लक्ष्मण गाम्नागेएसीमा स्यु स्यु
यातायातको क्षेत्रमा देशले ठूलै फड्को मारेछ। व्यवसायीहरू साँच्चिकै व्यावसायिक भएछन् भन्ने कुरा भर्खरै एउटा रात्रिबससँग मितेरी लगाउँदा थाहा पाइयो। उहिले हाम्रा पालामा नाइट बस भनेपछि सबै उस्तै हुन्थे। चामलका बोरा, खसी, बोका, कुखुराका पेरुंगा, चुरोटको धूवाँ, मान्छेको भीड, उल्टीपाल्टी इत्यादिसँग भिडन्त गर्दै यात्रा गर्नुपथ्र्यो। नयाँ नेपालमा थरीथरीका नाइट बस आएछन्। निम्न वर्गका लागि साधारण, मध्यमवर्ग चढ्ने डिलक्स, अलि सोखिनका लागि एसी डिलक्स। पुसको यो ठन्डीमा केटाकेटीसहित यात्रा गर्न एसी अच्छा हुन्छ भनेर एक चिनारु कर्मचारीले भनेपछि होला त नि भनेर मुटु मिचेर सबैभन्दा महँगो शुल्क तिरेर त्यसमै जाने विचार गरयिो। साधारण बसको भाडा साधारण, झापा-काठमाडाँै आठ सय। एसी नभएको डिलक्समा १ हजार २ सय। विशेष सुविधायुक्त एसीलाई १ हजार ६ सय रुपियाँ। साधारणभन्दा दोब्बर।
एसी गाडीको मुख्य आकर्षण नै एसी अर्थात् एयर कन्डिसन। एयर कन्डिसन एकदमै कन्डिसनमा रहेछ। धेरै कुरा अटोमेटिक चल्दो रहेछ। बसको ढोका आफैँ खुल्ने र बन्द हुने। झ्यालहरू आफैँ यताउता सरेर गाडीभित्र चिसो हावा छिराउँदा रहेछन्। एसी गाडीमा पनि कत्रो तकनिक पुर्याधएर ठाउँठाउँबाट हावा छिराइएको, अचम्म ! त्यसरी हावा छिरेपछि एयर कन्डिसन चालू गररिाख्नुपर्ने आवश्यकतै पर्दो रहेनछ। कर्मचारीहरूले एकएक अटो प्याकेट बिस्कुुट र एक एक बोतल पानी टक्र्याएपछि हामी यात्रुहरू दंग पर्दा रहेछौँ। यही मौकामा एयर कन्डिसन बन्द हुँदो रहेछ। दोहोरो सुविधा लिनुदिनु पनि त भएन ! जाडोले यतै सी सी, उतै सी सी बनाउने भएर नै यो गाडीलाई एसी भनिएको रहेछ। वातानुकूलित गाडीमा सानसँग जानलाई लगाएको आफ्नो पातलो कमिजले बच्चालाई गुटमुट्याएपछि आफू भने स्यु स्यु गर्दै होल नाइट जाग्राम।
भिडियोको भाँडो पनि रहेछ गाडीमा। एयर कन्डिसन बन्द गरेपछि मित्रहरूले गीत देखाउन थाले भित्तामा टाँसिएको पर्दामा। केही थोत्रामोत्रा गीत दोहोर्या एर तेहेर्यारएर देखाएपछि हिन्दी सिनेमा सुरु भयो। सिनेमा बीचमा पुगेर अड्कियो। झ्यार्र र झुर्र गर्योर। हिरोले हिरोइनलाई बोकेर घुमाएका एक(दुई सिन हेर्दाहेर्दै भात खाने ठाउँ आइपुगेछ। भात खान उतारयिो। यात्रुको सेवामा खुलेका भात होटलका पुराण पुरानै भइसके। आफ्नै अनुहार देखिने दालको तुर्लुङ्गे झोल र भात। त्यो खानुभन्दा त बरू होटलसँगै टाँसिएको टहरामा १५ रुपियाँको चाउचाउमा एक डबको ट्युबवेल वाटर र हाफ त्यान्द्रो धनियाँ हालेपछि बन्दो रहेछ ५० रुपियाँको खाद्य पदार्थ, चाउचाउ सुप। व्यापारको यो अपार काइदाको रसास्वादन गर्दै एकछिन भए पनि ज्यान तताइयो।
घर पुगेर हिसाब गरेँ, एसी लेखेको गाडीमा चढेबापत दुई सय, अटोमेटिक ढोका हेरेको एक सय, एक बोतल पानी र पाँच पाप्रा बिस्कुटको एक सय गरी साधारण गाडीभन्दा चार सय बढी तिरेर झापाबाट काठमाडाँै आइपुगिएछ। धन्यवाद एसी गाडीका सञ्चालकज्यूहरूलाई ! एसी गाडीहरूले यसरी नै जनताको सेवा गररिहून्। तिनीहरूको व्यापार दिन दुगुना, रात चौगुना बढिरहोस्। अनुगमन सनुगमन गर्ने निकायहरू पनि भूतजस्तो राती राती कुद्ने गाडीको अनुगमन गर्नुभन्दा यसरी नै कुम्भकर्णे निन्द्रामा घुररिहून्। यात्रुको बाहेक सबैको कल्याण होस्। जय नेपाल !
‘नेपाल’ ५७६, २०७० पुस १४
Subscribe
Login
0 Comments
Oldest






































