रमेश खकुरेलए गधा, यहाँ आइज
हाम्रो घरकम्पाउण्डको पूर्वपट्टिको पर्खाल वीर समशेरको पालामा बनेको अग्लो थियो । पुतली सडकपट्टिबाट आउँदा बाटाको पश्चिमतिर हाम्रो घर अनि पूर्वतिर हाल ज्योति विकास बैंक भएभन्दा पनि पर भैरव बहादुर थापाको घर निकै माथि थियो । २०१८ सालमा होलीको दिन म पर्खालभित्र लुकेर बाल्टिनमा रंग भरेर पचकाबाट बाटामा आउनेहरूलाई
रङ हाल्दै थिएँ । त्यसवेला पुतली सडकबाट आउने बाटो पीच भएको थिएन।ग्राभेल बाटामा आउने यात्रुहरू आफ्नै धुनमा आउँथे, अग्लो पर्खालमाथि कसैको ध्यान जाँदैन थियो । म लुकेर अग्लो पर्खालमाथिबाट आउनेलाई रङ्ग छ्याप्थें र तुरुन्त भित्र लुक्थें ।
पारि भैरव दाइ आफ्नो घरको झ्यालमा बसेर यो हेरेर निःशुल्क मजा लिइरहनुभएको थियो । अचानक रङ्गिएका बटुवाहरू हतप्रभ भएर रंग हाल्ने कसैलाई नदेखेपछि चुप लागेर आफ्नो बाटो लाग्थे ।
यत्तिकैमा यौटा जेण्टिलम्यान (झिल्के भएर लुगा लाएको) बाटामा आयो । मैले आफ्नो काम तमाम गरेर थपक्क पर्खालबाट टाउको लुकाएर बसें । त्यसलाई गजब लागेछ ।
कसैले पछाडिबाटै रङ्ग हालेको विश्वासमा ऊ फरक्क पछाडि फर्कियो । त्यहाँ कसैलाई नदेखेपछि ऊ झन् आश्चर्यचकित भयो । अनि फनक्क घुम्यो, फेरि घुम्यो र फेरि घुम्यो ।
भैरव दाइलाई असह्य भएछ र उनको उही याह याह याह याह को हास्य लहर चल्न थाल्यो । त्यस बटुवालाई लागेछ हो न हो रङ्ग छ्याप्ने यही हो । उसको सामान्य विचारले पनि काम गर्न सकेन कि त्यति परबाट पनि रङ्ग हाल्न सकिन्छ । अनि उसको भएभरको बल लाएर करायो– ‘ए गधा, यहाँ आइज’ । अब त झन् भैरव दाइको हाँसोलाई मलजल गरे जस्तो पो भएछ । बाबा, यस्तो हास्य लहर निस्किन थाल्यो कि टोल सिङ्गै थर्कन थाल्यो, मान्छेहरू घर घरबाट के भयो हँ भन्दै निस्किन थाले । न त यसो भयो भनेर भन्न सक्ने स्थितिमा भैरव दाइ, न त कुरो यसो हो भन्न बाहिर आउने मेरो आँट । तैपनि त्यस मूर्खले रङ्ग यहाँबाट हालेको होला भन्ने सोच्न पनि सकेन । पछि भैरव दाइको घरबाट त हुन सक्तैन भन्ने चाहिं उसलाई पनि विश्वास भयो तर यो रहस्य सुल्झाउन उसले सकेन । निकै बेर घोरिएर बसेपछि ऊ गयो । त्यस वेलादेखि होली खेलिएकै छैन भन्नु हुन्न तर अर्को वर्ष भन्न बाँकी राखें है ।
कमलपोखरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































