साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मान र फ्रेक्चर

एकैचोटि दुईवटा पुरस्कार लिएर आएको छु । प्रशस्तिपटल त बिर्सिदिउँला तर ठिहिर्‍याउँदो चिसोमा जब यो चोटले पिरोल्ने छ त्यति बेला सम्मानको सम्झना भने गराउने छ ।

Nepal Telecom ad

हरिशङ्कर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

यता केही दिनदेखि मेरा चरणको दर्शनका लागि थुप्रै मानिसहरू आइरहेका छन् । उसै त म ब्राह्मण हुँ, आयु पनि बढी नै भएको छ तर चरणस्पर्श गर्नेहरूले यस कुरामा ध्यान नै दिँदैनन् । उनीहरू आचार्यहरू र उच्च वणर्का नेताहरूका चरणस्पर्श गर्न व्यस्त छन् । यी श्रद्धेयहरू बिहानै चरणस्पर्शको खाजा खान्छन् । भयङ्कर चिसोमा पनि पाउलाई च्यादरबाट बाहिर निकाल्छन् जसले गर्दा श्रद्धालुहरूलाई चरण खोज्न गाह्रो नहोस् । अनि साबुनले पूरै शरीरलाई त नुहाएर स्वच्छ पार्छन् तर चरणलाई भने फोहरै छोड्छन् । श्रद्धालुलाई यदि चरणको धुलो चाहियो भने त त्यसको प्रबन्ध पनि त हुनुपर्‍यो नि !

अब चरणको दर्शन त मेरो पनि भइरहेको छ र स्पर्श पनि भइरहेको छ । जसलाई मेरो थुतुनासित पनि घिन लाग्छ उनीहरू पनि सांसारिकता देखाउनकै लागि भए पनि आउँछन् र मेरा चरणको दर्शन गर्छन्, हातले मुसार्छन् र सोध्छन्, ‘कहाँ दुख्छ ?’ अब त कुनै वयस्क पनि मेरा चरणमा हस्तसञ्चालन गर्छन् जसका चरणको स्पर्श म गर्न चाहन्थेँ तर आफ्नो सामाजिकताका कारणले मलाई त्यो अवसर दिएनन् ।

अचानक मेरा पाउ यति पवित्र कसरी भए ? यसमा श्रद्धाका किरा परेका होइनन्, बरु मेरो खुट्टामा सानो ‘फ्रेक्चर’ भएको हो । हाड चर्केको छ । प्लास्टर लागेको छ अनि मैले यस फ्रेक्चरलाई खुब माया गरेर पालेर राखेको छु किनभने साहित्य र समाजसेवाका कारणले नभए पनि यसै फ्रेक्चरका कारणले ठुलाठालु भनाउँदाहरूबाट पनि खुट्टा छुवाउन पाएको छु । मलाई प्लास्टर झिक्ने हतार पटक्कै छैन । सन्चो भएपछि पनि रहरैरहरमा यो यसै गरी बाँधिइरह्यो भने सहरमा जो जो मेरो चरणस्पर्शबाट वञ्चित छन् तिनले पनि आएर मेरा चरणको धुलो लिन पाउने छन् । म एउटा सम्मान लिएर आएको छु नि त ।

‘फ्रेक्चर’ कसरी भयो त ? यो ‘शुभचिन्तकहरू र केही लेखकहरूका निम्ति शोधको विषय बनेको छ । छिटै नै कसैले विद्यावारिधिको उपाधि पाउने छन् । आफूलाई त कति मात्र थाहा छ भने टेलिफोनको तारका लागि एउटा लामै खाल्टो खनिएको रहेछ । मसँग दुईजना अरू पनि थिए जो त्यसै होटलमा बसेका थिए । हामीले खाल्टो पार गर्न लाग्दा खुट्टा चिप्लिए । उनीहरू दुवै जना साइत हेरेर हिँड्ने गर्थे तर उनीहरू नै पहिले चङ्ग्रङ्ङ परे अनि धुलो टक्टक्याउँदै उठे । म लडिनँ । देब्रे खुट्टाले उफ्रेर पार गर्न खोज्दै गर्दा नलीहाडनिर ‘किरिक्क’ गर्‍यो । मैले पछि म किन सुतिनँ भनेर पछुतो पनि गरें । म किन लडिनँ ? लड्नुका पनि धेरै फाइदाहरू छन् । पतनमा न त मर्किने डर हुन्छ न फेक्चरको डर हुन्छ । कैयौं मानिसहरूलाई मैले कैयौं क्षेत्रमा देखेको छु जो अवसर हेरेर एक्कासि बाङ्गिन्छन् र ढल्छन् । न त उनीहरूको कतै मर्केको हुन्छ न हड्डी नै भाँचिएको हुन्छ । केवल धुलो लागेको हुन्छ तर त्यो पनि लुगामा मात्र लाग्छ, आत्मामा लाग्दैन । उनीहरू त्यो टक्टक्याएर यस्तो सानसँग हिँड्छन् मानौं उनीहरू बाङ्गिएकै हैनन् र लडेकै हैनन् ।

कुरो के हो भने हड्डी भाँचिनका लागि हड्डी हुनु पनि त पर्‍यो नि ! कुनै गँड्यौलाको हाड ‘फेक्चर’ भएको भनेर कसैले कतै कहिल्यै सुनेको छ र ? उसको हड्डी नै छैन त ! लहरिँदै र गुडुल्किँदै ठुल्ठुला खाडलहरू पनि नाघिदिन्छ । यदि कुनै भ्यागुताले उसलाई सलक्कै निल्छ भने त्यो बेग्लै विषय हो । तर जसको हड्डी छैन त्यसको नियति नै भन्नुपर्छ भ्यागुताजस्तो उफ्रिने ‘बास’ (सानो जीव)ले पनि त्यसलाई निलिदिने कुरो । मेरा दुबै खुट्टामा ‘फेक्चर’ भएको छ । जे होस् ढाडको हाड भने बँचेको छ । यिनको रक्षा भने म निकै सावधानीपूर्वक गर्दै छु । धेरै मानिसहरूको ढाडको हाड हुँदैन । तिनीहरू निकै लचकदार हुन्छन् । तपाईंले चाहनुभयो भने तिनलाई आफ्नो बोरामा कोचकाच पारेर पनि कहीँ लैजान सक्नुहुन्छ र लगेकै छन् । मैले राजनीति र साहित्यमा धेरै मानिसहरूले अपरेसनै गरेर भए पनि ढाडको हाड झिकिमागेको देखेको छु । अनि त के चाहियो र ? तिनीहरूलाई बोरामा कोचकाच पारेर वा सुटकेसमा पट्याएर कहीँ पनि लैजान सक्नुहुन्छ या कुनै कुल्ली लगाएर कतै जान सक्नुहुन्छ ।

सम्मान र पुरस्कारप्रति म शङ्कालु छु । सम्मानले आत्मा मर्काउँछ भने पुरस्कारले व्यक्तित्वमा ‘फेक्चर’ ल्याउँछ । एक ठाउँमा मेरो सम्मान पनि भएको थियो र चानचुन पुरस्कार पनि दिइएको थियो । दिने व्यक्ति सम्पन्न थिए तर मलाई के लाग्यो भने यिनले मलाई दिएको पुरस्कार मानिसहरूले माछालाई दिएको चारोजस्तै हो । उनका लागि माछालाई चारो दिनु र लेखकलाई पैसा दिनुमा कुनै अन्तर थिएन । मेरो दोस्रो आशङ्का के पनि थियो भने यो शासकीय माहोल हो । कतै यो समारोह नै कलाकारहरूका लागि राहत वितरण समारोह पो हुने हो कि ? ‘मस्टर रोल’सित मलाई निकै डर लाग्छ ।

तर जुन शालीनता, विनयशीलता र सुन्दरतापूर्वक यो समारोह सम्पन्न भयो त्यो मलाई निकै मनपर्‍यो । यो भविष्यका निम्ति चापलुसी गर्दै छु म । (हैन त ?) बडेमानको माला लगाइदिए । थरीथरीका र नचिनेका रङ्गीविरङ्गी फूलहरूको ठू…लो माला । गह्रौं माला मान्छको टाउको झुकाउनका लागि निकै उपयोगी हुन्छ । तीनचार किलोको माला घाँटीमा भिराइदिनुस् अनि हेर्नुस् अररिएको गर्दन पनि निहुरिन्छ । मलाई त सयपत्रीको माला मनपर्छ । सर्वहारा फूल हाे जहाँसुकै उम्रिन्छ । न मल चाहिन्छ, न माली चाहिन्छ अनि पूmलका पत्रहरू तीरजस्ता । आभिजात्य फूलहरू त मेरो परिचयमै पर्दैनन् । उसो त अब के पनि सुनिँदै छ भने ठुला अधिकारीहरूको बढुवाको आधार कससँग कति प्रकारका सिउँडी छन् भन्ने आकारमा हुँदै छ रे ! भुइँफुट्टाले पनि प्रतिष्ठा पाउने भए यस सभ्यतामा त ।

‘कुन ठगले सहर लुट्यो हँ ?’ (कौन ठगवा नगरवा लूटल हो ) भन्ने कबिरको यस पद्यलाई गन्दर्भहरूले खुब रमाइलोसँग गाए । म त के चाहन्थें भने उनीहरू यो गीत पनि गाऊन् -‘हिँडे कुलनारीहरू गङ्गा नुहाएर’ ( चली कुलबोरन गंगा नहाय के ) । साहित्यिक चर्चाका तीनवटा बैठकहरूमध्ये पछिल्लो बैठकमा ‘ठगवा’ले ‘नगरवा’ लुटिहाले । केही बुद्धिजीवी त, बिचराहरूले सहून् पनि कति र ? ‘म’, ‘तँ’ र ‘त्याे’ नै त्यो ‘ठगवा’ हौं जसले नगरवालाई लुट्यौं । विषय गम्भीर थियो । भारतीय चिन्तनधारा, भारतीय दर्शनमा द्वन्द्वको अभाव, ब्रह्मजिज्ञासा, माक्र्सवादी सौन्दर्यशास्त्र आदि । यी सबै त छेउ लागेर थन्किए अनि ‘रमैयाकी दुलही’ (रमैया की दुल्हन’ ले बजार लुट्न थाली ।

दर्शनबाट मानिसहरू एक्कासि व्यक्तिगत आक्षेप र व्यक्तिगत कमजोरीहरूको तहमा ओर्ले । विषयले अगाडि उभिएर र एकोहोरिएर जवाफ खोजिरहेको थियो । तर उसतिर पिठ्युँ फर्काएर हामीहरूले आआफ्ना छुट्टाछुट्टै विषयहरू निकाल्यौं । मलाई पनि धेरै विषयहरू त उहिलेका खुइलेका कुराजस्तै लागे र लाग्यो अब नयाँ विषयहरूको शोध हुनुपर्छ । कहिलेसम्म ‘प्रेमचन्दको नारी पात्र’ मात्र शोध गरिहने ? अब त लेखकहरूको व्यक्तिगत चरित्रमाथि पनि शोध हुनुपर्छ । जस्तै यसै सहरमा जैनेन्द्रले भाषणमा ‘तपाईंले बोलाउनुभयो । म आएँ । जानेजति भनें । नजानेको भनिनँ । नआए पनि आउँथें । आएर पनि आइनँ । तपाईंले मलाई धन दिनुभयो । तर घर फर्किँदा केटाकेटीले के ल्याउनुभयो त भनेर सोध्नेछन् । मलाई निरुत्तर नपार्नुहोस् । यता खाँटी घिउ पाइन्छ भन्ने सुनेको छु । त्यसो भए तीनचार किलो डिब्बामा राखिदिनुहोला । बाँकी त सबै माया हो । राम्रो घिउ नै परम सत्य हो ।’ (यो कुरो मलाई एकजना शोधार्थीले भनेका हुन् ।) भनेको कुराको सत्यताको शोध हुन सक्छ ।

अर्को कुन लेखकले आफ्नी पत्नीलाई महिनामा कति पटक पिट्छ भन्ने विषयमा पनि शोध हुनुपर्ने हो । औँसीको कालो रातमा पिट्छ ? एकादशीको व्रतपछि पिट्छ ? अथवा पूणर्िमाको जुनेली सौन्दर्य छरिएको समयमा पिट्छ –
चाँदेर हाँसि भेगेछे
उछले पडे आलो
ओ प्रियतम ! तुमि
लात घूँसा मारो ।

(चन्द्रमाको हाँसो उन्मत्त भएर छरिएको छ । (यस्तोमा) ए प्यारा ! तिमी मलाई मुड्की र लात्तीले हान ।)
रवीन्द्रनाथले क्षमा गर्नुहोला । उहाँले त यसो भन्नुभएको थियो, ‘ओ रजनीगन्धा, तोमार गन्ध सुधा ढालो ।’ ( यस्तोमा) ‘ए रजनीगन्धा, तिम्रो सुगन्धामृत बर्साऊ ।’ तर हामीलाई गम्भीर शोध गर्नु छ । त्यसैले यस प्रकारका शोधार्थीहरूले तल्लो फ्ल्याट लिनुपर्छ जसबाट उनीहरू माथिल्लो उफ्रीपाफ्रीको साहित्यिक विश्लेषण गर्न सकून् ।
यस्ता विषयहरू अरू पनि छन् ।

एउटा गम्भीर लेखकले भने, ‘यो व्यक्तिगत छ्यापाछ्याप किन हुँदै छ ? विषयमा केन्द्रित हुनुहोस् । हामीले वस्तुलाई ऐतिहासिक परिप्रेक्षमा हेर्नु छ ।’
ऐतिहासिक परिप्रेक्षमा के हेर्ने होला ?
हामी उल्टो पढाइएको इतिहासका अवैध सन्तान हौं ।

अहिले त प्लास्टर बाँधिएको छ । एकैचोटि दुईवटा पुरस्कार लिएर आएको छु । प्रशस्तिपटल त बिर्सिदिउँला तर ठिहिर्‍याउँदो चिसोमा जब यो चोटले पिरोल्ने छ त्यति बेला सम्मानको सम्झना भने गराउने छ ।
मलाई विश्वास छ, यो लेख यथास्थानमा पुर्‍याइने छ र भनिने छ, ‘हेर्नुस् त कुन निमकहरामलाई यो पुरस्कार दिनुभयो !’

०००
(यो लेख हिन्दीका प्रभावशाली व्यङ्ग्यकार हरिशंकर परसाईको ‘परसाई रचनावली’ भाग तीनको ‘सम्मान और फ्रेक्चर’ शीर्षकको लेखबाट अनुवाद गरिएको हो -व्यङ्ग्यानुवादक ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x