हरिशंकर परसाईंएउटा अशुद्ध बेकुप
मैले भनें, ‘कुरो यति मात्र रहेछ अनि तपाईं चेकोस्लोभाकियाको विषयलाई लिएर चिन्ता गर्दै हुनुहुन्थ्यो । रुससित रिसाउनु पनि भएको छ र छोरालाई रुसमै पठाउन पनि चाहनुहुन्छ ।’

हरिशंकर परसाई :
व्याङ्ग्यानुवाद :: रमेश समर्थन
नजानेर बेकुप बन्नु एउटा छुट्टै र सजिलो कुरो हो । कसैले पनि यसलाई सहजै निर्वाह गर्न सक्छ ।
तर मलाई बेकुप बनाइँदै छ, मलाई जे भनिँदै छ त्यो सबै असत्य हो भन्ने जान्दाजान्दै पनि बेकुप बन्नुको आफ्नो छुट्टै आनन्द छ । यो एउटा तपस्या हो । म यस तपस्याको आनन्द लिने कुुराको अभ्यस्त भएको छु । तर यो आनन्द भने महङ्गो पर्छ, मानसिक रूपले पनि र त्यसै पनि । त्यसैले जसको हैसियत छैन त्यसले यसको आनन्द लिनु हुँदैन । यसमा आनन्द नै आनन्द पनि छैन, करुणा छ, मानिसका वाध्यताहरूप्रति सहानुभूति छ र मान्छेको पीडाको दारुण व्यथा छ । यो सस्तो आनन्द होइन । जसको हैसियत छैन तिनका लागि दुईवटा बाटा छन्, कि झर्किनुपर्यो कि शुद्ध बेकुप बन्नुपर्यो । शुद्ध बेकुप मनुष्य जातिका लागि एउटा दैवी वरदान हो । यदि शुद्ध बेकुप भएनन् भने संसारबाट आधा सुख नै समाप्त हुन्छ । म भने शुद्ध हैन, अशुद्ध बेकुप हुँ । अनि शुद्ध बेकुप बन्नका लागि सधैं उत्सुक रहन्छु ।
भर्खरै जुन महाशय आएका थिए उनी अति असल मान्छे हुन् । राम्रो सरकारीमा जागिर छन् । कविता पनि लेख्छन् । उनी मकहाँ एकजना परिचितका साथमा आए । एक घण्टाजति त काव्यकै कुरा भए जस्तै तुलसीदास, सूरदास, गालिब, अनीस आदि । तर म अशुद्ध बेकुप हुँ, त्यसैले काव्यचर्चाको आनन्द लिँदालिँदै पनि के थाहा पाइसकेको थिएँ भने यसपछि काव्यभन्दा भिन्दै कुनै न कुनै कुरो त अवश्य निस्किने छ । उनले मेरो प्रशंसा गरिरहे र मैले सहिरहें । तर मलाई थाहा थियो, उनी साहित्यका लागि मकहाँ आएका भने होइनन् ।
मैले उनलाई कविता सुनाउन भनें । सामान्यतया कवि कविता सुनाउनका निम्ति उत्सुक देखिन्छन् तर उनी कविता सुनाउने कुरामा सङ्कोच मान्दै थिए । जे होस्, कविता त उनले सुनाए तर मन नलागी नलागी । उनी साहित्यका लागि त आएकै थिएनन्, नत्र कविताको फर्माइसमा त कुखुराको भाले पनि बास्न थाल्छ ।
मैले भनें, ‘केही सुनाउनुहोस् ।’
उनले भने, ‘म तपाईंसित केही लिन आएको हुँ ।’
मलाई लाग्यो सके उनी ज्ञान पो लिन आएका हुन् कि ?
मैले सोचें, यी व्यक्ति ईश्वरभन्दा पनि ठुला रहेछन् । ईश्वरलाई पनि प्रोत्साहित गर्ने हो भने उसले आफ्नो तुकबन्दी सुनाउनका लागि सिङ्गो संसारकै जमघट लगाइदिन्छ ।
तर यी सज्जन कविता सुनाउनुस् भन्दा सङ्कोच मान्दै छन् र भन्दै छन्, ‘म त तपाईंसित केही लिन आएको हुँ ।’
मैले यिनी समाज तथा साहित्यका विषयमा केही ज्ञान लिन आएका होलान् भन्ने ठानिरहें ।
कविताहरू त उनले मन नलागेरै सुनाइटोपले । मैले प्रशंसा पनि गरें तर उनी खुसी देखिएनन् । यो भने उदेकलाग्दो कुरो थियो । तुच्छभन्दा तुच्छ साहित्यसर्जक पनि प्रशंसा पाएर भुइँमा न भाँडामा हुन्छ । तर तिनी अलिकति पनि खुसी भएनन् ।
उठ्दै गर्दा उनले भने, ‘विभागमा मेरो बढुवा हुनेवाला छ । तर कुनै कारणले रोकिएको छ । तपाईंले यस्सो सचिवलाई भनिदिनुभयो भने मेरो काम हुने थियो ।’
मैले भनें, ‘सचिवलाई किन ? म त मन्त्रीलाई नै भनिदिउँला नि ! तर तपाईं कविता राम्रो लेख्नुहुन्छ ।’
एक घण्टासम्म थाहा हुँदाहुँदै पनि म बेकुप बनिरहें भने म अशुद्ध बेकुप हुँ ।
एकजना प्राध्यापक महाशय छन् प्रथम श्रेणीका । उनी यता आए । विभागका ‘डिन’ मेरा अन्तरङ्ग मित्र हुन् भन्ने उनलाई थाहा थिएन । त्यसो त उनले मलाई पच्चिसौं पटक भेटिसकेका थिए । तर जब उनी डिनका साथमा भेटिए अनि उनले मलाई चिन्दै चिनेनन् । डिनले उनीसित मेरो परिचय गराए । मैले पनि मानौं उनीसित मेरो पहिलो भेट हो भनेजस्तो स्वाङ पारें ।
डिन त मेरा साथी हुन् । उनले भने, ‘यार परसाई, हिँड क्यान्टिनतिर गएर राम्रो चिया खाऔं । साथै राम्रो नमकिन पनि भयो भने त आनन्द आउँछ ।’
अब प्रथम श्रेणीका प्राध्यापक केही हच्के ।
हामीले चिया र खाजा लियौं । अब भने उनले म एक ‘अशुद्ध’ बेकुप हुँ भन्ने थाहा पाए ।
भन्न थाले, ‘तपाईंको दर्शन गर्ने इच्छा मेरो वर्षौंदेखिको हो । आज त्यो रहर पनि पूरा भयो ।’ (यद्यपि उनले कैयौंपटक भेटिसकेका थिए तर डिन थिए नि अगाडि ।)
अङ्ग्रेजीमा एउटा निकै राम्रो भनाइ छ, ‘टेक इट विद ए पिन्च अफ सल्ट’ । अर्थात् अलिकति नुनसित लिनुस् त आनन्द आउँछ । मैले पनि आफ्नो प्रशंसा अलिकति नुनसित ग्रहण गरें ।
साँझ प्राध्यापक मेरो घरमै आएर भन्न थाले, ‘डिन सर त हजुरका घनिष्ठ मित्र हुनुहुँदो रहेछ । उहाँसित ‘मलाई केही प्रश्न बनाउने र केही कपी जाँच्ने काम दिन भनिदिनुस् न ! अनि ‘मोडरेसन’ का लागि पनि बोलाउनुभयो भने त झनै जाती ।’
मैले भनें, ‘तपाईंका यी काम त मैले डिनलाई भनेर गराइदिउँला तर तपाईंले मलाई चिन्न भने अलिकति ढिलो गर्नुभयो ।’
बिचराले के उत्तर दिऊन् । म पनि अशुद्ध बेकुप परें । मैले पनि उनी मकहाँबाट प्राध्यापकका रूपमा नभएर शुद्ध चपरासी बनेर गएको आनन्द लिइरहें । ठुलो मान्छे पनि कति बिचरो हुन्छ ?
एक दिन मे महिनाको मध्य दोपहरमा एकजना सज्जन आए । भयङ्कर गर्मी र चर्को घाम । मलाई लाग्यो कुनै गम्भीर कुरा परेर नै यिनी यस्तो वेलामा आएका होलान् । उनले भने पसिना पुछेर भियतनामको पो कुरा गर्न थाले । भियतनाममा अमेरिकाको बर्बरताका कुरा गर्न थाले । मलाई थाहा थियो कि म निक्सन होइन तर उनलाई पनि म बेकुप हुँ भन्ने थाहा थियो । उनको चिन्ताको विषय भियतनाम होइन भन्ने पनि मलाई थाहा थियो ।
एक घण्टाजति राजनीतिक कुरा भए ।
उठ्दै गर्दा उनले भने, ‘लौ न, मलाई दश रुपैयाँ दिनुस् न !’
मैले दिएँ । आखिर भियतनामको समस्या मात्र दश रुपैयाँमा सुल्झ्यो ।
एक दिन नीतिवाला पनि आए । निकै जोसमा थिए ।
भन्न थाले, ‘हदै भयो । चेकोस्लोभाकियामा रुसको यत्रो हस्तक्षेप ? तपाईंले तत्काल वक्तव्य दिनुपर्यो ।’
मैले भनें, ‘म न त रुसको प्रवक्ता हुँ र न चेकोस्लोभाकियाको नै । अनि मैले वक्तव्य निकाल्दैमा के हुनेवाला छ र ?’
उनले भने, ‘तर तपाईं भारतीय हुनुहुन्छ, बुद्धिजीवी र लेखक हुनुहुन्छ । तपाईंले केही त भन्नुपर्छ ।’
मैले भनें, ‘बुद्धिजीवीहरूले वक्तव्य दिइ नै रहेका छन् र यही पर्याप्त छ । भोलि उनीहरूले ठिक उल्टो वक्तव्य पनि दिन सक्छन् किनभने उनीहरू बुद्धिजीवी हुन् ।’
उनले भने, ‘अर्थात् बुद्धिजीवी बेइमान हुन्छ ?’
मैले भनें, ‘मान्छे नै त हो नि इमानदार वा बेइमान हुने भनेकै । बुद्धिजीवी पनि मान्छे नै हो । त्यो सुँगुर वा गधाजस्तो इमानदार त बन्न सक्दैन । तर केचाहिँ भनिदिनुस् भने यति वेला के तपाईं चेकोस्लोभाकियाका कारण चिन्तित हुनुहुन्छ ? तपाईंको पार्टीले त निकै नाराहरू लगाइरहेको छ । तपाईंले पनि एउटा ससानो नारा लगाएर चिन्ताबाट मुक्त हुनुहोस् न !’
उनले भने, ‘कुरो त के हो भने नि म एउटा खास काम परेर तपाईंलाई भेट्न आएको हुँ । छोराले रुसको लुसुम्बा युनिभर्सिटीका निम्ति दरखास्त हालेको छ । तपाईंले दिल्लीमा कसैलाई लेखिदिनुभयो भने ऊ छनोटमा पर्नेछ ।’
मैले भनें, ‘कुरो यति मात्र रहेछ अनि तपाईं चेकोस्लोभाकियाको विषयलाई लिएर चिन्ता गर्दै हुनुहुन्थ्यो । रुससित रिसाउनु पनि भएको छ र छोरालाई रुसमै पठाउन पनि चाहनुहुन्छ ।’
उनी चुपचाप बसिरहे । म अशुद्ध बेकुपलाई दया लाग्यो ।
मैले भनें, ‘तपाईं निश्चिन्त भएर जानुस् । तपाईंको छोराका लागि मबाट हुनेजति म गर्नेछु ।’
उनी गए ।
पछि मैले आनन्द मानिरहें । जानाजानी बेकुप बन्ने ‘अशुद्ध’ बेकुपको मज्जै बेग्लै छ ।
मलाई गुरु कबिरको यो भनाइको सम्झना भयो, ‘माया महा ठगनि हम जानी ।’ (मलाई थाहा छ माया महाठगिनी हो ।)
०००
(यो लेख हिन्दी साहित्यका प्रखर व्यङ्ग्यकार हरिशंकर परसाईको ‘परसाई रचनावली’ भाग तीनको ‘एक अशुद्ध बेवकूफ’बाट अनुवाद गरिएको हो । अनुवादक )
Subscribe
Login
0 Comments
Oldest
































