मुक्तिबन्धुपागल प्रलाप– २०७०
फेरि अर्को सम्विधान सभा चुनावको कुरा चलेको छ । यस्ता चुनाव भइरहनु पर्छ, हुन्छ ! “को बोलेको हो ?” प्रश्न आवश्यक छैन । नेपथ्य बोलेको छ । यहाँ नाटकमा प्रायः नेपथ्य बोल्छ । अभिनेताहरु पनि आक्कलझुक्कल बोल्छन् । बोल्दै आएका छन् ।
“एमाले दाँत माझ्दै छ । पार्टीहरुमा ननभेज खाइआएको बानी । दाँतका अन्तरकुन्तरमा जमेर बसेका पाप्रा पाप्री, लेग्रा लेग्री कोट्याएर सफा गर्न एमाले दाँत माझ्दै छ ।”
“नेपाली काङ्ग्रेस ?”
“नेपाली काङ्ग्रेस विजातीय पदार्थभोजनमा विशेष अभ्यस्त दल । पहिल्यैदेखि भयङ्कर लुतोपीडित । कति कन्याउनु ? आजित भएर अहिले उपचारका लागि टेकु दोभानमा पौडी खेल्दै छ । नुहाउँदै छ ।”
“अनि एमाओवादी ?”
“यहाँनिर कुरा अलि बेग्लै छ । तीन चार थान शेरनी जुटेर थारल ढालेका छन् । उताबाट जगरदार शेर ढल्कँदै ढल्कँदै आउँदै छ शिकारको उद्घाटन भक्षण गर्न । प्रतीक्षाको आनन्दोपभोजनमा छ एमाओवादी ।”
“मवादी दल अर्थात् मधेशवादी दल । लिजमा सन्चालित प्याजखेती । लिजका ठाउँमा अव स्वामित्वरोपण अभियान । मधेशवादी दलमा मधेश छैन । मधेशी जनता छैनन् । विजोग छ । तर पनि विवाहको योग टरेको छैन । आचार्य शङ्कर भन्थे, वह्म सत्यम् जगन् मिथ्या जीवो व्रह्मैव नापरः । यी दलको विज्ञान र मनोविज्ञानको व्याख्या गर्न यो सूत्र सान्दर्भिक हुन सक्छ । अहिले त्यहाँ गर्मी बढेको छ ।”
“अनि ?”
“अनि केही छैन । ठिक्कै छ । मनसुन ढल्किँदै छ । बाढी पहिरोहरु आफ्ना बेगमा छन् । यसपालि तिहार कात्तिकमा पर्छ ।”
“अनि मङ्सिर ?”
“खलिहानको मौसम हो । मुसाहरुमा जागरण देखिन्छ । बर्डफ्लु मुस्कुराउँदै छ । दामोदर पण्डित भन्थे, उनका फार्मका कुखुराहरु खेतमा छोडिदिँदा कीरा खान माटो खोस्रँदै थिए हेर्दा हेर्दै सबै कुखुरा चिल बनेर उडेछन् ।”
“हँ…..?”
“अँ….!मत्स्यावतारदेखि कृष्णावतारसम्म यसै द्वीपमा भएका थिए क्यार ! वेद संहिताकरण गर्ने र अजङ् अजङ्का पुराणहरु, महाकाव्यहरु लेखेर अवतारहरुको व्याख्या वितान जारी राख्ने कृष्ण द्वैपायन व्यास हाम्रै दमौलीमा जन्मे हुर्केका थिए । संस्कृतका आदि कवि बाल्मीकि हाम्रै गैंडाकोटका हुन् । ऋषि बनेपछि तल संगमनिर जङ्गलमा आश्रम बनाएर बसेका थिए । आँखा हुनेले देख्न हेर्न त्यहाँ अहिले पनि आश्रमका अवशेषहरु छन् । रामायणमा वर्णित तमसा नदी त्यहीँ छ । अवशेषका रुपमा आश्रम जो बाँकी छ, वारितिर ओझेलमा हराउँदै छ । पारिकाले त्यतै एउटा शहरको नाम बाल्मीकि नगर राखेका छन् । आश्रम वरपरका रैथाने नेपाली गृहस्थहरु नुन तेल लुगाफाटो किन्न पारिको वाल्मीकि नगरमा जान्छन् । वारि नगर सगरको त के कुरा भयो र ? सानो एउटा पसल पनि छैन । रमाइलो छ ।”
“यहाँनिर बाल्मीकिको कुरा किन नि ?”
“नेपालका पहिला पागलप्रलापी बाल्मीकि नै त हुन् । उनले क्रौन्चवियोमा कविता लेखेर सिकारीलाई तर्साएका थिए ,
मा निषाद प्रतिष्ठान्त्वमगमः शाश्वती समाः
यत्क्रौन्चमिथुना देक मवधीः काममोहितम् ।
यिनै बाल्मीकि हुन् लङ्का विजयपछि लक्ष्मणले “दाइ, यो सूनै सूनको रमाइलो लङ्का किन छाड्ने ?यतै बसौं” भनेर विनति गर्दा रामको मुखबाट भनाएका थिए रामायणमा,
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण, रोचते
जननी जन्मभूमि श्च स्वर्गादपि गरीयसी
हुन त हाम्रो मुलुक रामायणकालदेखि नै ससुराली मुलुक । भान्जाहरु कति त यतै हुर्कन्थे । अहिले आएर घरज्वाइँ प्रथा आरम्भ भएको छ । नेतृत्वको ठेक्का पट्टा लिएका ज्वाइँहरु मन्त्री खाएर पचाएर ठान मान र शानका साथ महलहरुमा विराजमान छन् ।
श्वशुरगृह निवासः स्वर्गतुल्यो नराणाम् !
यो त थियो र छँदै छ । ज्वाइँहरु आज ससुरालीको सत्ता सम्पत्तिमा सवार्धिक अङ्स पाउन हक दावी समेत पेस गर्दै छन् ।”
“कुरा कता गयो ?”
“यतै छ । कुरा कतै गएको छैन । हाम्रो अतीतसँग, हाम्रो वर्तमानसँग गाँसिएको कुरा कता जान सक्छ र जान्छ ? हामी २४ घण्टामा १२ घण्टा त आज पनि पुराणकै जुगमा हुन्छौँ । रामायण महाभारतकै जुगमा हुन्छौं । भइआएका छौं ।”
“पण्डित जी, तपाइँले आजको अर्थराजनीति त बुझ्नु भएको छ ? के कुरा गर्दै हुनुहुन्छ यो ?”
“आजको राजनीतिको अर्थ के हो त ?”
“रातभरि रामायण सुनेर बिहानतिर एः सीता कसकी जोइ थिइन् रे ? भन्ने मान्छे तपाइँ । तपाइँ त मेरो पुरानै साथी हो नि ! तपाइँले अझै उत्तर आधुनिक राजनीतिक संस्कृति आत्मसात् गर्नु भएको छैन ?”
“किन ?”
“आजको राजनीतिको अर्थ थाहा पाउन । हेर्नुस् आज राजनीति, अर्थनीति, दर्शन, साहित्य, कला सवै उत्तर आधुनिकताको प्रयागमा कुम्भ मेला भर्न जुटेका छन् । हैन र ?”
“होला । आफू त अद्यावधि त्यस्तो कुम्भमेला भर्न गइएको छैन । कुम्भ भनेको पहिलेको जमानामा गाग्रो थियो । अहिले गाग्रो बाल्टीमा फेरिएको छ । रित्तो बाल्टी लिएर सार्वजनिक धारामा लाइन बस्न भने दिनदिनै गइन्छ । आफ्नो कुम्भ मेला यही छ । घरको धारामा पानी आउँदैन ।”
“तपाइँ फेरि सानो कुरामा आउनु भयो !”
“एः पानी सानो कुरा ? हामी जनताका लागि आज दाना पानी नै ठूलो कुरा भएको छ ।”
“राहदानी खुलेकै छ जानुस् न विदेश । सके अमेरिका अस्ट्रेलिया , नसके खाडी । आफ्नो उमेरले नमिले छोराछोरी तन्नेरी होलान् पठाउनुहोस् । रेमिट्यान्स ! अहा रेमिट्यान्स !! नयाँ नेपालको नयाँ सपना !!! विदेशबाट पैसा आउँछ । त्यसै पैसाले मिनरल वाटर किन्नोेस् घटघटी पिउनुहोस् । महंगो महंगो रक्सी पिउनुहोस् । जिन्दगीको मज्जा कहीँ छ भने टन्न पिउनुमा छ ।
पित्वा पित्वा पुनः पित्वा यावत् पतति भूतले ।
उत्थाय च पुनः पित्वा स्वर्गश्चात्रैव लभ्यते ।
तपाइँ त पण्डित । यति पनि थाहा छैन ?”
“म पिउन्न । मुलुकका युवा युवतिको रगत पिउन्न म । मुलुकको भाग्य भविष्य पिएर मज्जा लिन मेरो नीति नैतिकताले मान्दैन । म मुलुकको श्रमशक्ति, प्रतिभा,सवै विदेशिएकोमा दुःखित छु । म मेरा छोराछोरीलाई विदेश पठाउँदिनँ ।”
“हामी पठाइदिन्छौं । पठाइन बाध्य बनाइदिन्छौं हामी । महाभारतको दुर्योधनले पाण्डवलाई एउटा औंलो डोब्ने जमीन पनि दिन्न भनेको थियो नि ! हो, त्यस्तै हामी जनताका छोराछोरीलाई मुलुकभित्र रोजगारीको अवसर दिंदै नदिन प्रतिवद्ध छौं । यहाँ रोजगारी नपाएपछि विदेश नगएर के गर्ने ? भोकले मर्ने ? मर्न कोही तैयार हुँदैन ।
जनयुद्धको मिथकमा हामीले धमिरा सल्काइ सक्यौं । सिर्जनात्मक आशा, विश्वास, सपना, कल्पना सवै डढेलोमा पारेर डढाइसक्यौं हामीले । मुलुक अव ह्याचरीफार्म बनाइसकियो । अर्थात् बनिसक्यो । कुखुराको होइन, मान्छेको ह्याचरी फार्म । कुखुराका फर्महरुमा त बर्डफ्लु पल्किसकेको छ । यहाँ त सिङ्गो मुलुकै मान्छेको फार्म । मान्छेका चल्ला विदेश निर्यात गर्ने विशाल फार्म । यस स्थितिमा आफ्ना उर्जावान् छोराछोरीलाई विदेशिनुबाट कसरी रोक्नुहुन्छ ? के भनेर रोक्नुहुन्छ ? के देखाएर रोक्नुहुन्छ ?”
“रोक्छु । निराशा र कुण्ठा देखाएर त्यही भत्काउन रोक्छु । नवयुग बोलाउन रोक्छु । म त भन्छु विदेशिएका पनि फर्कन्छन् । आँधीबेहरी लिएर फर्कन्छन् । म सार्थक आँधीबेहरीको पक्षमा छु ।”
“तपाइँ निक्खरा पण्डित । पुराणपन्थी । जडसूत्रवादी । यस्ता जडसूत्रवादीको जमाना गयो । अहिले मुलुककै नूर गिरेको अवस्था बनिसकेको छ । यस्तोमा तपाइँ के गर्न सक्नुहुन्छ ? हेर्नुस्—
दूरस्थाः पर्बताः रम्या वेश्या च मुख मण्डने
युद्धस्य वार्ता रम्या च त्रीणि रम्याणि दूरतः
तपाइँका यी आँधीबेहरीका कुरा सुन्नसम्म त रमाइलैे होला । कसै कसैले सुन्लान् । आँधीबेहरीमा पर्न र मर्न नै त कल्लाई रमाइलो लाग्ला र ?”
“मान्छे आज रमाउँदै सगरमाथा चढ्छ । चढिरहेको छ । अन्याय मेटाउने सङ्कल्प भिरेर युद्धमोर्चामा डट्छ मान्छे । डटिरहेको छ । युग बदलियो । कति पुराना नीति र स्थापनाहरु बदलिए । संसारको व्याख्या होइन, सार्थक परिवर्तन गर्नेे कुरा आइसकेको छ । बदल्ने बदलिने कुरा आइसकेको छ । जनताले परिवर्तनको दर्शन आत्मसात् गरिसकेका छन् ।”
“आकाशको चन्द्रमा धर्तीका अत्रि बुढाको छोरा हो भन्ने हाम्रो पौराणिक स्थापना सुनेको भए निल आमर््स्ट्रङ् कसरी हाँस्दा हुन् ? म अहिलेको यो तपाइँको कुरामा त्यसरी नै हाँस्छु ।”
“तपाइँ हाँस्नुहोस् अथवा रुनुहोस् यसबाट परिवर्तनको दर्शनलाई केही फरक पर्दैन । हाँसे पनि रोए पनि तपाइँ एउटा कुरा बुझ्नुहोस्, जनता दुबो हो । दुबोे जस्तोसिुकै भीषण खडेरीमा खँगारिनु पर्दा पनि मर्दैन । परिवर्तनका लागि जनताले पटक पटक वलिदान दिएकाछौं । अझै दिन्छौं । जनता ज्याद्रो हुन्छ, पटक पटक वलिदान दिनसक्छ, हताश निराश हुन र दुश्मनका अगाडि घुँडा टेक्न सक्दैन । हामी नेपाली जनताको जरामा नालापानीको सिन्चन छ । हामी फरक इतिहास निर्माण गर्न सक्छौं ।”
“तपाइँ दुबोको कुरा गर्नुहुन्छ । हामी दुबो भरिएको चउरमा क्याटवाक गर्छौं । जगिङ् गर्छौं । यसबाट आँखाको ज्योति बढ्छ ।”
“आँखाको ज्योति गुमाइसकेकाहरुको त जगिङ्ले पनि ज्योति बढ्दैन नि हैन र ?”
“पागल प्रलाप !”
“को पागल ? तपाइँ कि म ?”
“हुन सक्छ हामी दुवै पागल । आफ्आफ्ना किसिमका पागल । यस संसारको आदिम निर्माता थियो कोही भने त्यो पनि पागल रहेको हुनुपर्छ ।”
“हँ…?….”
“अँ….!”
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































