मनोज गजुरेलमोबाइल दशैं
किर्र… किर्र… किर्र…’ मेरो मोवाइलको घण्टी बज्यो –‘हल्लो यो कहाँ पर्यो ?’ मैले जवाफ फर्काएँ – ‘जहाँ जहाँ बोकेर लग्यो, त्यहाँ पर्छ यो ।’ उताबाट कडा आवाज आयो – ‘यो नेपालबाट ट्रंकल गरेको हो । नजिस्किकन भनन हौ ।’ मैले प्रश्न गरें – ‘कसलाई खोजेको हाउ ?’
‘ए ! त्यहाँ हाम्रो माइलालाई पाउँ न त ।’
‘को माइला ? म त माइकल हो माइकल ।’
‘को माइकेलाल ? त्यहाँ हाम्रो सिंगाने माइलो छैन र ?’ गाउँवाट बाबको फोन आएको थाहा पाएपछि मैले सम्हालिदै सोधें –‘हलो बाउ हो ?’
‘कसै न कसैको त बाउ नै हुँ, तर तिमी को हौ ?’
‘म क्या माइला बोलेको ।’ ‘ए बज्जे ‘माइकल’ भनेर बाबुसँग जिस्किने हो त !’
‘माइकल त मेरो टाइटल हो क्या बाउ । अनि बाउ, त्यताको हालखबर के के छ, सबै पाउँ न त ।’
‘तेरो आमा पनि नानी पाउने भएकी छे ।’
‘के रे ? यो बुढेसकालमा के छोराछोरी चाहिएको हो त ?’ ‘के गर्नु त ! तँ विदेश छिरिहालिस्– तेरो बैनी पनि ज्वाईं खोजेर गई गयो, हामी बुढाबुढी एक्लै भयांै त्यही भएर !’
‘ए ! लौ गज्जब नै भएछ । कुन नर्सिङ होममा लाने त ?’ ‘त्यस्तोमा नलाने । बेकारमा सिंङले भुँडी घोचेर हैरान पार्छ रे । हाम्रै गाउँको सुढेनी साइली अस्तिदेखि स्टेण्ड बाइ बसेको छ ।’
‘धन्न आमालाई फकाएछौ र, राम्रो भयो । बाहिरको केटीहरू फकाएको भए त बित्यासै पर्दथ्यो नि ।’
‘तैंले चाँहि घरमा बुहारी छोडेर बिदेशी फकाउंदै हिड्दा हुन्छ भने, मैले फकाएँ भने त कमसेकम नेपाली नै फकाउँछु नि ।’
‘ल त बाउ । अहिले राखौं । म नेक्स्ट न्युइयरमा आउँछु ।’
‘नुहिएर घर आउछु रे ! हैन बुढो भइस् कि क्या हो ? ’
‘नुहिएर भनेको होइन, न्यूइयर क्या– नयाँ वर्षमा आउँछु भनेको ।’
‘ए ! चाइनिज भाषामा बोलिछस्– अनि मैले कसरी बुझ्नु त । साँच्चि हौ माइला दशैंमा घर आउँछस् कि आउँदैनस् ?’
‘डिसेमा ? डिसेम्वरमा भन्न खोज्या होला होइन ?’ ‘हत्तेरिका ! दिशा गर्न भनेको होइन क्या ! दशैंमा घर आउँछस् कि आउँदैनस् भनेर सोधेको ।’
‘ए बसाई भनेको ? साँच्चि कहाँ बसार्इं सर्न लाग्यौ हौ बाउ ?’
‘कस्तो सिंगाने रहेछ । बसार्इं हैन, दशैं क्या दशैं ।’
‘अब दशैं लागेपछि, म आए पनि दशा टर्दैन क्यारे । यसो बाहुन साउन लगाएर खड्गो काट्ने पुराण लगाउ न ।’
‘हरे ! यो सिंगाने चार पाँच बर्ष के विदेशमा बसेको थियो, दशैं भन्ने चाडपर्व पनि भुसुक्कै बिर्सिएछ ! हैन ए, तँ निधारमा चामल टाँस्न आउँदैनस् ?’
‘किन, मुख टालिएको छ र– खाने चामल निधारमा टाँस्नलाई ?’
‘त्यसो होइन नि बाबु– आफ्नो परम्परा त छोड्नु भएन नि । आइज, टन्न मासु चिउरा खाउँला ।’
‘मासु चिउरा त यहाँ दिनदिनै खाइन्छ बाउ ! कैले ‘सि फुड’ भनेर चिप्ले किरा चपाइन्छ । कहिले विफ फुड भनेर ‘गोरु बा’ को मासु सिध्याइन्छ ।’
Subscribe
Login
0 Comments
Oldest










































