराप्यो होला ।
नजानेपछि के के हुन्छ के के ?
हेटौडा, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































