साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा अशुद्ध बेकुप

मैले भनें, ‘कुरो यति मात्र रहेछ अनि तपाईं चेकोस्लोभाकियाको विषयलाई लिएर चिन्ता गर्दै हुनुहुन्थ्यो । रुससित रिसाउनु पनि भएको छ र छोरालाई रुसमै पठाउन पनि चाहनुहुन्छ ।’

Nepal Telecom ad

हरिशंकर परसाई :

व्याङ्ग्यानुवाद :: रमेश समर्थन

नजानेर बेकुप बन्नु एउटा छुट्टै र सजिलो कुरो हो । कसैले पनि यसलाई सहजै निर्वाह गर्न सक्छ ।
तर मलाई बेकुप बनाइँदै छ, मलाई जे भनिँदै छ त्यो सबै असत्य हो भन्ने जान्दाजान्दै पनि बेकुप बन्नुको आफ्नो छुट्टै आनन्द छ । यो एउटा तपस्या हो । म यस तपस्याको आनन्द लिने कुुराको अभ्यस्त भएको छु । तर यो आनन्द भने महङ्गो पर्छ, मानसिक रूपले पनि र त्यसै पनि । त्यसैले जसको हैसियत छैन त्यसले यसको आनन्द लिनु हुँदैन । यसमा आनन्द नै आनन्द पनि छैन, करुणा छ, मानिसका वाध्यताहरूप्रति सहानुभूति छ र मान्छेको पीडाको दारुण व्यथा छ । यो सस्तो आनन्द होइन । जसको हैसियत छैन तिनका लागि दुईवटा बाटा छन्, कि झर्किनुपर्‍यो कि शुद्ध बेकुप बन्नुपर्‍यो । शुद्ध बेकुप मनुष्य जातिका लागि एउटा दैवी वरदान हो । यदि शुद्ध बेकुप भएनन् भने संसारबाट आधा सुख नै समाप्त हुन्छ । म भने शुद्ध हैन, अशुद्ध बेकुप हुँ । अनि शुद्ध बेकुप बन्नका लागि सधैं उत्सुक रहन्छु ।

भर्खरै जुन महाशय आएका थिए उनी अति असल मान्छे हुन् । राम्रो सरकारीमा जागिर छन् । कविता पनि लेख्छन् । उनी मकहाँ एकजना परिचितका साथमा आए । एक घण्टाजति त काव्यकै कुरा भए जस्तै तुलसीदास, सूरदास, गालिब, अनीस आदि । तर म अशुद्ध बेकुप हुँ, त्यसैले काव्यचर्चाको आनन्द लिँदालिँदै पनि के थाहा पाइसकेको थिएँ भने यसपछि काव्यभन्दा भिन्दै कुनै न कुनै कुरो त अवश्य निस्किने छ । उनले मेरो प्रशंसा गरिरहे र मैले सहिरहें । तर मलाई थाहा थियो, उनी साहित्यका लागि मकहाँ आएका भने होइनन् ।

मैले उनलाई कविता सुनाउन भनें । सामान्यतया कवि कविता सुनाउनका निम्ति उत्सुक देखिन्छन् तर उनी कविता सुनाउने कुरामा सङ्कोच मान्दै थिए । जे होस्, कविता त उनले सुनाए तर मन नलागी नलागी । उनी साहित्यका लागि त आएकै थिएनन्, नत्र कविताको फर्माइसमा त कुखुराको भाले पनि बास्न थाल्छ ।
मैले भनें, ‘केही सुनाउनुहोस् ।’
उनले भने, ‘म तपाईंसित केही लिन आएको हुँ ।’
मलाई लाग्यो सके उनी ज्ञान पो लिन आएका हुन् कि ?
मैले सोचें, यी व्यक्ति ईश्वरभन्दा पनि ठुला रहेछन् । ईश्वरलाई पनि प्रोत्साहित गर्ने हो भने उसले आफ्नो तुकबन्दी सुनाउनका लागि सिङ्गो संसारकै जमघट लगाइदिन्छ ।

तर यी सज्जन कविता सुनाउनुस् भन्दा सङ्कोच मान्दै छन् र भन्दै छन्, ‘म त तपाईंसित केही लिन आएको हुँ ।’
मैले यिनी समाज तथा साहित्यका विषयमा केही ज्ञान लिन आएका होलान् भन्ने ठानिरहें ।

कविताहरू त उनले मन नलागेरै सुनाइटोपले । मैले प्रशंसा पनि गरें तर उनी खुसी देखिएनन् । यो भने उदेकलाग्दो कुरो थियो । तुच्छभन्दा तुच्छ साहित्यसर्जक पनि प्रशंसा पाएर भुइँमा न भाँडामा हुन्छ । तर तिनी अलिकति पनि खुसी भएनन् ।

उठ्दै गर्दा उनले भने, ‘विभागमा मेरो बढुवा हुनेवाला छ । तर कुनै कारणले रोकिएको छ । तपाईंले यस्सो सचिवलाई भनिदिनुभयो भने मेरो काम हुने थियो ।’
मैले भनें, ‘सचिवलाई किन ? म त मन्त्रीलाई नै भनिदिउँला नि ! तर तपाईं कविता राम्रो लेख्नुहुन्छ ।’
एक घण्टासम्म थाहा हुँदाहुँदै पनि म बेकुप बनिरहें भने म अशुद्ध बेकुप हुँ ।

एकजना प्राध्यापक महाशय छन् प्रथम श्रेणीका । उनी यता आए । विभागका ‘डिन’ मेरा अन्तरङ्ग मित्र हुन् भन्ने उनलाई थाहा थिएन । त्यसो त उनले मलाई पच्चिसौं पटक भेटिसकेका थिए । तर जब उनी डिनका साथमा भेटिए अनि उनले मलाई चिन्दै चिनेनन् । डिनले उनीसित मेरो परिचय गराए । मैले पनि मानौं उनीसित मेरो पहिलो भेट हो भनेजस्तो स्वाङ पारें ।

डिन त मेरा साथी हुन् । उनले भने, ‘यार परसाई, हिँड क्यान्टिनतिर गएर राम्रो चिया खाऔं । साथै राम्रो नमकिन पनि भयो भने त आनन्द आउँछ ।’
अब प्रथम श्रेणीका प्राध्यापक केही हच्के ।
हामीले चिया र खाजा लियौं । अब भने उनले म एक ‘अशुद्ध’ बेकुप हुँ भन्ने थाहा पाए ।
भन्न थाले, ‘तपाईंको दर्शन गर्ने इच्छा मेरो वर्षौंदेखिको हो । आज त्यो रहर पनि पूरा भयो ।’ (यद्यपि उनले कैयौंपटक भेटिसकेका थिए तर डिन थिए नि अगाडि ।)

अङ्ग्रेजीमा एउटा निकै राम्रो भनाइ छ, ‘टेक इट विद ए पिन्च अफ सल्ट’ । अर्थात् अलिकति नुनसित लिनुस् त आनन्द आउँछ । मैले पनि आफ्नो प्रशंसा अलिकति नुनसित ग्रहण गरें ।
साँझ प्राध्यापक मेरो घरमै आएर भन्न थाले, ‘डिन सर त हजुरका घनिष्ठ मित्र हुनुहुँदो रहेछ । उहाँसित ‘मलाई केही प्रश्न बनाउने र केही कपी जाँच्ने काम दिन भनिदिनुस् न ! अनि ‘मोडरेसन’ का लागि पनि बोलाउनुभयो भने त झनै जाती ।’

मैले भनें, ‘तपाईंका यी काम त मैले डिनलाई भनेर गराइदिउँला तर तपाईंले मलाई चिन्न भने अलिकति ढिलो गर्नुभयो ।’
बिचराले के उत्तर दिऊन् । म पनि अशुद्ध बेकुप परें । मैले पनि उनी मकहाँबाट प्राध्यापकका रूपमा नभएर शुद्ध चपरासी बनेर गएको आनन्द लिइरहें । ठुलो मान्छे पनि कति बिचरो हुन्छ ?
एक दिन मे महिनाको मध्य दोपहरमा एकजना सज्जन आए । भयङ्कर गर्मी र चर्को घाम । मलाई लाग्यो कुनै गम्भीर कुरा परेर नै यिनी यस्तो वेलामा आएका होलान् । उनले भने पसिना पुछेर भियतनामको पो कुरा गर्न थाले । भियतनाममा अमेरिकाको बर्बरताका कुरा गर्न थाले । मलाई थाहा थियो कि म निक्सन होइन तर उनलाई पनि म बेकुप हुँ भन्ने थाहा थियो । उनको चिन्ताको विषय भियतनाम होइन भन्ने पनि मलाई थाहा थियो ।
एक घण्टाजति राजनीतिक कुरा भए ।

उठ्दै गर्दा उनले भने, ‘लौ न, मलाई दश रुपैयाँ दिनुस् न !’
मैले दिएँ । आखिर भियतनामको समस्या मात्र दश रुपैयाँमा सुल्झ्यो ।
एक दिन नीतिवाला पनि आए । निकै जोसमा थिए ।
भन्न थाले, ‘हदै भयो । चेकोस्लोभाकियामा रुसको यत्रो हस्तक्षेप ? तपाईंले तत्काल वक्तव्य दिनुपर्‍यो ।’
मैले भनें, ‘म न त रुसको प्रवक्ता हुँ र न चेकोस्लोभाकियाको नै । अनि मैले वक्तव्य निकाल्दैमा के हुनेवाला छ र ?’

उनले भने, ‘तर तपाईं भारतीय हुनुहुन्छ, बुद्धिजीवी र लेखक हुनुहुन्छ । तपाईंले केही त भन्नुपर्छ ।’
मैले भनें, ‘बुद्धिजीवीहरूले वक्तव्य दिइ नै रहेका छन् र यही पर्याप्त छ । भोलि उनीहरूले ठिक उल्टो वक्तव्य पनि दिन सक्छन् किनभने उनीहरू बुद्धिजीवी हुन् ।’
उनले भने, ‘अर्थात् बुद्धिजीवी बेइमान हुन्छ ?’

मैले भनें, ‘मान्छे नै त हो नि इमानदार वा बेइमान हुने भनेकै । बुद्धिजीवी पनि मान्छे नै हो । त्यो सुँगुर वा गधाजस्तो इमानदार त बन्न सक्दैन । तर केचाहिँ भनिदिनुस् भने यति वेला के तपाईं चेकोस्लोभाकियाका कारण चिन्तित हुनुहुन्छ ? तपाईंको पार्टीले त निकै नाराहरू लगाइरहेको छ । तपाईंले पनि एउटा ससानो नारा लगाएर चिन्ताबाट मुक्त हुनुहोस् न !’

उनले भने, ‘कुरो त के हो भने नि म एउटा खास काम परेर तपाईंलाई भेट्न आएको हुँ । छोराले रुसको लुसुम्बा युनिभर्सिटीका निम्ति दरखास्त हालेको छ । तपाईंले दिल्लीमा कसैलाई लेखिदिनुभयो भने ऊ छनोटमा पर्नेछ ।’
मैले भनें, ‘कुरो यति मात्र रहेछ अनि तपाईं चेकोस्लोभाकियाको विषयलाई लिएर चिन्ता गर्दै हुनुहुन्थ्यो । रुससित रिसाउनु पनि भएको छ र छोरालाई रुसमै पठाउन पनि चाहनुहुन्छ ।’
उनी चुपचाप बसिरहे । म अशुद्ध बेकुपलाई दया लाग्यो ।

मैले भनें, ‘तपाईं निश्चिन्त भएर जानुस् । तपाईंको छोराका लागि मबाट हुनेजति म गर्नेछु ।’
उनी गए ।
पछि मैले आनन्द मानिरहें । जानाजानी बेकुप बन्ने ‘अशुद्ध’ बेकुपको मज्जै बेग्लै छ ।
मलाई गुरु कबिरको यो भनाइको सम्झना भयो, ‘माया महा ठगनि हम जानी ।’ (मलाई थाहा छ माया महाठगिनी हो ।)

०००
(यो लेख हिन्दी साहित्यका प्रखर व्यङ्ग्यकार हरिशंकर परसाईको ‘परसाई रचनावली’ भाग तीनको ‘एक अशुद्ध बेवकूफ’बाट अनुवाद गरिएको हो । अनुवादक )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x