राेहिणी विलास लुइटेलउपरतली
कीर्तिशेष हास्यव्यङ्ग्यकार रोहिणीविलास लुइटेलप्रति सादर शब्दश्रद्धा सहित पुनरावृत्तमा प्रस्तुत छ उहाँको यो हास्यव्यङ्ग्य निबन्ध ।

कीर्तिशेष हास्यव्यङ्ग्यकार रोहिणीविलास लुइटेलप्रति सादर शब्दश्रद्धा सहित पुनरावृत्तमा प्रस्तुत छ उहाँको यो हास्यव्यङ्ग्य निबन्ध ।
मैले धेरै अर्थ नबुझेका शब्दमध्ये ‘उपरतली’ एक थियो । यसवारे प्रशस्त घोत्लिदै पनि थिएँ । आकाश छामें, पाताल टेकें । न कही देखें न कतै भेटें उपरतलीको अर्थ । लेख्ता कलम रड्किने, खाँदा गाँसै अड्किने । कति भए कति यस्ता रहना र घटना, पटनासम्म पुग्नै नभ्याईकन, उसरट्ठै । कति दारीलाई सोधें, कति सारीसँग कानेखुसी गरें । विद्वान्देखि विधवापनसम्म सबै गयल भए । शिक्षकदेखि विद्यार्थीसम्म सबै फयल भए । डाक्टरका अप्रेसन लोपारिए । वैद्यका ‘जरीवटी’ भौतारिए । यसैबीचमा एक दिन अकस्मात् एक बुजुक मेरा घरमा डाँडाबाट खुत्रुक्क ओर्लिए अलिकति गुन्द्रुक काखीमा च्यापेर । आँगनसम्म नटेकी परैवाट केही खकार्दै र केही हपार्दै उनले भने-
‘जेठा ! सुनिस् के ? भीरवारी साइँलो त उपरतलीले खुस्किएछ नि !’
‘के हो उपरतली भनेका सानाबा ?’ कही झस्किएर खोधिहालेँ मैले तर ‘ढुङगो खोज्दा देउता मिल्या’ भनेको यही हो भन्ने अपूर्व ज्ञान मिल्यो र मैले उनलाई पूर्वपट्टि ओछ्याइएका गुन्द्रीमा आसन दिएँ । उनले ल्याएकै थिए खोकिलामा गुन्द्रुक, त्यही साँदेर मकै भुटिदिएँ, डबका भरि मोही राखिदिएँ । उनी जिब्रो फड्कारी फड्कारी खान थाले । यही अवसर छोपेर मैले रहर मेटिने गरी सोधेँ-
‘सानाबा साँच्चै सोधेको, के हो यो उपरतली भनेको ?’
‘जेठा ! यसमा के लेठा छ र ?’ उनले मकैको बुजो मुखभरि पारेर सजिलै भने- ‘उपर’ भनेको माथि ‘तली’ भनेको तल अर्थात् ‘उँधै उँभै’ भयो भन्छन् नि गाउँ घरमा ऊ क्याइनि ‘हैजा भएको’ ।
बल्ल मेरा घंैंटामा घाम लागे । उपरबाट पनि तलबाट पनि जब मानिसलाई पटक-पटक वाहिर जानुपर्ने हुन्छ वा ओछ्यान बिगार्नुपर्ने हुन्छ, तव भनिदोरहेछ रात भरि अनिदो बसेर मदौरु रुड्नु परेका झवाँकमा ‘उपरतली’ ।
उसो भए एक मानिसलाई धेरै छटपटी र खट्पटी परेका बेलामा यदाकदा अर्का मानिसले थ्याच्च वसेर प्याच्च भन्ने गरेको ‘आज यसलाई के को उपरतली परेको छ हँ ?’ तब बुझिदिनु पर्ने रहेछ उपरतली (उँधै उँभै) हुने मान्छेलाई जस्तै छटपटी हुनु ।
यस्तो ‘उपरतली’ (उपर र तली) को महामारी त देशभरि फैलिएकै छ, हिजो आज । अनि त यतिजावो अर्थ बुझ्न केको आइतवार पर्खिनुपथ्र्यो ? जहाँजहाँ जान्छु, जताजता पुग्छु यही एक महावाणी पर्छ मेरा कानमा उकेरा लाए जसरी । महामारीकै निम्ति बनेको शब्द भएकाले भनेको मैले पनि महावाणी । यो ‘महाचाणी’ ले पो झ्वाट्ट सम्झायो वर्तमानकालको अनिवर्तमान अझ सबै थर्कमान पार्ने ‘स्योस्’ क्रियापदलाई । साँच्चै हिजोआज आची गर्न नजान्ने मानिस पनि औँला भाँची भाँची, भनूँ राजादेखि काजीसम्म मात्र होइन समाजले ल्याएका पाजीसम्मले पनि ‘स्योस्’ को सगर्व उच्चारण झोसपोल नगरी, गरेको पाउँदा आउँदा वर्षदेखि मैले हर्क बढाइँको ताईंफाईं छर्ने निधो गरेको छु ।
‘गइस्योस्, खाइस्योस्, सुतिस्योस्, उठिस्योस् आदि शब्द अघि-अघि राजा महाराजाको दरवार र तरवारसम्मै जगजगी मच्चाउने गर्थे । तर आजभोलि पैनी मिचेर खैनी माड्दै बसेका झोपडीवालाका खोपडीबाट पनि यस्ता भद्रशब्द घट-घट उघ्रिने गरी भटटट बोलिने गरेको सुनेपछि, देश का ‘उपर’ र ‘तल’ दुवैतिरका साहित्यले पनि सोइपरि लहर ल्याएपछि कुनै भैपरि आएको यो ‘चट्याङ’ होइनरहेछ, बरु आफ्नै भान्सा घर छेउको पवित्र ‘रच्छयान’ रहेछ, यसका छिटा जति परे पनि मिठा शब्दले स्वागत गर्नु बुद्धिमानी रहेछ, भन्नुमा पुक्क गाला नफुलाई ढुक्क परेर बसेको छु ।
यसरी बुद्धिमा सुद्धि फिरेपछि यो मेरा मतिले पनि वात नपुर्याई मलाई भन्यो ‘राजा’ शब्दबाट र ‘दरबार’ शब्दबाट सत्तोसराप्नु पर्ने घृणा अनेक जगाए पनि त्यहाँ राज प्रासादबाट उत्पन्न शब्द ‘स्योस्’ चाहि गङ्गाजल जतिकै ‘चङ्गा प्रसाद’ मुख-मुखमा पर्दा गतिमुक्ति पाइने रहेछ जेठा ! ‘यो ‘उपर’ बाट आएको हुनाले हो ‘तली’ सम्म पनि यसले जरो गाडेको । गीताशास्त्रले भनेको पनि छ ‘ऊध्र्वमूलम् अधः शाखम्’ अर्थात् फेद माथितिर हुन्छ हाँगा तलतिर हुन्छन् । यसै परिभाषा भित्र पर्छ कि कसो यो ‘उपरतली’ शब्दको अर्थ । घान्द्रुकवाट गुन्द्रुक बोकेर आएका मेरा अतिथि सानाबाले शब्दको थिती दर्शाए अनुसार, मैले जोतिषी हुनलाई रोटी गने अनुसार हो भने यस ‘उपरतली’ महारोगले परंधामपट्टिको सुरसार पो कस्नु पर्ने भयो । तर, त्यस यमलोकको भोक जगाउने नभई म यहाँ यिनै धर्तीमाताको पाता फर्काएर, ‘सयथुंगा फूलका घुँडा मर्काए सत्ताबाट भत्ता पकाउने र आफू छिट्टै संसदमा छिरेर एउटी वैसालू सांसदलाई फकाउने अनि गोदावरीतिर लुकाउने जमर्को गर्न अर्को योजना ल्याउँदैछु । कुइनुवाट जुइनु नखुस्किउन्जेल तररर घिउ चुइने गरी कसकसलाई जिउ गर्नु परे परोस् । यस्तो ‘उपरतली’ नाम जुराएको छु मेरा सपनाको सेतो हातीको अचेल भरि
मान्छेलाई हिजोआज यो ‘उपर-तली’ले कस्तो सस्तो खलबली मचाइ दिएको छ भने ‘उपर’ बस्नेहरू सवैजसो आफूबाहेक अरुलाई पैतलाका ‘तली’ चाट्ने त हुन् ! भन्ठानेर ‘थाल खाऊँ कि भात खाऊँ’ का छटपटीमा देशसेवाको ठूलो सोर उरालिरहेका छन्, धुरालिरहेका छन् । उनीहरूलाई ‘उपरतली’ भएको छ छिटोछिटो देश बनाउन । देशलाई नेपाल होइन मलेशिया, थाइल्याण्ड, अझ स्वीट्जरल्याण्ड’ नै पो बनाउने हतारमा छन् कोही त । त्यसैले धेरै नेपालीलाई इजराल र कतारसम्मै पुर्याइँदैछ । युवा-युवती भेद नराखी । खोरिया फाँड्न कोरिया, पान खान जापान र कसैले पनि छिः नभनोस् भन्ठानी ‘अमेरिका’ प्रस्थान गर्नेको त भाँतिभाँति ताँती नै छुटिसकेको छ । व्यासका सन्तान ग्यासको भाउ बढाउने दाउमा छन् । ऋषिमुनिका सन्तान सिसिमुनि बसेर पपधुनी जगाएर ‘उपरतली’ भेट्न लागेका छन्, छिटै बैकुण्ठ भेट्न जागेका छन् ।
उपरतलीका गणित भित्र अनेक अङ्क अङ्कित पाइन्छन् । भ्रष्टाचारका उच्च ओहोदामा बसी अन्याय सहनु, नारी नेताले नै नारीमाथि सु-सम्पन्न अत्याचार बलात्कारको कुरो कतै नकहन, छोरीको मट्टीतेल दहनपछि दाइजो पाइने गहन विषयमा विद्यावारिधि गर्नु, लोकतन्त्रात्मक गणतन्त्रका निम्ति गोली खाएर मर्नु र तिनकै परिवारजन दरिद्रताका भुमरीमा पर्नु आदि पक्ष उपरतलीका निष्पक्ष कुरा हुन् । त्यसो त उन्नाईस दिने आन्दोलन पश्चात् राजालाई हतपत गद्दीच्युत गराए पनि प्रमद्वारा राष्ट्रपतिको मुकुट पहिरिन हतारिनु राजाले पनि कस्तो उपरतली परेर हो कुमारी दर्शनमा भौतारिनु आदिले तादी देखिका घटना दोहोर्याउन के बेर ? भन्ने उपरतलीले खलखली पसिना छुटेको छ आज मलाई ।
अझ कहिले कटुवालका कटु आलोचनाको उपरतली त कहिले गुरुङलाई सुरुङ खनेर रातारात पदोन्नति थमौती आदिको बिगौती छड़्किने गर्छ त कतै राष्ट्रपतिको कदम सच्चिनु पर्ने, केही सांसद मच्चिनु पर्ने, केही सांसद थच्चिनु पर्ने आदि राष्ट्रिय उपरतलीको कुरो गर्न पनि सुरो मान्छे नै चाहिने समय आइपुगेछ । म जस्ता लुरे र भारेभुरेको कामै छैन अनि काम नहुनेका निम्ति माम पनि त हुँदैन ! अनि के हाम गरेर बाचूँ म भन्ने नै मेरो मुटुभित्रको उपरतली हो । सबैभन्दा लामो ‘नागरिक सर्वोच्चता’ को उखु चपाएर मात्र म जसोतसो वाँचेको छु आजसम्म । नत्र उहिल्यै त्रिशुङ्क झैं अन्तरिक्षमा जम्बुजेट भइसक्ने । वरु तपाईंको चाहिँ पाँचवीसा आयु होस्, तपाईंका हिस्सी परेका गालामा (तपाईं छ सय एकभित्र पर्नुहुन्छ भने) काँचो वायुले भाँजो नहालोस् । वरु शिरमा बुख्याँचा ठड्याएको ठड्यायै ।
यसरी नै सधै सांसद रहेर दुःखजिलो गरेर गरी खानु, दुइकोटि मौरीका रानु भएर, त्यो बेस तर क्यै गरे पनि मेरा ‘सानाबा’ का अर्थमा उपरतली पापिष्टको आँखा नलागोस् । म त भन्छु यस शताब्दीको सर्वश्रेष्ठ बुख्याँचा हो । (दोसल्ला ओडाउनु अर्थमा) कुनै बाबुले मायालु छोरीलाई कुनै एक ठुला पदमा थचार्नु, अर्का कुनैलाई पछार्नु चाहिं उपरतली हो ‘सानाबा’ का परिभाषामा । सवैभन्दा आलो (माकुराको जालो) झिँगेदाउ चाहिँ साझा सहमति नामको रवरफिता हो यस सहस्राब्दी भरि तन्केर नसकिने उपरतली । तर म ता भन्छु यो त्यस्तो लोहोरो अवश्य होइन जो अगेनामा जति पोले पनि नपाकोस् । अथवा अवश्यै अब भोकै निदाएका भल्ट्याङ भुल्टुङ भुराभुरीले यो लोहोरो ‘कलियुगले दोस्रो चरण’ टेकेपछि यथाशीघ्र खान पाउने छन् । मेरो उपरतली त्यति हतारे छैन किनभने उसले राजनीति बुझेको छ । राजनीति बुझ्नेले एकचोटि उपरतली मचाएर घुप्लुक्क सुतेका भुराभुरी जतिकै धैर्य राख्न जान्नुपर्छ यस शताब्दीको मूलपाठ नै यही हो । अर्जुनलाई कृष्णले घोकाएको ‘उपर’ को वचन ‘तली’ ले कहिल्यै कतै नचली मान्नु पर्छ (करिष्ये वचनं तव) ।
यी उपरतली यस्तो काँडेतार हो जसभित्र छिरेपछि जस्तै होक्काँ भएका साँडे पनि फुत्केर बाहिर निस्केला भन्ने आशा गर्ने दुराशा मात्र हुनेछ । यो यस्तो हैजा हो जो राजनीतिको छाला ओडेर जाति, धर्म, संस्कृति क्षेत्र आदि सबैमाथि झम्टिने गर्छ । यो यस्ता व्वाँसो हो जो पछाडिबाट आन्द्राभुँडी छियाछिया पार्ने गर्छ र त्यो घाउ निको नहुने कुरै गर्दैन । उता धार्मिक क्षेत्रमा कहिल्यै नखुल्ने उपरतलीले मलाई थाङ्नामा सुताएर थुम्थुम्याउँदै भन्यो- ‘एउटा धार्मिक पोखरीबाट माछा व्यापार चल्दैछ । किनेर ल्याउने होइन ?’
म शाकाहारीले कताको माछा खानु र किनेर ल्याउनु ? बाहुनले च्याउ खाओस् न… । यसै अन्तरालमा निकै गतिलो जाल हान्दै, उड्दाउड्दैका चरा झार्ने एक जना सिकारु शिकारीले प्याच्च मुख खोले- ‘तीर्थस्थलका पोखरीका माछा त पवित्र हुन्छन्, किन खानु हुँदैन ? त्यो त शाकाहार जतिकै हो । त्यो माथि तपाई त बंगालका छेउमा बस्ने मान्छे । बंगालीहरू माछालाई शाकाहार नै मान्ने गर्छन् । वरु पानी धिरौंला भनी, स्वाद मानीमानी खान्छन्, एकादशी होस् कि आइतवार । हुन पनि हो, जिब्राको उतपरतलीलाई बलि राजाले पनि जित्न खोज्दा तिन पाउ भूमिका छलमा पर्नु पर्यो ।
उपरतलीको तल्तली कति हो कति ? आफू जित्राबाट पानी झार्छन् माछा खान पाइने तीव्र इच्छाले, अर्कालाई अर्ती दिन्छन् समर्थन पाइयोस् भनेर । वास्तवमा, ‘वाहिर बाहिर लोकाचार भित्रभित्र पोको पार’ शैलीका मान्छे यस्तै भैलो ‘भट्याएर यस्ता उस्तालाई पट्याएर थैली भर्ने गर्छन्, भन्ने कुरो धरै भट्याएर मैले कसलाई पट्याउनु छ र ?
छाडौं सबै कुरा । देशमा सङ्कटका काला मेघ तिव्रगतिले मडारिदै रहेका वेला अरु कुरा छाडी पोइल जाने कुरा गरौं । जुँगा चल्यो कुरा बुझ्यो । हामी राष्ट्रिय सङ्कट निवारणका निम्ति ‘वनभोज’ खान जाऔँ कतै । तर कता जाने ? हङकङ, सिङ्गापुर, व्याङ्कक, दिल्ली, बेइजिङ जता गए पनि त भयो नि ! उपरतलीले ढलीमली गरेपछि । वातावरण रक्षार्थ मालद्वीप्स मन्त्री मण्डलको बैठक समुन्द्र मुनि के वसेको थियो नेपाली मन्त्री मण्डल पनि चढिहाल्यो आफ्नै सगरमाथा फेदमा । कसैले हाती चढेको देख्यो भने मलाई पनि आफ्नै घरको धुरी चढ्ने उपरतलीको भूत चढ्ने गर्छ हिजो आज ।
०००
‘जुही’ पूर्णाङ्क ५९, २०६६
Subscribe
Login
0 Comments
Oldest








































