सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आफ्नै कुरो :: धक नमानी गरिएको बकपत्र

फित्कौली डटकमको दसवर्ष र अनलाइन पत्रिका दाेस्राे वर्ष प्रवेशका अवसरमा राजधानीमा ०७९ माघ १४ गते आयाेजित फित्काैली सभामा प्रस्तुत चलचित्रात्मक प्रस्तुतिकाे स्क्रिप्ट ।

Nepal Telecom ad

आरम्भमा फित्कौलीको अर्थ खोज्दै :
० ससाना ढुङ्गा, माटाका मट्याङ्ग्रा वा मकै चनाका दाना आदि हान्ने गुलेली सरहको बाँसको
सानो कप्टेरो नै फित्कौली हो ।
० तथापि फित्कौलीलाई मारक औजार वा हतियारमा गनिदैन र यो रमाइलो वा ख्यालठट्टाका
निम्ति लुकाएर जिस्क्याउने र तर्साउने उद्धेश्यले प्रहार गर्ने गरिन्छ ।
० हास्यव्यङ्ग्य अभिव्यञ्जना पनि एक प्रकारको फित्कौली-प्रहार नै हो ।

अलिकति पृष्ठभूमि :
० वि.सं. २०६२ साल भदौ, गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य प्रधान मासिक भनेर फित्कौलीको पहिलो अङ्क
प्रकाशित ।
० प्रकाशनमा हास्यदेव वासुदेव अर्थात भूतको भिनाजुको विशेष उत्प्रेरणा ।
० मासिक भनिए पनि अर्थअभावका कारण ७ वर्षमा ४० अङ्क निस्किएर स्थगन ।
० प्रकाशन सम्भव नभए वेबसाइटमा लगेर भए पनि निरन्तरता दिन देश र विदेशका प्रिय पाठकहरूको अनुनय र
आग्रह ।
० २०७० सालको असोजदेखि यो फित्कौली डटकमका नामले वेबसाइटमा देखिन थाल्यो ।
० ९ वर्ष वेबभा झुण्डिँदा ७ हजार हास्यव्यङ्ग्यमुलक सामग्रीको आर्काइभ तयार भएछ ।
० म त्रिविबाट निवृत्त हुनासाथ त्यो आर्काइभलाई पुनर्व्यवस्थित गरी २०७८ माघदेखि नेपाली भाषाको
एकमात्र हास्यव्यङ्ग्य अन्लाइन पत्रिकाका रुपमा रुपान्तरण ।
० यो एक वर्षमा थप ३ हजार सामग्री प्रविष्ट भई अहिले ९३७ जना स्रष्टाका १० हजार १ सय २७ वटा सामग्रीको आर्काइभ खडा भएको छ ।

फित्कौली डटकममा के के प्रविष्ट हुन्छन् ? :
० सिस्नुपानी नेपाल, हास्यव्यङ्ग्य सदनसँगको सहकार्यमा फित्कौली अनलाइन मिडियाद्वारा सञ्चालित फित्कौली डटकममा हरेक दिन नेपाल र नेपाल बाहिरका ख्यातिप्राप्त हास्यव्यङ्ग्य कर्मीहरूका साथै हास्यव्यङ्ग्यका नवोदित नवस्रष्टाहरूका हास्यव्यङ्ग्य सिर्जनासामग्री, कविता, बाङ्गा गजल, ठोक्तक, ठट्यौली मट्याङ्ग्र्रा, प्यारोडी, निबन्ध, फित्कौली वार्ता, समीक्षा, हास्यव्यङ्ग्यसम्बन्धी सैद्धान्तिक लेख, कृति, तिनका परिचय, साहित्यिक समाचार र बुढ्यौली साहित्य लगायत समसामयिक कार्टुन र हास्यश्रृङ्लामा आधारित लघु भिडियोहरू समावेश गरिन्छ ।

फित्कौली स्थापित र नवोदित हास्यव्यङ्ग्यकार बीचको पुल :
० हास्यव्यङ्ग्य लेखनमा सरिक पुराना पाका र नवोदित स्रष्टाहरू दुवैलाई फित्कौलीले समान स्थान दिँदै आएको
छ ।
० हास्यव्यङ्ग्य स्रष्टा पनि कुनै न कुनै दलमा आबद्ध भएका हुनसक्छन् तर हास्यव्यङ्ग्यका नाममा गरिने दलीय
भावना, आक्षेप र ठाडो अभिव्यक्तिलाई स्थान दिने गरिएको छैन ।
० फित्कौलीलाई बिना पूर्वाग्रह सबै आस्था, विचार र वादको निरपेक्ष साझा प्लेटफर्म बनाइएको छ ।
० अग्रणी हास्यव्यङ्ग्यकारहरूलाई श्रद्धा र सम्झना गर्दै उनीहरूका कृति-रचना पुनरावृत गर्ने र नयाँ
नवोदितहरूलाई पनि उतिकै स्थान दिएर उत्प्रेरित गरिदै आएको छ ।

० गालीगलोज र लाजभाँडको बोली हास्यव्यङ्ग्यको गोली हुन सक्दैन भन्ने मानक मान्यतालाई फित्कौलीले आरम्भदेखिनै आत्मसात् गर्दै आएको हो । यही मान्यतामा आधारित भएर हामी फित्कौलीको आगामी यात्रालाई निरन्तरता दिइरहने छौँ ।

फित्कौलीको आधिकारिकता :
घरेलु उद्योग, काठमाडौंमा विधिवत दर्ता भएको फित्कौली अनलाइन मिडियाद्वारा सञ्चालित फित्कौली डटकम बागमती प्रदेशको सञ्चार रजिस्टारको कार्यालय अन्तर्गत दर्ता गरिएको छ । मिति २०७८।९।३० मा दर्ता भएको यसको दर्ता नं. ०००९८ हो । हरेक वर्ष असार मसान्तमा दर्ता नवीकरण हुँदै आएको छ । प्रेस काउन्सिल नेपालमा यसलाई सूचीकृत पनि गरिएको छ । यसको कार्यालय कामनपा- १४, कलङ्की, काठमाडौमां रहेको छ ।

फित्कौली यी उद्देश्यहरूबाट निर्देशित छ :
० सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा समसामायिक विषयहरूमा व्यङ्ग्यात्मक शैलीद्वारा आमनागरिकलाई सुसूचित गराउने,
० कमेडी, कार्टुन र अन्य व्यङ्ग्यात्मक सामग्रीहरूको माध्यमबाट सूचनामूलक जानकारी दिने,
० देशभित्र वा बाहिर रहेका नेपाली भाषीहरूसमक्ष शिष्ट हास्यव्यङ्ग्यका सामग्रीहरू प्रस्तुत गर्ने,
० नवस्रष्टा एवं ख्यातिप्राप्त स्रष्टाहरूलाई आफ्ना हास्यव्यङ्ग्यमूलक लेखरचनाहरू आम पाठकसम्म पुर्‍याउने माध्यम बनाउने,
० नेपाली साहित्यको संवद्र्धन गर्दै विशेषतःसमग्र हास्यव्यङ्ग्यको अभ्युत्थान कार्यलाई अभियानका रूपमा अघि बढाउने,
० हास्यव्यङ्ग्य गोष्ठीहरूको आयोजना गर्ने, हास्यव्यङ्ग्य कृतिहरूको व्यवस्थित ढङ्गले लेखन, प्रकाशन र प्रशारण कार्य गर्ने ।
० एक स्थायी अक्षयकोष स्थापना गरि हास्यव्यङ्ग्य र बुढ्यौली साहित्यका क्षेत्रमा क्रियाशील स्रष्टा, लेखक एवम् कलाकारहरूलाई प्रोत्साहित गर्न वार्षिक रूपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने

आजसम्मको उपलब्धी
० फित्कौली नेपाली हास्यव्यङ्ग्यको एउटा आधिकारिक पोर्टोलका रुपमा स्थापित बनेको छ
०विद्यालय, कलेज स्वदेश वा विदेशका विश्वविद्यालयका छात्रछालाई हास्यव्यङ्ग्य सम्बन्धी शोध अनुसन्धानलाई सघाउने स्रोत सङ्ग्रह बनेको छ ।
० इतिहास गर्ततिर पुरिन लागेका हास्यव्यङ्ग्य स्रष्टाहरूका स्मृतिसन्दर्भमा उनीहरूको व्यक्तित्व कृतित्व र योगदानमा आधारित सामग्रीहरू प्रविष्ट गरेर उनीहरूलाई नयाँ पुस्तावीच परिचित गराउँदै आएको छ ।
० वासुदेव लुइँटेल, भैरव अर्याल, व्यङ्ग्यकार देवकोटा, केशवराज पिँडाली, श्याम गोतामेका रचना र उनीहरुका योगदान सम्झँदै स्मृति विशेष फित्कौलीका उपलब्धी नै हुन् ।
० गएको वर्षबाटै हास्यव्यङ्ग्य लेखनमा ओर्लिएका एक दर्जन जति नवस्रष्टाहरू पहिलोपटक फित्कौली मार्फत सार्वजनिक भएका छन् ।
० काठमाडौं बाहिर इलाम, झापा, विराटनगर, सर्लाही, सिन्धुली, उदयपुर, हेटौडा, चितवन, धादिङ, तनहुँ, पोखरा, भैरहवा हुँदै कैलालीसम्मका स्रष्टाहरुका सिर्जना फित्कौलीमा अटाइरहेका छन् भने दार्जिलिङ, सिक्किम, असम हुँदै नर्वे, क्यानडा, अस्टेलिया, जापान, बेलायत, संयुक्त राज्य अमेरिकासम्मका नेपालीभाषी हास्यव्यङ्ग्य स्रष्टाहरू एकै धागोमा उनिदै आएका छन् ।

अबको यात्रा
नेपाली हास्यव्यङ्ग्यको अग्रगतिका लागि फित्कौलीले यी कार्यहरु सँगसगै लैजाने सोच बनाएको छ ः
१. फित्कौली डटकमलाई अझै प्रभावकारी, पठनीय र व्यापक बनाउँदै जाने ।
२. भैरव पुस्कार गुठी, वासुदेव विद्यादेव लुइँटेल गुठी, सिस्नुपानी नेपालजस्ता संस्थाहरू समेतको
सहकार्यमा हास्यव्यङ्ग्य कृतिहरूको व्यवस्थित प्रकाशन आरम्भ गर्ने ।
३. आजको यो ‘फित्कौलीको खित्कौली सभा’लाई अबका दिनमा कम्तीमा २ महिने हास्यव्यङ्ग्य
कार्यक्रम बनाउने र प्रतियोगिता, सैद्धान्तिक छलफल, कृतिहरूको लोकार्पण र समीक्षा
कार्यक्रमहरूको आयोजना गर्ने ।
४. हास्यव्यङ्ग्य लेखनमा देखिएका नवस्रष्टाहरूलाई प्रेरित र प्रशिक्षित गर्ने किसिमका कार्यक्रम
आयोजना गर्ने ।
५. फित्कौलीको अक्षयकोष वृद्धिलाई प्राथमिकता दिँदै आगामी वर्षभित्र रु. १० लाखसम्म पुर्‍याउने र कोष
सञ्चाालनको कार्यविधि बनाई वार्षिक रुपमा हास्यव्यङ्ग्य स्रष्टाहरूलाई सम्मानित पुरस्कृत गर्ने ।

अक्षयकोष स्थापनाको घोषणा

वैयक्तिक लाञ्छना र गाली हास्यव्यङ्ग्यको बाली होइन, गालीको गोली हास्यव्यङ्ग्यको बोलीमा पर्दैन भन्ने अवधारणालाई आत्मसात गर्दै १० वर्षअघि आरम्भ गरिएको हास्यव्यव्यङ्ग्यको सामान्य डिजिटल सङ्ग्रह नै विस्तारित भएर अहिले हास्यव्यङ्ग्यको अनलाइन पत्रिकाका रूपमा फित्कौली डटकम हास्यव्यङ्ग्यप्रेमी स्रष्टा एवम् पाठकहरू समक्ष प्रस्तुत भइरहेको छ ।

विगत १० वर्षदेखि सञ्चालित तथा प्रकाशित हुँदै आएको फित्कौली डटकमले हास्यव्यङ्ग्य लेखनलाई प्रोत्साहित गरी अझ लोकप्रिय एवम् प्रभावपूणर् बनाउन अथक र रचनात्मक प्रयत्न गरिरहेको कुरा यससँग सम्बन्धित हास्यव्यङ्ग्य स्रष्टाहरूमा विदित नै छ ।

फित्कौली अनलाइन मिडिया अन्तर्गत रहनेगरी ‘फित्कौलीको खित्कौली पुरस्कार’ समेतको प्रयोजनका निम्ति अजकै मितिबाट एउटा स्थायी किसिमको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषको आरम्भमा फित्कौली अन्लाइन मिडियाको अध्यक्ष एवम् सञ्चालक म नरनाथ लुइँटेलले हास्यव्यङ्ग्य साहित्यमा योगदान पुर्‍याए बापत प्राप्त गरेको भैरव पुरस्कार-(२०७८) को रु १,११,१११, यसअघि प्राप्त हेटौडाको भैरव स्मृति सम्मानको रु.२३,००० र विरसा हास्यलेखन पुरस्कार (२०५१)को रु ५००० समेत हुन आउने १३९१११ रुपैयामा १०८८९ रुपैया थप गरी जम्मा १,५०,००० रुपैयाँ अक्षय कोषमा प्रदान गरेको छु । पुररस्कारको रकम पुरस्कारमै रहोस् भन्ने मेरो अभिप्राय रहेको छ ।

यो नेपाली हास्यव्यङ्ग्यको सम्बर्धन र समृद्धिको फित्कौली अभियान हो । त्रिवि सेवाबाट निवृत्त भएपछिको मेरो सम्पूर्ण समय यही अभियानमा समर्पित गर्दै आएको छु र गरिरहने छु । फित्कौलीका शुभचिन्तक एवम हास्यव्यङ्ग्यप्रेमी जो कोही पनि यो कोषवृद्धिमा यथासक्य सहभागी भइ फित्कौली अभियानमा जोडिन सक्नुहुनेछ ।

फित्कौली अनलाइन मिडियाद्वारा यथासक्य चाँडो कोष सञ्चालन-परिचालन र उपयोग सम्बन्धी कार्यविधि निर्माण गरिने प्रतिवद्धता समेत जाहेर गर्दछु ।

आज स्थापना र घोषणा गरिएको यस अक्षयकोषलाई नेपाली हास्यव्यङ्ग्यको विकास र विस्तारमा के कसरी उपयोग गर्न सकिन्छ भनेर यहाँ उपस्थित महानुभावहरूबाट पनि सल्लाह र सुझावसमेतको अपेक्षा गरेको छु ।

अन्त्यमा
प्रिय महानुभावहरू ! फित्कौलीको यो दसवर्षे यात्राको क्रममा आज अक्षयकोषमा जम्मा गरेको रकम बाहेक नै मैले झण्डै ५ लाख रुपैयाँ खर्चिसकेको छु । यसलाई अन्लाइन पत्रिकामा रुपान्तर गर्ने क्रममा र दर्ता प्रक्रियासमेतमा २ लाख जति गत वर्षकै खर्च हो । खर्चको केही अंश नाम सार्वजनिक नगर्ने सर्तमा विदेशतिर रहेका एकजना मित्रले बेहोर्नु भएको छ । यो खर्चमा मेरो परिवारको कुनै गुनासो रहेकाे छैन ।

हप्तामा सातै दिन ७ घन्टादेखि १३ घन्टासम्म म स्वेच्छाले स्वयम्सेवी भएर खटिरहेको छु । कसैले लाएअह्राएको वा आदेश फर्माएर गरेको पनि हैन । उमेरले ६५ वर्ष लागें । हास्यव्यङ्ग्य मेरो रगत नसामा नसा भएर लागेको छ जस्तो कि गँजडीलाई गाजाको, जँडयाहालाई जाँडको नसा लाग्छ । तास, रक्सी र रेस्टुराँको लत मलाई छैन । अबको मेरो सक्रिय जीवन फित्कौलीको हास्यव्यङ्ग्य अभियानमै समर्पित गरुँ भन्ने मनसाय व्यक्त गर्दै म यहाँसम्म आइपुग्नु यहाँहरुकै सद्भाव, साथ र सहयोगको परिणाम हो । यहाँहरु सबैप्रति म नतमस्तक छु ।

०००

फित्कौली डटकमको दसवर्ष र अनलाइन पत्रिका दाेस्राे वर्ष प्रवेशका अवसरमा राजधानीमा ०७९ माघ १४ गते आयाेजित फित्काैली सभामा प्रस्तुत चलचित्रात्मक प्रस्तुतिकाे स्क्रिप्ट ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad