हरिशंकर परसाईंसम्मान र फ्रेक्चर
एकैचोटि दुईवटा पुरस्कार लिएर आएको छु । प्रशस्तिपटल त बिर्सिदिउँला तर ठिहिर्याउँदो चिसोमा जब यो चोटले पिरोल्ने छ त्यति बेला सम्मानको सम्झना भने गराउने छ ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
यता केही दिनदेखि मेरा चरणको दर्शनका लागि थुप्रै मानिसहरू आइरहेका छन् । उसै त म ब्राह्मण हुँ, आयु पनि बढी नै भएको छ तर चरणस्पर्श गर्नेहरूले यस कुरामा ध्यान नै दिँदैनन् । उनीहरू आचार्यहरू र उच्च वणर्का नेताहरूका चरणस्पर्श गर्न व्यस्त छन् । यी श्रद्धेयहरू बिहानै चरणस्पर्शको खाजा खान्छन् । भयङ्कर चिसोमा पनि पाउलाई च्यादरबाट बाहिर निकाल्छन् जसले गर्दा श्रद्धालुहरूलाई चरण खोज्न गाह्रो नहोस् । अनि साबुनले पूरै शरीरलाई त नुहाएर स्वच्छ पार्छन् तर चरणलाई भने फोहरै छोड्छन् । श्रद्धालुलाई यदि चरणको धुलो चाहियो भने त त्यसको प्रबन्ध पनि त हुनुपर्यो नि !
अब चरणको दर्शन त मेरो पनि भइरहेको छ र स्पर्श पनि भइरहेको छ । जसलाई मेरो थुतुनासित पनि घिन लाग्छ उनीहरू पनि सांसारिकता देखाउनकै लागि भए पनि आउँछन् र मेरा चरणको दर्शन गर्छन्, हातले मुसार्छन् र सोध्छन्, ‘कहाँ दुख्छ ?’ अब त कुनै वयस्क पनि मेरा चरणमा हस्तसञ्चालन गर्छन् जसका चरणको स्पर्श म गर्न चाहन्थेँ तर आफ्नो सामाजिकताका कारणले मलाई त्यो अवसर दिएनन् ।
अचानक मेरा पाउ यति पवित्र कसरी भए ? यसमा श्रद्धाका किरा परेका होइनन्, बरु मेरो खुट्टामा सानो ‘फ्रेक्चर’ भएको हो । हाड चर्केको छ । प्लास्टर लागेको छ अनि मैले यस फ्रेक्चरलाई खुब माया गरेर पालेर राखेको छु किनभने साहित्य र समाजसेवाका कारणले नभए पनि यसै फ्रेक्चरका कारणले ठुलाठालु भनाउँदाहरूबाट पनि खुट्टा छुवाउन पाएको छु । मलाई प्लास्टर झिक्ने हतार पटक्कै छैन । सन्चो भएपछि पनि रहरैरहरमा यो यसै गरी बाँधिइरह्यो भने सहरमा जो जो मेरो चरणस्पर्शबाट वञ्चित छन् तिनले पनि आएर मेरा चरणको धुलो लिन पाउने छन् । म एउटा सम्मान लिएर आएको छु नि त ।
‘फ्रेक्चर’ कसरी भयो त ? यो ‘शुभचिन्तकहरू र केही लेखकहरूका निम्ति शोधको विषय बनेको छ । छिटै नै कसैले विद्यावारिधिको उपाधि पाउने छन् । आफूलाई त कति मात्र थाहा छ भने टेलिफोनको तारका लागि एउटा लामै खाल्टो खनिएको रहेछ । मसँग दुईजना अरू पनि थिए जो त्यसै होटलमा बसेका थिए । हामीले खाल्टो पार गर्न लाग्दा खुट्टा चिप्लिए । उनीहरू दुवै जना साइत हेरेर हिँड्ने गर्थे तर उनीहरू नै पहिले चङ्ग्रङ्ङ परे अनि धुलो टक्टक्याउँदै उठे । म लडिनँ । देब्रे खुट्टाले उफ्रेर पार गर्न खोज्दै गर्दा नलीहाडनिर ‘किरिक्क’ गर्यो । मैले पछि म किन सुतिनँ भनेर पछुतो पनि गरें । म किन लडिनँ ? लड्नुका पनि धेरै फाइदाहरू छन् । पतनमा न त मर्किने डर हुन्छ न फेक्चरको डर हुन्छ । कैयौं मानिसहरूलाई मैले कैयौं क्षेत्रमा देखेको छु जो अवसर हेरेर एक्कासि बाङ्गिन्छन् र ढल्छन् । न त उनीहरूको कतै मर्केको हुन्छ न हड्डी नै भाँचिएको हुन्छ । केवल धुलो लागेको हुन्छ तर त्यो पनि लुगामा मात्र लाग्छ, आत्मामा लाग्दैन । उनीहरू त्यो टक्टक्याएर यस्तो सानसँग हिँड्छन् मानौं उनीहरू बाङ्गिएकै हैनन् र लडेकै हैनन् ।
कुरो के हो भने हड्डी भाँचिनका लागि हड्डी हुनु पनि त पर्यो नि ! कुनै गँड्यौलाको हाड ‘फेक्चर’ भएको भनेर कसैले कतै कहिल्यै सुनेको छ र ? उसको हड्डी नै छैन त ! लहरिँदै र गुडुल्किँदै ठुल्ठुला खाडलहरू पनि नाघिदिन्छ । यदि कुनै भ्यागुताले उसलाई सलक्कै निल्छ भने त्यो बेग्लै विषय हो । तर जसको हड्डी छैन त्यसको नियति नै भन्नुपर्छ भ्यागुताजस्तो उफ्रिने ‘बास’ (सानो जीव)ले पनि त्यसलाई निलिदिने कुरो । मेरा दुबै खुट्टामा ‘फेक्चर’ भएको छ । जे होस् ढाडको हाड भने बँचेको छ । यिनको रक्षा भने म निकै सावधानीपूर्वक गर्दै छु । धेरै मानिसहरूको ढाडको हाड हुँदैन । तिनीहरू निकै लचकदार हुन्छन् । तपाईंले चाहनुभयो भने तिनलाई आफ्नो बोरामा कोचकाच पारेर पनि कहीँ लैजान सक्नुहुन्छ र लगेकै छन् । मैले राजनीति र साहित्यमा धेरै मानिसहरूले अपरेसनै गरेर भए पनि ढाडको हाड झिकिमागेको देखेको छु । अनि त के चाहियो र ? तिनीहरूलाई बोरामा कोचकाच पारेर वा सुटकेसमा पट्याएर कहीँ पनि लैजान सक्नुहुन्छ या कुनै कुल्ली लगाएर कतै जान सक्नुहुन्छ ।
सम्मान र पुरस्कारप्रति म शङ्कालु छु । सम्मानले आत्मा मर्काउँछ भने पुरस्कारले व्यक्तित्वमा ‘फेक्चर’ ल्याउँछ । एक ठाउँमा मेरो सम्मान पनि भएको थियो र चानचुन पुरस्कार पनि दिइएको थियो । दिने व्यक्ति सम्पन्न थिए तर मलाई के लाग्यो भने यिनले मलाई दिएको पुरस्कार मानिसहरूले माछालाई दिएको चारोजस्तै हो । उनका लागि माछालाई चारो दिनु र लेखकलाई पैसा दिनुमा कुनै अन्तर थिएन । मेरो दोस्रो आशङ्का के पनि थियो भने यो शासकीय माहोल हो । कतै यो समारोह नै कलाकारहरूका लागि राहत वितरण समारोह पो हुने हो कि ? ‘मस्टर रोल’सित मलाई निकै डर लाग्छ ।
तर जुन शालीनता, विनयशीलता र सुन्दरतापूर्वक यो समारोह सम्पन्न भयो त्यो मलाई निकै मनपर्यो । यो भविष्यका निम्ति चापलुसी गर्दै छु म । (हैन त ?) बडेमानको माला लगाइदिए । थरीथरीका र नचिनेका रङ्गीविरङ्गी फूलहरूको ठू…लो माला । गह्रौं माला मान्छको टाउको झुकाउनका लागि निकै उपयोगी हुन्छ । तीनचार किलोको माला घाँटीमा भिराइदिनुस् अनि हेर्नुस् अररिएको गर्दन पनि निहुरिन्छ । मलाई त सयपत्रीको माला मनपर्छ । सर्वहारा फूल हाे जहाँसुकै उम्रिन्छ । न मल चाहिन्छ, न माली चाहिन्छ अनि पूmलका पत्रहरू तीरजस्ता । आभिजात्य फूलहरू त मेरो परिचयमै पर्दैनन् । उसो त अब के पनि सुनिँदै छ भने ठुला अधिकारीहरूको बढुवाको आधार कससँग कति प्रकारका सिउँडी छन् भन्ने आकारमा हुँदै छ रे ! भुइँफुट्टाले पनि प्रतिष्ठा पाउने भए यस सभ्यतामा त ।
‘कुन ठगले सहर लुट्यो हँ ?’ (कौन ठगवा नगरवा लूटल हो ) भन्ने कबिरको यस पद्यलाई गन्दर्भहरूले खुब रमाइलोसँग गाए । म त के चाहन्थें भने उनीहरू यो गीत पनि गाऊन् -‘हिँडे कुलनारीहरू गङ्गा नुहाएर’ ( चली कुलबोरन गंगा नहाय के ) । साहित्यिक चर्चाका तीनवटा बैठकहरूमध्ये पछिल्लो बैठकमा ‘ठगवा’ले ‘नगरवा’ लुटिहाले । केही बुद्धिजीवी त, बिचराहरूले सहून् पनि कति र ? ‘म’, ‘तँ’ र ‘त्याे’ नै त्यो ‘ठगवा’ हौं जसले नगरवालाई लुट्यौं । विषय गम्भीर थियो । भारतीय चिन्तनधारा, भारतीय दर्शनमा द्वन्द्वको अभाव, ब्रह्मजिज्ञासा, माक्र्सवादी सौन्दर्यशास्त्र आदि । यी सबै त छेउ लागेर थन्किए अनि ‘रमैयाकी दुलही’ (रमैया की दुल्हन’ ले बजार लुट्न थाली ।
दर्शनबाट मानिसहरू एक्कासि व्यक्तिगत आक्षेप र व्यक्तिगत कमजोरीहरूको तहमा ओर्ले । विषयले अगाडि उभिएर र एकोहोरिएर जवाफ खोजिरहेको थियो । तर उसतिर पिठ्युँ फर्काएर हामीहरूले आआफ्ना छुट्टाछुट्टै विषयहरू निकाल्यौं । मलाई पनि धेरै विषयहरू त उहिलेका खुइलेका कुराजस्तै लागे र लाग्यो अब नयाँ विषयहरूको शोध हुनुपर्छ । कहिलेसम्म ‘प्रेमचन्दको नारी पात्र’ मात्र शोध गरिहने ? अब त लेखकहरूको व्यक्तिगत चरित्रमाथि पनि शोध हुनुपर्छ । जस्तै यसै सहरमा जैनेन्द्रले भाषणमा ‘तपाईंले बोलाउनुभयो । म आएँ । जानेजति भनें । नजानेको भनिनँ । नआए पनि आउँथें । आएर पनि आइनँ । तपाईंले मलाई धन दिनुभयो । तर घर फर्किँदा केटाकेटीले के ल्याउनुभयो त भनेर सोध्नेछन् । मलाई निरुत्तर नपार्नुहोस् । यता खाँटी घिउ पाइन्छ भन्ने सुनेको छु । त्यसो भए तीनचार किलो डिब्बामा राखिदिनुहोला । बाँकी त सबै माया हो । राम्रो घिउ नै परम सत्य हो ।’ (यो कुरो मलाई एकजना शोधार्थीले भनेका हुन् ।) भनेको कुराको सत्यताको शोध हुन सक्छ ।
अर्को कुन लेखकले आफ्नी पत्नीलाई महिनामा कति पटक पिट्छ भन्ने विषयमा पनि शोध हुनुपर्ने हो । औँसीको कालो रातमा पिट्छ ? एकादशीको व्रतपछि पिट्छ ? अथवा पूणर्िमाको जुनेली सौन्दर्य छरिएको समयमा पिट्छ –
चाँदेर हाँसि भेगेछे
उछले पडे आलो
ओ प्रियतम ! तुमि
लात घूँसा मारो ।
(चन्द्रमाको हाँसो उन्मत्त भएर छरिएको छ । (यस्तोमा) ए प्यारा ! तिमी मलाई मुड्की र लात्तीले हान ।)
रवीन्द्रनाथले क्षमा गर्नुहोला । उहाँले त यसो भन्नुभएको थियो, ‘ओ रजनीगन्धा, तोमार गन्ध सुधा ढालो ।’ ( यस्तोमा) ‘ए रजनीगन्धा, तिम्रो सुगन्धामृत बर्साऊ ।’ तर हामीलाई गम्भीर शोध गर्नु छ । त्यसैले यस प्रकारका शोधार्थीहरूले तल्लो फ्ल्याट लिनुपर्छ जसबाट उनीहरू माथिल्लो उफ्रीपाफ्रीको साहित्यिक विश्लेषण गर्न सकून् ।
यस्ता विषयहरू अरू पनि छन् ।
एउटा गम्भीर लेखकले भने, ‘यो व्यक्तिगत छ्यापाछ्याप किन हुँदै छ ? विषयमा केन्द्रित हुनुहोस् । हामीले वस्तुलाई ऐतिहासिक परिप्रेक्षमा हेर्नु छ ।’
ऐतिहासिक परिप्रेक्षमा के हेर्ने होला ?
हामी उल्टो पढाइएको इतिहासका अवैध सन्तान हौं ।
अहिले त प्लास्टर बाँधिएको छ । एकैचोटि दुईवटा पुरस्कार लिएर आएको छु । प्रशस्तिपटल त बिर्सिदिउँला तर ठिहिर्याउँदो चिसोमा जब यो चोटले पिरोल्ने छ त्यति बेला सम्मानको सम्झना भने गराउने छ ।
मलाई विश्वास छ, यो लेख यथास्थानमा पुर्याइने छ र भनिने छ, ‘हेर्नुस् त कुन निमकहरामलाई यो पुरस्कार दिनुभयो !’
०००
(यो लेख हिन्दीका प्रभावशाली व्यङ्ग्यकार हरिशंकर परसाईको ‘परसाई रचनावली’ भाग तीनको ‘सम्मान और फ्रेक्चर’ शीर्षकको लेखबाट अनुवाद गरिएको हो -व्यङ्ग्यानुवादक ।)
Subscribe
Login
0 Comments
Oldest

































