सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘मुखास्त्र’ भित्रका निबन्धहरूको समय सान्दर्भिकता

मास्क नलाउनेले प्रहरीको डन्ठा पनि खाए । मास्क लगाएपछि पुलिसको- भाटे कारवाहीबाट पनि बँचियो । कतिपय महानुभावहरूले त मोटरसाइकल चालकले ट्राफिकको डरले हेल्मेट लाएजस्तै पुलिसको डरले पनि मास्क लाए ।

Nepal Telecom ad

१. विषयप्रवेश
‘व्यङ्ग्यको नाइके पात्र म स्वयं नै हो भनेर कसैले नमाने पनि ध्रुवसत्य यही हो’ शीर्षकमा सम्पादकीय लेख्ने क्रममा स्रष्टा व्यक्तित्व एवं निबन्धकार ईरान राईको भनाइ छः हामी अझ बढी चेतनशील, विकसित, सभ्य, सुसंस्कृत, सिर्जनशील र एकताबद्ध हुँदै जानुपर्नेमा उल्टै चेतनाहीन, पछौटे, छाडा, विकृत, मूर्ख, स्वार्थी र विभाजित हुँदै गइरहेका छौं । परिणामस्वरूप सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं राजनीतिक आदि विकृति विसङ्गतिहरू बढ्दो क्रममा रहेका छन् ।

यो ग्रष्टा सङ्कलक तथा सम्पादक ईरानको दृष्टिकोण यथार्थ छ । समाज जानुपर्नेमा कतातिर गइरहेको छ । सबै क्षेत्र अन्यौलको अवस्थामा छ । जीवन धान्नुपर्ने व्यक्तिको न्यूनतम कुराहरू पनि प्राप्त नभएको अवस्था छ । मानसिक रूपमा त मानिस अझ तल झरेको देखिन्छ । यसले सबैलाई पिरोल्नु स्वाभाविक हो । ईरान राईको लेखनारम्भ २०४२ सालबाट देखिन्छ । लेखनमा परिष्कार, भावनामा उच्चता र गम्भीरता देखिन्छ । उनीद्वारा सम्पादित कृति ‘मुखास्त्र’ संयुक्त व्यङ्ग्यनिबन्धसङ्ग्रह २०७८ असोज, ४४औं भैरव अर्याल, स्मृतिदिवसको सन्दर्भ पारेर प्रकाशन गरिएको छ । नेपाली साहित्यको हास्यव्यङ्ग्यमा ईरानको विशेष योगदान रहेको देखिन्छ । आजसम्म मौलिक, संयुक्त र सम्पादित गरी प्रकाशित उनका कृति हुन्- नयाँ युगको खोजीमा (संयुक्त कवितासङ्ग्रह, २०५२), सप्तकोशीको किनारबाट (संयुक्त गजलसङ्ग्र्रह, २०५२), जिउँदो लास (हाइकुसङ्ग्रह, २०५७), भन्डाकविता (कवितासङ्ग्रह, २०६०), सङ्कटकाल (हाइकुसङ्ग्रह, २०६२), सुस्केरा (संयुक्त साहित्यसङ्ग्रह, २०६३), दहीचिउरे (हाइकुङ्ग्र्रह, २०६६), छायाको चित्र (प्रश्नोत्तरी, २०७२), पुरानो काग (हाइकुसङ्ग्रह, २०७७), लिम्पियाधुरा (हाइकुसङ्ग्रह, २०७७), कट्टु (व्यङ्ग्य निबन्धसङ्ग्र्रह, २०६६) । यसैगरी उनले विभिन्न नाटकहरू पनि लेखेका छन् ः धुमपान (२०४४), गरिबको पनि पालो आउँछ (निर्देशन, २०४७), गरिबको आँसु (निर्देशन, २०४७), रगत (२०४८), हत्या (निर्देशन, २०४९), षड्यन्त्रको हुरी ( निर्देशन, २०४९), नाता (२०५०), नाटक (निर्देशन, २०५१) ।

२. निबन्धसङ्ग्रहको समीक्षात्मक दृष्टिकोण
‘मुखास्त्र’ (संयुक्त व्यङ्ग्यनिबन्धसङ्ग्रह) को विषयमा सहक्षिप्त तर समीक्षात्मक चर्चा गर्ने प्रयास यस लेखनमा गरिएको छ । यस सङ्ग्रहमा विभिन्न निबन्धकारहरूका तेत्तिसवटा निबन्धहरू समाविष्ट गरिएका छन् । कुनै छोटा कुनै लामा निबन्धहरू रहेको सङ्ग्रहमा समसामयिक, सामाजिक र रानीतिक विषयसन्दर्भ बढी रहेको छ भने हास्यव्यङ्ग्यको प्रचूरता प्रशस्त मात्रामा पाइन्छ । सङ्क्क्षेपमा निबन्धकार र निबन्धको विषमयगत चर्चा यहाँ प्रस्तुत गरिन्छ ।

अनिल पौडेलको नियतिमा राजनीतिको तात्पर्य खुलाउँदै यसमा देखिएको विकृतिलाई पहिल्याइएको छ भने आचार्य अ.को ‘सङ्क्षिप्त नामको कमाल’ मा गोप, विनि, हाघोजस्ता अनेक सङ्क्षिप्त लेखनविषयमा चर्चा गर्दै विद्यालय क्याम्पसहरूमा विद्यार्थीले शिक्षकको नाम राख्ने विषयमा विस्तृत चर्चा गरिएको छ । ‘मुखास्त्र’ शीर्षक ईरान राईको निबन्ध हो । यसमा कुरौटे चतुर राजनीति गर्ने व्यक्ति वा विपक्षीहरूका विकृत राजनीतिको चर्चा र फोहोरी खेलको षियय उठाइएको छ । केशव सुनामद्वारा लिखित निबन्धमा ‘सुरा र सुन्दरीको चमत्कार’लाई विषय बनाइएको छ, यसको प्रारम्भ पौराणिक कथा समुद्रमन्थनमा मोहनीले सुरा पिलाएको कुराबाट हालसम्मको विकृत अवस्थालाई चर्चा गरिएको छ । चेतनाथ धमलाको निबन्ध ‘दुर्वासै दुर्वासा’ ले समाजमा रहेको व्यक्तिको चरित्रलाई द्योतन गर्दछ भने ‘जो चोर उसैको ठूलो स्वर’ डम्बर विवेकको निबन्धले साहित्यको क्षेत्रमा वा अन्य क्षेत्रमा अवार्ड पाउने व्यक्तिको व्यक्तित्वलाई उजागर गरेको छ । ‘बा-हुन्’ मा डिबी किराँतीले जातपातका कुरा उठाएका छन् भने ताराबहादुर बुढाथोकीले ‘मुखौटा’ मा मान्छेदेखि हरेक पशु वा वस्तुका मुखौटाको चर्चा गर्दै अनेक उखान-टुक्काले व्यङ्ग्य प्रहार गर्नुका साथै कोरोनाको चर्चा पनि गरेका छन् । तिला लेकालीको ‘हजुरकै जय होस्’ ले कुनै व्यक्तिविशेषको गुणगान गर्ने र कमजोरी दर्शाउने क्रममा अनेक उदाहरण दिएर विनापैसा काम नगर्ने व्यक्तिप्रति व्यङ्ग्य गरिएको छ । डाक्टर तुम्बाहान एमकेको ‘बडीआमाले दिनुभएको भैलिनी दक्षिणा’ मा पहिलेको र अहिलेको दरभाउमा धेरै फरक छ तर दानदक्षिणा दिने तरिका उही छ भन्दै अनेक विवरणात्मक शैलीद्वारा प्रस्ट पारिएको छ । ‘जाँड पार्टी’ डा. देवी दुलालको निबन्ध हो । यसमा नेताहरूको चरित्र, उनीहरूको हिजोको र आजको स्थितिलाई देखाइएको छ । देवी पन्थीको ‘झुटरसः राजनीतिको दसौँ रस’मा संस्कृत साहित्यमा नौरस, आयुर्वेदमा षड्स भए पनि अहिले झुटचाहि दसौं रसको रूपमा देखिएको छ भनेर राजनीतिप्रति व्यङ्ग्य गरिएको छ । यसैगरी नारायणभक्त राईको निबन्ध ‘मलामी’ मा वर्तमान समयमा सामाजिक अवस्था यस्तो भयावह भयो कि कोही- व्यक्ति मर्दा मलामी जुटाउन धौ धौ पर्छ, मानिसमा संवेदनशीलता हराएको छ, यसमा कोही ठूलो ठानेर क्रियाकलाप गरेका हुन्छन् भन्ने सन्दर्भ ल्याएर समाजमा परेको प्रभावलाई व्यक्तिको कर्म अनुरूप व्याख्या गरिएको छ अर्थात् कोही मलामी थुपार्न समाजसेवा, राजनीति, धर्मकर्म गर्ने गरेको निष्कर्ष निकालिएको छ भने पुण्य कार्कीको ‘खोजी खाने, खोसी खाने र खोस्री- खाने’मा मानिस संसारमा तीन किसिमका हुने तर वामदृष्टिले दुई, धर्मभीरुले दुईवर्गमा विभाजन गरे पनि निबन्धकारले भने तीन वर्गमा विभाजन गरेका छन् र खोस्री खानेको जमात धेरै भएको निष्कर्ष निकालेका छन् ।

यस्तै प्रेम ओझाको झण्डा’ले राजनीतिक्षेत्रमा परिवर्तन भएपछि झण्डाको कुराले धेरैलाई ग्रस्त गरेको थियो राजनीतिक पण्डाहरूलाई । समाजमा खलबल अत्यधिक रहेको सन्दर्भ उठाइएको छ । प्रा.डा. बद्रीविशाल पोखरेलको ‘मोफसल नोफसल’ मा गाउँ शहरको भिन्नता स्वयं व्यक्तिविशेषको उपज हो भनिएको छ र ‘भुँडी र प्रतिष्ठानहरू’ मा बाँस्कोटा धनञ्जयद्वारा विभिन्न प्रतिष्ठानहरूका विभिन्न सदस्यहरू मिलाएर राष्ट्रिय भुँडी आन्दोलन कमिटी निर्माण गरेको सन्दर्भ ल्याएर सामाजिक कुरीतिको पर्दाफास गरिएको छ । बोधराज पौडेलको ‘नजान्ने डाक्टरको बिरामी’ शीर्षकमा स्वास्थ्यक्षेत्रमा हुने गरेका विकृतिलाई केलाउँदै डाक्टरभन्दा बढी जान्ने हुने सन्दर्भ ल्याइएको छ । डा. भीम खतिवडाको ‘सञ्जाल’ मा अहिलेको मोवाइल आतङ्कले समाज ग्रस्त भएको र मानिसले आफूलाई नै हराएको अवस्थाको वणर्न गरिएको छ । माधव पोखरेल ‘गोज्याङ्ग्रे’ बाट लेखिएको निबन्ध ‘ब्रह्माजीको बेइमानी’मा ब्रह्माको सृष्टि क्रियाकलापलाई विषय बनाएर मानिसले नै सबै गर्ने हो, निर्माण गर्नेले सम्हाल्न पनि सक्नुपर्छ भन्दै कोरोनाको विषयलाई पनि उठाइएको छ । मिश्र वैजयन्तीको ‘एकतारेवाद’मा समाजमा पल्पिएका अनेक किसिमका वादको चर्चा गर्दै रमिते बनेको अवस्थालाई व्यक्त गरिएको छ । कामभन्दा पनि कुनै न कुनै वादमा लाग्ने प्रवृत्ति रहेकोले कसैले कसैका कुरा नसुन्ने वाद हावी भएको स्थितिलाई दर्शाइएको छ । ‘भरियाको महिमा’ मुकुन्द प्रयासको निबन्ध हो । यसमा मानिसले भरिया जहाँ पनि हुनुपरेको छ । एउटै शरीरका अङ्गप्रत्यङ्ग त भरिया भएका छन् भने कुनै पनि अवस्थामा भरिया हुनबाट बच्न सकिन्न भन्ने दृष्टिकोण निबन्धको छ । यस्तै ‘भिंगो’मा डा. रमेश घिमिरेले भिंगोलाई प्रतीक बनाएर समाजमा भएका विकृत सन्दर्भहरू र फोहोरीपनका साथै अनेकार्थक शब्दबाट व्यङ्ग्यात्मक स्वरूप प्रदान गरिएको छ ।

रमेश भट्टराई ‘सहृदयी’को पनि रमाइलो निबन्ध छ ‘फेसन’ । यसमा गाउँबाट शहर पसेपछि देखिएका चाटाचाटर काटाकाटका दृश्यहरूको सन्दर्भमा अनेक फेसनले भित्र्याएको विसङ्गतिलाई उठाइएको छ भने राममणि पोखरेलको ‘चाहना आदर्श समाजको’ मा देशमा केही होला भन्ने आश हराएका मानिसहरूले भित्रयाएको आर्जनले सत्तामा बसेर मोज गरेका व्यक्ति र सरकारलाई व्यङ्ग्ग्य गरिएको छ । लालकुमार श्रेष्ठको ‘महादेवको परी-पत्र’मा आकाश पातालको कुरा गरेर पृथ्वीमा भएका विकासका यन्त्र जोड्दै नेताका काम नलाग्ने भाषण, समाजमा भएको विकृत अवस्थालाई देखाइएको छ भने डा. विज्ञान भिक्षुका निबन्ध ‘लावण्यको देशका पाँच पहाडेबाहुनको कथा’ ले नयाँ किसिमबाट विषयवस्तुको सड़्केत गरेको छ । स्वस्थानीको लावण्यदेशको कुरा उठाएर युधिष्ठिरादि पाँच पाण्डवको प्रतीकात्मकतामा अनेकन कथाहरू जोड्दै निबन्धको विस्तृतीकरण गरिएको छ । यसमा कविता पनि राखिएको छ । जस्तै-
लावण्यकी रानी हूँ, मायाकी म खानी हुँ
प्यासी तीर्खा मेटाउने एक कटौरी पानी हुँ
मेरो सिउँदा खाली छ राजा बन्ने पाली छ
छौ कि कोही नायक राजा बन्ने लायक । (पृष्ठ १३३)

यसरी व्यङ्ग्ग्य प्रस्तुतिले भरिएको लामो निबन्ध हो ‘लावण्य देशका पाँच पहाडेबाहुनको कथा । कथावस्तुका पात्र पुराना पौराणिक राखिएको भए पनि यसले वर्तमान समयको नेपालको यथार्थलाई इङ्गित गरेको छ । यसैगरी शरण राईको ‘मूर्ख वाणी’ मा संसारमा कोही सर्वज्ञानी हुँदैनन् भन्दै सत्ताइसवटा मूर्ख वाणीहरू समाविष्ट गरिएको छ भने सरस्वती दुमी राईको ‘चिन्ता भो हजुर’मा विभिन्न पाश्चात्य विद्वानहरूको चर्चा गर्दै पुस्तकको महिमा बताउँदै अब जन्मदिनको अवसरमा पुस्तक उपहार दिने बानी बसालौँ भनिएको छ । हर्कमान तामाङको ‘राजनीतिमा लागौं साथी हो, नेता बनौं’ मा शीर्षकले नै राजनीतिलाई महत्त्व दिएको स्पष्ट छ । जागीरको कुरा धेरै गरिएको भए पनि जागीर पाउन मुस्किल पर्‍यो भने नेता बनौं भन्ने सन्देश रहेको छ हरि कट्टेलको ‘पैसा’ ले समाज पैसामा निहित छ वा निर्भर छ । यसले सबैलाई गाँजेको सन्दर्भलाई लिएर जे पनि यहाँ भएको पैसाका लागि भएको छ भनिएको छ । यस्तै हेमसागर पोखरेलको ‘नामको तामझाम’ ले मानिसले नामलाई महत्त्व दिएको छ । यसमा सारा अस्तित्व रहेको कुरा गरिएको छ र अन्तमा भनिएको छ नामको तामझामले सस्तो लोकप्रियता नफैलाओस् । अस्तित्ववादका सिंगौरीमा अपजसका तीरले नघोचोस् । नाम क्षणिक माखेसाङ्लो होइन बरु सम्मानित र हार्दिक पुकारको मिठासपूणर् शब्द संकेत हो । कुनै पनि नाम फोस्रो रवाफको बाधकभन्दा सार्थक अभ्यासको साधक बनोस्, हार्दिक शुभनाम । (पृष्ठ १६४)

३. निबन्धभित्रका केही नमूनातर्फ दृष्टि एवं मूल सन्दर्भ : यसरी ‘मुखास्त्र’ भित्रका निबन्धहरूले मूलत समाजको यथार्थस्थितिलाई देखाएका छन् । समाजको कुनै पनि क्षेत्र चाहे राजनीतिको क्षेत्र होस्, चाहे धार्मिक तथा सांस्कृतिक क्षेत्र होस्, चाहे शैक्षिक क्षेत्र होस् सबैतिरको अवस्था बिग्रिएको छ । मानिसको स्वभावमा संवेदनशीलता छैन, आफ्नो मार्ग कुन हो आफैँले पहिल्याउन नसकेको अवस्थामा यस्ता निबन्धहरूले समाजका विकति-सिङ्गतिप्रति प्रहार गर्नु स्वाभाविक हो । प्रत्येक निबन्धले पाठकलाई – प्रशस्त खुराक दिएका छन् । नेपालको राजनीतिले आफ्नो दिशा के हो ? स्वार्थदेश निक्र्यौल गर्न नसक्दा हरक्षेत्र दुषित बनेको यथार्थ हो । यसका केही नमूनाहरूलाई दृष्टिप्रक्षेपण गरौँ :

मान्छेहरू बिचमा मान्छेले मान्छेजस्तै भएर बाँच्ने हो भने- “थुतुनो र तुनो जोगाउनु भन्छन् गाउँघरमा । (पृ.१२)
मानिस पनि अचम्मको प्राणी हो, जसले आफैँ समस्या सिर्जना गर्छ र फेरि आफैँ धुरुधुरु रुन्छ । (पृ.२२)

आश्चर्य ! स्वार्थ नमिले फूललाई काँडा देख्छन्, स्वार्थ मिले ढललाई अमृत देख्छन् । यस्तो विचित्र छ अहिलेका दुर्वासाको जीवनयात्रा । (पृ.२४)

मास्क नलाउनेले प्रहरीको डन्ठा पनि खाए । मास्क लगाएपछि पुलिसको- भाटे कारवाहीबाट पनि बँचियो । कतिपय महानुभावहरूले त मोटरसाइकल चालकले ट्राफिकको डरले हेल्मेट लाएजस्तै पुलिसको डरले पनि मास्क लाए ।- (पृ.३७)

लोकतन्तरको भुँडीमा भित्रभित्रै पलाएका नानाथरीका कीराहरू मौलाएका छन् आजकल तर लोकतन्तरको भुँडीका कीरा र हाम्रो भुँडीभित्रका कीरामा फरक के छ भने लोकतन्तरका कीरा हेर्न माइक्रोस्कोप नै चाहिँ प्रयोग गर्नुपर्दैन । (पृ.७७)

जन्मदिनमा केक काट्ने पर संस्कृतिको त कुरै छोडौँ । चुचे टोपी लाउनै पर्ने हो र । अझ खाने केकलाई अनुहारमा दल्नुपर्छ रे नि त ! चलन कि फेसन (प्र.११३)

४. विषयान्त एवं कवितात्मक भावना
यसरी यी त केही नमूना हुन् विभिन्न निबन्धहरूका । प्रत्येक निबन्धको विषयवस्तु यही समाजको विकृति हो, मानवीय विकृति विसङ्गति हो, अनेक  किसिमका परिवर्तनले पनि मानसिक विकत अवस्थालाई हटाउनुभन्दा पनि विकराल हुँदै गएको स्थिति हो । यहाँका युवाहरू बाहिर गएर काम गर्नुपरेको छ, उनीप्रति कसैले ध्यान नदिँदा देशको अवस्था खस्कँदो छ भन्ने धारणा व्यक्त भएको विषय हो । यस सङ्ग्रहभित्रका हरेक निबन्धमा व्यङ्ग्यको प्रचुरता छ, हास्यरसले पूर्ण छन् निबन्धहरू । यस सन्दर्भमा मनमा उठेका भावनालाई कवितामा उतार्दै यो समीक्षात्मक दृष्टिकोणबाट बिदा लिन्छु ।

‘मुखास्त्र’मा रङ्ग अनेक भेट्छु
व्यङ्ग्यात्म भाकामय धार भेट्छु
छन् अस्त्र शब्दार्थ विचार भेट्छु
स्थायित्वको द्योतन राग भेट्छु ।

कतै छ लावण्य कतै समाज
कतै छ हास्यात्मकता प्रभाव
कतै वितृष्णा छ कतै स्वराज
कतै छ शिक्षा गरिमा स्वकाज ।

यो देशको ज्योति हराउँदै छ
संस्कार सारा पर सारिँदै छ
सहिष्णुताको महिमा कता छ
निर्बन्धको आशयमा व्यथा छ ।

स्वतन्त्रता खै ! जनभावना खै !
स्वधर्मको ज्ञानसुधा कथा खै !
यो देश बोक्ने जनता हराए
सम्पूणर्लाई निमुखा गराए ।

यी भावका छन् कति शिष्टतामा
खुल्ने गरेका कति साधनामा
‘मुखास्त्र’मा हुन्छ यथार्थ धार
आनन्ददायी सृजना विहार ।

२०७८ कार्तिक २१ गते ।
९८४१२४५३३१ धुम्बाराही, काठमाडौँ
‘रचना’ पूर्णाङ्क १७४
पुस-माघ २०७८

Fitkauli Publication Books comming soon
Nepal Telecom ad