सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिचरो असल मनुवा !

मलाई यस्तो ‘बिचरो भलो मनुवा’ देखि डर लाग्छ । अब त के हुन्छ भने जब मेरो छेउमा बसेको कसैले मलाई ‘बिचरा असल मानिस’ भन्यो भने म खल्ती छाम्न थाल्छु । के थाहा, ऊ बगलीमारा पो हो कि ?

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

मैले के सुनें भने एउटा पसलेले असल मान्छेका रूपमा मेरो उदाहरण दिए रे ! म उदाहरण बन्न औधि डराउँछु । मार्क ट्वेनले के भनेका छन् भने मानिसहरूलाई सबैभन्दा बढी दिक्क लगाउने कुरो नै राम्रो उदाहरण हो । एक पटक राम्रो उदाहरण बन्यो कि मान्छे असलको दास हुन्छ । मेरा एक जना मित्रलाई मानिसहरूले युवावस्थामै त्यागको उदाहरण बनाएर उनको जीवन नै सखाप पारिदिए । म राम्रोपनको उदाहरण बनेर बस्न चाहन्नँ । कसैले मेरो उछित्तो काढ्यो भने मलाई सन्तोष हुन्छ किनभने कुनै दिन जानेर वा अनजानमै सही मेरो हातबाट उसको कुनै भलो भएको हुनुपर्छ । प्रशंसासित डर लाग्छ ।

कसैले मुखमै प्रशंसा गरिहाल्यो भने सोध्छु, ‘भन त भाइ, म कुन मूर्खता गरूँ ? ढलमा फाल हालूँ ? धुलामा लडिबुडी खेलूँ ?’ वास्तवमा प्रशंसा गरेर मानिसबाट कुनै पनि मूर्खतापूणर् काम गराउन सकिन्छ । पछिल्तिर कसैले कसैको प्रशंसा गर्छ भन्ने कुरामा कसैलाई विश्वास हुँदैन । हामी केही साथीहरूका विषयमा एक पटक एक जनाले आश्चर्य मान्दै भने, ‘यिनीहरू त कस्ता साथी हुन् भने पिठपछि पनि एकले अर्काको प्रशंसा गर्छन् ।’ अनि पछि हामीले यस विषयमा निकै विमर्श गर्‍यौं र कुन निष्कर्षमा पुग्यौं भने हामी मित्रताको आधारकै अवज्ञा गरिरहेका छौं । मित्र त त्यो पो हो जसले मुखअगाडि मात्र प्रशंसा गरोस् । पछाडि पनि प्रशंसा गर्ने पनि कुनै मित्र हुन्छ !

पसले मेरा मित्र होइनन् । उनले मलाई असल मान्छे भनेपछि म चिन्तित भएँ । म उनको पसलबाट उधारोमा सामान लैजान्छु अनि उनले जति हिसाब भन्छन् केही नहेरी तिरिदिन्छु । हिसाब नहेर्नु मेरो देवत्व होइन, अल्छेपन हो । कैयौं पटक नराम्रो बानीले राम्रो बनेर प्रशंसा पाउँदो रहेछ । एक जना धनवान् लेखकका विषयमा यस्तो नराम्रो कुरो प्रचारित भयो कि उनी पैसा दिएर अरूबाट किताब लेखाउँछन् ।

मैले मानिसहरूलाई सम्झाएँ, ‘यदि तपाईंले ती किताब पढ्नुभयो भने ती किताब तिनैले लेखेका हुन् भनेर विश्वास गर्नुहुनेछ ।’ हिन्दीमा यति रद्दी के उनले बाहेक अरू कसले लेख्न सक्छ ? अनि घटिया लेखन नै उनको इमानदारीको प्रमाण पनि भयो । कैयौं पसलेहरूका मिठामिठा कुरा जुन उनीहरूको व्यापारिक चतुर्‍याइँ पनि हो त्यो मानवीयताको नामबाट बजारमा बेचिन्छ । मेरो आलस्य पनि भलादमीपनका रूपमा चलेको छ । पसलेसँग कुनै ग्राहक हिसाबकिताबका कुरामा विवाद गर्दै थियो । पसलेले भन्यो, ‘तपाईं त निकै किचकिच गर्नुहुँदो रहेछ । परसाईंजीलाई हेर्नुस् त बिचरा कति असल हुनुहुन्छ ? जेजस्तो हिसाब भन्यो हेर्दै नहेरी तिर्नुहुन्छ ।’ तर मलाई देखेर त्यो ग्राहक पटक्कै प्रभावित भएन । उसले मलाई असल मान्छे त के ठान्यो होला र ? तर मूर्ख भने पक्कै ठान्यो होला !

म पनि चिन्तित भएँ । म कुनै खास असल मान्छे होइनँ । दिन बिर्सिन्छु तर लिन बिर्सिन्नँ । हो, म असल छु किनभने अल्छी छु । नजाती हुनका निम्ति त हातखुट्टा र मनलाई चलाउनुपर्छ । अर्को महिना भने मैले नजाती मान्छे बन्ने कोसिस गरें । मैले पसलको हिसाब घरमा पनि राख्न थालें । महिना मरेपछि जब उससित हिसाब सोधें अनि के पाएँ भने उसले दश रुपैयाँ बढाएको रहेछ । निकै महङ्गो प्रमाणपत्र पो दिँदै थियो त ऊ मलाई । मैले विश्वविद्यालयमा नै दश रुपियाँ पठाएर एम. ए. कै प्रमाणपत्र लिएको थिएँ जुन मलाई आजीवन शिक्षित बनाउन पर्याप्त छ ।

पसलेको प्रमाणपत्रलाई त फ्रेममा लगाएर झुन्ड्याउन पनि पाउन्नँ । दश रुपियाँ त केवल एक महिनाका लागि मात्र हो । प्रत्येक वर्ष मैले रु. वार्षिक रु. १२०।— केवल किन तिरिरहेको छु भने एउटा सानो बजारको सानो किरानाव्यापारी मलाई असल मान्छे भन्दै छ ! यदि मैले उससित बाँकी जिन्दगी अर्थात् तीस वर्षसम्म उधारो सामान किनें भने झन्डै साढे तीन हजार त म उसलाई यस कारण मात्र दिन्छु कि ऊ मलाई असल मान्छे भन्छ ! यदि सिङ्गो बजारले नै मलाई असल मान्छे भनिदियो भने त मैले जीवनभरिको कमाइ त्यसैमा लगाउनुपर्छ ! मलाई त यो मन्जुर छैन । मैले हिसाब हेर्न थालें । सोचें असल मनुवाको उदाहरणका निम्ति अब कुनै अर्को पात्रको प्रयोग होला ।

तर त्यसपछि भने म असल मान्छेहरूका विषयमा छानबिन गर्दै छु । एउटा घरभेटी के भन्दै थिए भने पाण्डेजी त बिचरा असल मनुवा हुन् । पाण्डेजी उनको घरमा भाडामा बस्छन् । कुनै वर्षाको दिन म पाण्डेजीको घरमा गएँ त के देख्छु भने पुरै घरमा पानी चुहिरहेको छ । उनलाई भनें, ‘घरभेटीलाई मर्मत गरिदिन भनेर किन नभनेको ?’ पाण्डेजीले लापरवाही देखाउँदै भने, ‘ऊँ…, दशबाह्र दिन त हुन् नि वर्षाका । बितिहाल्छ नि !’ उता घरभेटी भन्छन्, ‘पाण्डेजी त बिचरा असल मनुवा हुन् ।’ एक जना सरकारी अधिकारी भन्छन्, ‘राजेन्द्र माड्साब त बिचरा असल मनुवा हुन् ।’ बुझ्दै जाँदा के थाहा भयो भने राजेन्द्र माड्साब त उनका लागि खैराती मास्टर रहेछन् जो उनका छोरालाई सित्तैमा पढाउँदा रहेछन् ।

म के देख्छु भने यस खालका प्रशंसकहरू ‘‘असल’ भन्नुभन्दा पहिले ‘बिचरा’ अवश्य भन्छन्, ‘बिचरा, असल मान्छे हुन् ।’ अनि यो त्यसै र त्यत्तिकै पनि हुँदैन । यी दुई शब्दलाई सँगै प्रयोग गर्नुमा हाम्रो सम्पूणर् विचारप्रक्रिया झल्किन्छ । हामी असल त्यसैलाई भन्छौं जो बिचरो हुन्छ । जबसम्म हामी कसैलाई बिचरो बनाउँदैनौं तबसम्म त्यो मनुवा भलो पनि हुँदैन । किन ? यसका दुईवटा कारण छन् । पहिलो त के भने त्यो बिचरा त हुँदैन तर त्यसलाई कुन आधारमा असल भन्ने कुरो च्यालेन्ज लाग्छ हामीलाई कि किन उसलाई असल भन्ने ?

दोस्रो कारण के हो भने जो बिचरो हुन्छ त्यसलाई हामी लुट्न, ठग्न, हेप्न र शोषण गर्न पाउँछौं । वास्तवमा कसैलाई असल भन्नु उसको प्रशंसा गर्नु नभएर उसलाई बिचरा पनि भनेर दया प्रकट गर्नु हो । जसले हरेक कामका निम्ति चन्दा दिन्छ त्यो बिचरो असल मनुवा भयो । जुन लेखकले पत्रिकाका निम्ति सित्तैंमा लेखिदिन्छ त्यसलाई सम्पादले बिचरा असल मान्छे भन्छ । टिकट कलेक्टर पनि बिचरो असल मनुवा हो किनभने उसले ऊ विनाटिकट छ भन्ने थाहा पाएर पनि जान दिन्छ । हाम्रो व्यवस्थामा यस उक्तिलाई निकै सोचविचार गरेर तयार पारिएको रहेछ ।

पछिल्ला दश वर्षमा एकजनाका विषयमा के सुन्दै छु भने ती बिचरा त असल मनुवा हुन्, माग्यो भने लँगौटी पनि फुकालेर दिन्छन् । ती असल मनुवाले पहिले कोट फुकालेर दिए, अनि टोपी झिकेर दिए, त्यसपछि धोती खोलेर दिए । अनि जब लँगौटी पनि फुकाल्दै थिए कि सावधान भए । उनले फेरि सबै लुगा लगाए । अब भने उनलाई कसैले पनि असल मान्छे भन्दैन किनभने अब उनी बिचरा रहेनन् ।

एउटा स्कुली किताब छापेर बेच्ने मान्छे मलाई ‘बिचरा असल मनुवा’ भन्छ । म उसका निम्ति पुस्तकहरू लेखिदिन्छु र जेजति दिन्छ चुपचाप लिन्छु । उसका बाउबाजे पुस्तौंदखि यस्तै मूर्खको खोजीमा थिए । अब आएर बल्ल म भेटिएको थिएँ । ऊ मेरो कीर्ति फिँजाउँदै भन्थ्यो, ‘परसाई बिचरा असल मनुवा हुन् ।’ एक पटक म बिरामी परें । त्यसै बेला म उसका निम्ति पुस्तक लेख्दै थिएँ जुन आधा तयार गरेर उसलाई दिइसकेको थिएँ भने आधा पाण्डुलिपिका रूपमा मसँगै थियो । ऊ मेरो स्वास्थ्यस्थितिबारे जिज्ञासा राख्न आयो । बिमारीका बारेमा सोध्यो । लेखकले गर्ने सङ्घर्षका विषयमा सहानुभूति देखायो । संसार असार छ भन्ने विचार पोख्यो ।

अनि अन्तमा के प्रमाणित गर्‍यो भने लेखन त एउटा तपस्या हो । उसले मलाई के पनि सम्झाउने प्रयत्न गर्‍यो भने सच्चा लेखक त त्यो हो जो त्यागी हुन्छ र उसलाई भौतिक वस्तुहरूले आकर्षित गर्दैनन् । (प्रायः चोरहरू नै के प्रचार गर्छन् भने यो त्यो महान् देश हो जहाँ पहिले मानिसहरू घरमा ताल्चा लगाउँदैनथे ।) मैले उसको प्रवचन सुनिरहें । जब उसले बाँकी पाण्डुलिपि माग्यो मैले पनि भनें, ‘मलाई पैसाको खाँचो छ, त्यसैले साँझसम्म पठाइदिनुहोला ।’ अनि एक मिनेटपहिलेको त्यस ज्ञानीको अनुहार एकाएक ओइलायो । उसका आँखामा क्लेश देखापर्‍यो अनि यति कातर देखियो कि मानौं मैले उससित पैसा नमागेर उसलाई भनेको थिएँ, ‘बाबु, तिमी यहाँ छौ, अनि घरमा तिम्री आमाले सिल्टिमुर खाइसकिन् ।’

त्यसपछि उसले मलाई असल मान्छे भन्न छाड्यो । बरु भन्न थाल्यो, ‘मलाई त लागेको थियो, त्यो बिचरो असल मान्छे होला । तर म उसको हालचाल सोध्न गएको त पैसा पो माग्यो गाँठे !’

मलाई यस्तो ‘बिचरो भलो मनुवा’ देखि डर लाग्छ । अब त के हुन्छ भने जब मेरो छेउमा बसेको कसैले मलाई ‘बिचरा असल मानिस’ भन्यो भने म खल्ती छाम्न थाल्छु । के थाहा, ऊ बगलीमारा पो हो कि ?

०००
‘परसाईं रचनावली’ भाग ३ बाट ‘बेचारा भला आदमी’ को नेपाली अनुवाद

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
पैसाकाे खेल

पैसाकाे खेल

हरिशंकर परसाईं
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
आलोचना

आलोचना

शरद जाेशी
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं