
ड्याडीमह
चाकरीदाताको ऋण चुक्ता गर्न कुनै उपायले नसक्ता हाम्रो संस्कृति अनुसार उनलाई ‘तृप्यन्ताम्’ गरेर भए पनि मुक्त हुन चाहन्थेँ तर दुर्भाग्य, बीचैमा च्यान्टेकी मम्मीले झल्याँस्स व्यूँझाइदिइन् ।

रोहिणीविलास लुइटेल
“लर्ड तृप्यन्ताम्, मेकाले तृप्यन्ताम्, भाग्यविधाता नोकरीदाता तृप्यन्ताम्, तृप्यन्ताम्, अन्नदाता, ड्याडीमह (पितामह) तृप्यन्ताम् ….!”
“के हो तृप्यन्ताम्, आज एकाविहानै सोह्र सराद लागिसक्या छैन, तृयन्ताम्, तृप्यन्ताम् । हजुर बौलाउनु भयो कि के हो ?”
धत् ! एक्कासि मलाई बिउँझाइन् मेरी उनले । कस्तो आनन्द आएको थियो । आफ्ना पुर्खा ‘इसुकुल’ का प्रवर्तक लर्ड मेकालेको सझनामा ध्यानमग्न भएको थिएँ । यसै संझनाको संसारमा डुबेर म विचरो आफ्ना जागीरदाता, चाकरीदाताको ऋण चुक्ता गर्न कुनै उपायले नसक्ता हाम्रो संस्कृति अनुसार उनलाई ‘तृप्यन्ताम्’ गरेर भए पनि मुक्त हुन चाहन्थेँ तर दुर्भाग्य, बीचैमा च्यान्टेकी मम्मीले झल्याँस्स व्यूँझाइदिइन् । कस्ती अलच्छिनी ‘डेनियल’ की आमा ?
हुन पनि हो नि ! लर्ड मेकाले आउनुभन्दा पहिले यस्तो ‘इसुकुले’ शिक्षा नभएकाले, क्लर्कहरू जन्माउने फ्याक्टरी नभएकाले हामी जथाभावी मालिक भएर हिंड्थ्यौं खान नपाएर भुँडी चाउरी पारेर यता र यायावरझैँ घुमिहिंड्थ्यौं । ऋषिकुलहरूमा शिक्षा पाएर उनै पुराना वेद-पुराण, उपनिषद, पाणिनि व्याकरण, कालिदास भवभूतिका नीरस ‘ट्याईं ट्याईं र ज्योतिष शास्त्रका फोस्रा ‘साढेसाती’ ग्रहपूजा फलाकेर भए पनि ‘मालिक’ भएर हिंड्न स्वाभिमानपूर्वक बाँच्न, कोहीसँग नझुक्न ‘जननी जन्मभूमिश्च’ जस्ता कोरा नारा अलापेर देशका नाउँमा बलि हुनसम्म हिच्किचाउदैनथ्यौँ । हाम्रो सौभाग्यले धन्न कसो हाम्रा छिमेकी देश भारतमा शासन गर्न सातसमुद्रपारिबाट ती महापुरूष हाम्रा ‘ड्याडिमह’ (पितामह) आएर शिक्षामा आमूल परिवर्तन गरिदिए ।
त्यसैको छाया पर्यो र हाम्रा पनि आँखा खुले । फलस्वरूप आज हामी यो मास्टर ‘नोकरी’ मा छौँ । म मास्टर छु । मास्टरको अर्थ जाने पनि नजाने पनि एउटा ‘मास्टरपिस’ कुरो चाहिँ हामीले जानेका छौँ त्यो के भने, अन्धाधुन्द अर्काको नकल गर्नुपर्छ र आफ्ना कुरा चाहिँ काम नलाग्ने भनेर फाल्नुपर्छ । त्यसैले हामीले सभ्यतामा ठूलो परिवर्तन गरेका छौं । बरू हामी माता, पिता, गाउँ घर, धर्म-संस्कृति र परिआएमा देश पनि छाड्न सक्छौं तर यो नयाँ सभ्यता हामी पटक्कै छाड्न सक्तैनौं ।
यस्तो महत्वपूणर् कुरो सिकाएर हामीलाई आधुनिक एवं परजीवी भएर बाँच्ने, आफ्ना सीप कला जति तिलाञ्जलि दिने मूलमन्त्र सिकाउने हाम्रा प्रातः स्मरणीय ‘ड्याडीमह’ लर्ड मेकालेलाई म तर्पण दिएर उऋण हुन चाहन्थे । मेरी छुची ‘डार्लिङले विचैमा ब्यूँझाएर ठूलो आपत्मा पारिन् । उफ् ! धेरै दिनदेखिको मेरो धोको यसपालिको पितृपक्षमा पनि पूरा गर्न सकिनँ ।
०००
शनिश्चरे, झापा
‘अपराजेय कटाक्ष’ (२०५८)