हरिशंकर परसाईंराजनीतिक स्लो-प्वाइजनिङ
यिनले एउटा ठुलो फल्याक बग्दै गरेको देखे अनि त्यसैमा बसे । आपसमा शत्रु, यिनीहरूले के निणर्य गरे भने अब हामी एउटाले अर्कामाथि थुकौं, गालीगलौज गरौं तर सबै जना डुब्ने गरी यति घचेडाघचेडचाहिँ नगरौं ।

हरिशङ्कर परसाईं ;
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
आखिर यो जनता पार्टी यति छिटोछिटो किन टुट्छ भनेर मानिसहरू आश्चर्यमा छन् । किन यो आत्महत्या गर्न उत्सुक छ ? यसले प्रतिदिन कि त धतुरो खान्छ, कि टिक ट्वेन्टी खान्छ कि सिसा निल्छ । कहिले हामफाल्न भन्दै इनारका डिलमा पुग्छ भने कहिले रेलको लिकमा सुत्न पुग्छ ।
वास्तवमा जनता पार्टीलाई आफ्नो जीवनप्रति कुनै विश्वास छैन, त्यसैले उसलाई हतार छ । कांग्रेसलाई त मैले अनन्त कालसम्म राज गर्ने हो भन्ने कुरामा विश्वास थियो, त्यसले त्यसलाई हतार थिएन । न टुट्ने हतार न मर्ने हतार । तर जनता पार्टीलाई त पाँच वर्ष बाँच्ने विश्वास नै छैन । त्यसैले प्रत्येकलाई हतार छ ।
यदि कसैलाई तिमी एक वर्ष मात्र बाँच्छौ भनेर भनिदिने हो भने उसले सोच्न थाल्छ, जम्मा एक वर्षको त जीवन छ । त्यसपछि त बाँच्नु नै छैन । त्यसैले जबसम्म जिन्दगी छ मोजमज्जा गर भाइ । अनि ऊ रम र मममा रमाउन थाल्छ, वेश्यावृत्ति गर्न थाल्छ र छ महिनाभित्रै मर्छ । यस्ता मान्छेलाई त जयप्रकाश नारायण र कृपलानीले नै सम्झाउलान्, ‘ए बाबु, यो के गर्न थालेका हौ ? अलिकति आफ्नो स्वास्थ्यको त ख्याल गर ।’ अनि उसको उत्तर हुन सक्छ, ‘कस्तो स्वास्थ्य ? अरे ! जब एक वर्ष मात्र बाँच्नु छ भने मोजमज्जा किन नगर्ने ?’
जनता पार्टी एउटा यस्तो प्राणी हो जसलाई प्रकृतिको विचित्रता भन्न सकिन्छ । यसको आकार त मनुष्यको छ तर टाउको बाह्रसिङ्गेको, मस्तिष्क बाँदरको, मुख भालुको, मुटु खरायोको, पेट हात्तीको र खुट्टा घोडाको छ । बाह्रसिङ्गेको टाउकाले त आक्रमण गर्न खोज्छ तर खरायोको मुटुले रोकिदिन्छ । घोडाका खुरले दगुर्न खोजे भने बाँदरको दिमागले उही चकचक गराउन थाल्छ । भालुले खाऊँ खाऊँ गर्छ तर हात्तीको पेट कहिल्यै भरिँदैन ।
जनसंघको भूमिका स्यालको जस्तो छ । त्यो यो जनावरमा रहेर पनि यसमा छैन । जनता पार्टीको यस जङ्गलमा जनसंघ स्याल हो । यसले सबैलाई बुद्धू बनाइदिन्छ । सिंहको नजिक गएर भन्छ, ‘त्यो हात्ती छ नि महाराज ! त्यसले तपाईंलाई राजा नै मान्दैन । त्यस छुसीको यत्रो साहस !’ अनि फेरि हात्तीसँग गएर भन्छ, ‘तपाईंको यत्रो एमानको जिउज्यान अनि त्यो पित्रे सिंहले आपूmलाई जङ्गलको राजा मान्ने ?’
यससित पनि मिठा कुरा र उससित पनि मिठा कुरा । अगाडि पर्दा केही र पछाडि पर्दा केही । कपासको धुनियाँ आफ्नो काँधमा पिजन र अर्को हातमा मुठिया (पिजन भनेको लौरोजस्तामा छालाको डोरी बाँधिएको साधन र मुठिया भनेको डोरीमा हान्ने काठको बेलनाजस्तो साधन जसले फटकारेर कपासलाई टुक्रा पारिन्छ ।) लिएर कपास धुन्न (फटकार्न) जाँदै थियो । बाटाको छेउमा बसेर स्यालश्रेष्ठ घाम तापिरहेका थिए । स्यालले भने –
काँधमा धनुष हातमा बाना
कहाँ हिँड्यौ दिल्ली सुलताना ?
अनि हाँके भीम भए चौगुना भनेझैं धुनियाँ फुलिएर कुभिन्डो भए । उनले जवाफ फर्काए –
जङ्गलको राजा फलको खाना
निकै महत्त्वको कुरा पहिचाना !
धुनियाँ अलिक अगाडि के बढेका थिए स्यालजी कराए –
काँधमा पिजन हातमा मुठिया
कहाँ हिँड्यौ ए धुनियाँ दुखिया ?
यता धुनियाँ रिसाएर फर्के उता स्यालजी चङ्गाचइट भइसकेका थिए ।
तर हरेकलाई आफ्नो इतिहास बनाउने अधिकार छ । क्षयरोगको रोगीलाई पनि आफ्नो इतिहास बनाउने अधिकार रहन्छ भने जनता पार्टीलाई पनि छ । अनि ऊ बनाउँदै छ । पश्चिममा नाङ्गाहरूको पनि क्लब छ । उनीहरूले नग्नताको दर्शन बनाएका छन् । यी जनताका नेताहरूले भारतीय संस्कृतिबाट आफूलाई यसरी ढाकेर (?) राखेका छन् जसरी ‘सत्यम् शिवम् सुन्दरम्’मा जिनत अमानले आफ्नो नग्नतालाई ढाकेकी हुन्थी ।
हरेक नेताले अर्काको धोती फुस्काउँछ । केहीले सुरुदेखि नै केवल भित्री कट्टु मात्र लगाएका छन् । अनि यिनीहरूको इजार तान्नासाथ यी नाङ्गा हुन्छन् । चरणसिंहले त कान्तिभाइको इजार तानेर मोरारजीलाई नङ्ग्याउँदै छन् । भर्खरै मधुवलियेले पनि इजार ताने । कान्तिभाइले असी लाख रुपैयाँ जनता पार्टीको चुनावकोषका निम्ति जम्मा पारे भन्ने भनाइ छ उनको । किन गरे यसो ? कुन हैसियतले गरे ? अनि नाङ्गोपनका पुराना गुरु चन्द्रभानु गुप्तले मधुलिमयेको कट्टुको इजार तानिदिए । भने, कान्तिभाइ त चुनाव कोष समितिका सदस्यको सदस्य हो । उसले मेरो आदेशले पैसा जम्मा गरेको हो ।
तर मधुलिमये र नानाजी देशमुख तथा उनका मानिसहरूले जुन पैसा जम्मा पारेका थिए त्यो किन जम्मा गरेनन् त ? त्यो पैसा कहाँ छ ? त्यो त उनले आफ्नै गुटवालाहरूलाई बाँडिदिएका थिए ।
हजार वर्षपछि इतिहासको विद्यार्थीले पढ्नेछ – १२ अगस्त, १९७८मा एउटा त्रूmर कविलासमूहले दिल्लीमाथि आक्रमण गरेको थियो । यस कविलाको सरदार चरणसिंह नामको एउटा दुस्साहसी योद्धा थियो । त्यो तुफानी जत्था ढुङ्गामुढाले लैस थियो । यी आक्रमणकारीहरू यस्तो नारा लगाउँदै थिए – लाठीगोली खाने छौं, चरणसिंहलाई बचाउने छौं । यिनीहरूले मोरारजी देसाईको गढीमाथि आक्रमण गरे ।
राजाका रक्षक दल र आक्रमणकारीका बिचमा जमेर युद्ध भएको थियो । आक्रमणकारी कविलावालाहरू लखेटिए । गढी पराजित हुँदाहुँदै जोगियो । कबिलाको सरदारले अझै ठुलो फौज लिएर आक्रमणको तयारी गर्न थाल्यो । यस आक्रमणबाट महमूद गजनवी तथा चङ्गेज खाँको आक्रमणको स्मृति ताजा भयो । सरदार चरणसिंह जब गढीमाथि आफ्नो झन्डा गाड्न पुगे युद्धस्थलमा छरिएका इँटा, ढुङ्गा र घाइते योद्धाहरू देखिए ।
यसरी रोगीले असंयम गरेर चाँडै नै मर्ने प्रयास गरिरहेको छ तर त्यसलाई बचाउन पटकपटक सम्झौताको अक्सिजन दिइँदै छ ।
फेरि पनि एउटा सम्झौताको अक्सिजन दिइने छ ।
यी नेताहरूका आफ्ना डुङ्गा त डुबिसकेका थिए । यिनले एउटा ठुलो फल्याक बग्दै गरेको देखे अनि त्यसैमा बसे । आपसमा शत्रु, यिनीहरूले के निर्णय गरे भने अब हामी एउटाले अर्कामाथि थुकौं, गालीगलौज गरौं तर सबै जना डुब्ने गरी यति घचेडाघचेडचाहिँ नगरौं ।
तर लहरहरू भने ठुल्ठुला उठ्दै छन् ।
०००
परसाई रचनावली भाग ४ को ‘राजनैतिक स्लो प्वाइजनिंग’ शीर्षक बाट नेपालीअनुवाद
Subscribe
Login
0 Comments
Oldest

































