सुलसुले‘प्रगतिशील कथाकारिता कार्यशाला गोष्ठी’ सम्पन्न
राजधानीमा फागुन २४ गते शनिवार जन साहित्यिक मञ्च, नेपालको आयोजनामा प्रगतिशील कथाकारिता कार्यशाला गोष्ठी सम्पन्न भयो ।
मञ्चका केन्द्रीय सचिवालय सदस्य नवराज रिजालले अनौपचारिक रूपमा थालनी गर्नु भएको कार्यशाला गोष्ठीमा अतिथिका रूपमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनुहुन्थ्यो । गोष्ठीको औचित्यका बारेमा मञ्चका अध्यक्ष राम विनयले प्रकाश पार्नुभएको थियो ।
उक्त विशेष कार्यशाला गोष्ठीमा राम विनय, रमेश पोखरेल, नर्मदेश्वरी सत्याल, विनोद मञ्जन, यशोदा अधिकारी, गोपालकुमार मैनाली, डा.यादवप्रकाश लामिछाने, भावगत आचार्य, भक्त कार्की, भगतदास श्रेष्ठ, सुमी लोहनी, शीतल गिरी, माधव सयपत्री, सूर्य बिसी, होमराज श्रेष्ठ, पार्वती शाही, विजया सत्याल, जयन्ती स्पन्दन, प्रकाश सिलवाल, प्रेम सिलवाल, नवराज रिजाल, प्रशान्त खरेल, देवकी के.सी., होमशंकर बास्तोला, डा.सुधन पौडेल, विद्या सापकोटा, अच्युत घिमिरे, बालमुकुन्द कार्की, रामचन्द्र खतिवडा र मञ्चका सल्लाहकार सीताराम नेपालको सहभागिता रहेको थियो ।
विज्ञ एवम् मञ्चका सल्लाहकार डा.नेत्र एटमले कथा भनेको के हो ? कथा लेखनको प्रयोजन के हो ? भन्ने सन्दर्भमाथि प्रकाश पार्दै समय क्रममा घटेका घटनाको जस्ताको तस्तै विवरण कथा होइन, यो बनाइएको लेखनी हो, बुनोटमा सूक्ष्मता, कलामूल्यको सम्प्रेषण गर्ने, एक बसाइमा पढि सकिने, सम्प्रेषणीय, खाँदिएको, समग्रमा एकल प्रभाव छाड्ने अनि पाठकको अनुभव र ज्ञानको समेत उपयोग गर्ने विशिष्ट लेखन कथा हो भन्नुभयो । उहाँले रूपान्तरणको सङ्केत गर्ने, आग्रह गर्ने समेतका व्यापक प्रयत्न एउटा राम्रो कथा सिर्जनाका लागि कथाकारले गर्नु पर्ने धारणा राख्नु भयो ।
बीच बीचमा सहभागी र विज्ञसँग प्रशस्त अन्तरक्रिया समेत भएको थियो । कथाकार एवम् मञ्चका सल्लाहकार सीताराम नेपालले आफूले कथा लेख्ने भए पनि यति धेरै सैद्धान्तिक ज्ञान भने आफूसँग नभएको र कथा लेख्दा यी व्यापक पक्षमा ध्यान नै नपुगेको कुरा आजको कार्याशालाबाट थाहा भएको उल्लेख गर्नु भयो । राष्ट्रिय जन सांस्कृतिक महाङ्घका अध्यक्ष खगेन्द्र राईले यस्तो विशद् एवम् व्यवहारोपयोगी कार्याशालामा आफू कहिल्यै पनि सहभागी नभएको तर आज अत्यन्त लाभान्वित भएको महसुस भएको बताउँदै यस्तो गहन कार्यशाला गर्दा महासङ्घका सबै घटकलाई राखेर गर्न पाए सबै स्रष्टा लाभान्वित हुने ठानेको हुँदा यस दिशामा महासङ्ले पहल गर्ने धारणा राख्नु भयो ।
अन्तमा मञ्चका अध्यक्ष राम विनयले कार्यशालामा प्रविधिको प्रयोग सहित गहन एवम् व्यापक प्रस्तुति दिनु हुने विज्ञ डा.नेत्र एटम, महासङ्घका अध्यक्ष तथा सहभागी सबै स्रष्टा मित्रलाई सहभागिताका लागि हार्दिक धन्यवाद सहित गोष्ठीको समापन गर्नु भएको थियो ।
– रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































