राेहिणी विलास लुइटेललुम्लेको कुम्ले बिहे
ठूला ढुकुटीलाई सुकुटी पार्दै (रित्त्याएर बढेबढे कुम्ला कसेर अन्यत्र कतै ब्याङ्कहरूमा वा बैंककहरूमा) ओसार्दै-पसार्दै नयाँ-नयाँ ओहोदामा गएपिच्छे एउटी-एउटी बिहे गर्दै हिँड्छन् । त्यसैलाई भनिन्छ कुम्ले बिहे ।'

राेहिणीविलास लुइटेल :
साँच्चै, लुम्लेको कुम्ले बिहे नेपालमा हुनु कुनै आश्चर्यको कुरो होइन । धेरै विदेशी नागरिक नेपालमा आएर कोही यहीँका युवक वा युवतीसँग, कोही उतैबाट घुमघाम गर्न आएका तरुनी-तन्नेरी अथवा दम्पती नै यहाँको विवाह गर्ने शैली देखेर थैली टकटक्याएरै भए पनि, दैलो ढकढक्याएरै भए पनि लगनगाँठोमा कस्सिएका कुरा बाँठो हुँ भन्ने जति सबैलाई थाहा छ । त्रिसट्ठी वर्षकी बूढीकन्ये भएर के भो ? ‘जोआना लुम्ले’ जस्ता पश्चिमा (अचेल त पूर्वीया पनि) जीवनमा पन्ध्र-बीसवटा बिहे नगरे के जोवन ? भन्ने जीवनमा दर्शनको परिभाषा दिएर आशावादी हाँसो हाँस्तै कतिकति नासो (जीवित वा मृत) नाली हुँदो फ्याँक्तै हिंडिरहेका छन् ।
जोआना लुम्लेका बाबुलाई उहिले एक जना गोर्खा सैनिकले दैनिक युद्ध गर्ने क्रममा परी घाइते भएका (अचेल म घाइते छु-छुइनँ भन्ने कुरो अर्काले भनिदिनुपर्ने बेला छ) अवस्थामा बचाएका हुनाले लुम्लेले गोर्खा सेनाप्रति हार्दिकता राखेकी र नेपाललाई माइती देश भाकेकी अरे । पाइन्छ नि माइती मान्न, किन नपाइनु ? कुनैले नेपाललाई ससुराली मानेको हुनुपर्छ । जस्तैः सुजाताका श्रीमान् जर्मन नागरिक । कसैले मावली माने हुनन् । जस्तैः लव-कुश । कुनै राष्ट्रले मित्र मानेको छ । जस्तैः चीन (अरनिकोका कारणले)। कुनै राष्ट्रले गुरुदेश मानेको छ। जस्तैः जापान (गौतमबुद्धका कारणले) । कुनै राष्ट्र हाम्रो भक्ति देखेर नेपाललाई नव उपनिवेश बन्ने जुक्ति सिकाइरहेकै छन् । सिकाउन आतुर देखिन्छन् । उनीहरू हाम्राे देशलाई ‘नव नेपाल’ बनाउनुभन्दा ‘नव उपनिवेश’ वा ‘नव सिक्किमीकरण’ परिभाषा आ-आफ्ना दैनिकीमा ‘टिपन-टापन’ गरिरहेका हुनन् । यसो गर्न उनीहरू पाउदैनन् ? अवश्यै पाउँछन् । आज सबैले आ-आफ्ना माग वा इच्छा पूरा गर्न/गराउन पाउने बेला आएको छ । अधिकारको कुरो उठिरहेको बेला छ। सम्भवतः राष्ट्रसङ्घका बडापत्रमा पनि यो कुरो उल्लेख छ । नभए उल्लेख हुनुपर्छ भन्ने यो गाईजात्रे लेखनदासको अर्घेल्याई छ । अरूको पेलाइ र उसको अर्घेल्याईंको लडाइँ परे परोस् ।
एक जना जोगी भन्थे- ‘बाहिरबाट विभिन्न निहुँ गरी आउनेसँग सावधान हुनुपर्छ । धर्मको वा मित्रताको सियोभएर पस्छन् राजनीतिको फाली भएर निस्कन्छन् उनीहरू । अथवा ‘आमा बनेर कैकेयी आउन सक्छे, मामा बनेर शकुनि आउन तक्छ, मित्र बनेर इन्द्र आउन सक्छ, मृग बनेर मारीच आउन सक्छ, विवाहको प्रस्ताव लिएर शूर्पणखा आउन सक्छे’ आदि इत्यादि ।’
आसन्न ‘गाईजात्रा महोत्सव’ कै अवसर पारेर टुप्लुक्किएकी ‘लुम्ले’ माथि शङ्का र उपशङ्का गरेर लड्डा जलाउने छेकछन्द यस कलमबन्दमा पटक्कै छैन किनभने उनी जन्मेकी नै थिइनन् र उनका शत्रु राष्ट्रलाई युद्धमा काबु पारेर उनका बाबुलाई बचाइदिने गोर्खा सेनाका ती भेना जत्तिकै प्याराका सन्तति र बराबर गाँस, वास र कपास (पेन्सन आदि) दिनैपर्छ भन्नेमा उनको घुर्येत्रो चलेको चलेकै छ स्वदेशी सरकारसँग । आफूलाई नेपालकी छोरी भन्छिन् उनी पनि आफ्नी दिदी बहिनीलाई (राखी बाँधका हात नओभाई भाइटीका लाउनै आँटेका बेलामा तीन महिनामात्रै त छ) यस्तो मध्यबेलामा ‘लुम्ले’ आइपुगेर नेपाल मात्रलाई (भूपूगो सैनिकलाई मात्र होइन) ‘कुम्ले बिहे’ जन्त जाँदाको सम्झना आएपछि मलाई उनलाई पनि यतै एक ‘नयपाली ठिटो’ खोजेर भ्यानाकुटी पारिदिऊँ कि जस्तो झ्वाँक चलिसकेको थियो ।
व्यारेत, काँकरभिट्टामा उनको स्वागत गर्न उर्लिएको मान्छे र घरगाउँले जस्तो देखिने मान्छेको कुँडुलो अनि स्वागतार्थ रचिएको त्यो स्वयम्वर मण्डप जस्तो तामझाम देख्तै लुम्लेको कुम्ले बिहे नै पो हो कि त । बेलाइती नभई नेपाली नै जन्ती त्यहाँ अनगन्ती देखिएकाले पक्कै ‘कुम्ले बिहे’ हुनुपर्छ भन्ने यस खन्तीलाई भान परेको हो। म आफूलाई खन्ती भन्न किन मन पराउँछु ? यो पनि अनुसन्धेय विषय छ। आफू त्यसमा जन्ती जान नसक्ता त्यसको खनीखोत्रो गर्नु मेरो उपरतली नै भएकाले, यसो भएको हुनसक्छ मेरो गाईजात्रे अवचेतन मनमा । दाख अमिलो हुन्छ नि त । हाम्रो संस्कृति पनि यही हो। आफूले जान र खान नपाएपछि त्यो अत्यन्त घृणित कार्यक्रम हुन जान्छ । आफू त्यहाँ जान र खान रमाउन (अघाउन्जेल) पाएमा त्यो सर्वोत्तम समारोह ठहरिन्छ । हाम्रो रजनीतिको सुखद संस्कृति पनि त यही रहिआएको छ । आफू पदमा रहिन्जेल त्यो ठीक, बाहिर भएपछि बेठीक। ठूलाबडाले गरेका आचरण सानाले पनि गर्नैपर्छ भन्ने त भगवद्गीताले घोकाएकै छ । हाम्रा देशमा अघि-अघि राजाले शास्त्रअनुसार चल्ने गरेको कुरो आजका दलीय नेताहरूले त्यसैको बिँडो थामी आएका छँदैछन् । सर्वनाशकारी गाईजात्रे (प्रेतकल्प) महोत्सव अनुष्ठानमा अधिकालाई उछिन्दै पाछिन्दै झन् पछिका राजनेताहरूले झन् झन् उत्तरोत्तर वृद्धि गर्दै लाँदैछन् । आचरणका चरण स्पर्शहरू ।
एक जनाले बुझ पचाएर प्याच्चै सोधे- ‘हैन यो कुम्ले बिहे भनेको के हो ?’
मैले जानेको यथार्थ भनिदिएँ- ‘टाढा लगनगाँठो कस्सियो भने, दुई-चार जना आफन्त र बेहुलो, बेहुलीकै घरछेउ कतै बसेर, कुम्ला-कुटुरा बोकेर बास बस्तै जानुपर्ने भएकाले त्यसलाई कुम्ले बिहे भन्छन् ।
उनी त लालबुझक्कड पो रहेछन् । उनले हाँस्तै (मेरो उपहास गर्दै मूर्ख ठानेर) भने- ‘त्यसो होइन, यो श्रेय जान्छ देशका ठूला-ठूला ढुकुटीलाई सुकुटी पार्दै (रित्त्याएर बढेबढे कुम्ला कसेर अन्यत्र कतै ब्याङ्कहरूमा वा बैंककहरूमा) ओसार्दै-पसार्दै नयाँ-नयाँ ओहोदामा गएपिच्छे एउटी-एउटी बिहे गर्दै हिँड्छन् । त्यसैलाई भनिन्छ कुम्ले बिहे ।’
नमरी बाँचे दैवले साँचे संसारमा धेरै कुरा देख्न र सुन्न पाइन्छ भन्थे, यही रहेछ । मैले ‘गुरुकुल’ मा बसेर पन्ध्र-बीस वर्ष शास्त्र पढेको भन्दा त्यो एकै दिनका पाठले मलाई कहाँबाट कहाँ पु-याइदियो त्योलालबुझक्कडलाई फेरि फेरि भेटेर यो गाईजात्राको पनि मूल अर्थ सोध्नुपर्नेछ र यदि ‘लुम्ले’ को कुनै दिन कुम्ले बिहे हुने भएछ भने भतेर खानमा सकसके अगुवा मैं हुनेछु, भगुवा मान्छेले समयको फल खान नसक्ने निधो गरें।
०००
बुद्धिबङ्गारो (२०६९)
Subscribe
Login
0 Comments
Oldest








































