केशवराज पिँडालीमुटुछेड काव्य
अतः मैले त्यसै दिन नै निश्चय गरेँ अब म पनि हास्य छाडेर मर्मभेदी, हृदयविदारक र मुटुछेड साहित्यकै सृजनपट्टि लाग्दछु । म मात्र अब किन पछि पर्ने ?
सायद भन्ठान्नुहोला, यो नाथे त झन्-झन् पो पात्तिएर गएछ । यसो एउटा स्तरिलो, रसिलो र गमिलो रचनाचाहिँ त कहिल्यै दिन जानेको हैन, लेख्छ लेख्छ उही बकमफुसे गफ र घस्यौटे हास्यमात्र, जो एकछिन खित-खित-खित खित गर्यो, सकियो यसका रचनाले कहिल्यै हृदय छोएन ।
एक दिन मेरा एक जना साहित्यिक बन्धुले पनि मेरो व्यङ्ग्यमाथि यस्तै व्यङ्ग्य कसे । भने, “बन्लास् तँ छुसी साहित्यिक, यस्तै घस्यौटे हास्य लेखेर !”
उनको ताना सुनेर म बडो सोचमा परें । वास्तवमा हो पनि, मेरो रचनामा आजसम्म हिमाल हाँसेको छैन, देउरालीले गीत पनि गाएको छैन र बादलु धुरुधुरु रोएको पनि छैन । यो मैले पनि अनुभव गरिराखेकै कुरा हो । बङ्गला साहित्यमा ‘आकाशे’ र ‘बतासे’ व्याप्त भएझैँ नेपाली साहित्यमा पनि हिजोआज बादलु र मादलुको बाढी लागेको छ । समय छोपेर यस किसिमको साहित्यको सृजना गरी साहित्यस्रष्टामा आफ्नो नाम मैले पनि उहिल्यै दर्ता गराइसक्नुपथ्र्यो । लाटीले बल्लबल्ल ‘बा’ भन्न जानेझैँ मैले त यही घस्यौटे हास्यलाई नै पक्डेको पक्डयै गरेछु । अतः मैले त्यसै दिन नै निश्चय गरेँ अब म पनि हास्य छाडेर मर्मभेदी, हृदयविदारक र मुटुछेड साहित्यकै सृजनपट्टि लाग्दछु । म मात्र अब किन पछि पर्ने ?
तर कहाँ र, ‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ जस्तो पो हुन थाल्यो । एक लम्बे समयदेखि आफ्नो अधिकारको घस्यौटे क्षेत्रलाई जसै म बिर्सन खोजेर मुटुछेड साहित्यभावनालाई मगजमा छड्काउने कोशिश गर्दै घोत्लिन्छु सुरु भइदिन्छ छिमेकमा त्यसै बखत यता क्वाँ उता प्याँ, अनि त कहाँ जुठेकी जोई भनेझैँ पो हुन्छ । कत्रो धामाबाट बल्लबल्ल मगजमा आएर छड्कन छड्कन खोजेको त्यो मुटुछेड साहित्यभावना त चटारिएकी गाई बुर्कुसी ठोकेर बेपत्ता भएझै कता पुग्छ कता, पत्तै हुँदैन । आफ्नो त कत्रो सुर मुटुछेड साहित्य सृजन गरेर चाँडै नै साहित्यिक बनूँला भन्ने, यहाँ त मादलु र बादलु साहित्य त परै रहोस्, अँधेरी र पँधेरी साहित्यको स्तरसम्म पनि पुग्न सकेको छैन । त्यसैले पनि मलाई न आजसम्म कसैको लिप्टनको झोलले नै पछ्यायो, न कसैको मधुचार्याले नै बोलायो, न त मेरो नाम लिएर कहिल्यै ढ्वाङ नै करायो । म एकप्रकारले निराश नै जस्तो भएपछि एक दिन पुगेँ म फेरि तिनै साहित्यिक बन्धुकहाँ र गरेँ आफ्नो दयनीय अवस्थाको केही वणर्न ।
उनले सोधे, “त्यस्तोविधि विघ्नबाधा तिमीलाई केको परेको छ ?” मैले जवाफ दिएँ, “साँझ पर्यो कि टोलका प्रायजस्तो सबै नै खड्गी भाइहरू लगाम समातेर जङ्गबहादुरको घोडा किन्ने अवस्थामा पुग्छन् र दमिनी भाउज्यूहरू दिनरात धारेहात लाईलाई शास्त्रचर्चामै रत रहन्छन् ।” उनले फेरि सोधे, “आफ्नै घर हो तिम्रो त्यहाँ ?”
“आफ्नो घर त अन्तै थियो । तर म सिल्पटले एउटा इलम पक्डनुको सट्टा कलम पक्डन पुगेछु । घर पाङ्ग्रा लागेर गुडेको कता पुग्यो कता, पत्तै भएन । अब हिजोआज सुत्केरी बिरालीले छाउरा सारेझैँ चिचीभुँडी, आरजार, हाँडाचिन्डा, झिटीझाम्टा सारा बोक्दै आज यो डेरा त भोलि ऊ डेरा, अनि व्यवस्थित हुन पाएको छैन, पर्सि फेरि अर्कै डेरा गर्दै डेरा थाल्दो छ ।” मैले एकसासमा भनें ।
बन्धुले भने, “फेरि सर डेरा उसो भए ।” मैले विस्फारित नेत्रले उनीतिर हेरेँ । उनले भनाइको खुलासा गर्दै फेरि भने, “बन्धु ! उच्चस्तरीय साहित्यसृजनको निम्ति ठाउँ पनि उच्चस्तरकै हुनु नितान्त आवश्यक छ- विघ्नबाधादिरहित, रागादिशून्य, शान्त वातावरण ।”
साहित्यिक बन्धुको कुरा गाँठो पारेर म उनको घरबाट निस्के र थालें त्यही दिनदेखि नै उपयुक्त डेराको खोजमा धुइँधुइँती । अब त्यस घरलाई जति सकेको चाँडो नमस्कार गर्न म भरमग्दुर गर्न थालेँ ।
यस्तैमा भाग्यले भनौं वा अभाव्यले मैले यो डेरा पाएँ । दक्षिण मोहोडाको, दिनभर घाम टिल्ल हाँसिरहने, घरअगाडि स्वच्छ, सफा र फराकिलो बहाल, बीचमा एउटा सुन्दर स्तूप, बौद्धमार्गीहरूबाट सुपूजित, शान्ति र मानव पुजारी भगवान् बुद्धको सौम्य, धीर, गम्भीर प्रतिमाको निरन्तर दर्शन । मैले सोचें ‘अब भने बल्ल भनेजस्तो घर पाएं । मेरो आत्मा, शरीर र रचना साराले स्वच्छता लिन पाउने भए ।’
त्यो दिन मेरो, व्यवस्थित हुँदैमा नै बित्यो । त्यस व्यवस्थामा छिमेकको वास्तविकतातर्फ मैले ध्यान दिइरहने फुर्सदै पनि पाइन र जुन दिन फुर्सद पाएँ त्यस दिन थाहा पनि पाएँ कि म चौटा खान आएको त झोलमा पो डुब्न मरेछु ।
त्यस दिन म बिहान सबेरै नै उठें । अनि सोचें, ‘यस ब्रह्ममुहूर्तमा मुटुछेड साहित्यको म श्रीगणेश गरिहालूं ।’ धेरैबेर घोत्लिएपछि उच्चस्तरीय भावनाहरू मस्तिष्कमा तँछाड-मछाड गर्न थालेका पनि थिए । तर यस्तैमा तल चोकमा ‘ऊँ ऊँ, टुम-टुम गडरम-गडरम, पाकुछयाँ-पाकुछयाँ’का बज्रघोषका साथै छेड्यो बाजाले पनि फिल्मी धुन ‘किसी नरगिसी नजरको दिल देंगे हम् ।’ कत्रो मेहनत र परिश्रमबाट के आज मगजमा बल्लबल्ल यस्तो मुटुछेड साहित्यिक भावना छड्काउन समर्थ भएको थिएँ, बलिरहेको चुलोमा एक लोटा पानी खन्याउँदा आगोले च्वाइँ गरेर ठन्डाराम भएझैं, भुस्कुट भइदियो । बुद्ध भगवान्को यस पवित्र स्थलमा यो दुनियाँभरको यो हल्ला किन ? आश्चर्य एवं कौतूहलका साथ मैले उठेर झ्यालबाट हेरें । झ्याली, ढोल, मादल, मंजिरा, शहनाई र क्ल्यारिओनेटले लैस ‘गुला धर्म मान्नेहरूले एक लुँडो सेक्स भड्काउने फिल्मी धुनले स्तूपको प्रदक्षिणा गरी पछाडि अक्षता हान्दै अगाडि बढ्दा थिए । भगवानप्रतिको यस व्यङ्ग्यात्मक भक्तिप्रदर्शनमा मेरो व्यङ्ग्यात्मक साहित्यिक भावनाले नै प्रधानता पाएछ । एकैछिनलाई भए पनि ती मुटुछेड साहित्यिक भावना फेरि मस्तिष्कमा ल्याएर छड्काउने कति कोशिश गरेँ ज्यान जाला भएन । पोइल गएकी स्वास्नी फेरि घर नफर्केझैँ ती भावनाहरू फर्केनन्- फर्केनन् ।
बाजाको शब्द अब क्रमशः टाढाटाढा हुँदै गइरहेको थियो । अतः म फेरि विचारतन्तुहरूलाई एकत्रित गरी व्यवस्थित बनाउने कोशिश गर्न थालें । यस्तैमा एउटी अधबैँसे स्थूलकाय, भकारी नारी अटाई- नअटाई ढोकाबाट भित्र पसिन् र नमस्ते, नमोनारायण आदि शिष्टाचारबिना नै तीन हातको परिधिलाई ढाक्दै गजधम्म अगाडि बसिन् । अब उनी लैनु भैंसी धकेझैँ धक्न थालिन् । उनी यति नगिचै थिइन् कि उनको सासको तातो स्पर्शसमेत मेरो चेहराले प्राप्त गर्न थाल्यो । उनी मेरो निम्ति एकदम नै अपरिचित थिइन् । चिनाजानीसँग झैं यसरी साखै हुँदै लेस्सिन आउने ती भकारी नारीलाई मैले बिलखबन्द पर्दै प्रश्नसूचक दृष्टिले हेर्न थालें । मेरो मुद्रा देखेर उनी पनि केही अस्पटाइन् र आखिर बक पनि फुटालिन्, “यहाँ दुख्छ, यहाँ घोच्छ, यहाँ भवाउँछ”, साथसाथै कहिले जाँघ, कहिले पुट्ठा त कहिले टाँङतिर इसारा गर्दै छुट्टी नै गर्न थालिन् । म त एउटा सोझो, एकपत्नीव्रती मान्छे, ती भकारी नारीको यस्तो चरित्रकला त वाल्ल परेर हेरेको हेर्यै । यस्तैमा फेरि भन्न थालिन्, “भूत हो कि बोक्सी लागेको हो खुट्टयाएर हेरिदिनुपर्यो ।” म जिल्, यो के आपत् । सारा काम छाडेर म अब भूत या बोक्सीको पछि दौडूँ ? यस अप्रत्याशित घटनाले त मेरो त बक नै बन्द भएछ । म विह्वल बनेर विस्फारित नेत्रले उनकै त्यो भिउँटे अनुहारतिर मात्र पो क्वारक्वार्ती हेर्न थालेछु । सायद यस अवस्थाबाट ती भकारी नारीलाई पनि मनमा केही चिसो परेछ क्यार । हठात् सोधिन्, “हैन, तपाईं भुट्टन गुभाज्यू त हो ?”
उनको यस प्रश्नले ममा अलिकति साहस त आयो तर बक भने तैपनि फुट्न सकेन । अतः उत्तरमा मैले छुनुमुनु छुनुमुनु टाउकै मात्र नचाएँ ।
“हैन, एक महिनाअगाडि मात्र करवीर मसान लाग्दा यसै घरमा आएर फुकाएको । कता सरेछन् त ती भुट्टन गुभाज्यू ?” उनले बिलखबन्द पर्दै भनिन् । आफूलाई भने न भुट्टनको पत्तो थियो, न छुट्टनकै खबर । अतः म चुप्प नै लागेर बसिरहें । मेरो यस चुप्पीलाई भकारी नारीले के सम्झिन् कुन्नि, कालो नीलो मुख लाएर जऱ्याकजुरुक उठिन् र छिटो-छिटो भर्याङ ओर्लन थालिन् । मैले पनि बल्लबल्ल छुट्काराको एउटा लामो सास फेरें । मेरी शङ्कालु पत्नीले देखेकी भए अर्कै आपत फेरि । पो छन् त ! अर्थको अनर्थ लगाउनमा त उनी औधी नै सिपालु ।
यसपछि मैले फेरि लाख प्रयत्न गरेँ केही लेखूँ भनेर, तर कागजमा एक अक्षरसम्म पनि कोर्न सकेको हैन । अनि सोचें ‘आज किन मरिमेटूं त, भोलिपर्सि पनि त आउँछन् नि ।’ तर कहाँ र, यस घरमा त झन् पो उल्टो गङ्गा बहन थाल्यो ।
रहेछन् उता घरमा एक जना भलादमी, वर्ष पचासेकका निपुता । जहिले हेन्यो झ्यालैमा गजधम्म, सङ्गीतसाधनामै मस्त। ’मै नहीं माखन खायो’ जस्ता पुरातन सङ्गीतदेखि लिएर ’म भात खान्न ए आमा’ सम्मका आधुनिक गीतका सम्पूर्ण गेडालाई घोटेर पिइसकेका । गन्धर्वराजलाई पनि मात गर्ने सुर र लयमा एक पङ्क्तिलाई धोबीले ढुङ्गामा लुगा चुटेझैँ चुटिरहने ।
फेरि यस्तै नै उता घरमा रहेछन् एक जना रेडियोभूत पनि । मलाई लाग्छ उनको रेडियोको स्वीच उनको रेडियोमा नरहेर सोझै बिजुली अड्डामै रहन गएको छ । करेन्ट छैन त रेडियो पनि चुप, करेन्ट खुल्यो त थाल्यो अनि रेडियो पनि घन्कन, दिन र रातको सम्म पनि भेदभाव नराखेर । कहिले मूलाको अचारको विधि त कहिले कर्णाटक सङ्गीत, कहिले चाउको भाषण त कहिले कर एण्ड रोलको गीत ।
यसका अतिरिक्त कुलवधूहरूका ठुमरी, तान, अलाप, तराना र गिडगिडे कहीं न कहीं अबाध रूपले चलिरहेकै हुन्छ । श्रीमान्सँगको श्रीमतीको सारङ्गीको र्याइँयाइँ पनि बराबर आइरहेकै हुन्छ ।
ताडिफ । वातावरणको बीच रहेको पनि भूत लागेझैं लागी एक दिन मैले मुटुछेड साहित्यको सृजना गरेर छाडेँ । त्यस दिन बिहान ताराहरू लुकिसक्न पनि पाएका थिएनन् होला, श्रीमतीज्यू उठेर भान्छाका तरखरमा लागिन् । वातावरणमा खलबल आइसकेको थिएन । मैले सोचें किन म यही मौकामा मुटुछेड साहित्यलाई मस्तिष्कमा छड्काएर परिपाक तुल्याउन नथालूँ यस्तैमा मेरो मगजमा उच्चस्तरीय साहित्य आएर छड्कन थालेको पनि मैले अनुभव गरेँ । अनि मैले फेरि सोचेँ ‘अब आज म यी छड्कन थालेका उच्चस्तरीय भावनालाई भाग्न दिन्नँ-दिन्नँ ।’ मैले हत्तपत्त उठेर झ्याल थुनेँ, ढोका थुनेँ, अनि बत्ती बालेँ, कानका प्वालमा गएसम्म रुवा कोचेँ र बसेँ पनि म लेख्न । भावनाहरू तँछाड-मछाड गरी आउन थाले । म लेख्दै गएँ, लेख्दै नै गएँ ।
धेरैबेरपछि ढोकामा कसैले घचघच्याएजस्तो लाग्यो । यस बेलासम्ममा मेरो रचना पनि पूणर् भइसकेको थियो । अतः कानका रुवासुवा झिकेर फालेँ र अनि ढोका खोलेँ । श्रीमतीजी रातीपिरी हुँदै दनदनाएर भित्र पसिन् र दपेटि पनि हालिन्, “हैन, तिमी आज छट्टाउन त छट्टाएनौ ? एक घण्टा भयो लौ, बाहिर उभिएर कराइरहेकी ।” अनि शङ्कालु नजरले कोठाको राम्रोसँग निरीक्षण गरिन् र फेरि भनिन्, “यो सारा झ्यालढोका बन्द गरेर बस्नाको मतलब ? ”
मुटुछेड साहित्यको सृजन गर्न समर्थ भएकोमा मेरो मन त्यस बेला चचहुइ-चचहुइ गरिरहेको थियो । अतः उनलाई त्यो रचना सुनाइहाल्ने इरादाबाट मैले उनको पाखुरा समातेर आफ्नो नगिचै तानेँ ।
उनले त के पो सम्झिछन् कुन्नि, छड्किएर तीन हात पर पुगिन् र बडा अर्थपूर्ण कर्के आँखाले मतिर हेर्दै भनिन्, “छिः उमेर जाओस् बेहोरा नजाओस् ।”
“रचना सुन रचना, सधैँ मेरो रचना सुनेर खित-खित खित-खित गर्थ्यो नि, अझ आज तुरुतुरु रुन पर्नेछ, ” मैले गम्केर भनें ।
“साँच्ची हो ? सुनूँ त सुनूँ ।” उनले आतुर हुँदै भनिन् । यो कुरा म बताइदिइहालूँ कि मेरी श्रीमती पनि साहित्यकी पारखी छन् ।
“लौ सुन, ध्यान दिएर नि ।” मैले भनेँ र थालेँ म कविताको पाठ गर्न । चार पङ्क्ति के पढेको थिएँ श्रीमतीज्यू “वाह वाह वाह वाह” गर्न थालिन् । उत्साहित हुँदै आठ पङ्क्ति पढिसक्न नपाउँदा श्रीमतीज्यू ”हरे । छाती रहेन, छाती रहेन” भन्न थालिन् । अनि बाह्र पङ्क्ति पढिसकेर श्रीमतीज्यूतिर यसो हेरेको त उनको आँखाबाट झरझर आँसु झरिरहेको । सोइ पङ्क्ति पढ्दानपढ्दै वेदना असह्य हुँदै आएर म आफैँ पनि रुन थालेँ । बीस पङ्क्ति के पुगेको थियो हामी जोईपोइ नै डाँको छाडी-छाडी रुन थाल्यौँ । गला अवरुद्ध भएबाट अब कविता-पाठ अगाडि बढाउनु सम्भव भएन, बन्द गरेँ । श्रीमतीजी आँसु पुछ्दै भान्छातिर लागिन् । म पनि पुगेँ अनि आफ्नो सफलतामा दङ्ग पर्दै उनै मेरा साहित्यिक बन्धुकहाँ र विशेष अनुरोधका साथै थालेँ म उनलाई पनि आफ्नो मुटुछेड काव्य सुनाउन । श्रीमतीजीलाई कविता सुनाउँदा नै त चेतिसकेको थिएँ अतः हृदयलाई राम्ररी बाँधी बन्धुतिर हेर्दै नहेरी म खर्र कविता पढ्न थालेँ । तर चौबीस पङ्क्ति सक्दानसक्दै वेदना मेरो हृदयदेखि छड्केर आयो, अगाडि पढ्नै सकिनँ । बन्धुतिर यसो हेरेँ, उनी त मग्न निदाइरहेका ! म यस अपमानले तिलमिलाएँ । रिसले चूरचूर भई एकदम उनी नगिच पुगेर घचघच्याउँदै भनेँ, “वाह मित्र ! म फलाक्दैछु तिमीले तीन भुँडी देखिसक्यौ ।”
म सन्न भएँ । मलाई तब थाहा भयो- मेरो मुटुछेड काव्यको असह्य वेदनाबाट प्रिय बन्धुको महाप्राण भइसकेको छ ।
अचेल म सोचमा परेको छु । घस्यौटे हाँसो लेखेर मान्छेलाई खित-खित पार्न जाती कि मुटुछेड काव्य लेखेर हृदयकै गति बन्द गराउनु जाती ? निक्लला नि फेरि सल्लाह दिने कुनै अर्को बन्धु ।
प्रगति
‘खै खै’ (२०१७)
Subscribe
Login
0 Comments
Oldest








































