साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुफानी पित्रेल चरीको गीत

फेरि पनि तुफानी पित्रेल चरी छाति तन्काउँदै चट्याङको बीचोबीच हुँदै रणघोष गर्दै, हुङ्कार्दै उडान भर्दैछ । र उसको रणघोषमा चरम आनन्दको प्रतिध्वनि छ - विजयको भविष्यवाणी जस्तै - ’आऊ तुफान, कम्मर कसेर आऊ !’

Nepal Telecom ad

समुद्रको निर्मल सतहमाथि
हावाको झोंकामा
थुप्रिदै छ कालो बादल
बादल र समुद्रको बीच
चक्कर लाउँदैछ तुफानी पित्रेल चरी
छाती फुका’र निर्धक्क भएर
चट्याङ पर्दा देखिने विद्युत रेखा जस्तै ।
कहिले अन्धकार छिचोल्दै
यति तल डुबुल्की मार्छ
उसका पखेटा जल तरंग छुन पुग्छन्
कहिले तीर जस्तो भएर बादलको छाती छेड्छ
र रणघोष गर्दै उड्छ माथि माथि ।
बादल उसको साहसी हुङ्कारमा
देख्छ स्वयं तुफानको झलक
उसको चित्कारमा प्रतिध्वनित हुन्छ
तुफानसँग पौठेजोरी खेल्ने हाँक ।
त्यसमा ध्वनित हुन्छ
उसको आवेग, प्रचण्ड क्षोभ
अनि विजयमा उसको अडिग विश्वास ।
सि गलहरू भयमा बिलखवन्द छन् तुफानले
चित्कार्छन् पानीको सतहमा
र्हुँकिन्छन्, उछिन पाछिन गर्दै तीर जस्तै
अनि डुबुल्की मार्छन् सुरक्षित हुन
भित्र कतै समुद्रको गहराईमा ।
बिलखवन्दमा छन् पानी हाँसहरू
संघर्षको संज्ञाहीन चरम आनन्द
तिनलाई के थाहा ?
सातो जान्छ तिनको
फगत मुड्कामुड्कीको आवाज सुने मात्र पनि ।
बुद्धू पेंगुइनहरू
लाजले भुतुक्क हुँदै चट्टानका कापतिर
आफ्नो धम्मरधुस्स शरीर लिएर लुक्छन् लुसुक्क
जब कि एक्लो तुफानी पित्रेल चरी
उगेल्दै गरेको फिंज सँगै सामुद्रिक लहरमा
शयर गर्छ निर्भिक निस्फिक्री भएर ।
अझ कालोनिलो हुँदै बादल झर्दैछ तल तल
समुद्रको छातीमाथि
लहरहरू सुरिलो भाका हाल्दै छन्
र उछिनापाछिन गर्दैछन् मानौं चट्याङ चुम्छु भनेर
चट्याङ गर्जिन्छ
चित्कार्छन् फिंज उगेल्दै ज्वारभाटाहरू
लाप्पा खेल्छन् हावाका झोंकाहरू
तुफानी बादल
जमा हुँदैछ समुद्र सतहमा घेरिदै
चट्याङ गर्जिन्छ, बिजुली चम्किन्छ
अव समुद्रका ज्वारभाटा
हावाका झोंका भन्दा के कम ?!
उता हावाको झोंका आफ्नै सनकमा
धृतराष्ट्रको आलिङ्गनमा अँठ्याएर
पानीको मुस्लोलाई
पर कतै चट्टानमा बजारी दिन्छ
पाहा पछारे झैं
विचरा हुन्छन् छताछुल्ल ।
तुफानी पित्रेल चरी रणघोष गर्दै उडान भर्दैछ
बिजुली चम्किदा रश्मि चिरे झैं गरेर
तिरले जस्तो तुफानी बादल चिरेर
तेजिलो धारले पानी काटे झैं गरेर ।
ऊ दैत्यले जस्तो
क्रुद्ध इन्द्रलाई ललकार्दै
कहिले अट्टाहास हाँसो हाँस्छ,
कहिले धुरुधुरु रुन्छ
जव बादलमाथि बुर्कुसी मार्छ
तव गलल हाँस्न पुग्छ
अनि खुशीका मारे आँसु झाछ ।
चट्याङको क्रोधाग्निमा चतुर दैत्य
उसको मर्मस्थलको भेउ पाउँछ
ऊ ढुक्क छ,
बादलको के सामथ्र्य घाम लुकाउने ?!
बित्थाको ताउरमाउर !
हावाको तेजतर्राट सुनिन्छ …चट्याङ गर्जिन्छ, बिजुली चम्किन्छ …
सपाट, विस्तृत समुद्रमाथि
तुफानी बादलबाट झरेका
बिजुलीका धर्साहरू
समुद्र
समातेर चिसो पानीमा चोबल्छ ।
तिनका नागबेली प्रतिविम्वहरू
थुरथुर काम्दै र झ्यापझ्याप निभ्दै
भित्र समुद्र गर्भमा लिन हुन्छन् ।
तुफान ! निमेष भरमा तुफान जाई लाग्ने छ
फेरि पनि तुफानी पित्रेल चरी छाति तन्काउँदै
चट्याङको बीचोबीच हुँदै
रणघोष गर्दै, हुङ्कार्दै उडान भर्दैछ ।
र उसको रणघोषमा
चरम आनन्दको प्रतिध्वनि छ –
विजयको भविष्यवाणी जस्तै –
’आऊ तुफान, कम्मर कसेर आऊ !’

टिप्पणी : गोर्कीमा श्रमजीवी जनताको अदम्य साहस, अठोट र संघर्षशील क्षमता प्रति अगाध विश्वास थियो ्र सन् १९०१मा रुसको पिट्सवर्गमा विराट विद्यार्थी प्रदर्शन भयो जसलाई निर्ममतापूर्वक दमन गरियो । सन् १९०५को पहिलो रुसी क्रान्तिमा रुसी श्रमजीवी वर्गले प्रदर्शन गरेको साहस र शक्तिको पनि गोर्की आफै साक्षी थिए । गोर्कीको यो विख्यात् कविता, तिनैको पृष्ठभूमिमा, तिनै विद्यार्थी तथा श्रमजीवी वर्गको सम्झना र कदर स्वरुप लेखिएको हो । यो कविता पछि गएर अक्टोवर क्रान्ति सम्मको रुसी श्रमजीवी आन्दोलनको रणघोष बन्न पुग्यो । कवितामा क्रान्तिको रंगपटमा देखिने शक्तिका प्रतिकात्मक रुप बडो कुशलताका साथ प्रस्तुत गरिएको छ । उनले मजदुर वर्गको शौर्य र साहसलाई चित्रित गर्न तुफानी पित्रेल चरी, समाजका कायर, ढोंगी र आत्मकेन्द्रित मध्यम वर्गलाई सि गल, पानी हाँस र पेङ्गुइनको रुपमा प्रस्तुत गरेका छन् । मानव समाजको मुक्ति र मानवीय मूल्यको प्रतिस्थापनाको निम्ति क्रान्ति अपरिहार्य छ र त्यसलाई सामना गर्ने क्षमता श्रमजीवी वर्गमै मात्र छ- गोर्कीमा बडो विश्वास थियो । कति मिठो छ उनको क्रान्तिको आह्वान- ‘आऊ तुफान, कम्मर कसेर आऊ !’- अनु.

(भावानुवाद : टंक कार्की)
जुलाई १२, २०१८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x