भैरव अर्याल‘उडाउनु’ सित एकछिन उड्दा
उडाइने मान्छे भोजपुरमा होस् कि भक्तपुरमा होस्, भोज खान लागेको होस् कि भोकै मर्न आटेको होस्, उसको उपस्थितिविना नै उसलाई भुर्र उडाइदिन सक्नु हाम्रो उडानको अद्वितीय विशेषता हो ।
एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएछ । सन्जोग पनि कहिलेकाही कस्तो पर्छ भने एउटा बिनसित्तिको कुराले पनि एकछिन सित्तै अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनै सम्बन्ध छ, न भूउपग्रह र दूधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटै गरे उडाइदिए । भूउपग्रह उडाउन कैयौको साधन र साधना लाग्यो, तर बिरालालाई दूध उडाउन न साधनको नाममा एउटा चम्चा चाहियो, न साधनाको नाममा केही चालचुल । तर यी दुवै कामलाई उडाउनु नै भनिन्छ भने उडाउने क्रियालाई महत्वपूर्ण भन्ने कि मामुली ? यो पनि एउटा प्रश्न हो । तर कस्तो केटाकेटी प्रश्न ? यो त एउटा भाषाको चमत्कार मात्र हो । हाम्रो देशमा एउटा मान्छेका दसोटा सिद्धान्त भएझैं हाम्रो भाषामा एक शब्दका अनेक अर्थ हुन्छन् । उदाहरणको लागि आफ्नो लभ परेको दिन आफ्नो नजिकको नातादारको जुठो परेको हुन्छ । जीवनको असङ्गति भनेको यही न हो । त्यसैले बिरालाको दूधउडान र त्यस देशको भूउपग्रहको उडानमा पक्क पर्नु सट्टा अर्को कुनै महत्त्वपूणर् समस्यामा विचार गर्नु राम्रो । मन अर्को विचारणीय समस्या खोज्न थाल्छ, तर मगजको तन्तु हल्लाउँदै एउटाले प्वाक्क सुनाउन आउँछ- “रामबहादुरले त सीतादेवीलाई उडाएछ नि बुझिस् ?” रामबहादुरले सीतादेवीलाई क्यारेभलमा राखेर ब्याङ्ककतिर उडाएको हो कि पछ्यौरामा तानेर भण्डारकोठातिर कुदाएको हो- त्यो दुबिधामा अलमलिदै नअलमलिई म साथीसित सोध्छु- “उडाएछ ? कसरी थाहा पाइस् ?” ऊ थप्छ- “अहिले त्यही रेस्टुरामा सबै ठिटाहरू रामबहादुरलाई उडाउदै थिए ।” अब भएन के ? एकै दिनमा सुन्नुपरेका यी चार उडानका समाचारहरूबाट बुझेको सानो क्षितिजमा कौतूहलको चारचोसे विमान फन्का मारीमारी उड्न थाल्छ-
अन्तरिक्ष जान संलग्न देशले भूउपग्रह उडायो ।
बिरालाले दूध उडायो ।
रामबहादुरले सीतादेवीलाई उडायो ।
ठिटाहरूले रामबहादुरलाई उडाए ।
उडाउनुको यसै फन्कोमा कान्छाले बेलुन उडाएको, ठाइँलाले चङ्गा उडाएको, काइँलाले गाँजा उडाएको, साहिँलाले परेवा उडाएको, माहिलाले तहविल उडाएको, जेठाले सर्वस्व उडाएको सम्झना पनि फन्कामाथि फन्का थप्तै उड्न थाल्छन् अनि म फेरि छक्क पर्छु- कति विचित्र क्रिया छ यो उडाउनस !
तर छक्क पर्ने कुरा पो के रह्यो र ? प्रकृतिले पक्षपात गरेर मान्छेलाई पखेटा दिएन । त्यसै झोकमा होला, उसले उड्नु र उडाउनुका अनेकौं क्रियाहरू सिक्न थाल्यो । उड्नुमा भन्दा उडाउनुमा आफ्नो पुरुषार्थ व्यक्त हुने देख्न थाल्यो । अझ भनूँ भने प्रकृतिले त उडाउनलाई प्वाँख र पखेटा नभई नहुने गराएथ्यो, तर मान्छेले मान्छेलाई बिनापखेटा हावामा पनि उडाइदिन लाग्यो, हाहामा पनि उडाइदिन लाग्यो । त्यसैले एपोलो र सोयुजका उडान सफल भएकै ताका आफ्नो घ्याम्पोउडान असफल भएर मध्यटुँडिखेलमा अग्निकाण्ड परे तापनि नेपालीहरूसमेत उडाउने काममा पछि परेका छैनन् । भनूँ भने उडाउने क्रियामा नेपालीहरू अरू दुई पाइला अगाडि नै छन् भन्ने मेरो धारणा छ किनभने प्रकृति प्वाँख र पखेटा खोजिरहोस्, विज्ञान अक्सिजन र नाइट्रोजन जोडिरहोस्, हामी कुरैकुरामा कैयौं कुरा भुर्र उडाइदिन्छौं । हाम्रो भाषा स्वयं कति वैज्ञानिक छ भने उडाउने क्रियामै उसले सयौं प्वाँख र पखेटाहरू जोडिराखेको छ, त्यसैले कसैले चाहेमा यहाँ पच्चीस पैसामा जुँगादाह्री उडाउन सक्छ, सोह्रठाडीमा घरबारी उडाउन सक्छ, अलिकति भेटीघाटीले एउटा गजबको ठेकदारी उडाउन सक्छ, एक-दुई जनाले धर्म छाडे एक-दुई हजारको धर्मभकारी उडाउन सकिन्छ । उडाउनुलाई यति व्यापक र बहुउद्देश्यीय गराई आफ्ना कैयौं क्रियाप्रतिक्रियासित सम्बद्ध राख्न नेपालीहरूले कम श्रम र समय खर्चेका छैनन् । त्यसैले एउटा कागतको घ्याम्पो उडाउन असफल हुँदैमा हामीले आफूलाई उडाउन नजान्ने भनी आत्मग्लानि लिनु पर्दैन । हावामा उडाउने प्रतियोगिता अमेरिका र रूसले गर्दै रहून्, हाहामा उडाउने विज्ञानको लागि विश्वले नेपालबाट धेरै कुरा सिक्न बाँकी नै छ ।
उडाउने काम गर्न वैज्ञानिकहरूलाई विमान र वेधशाला नभई हुँदैन, तर हाम्रा ऋषिमुनि मन्त्रैमन्त्रले पहाड उडाइदिन्थे रे, हाम्रा गुभाजुहरू तन्त्रमन्त्रले हाड उडाइदिन्थे रे । त्यसैले मान्छे जाबालाई उडाउन विमान र वेधशालाको के खाँचो ? आजको युगमा मन्त्रतन्त्रको खोजीनिती झन् कल्ले गरिरहोस् ? हो, कसैलाई मेचैसमेत उडाइदिनु छ भने यसो चुक्लीसुक्ली लगाइदिए भइहाल्यो, होइन, सामान्यलाई सामान्यै किसिमबाट उडाउनचाहिँ त दुई चुच्चाको एक जमघट भए जत्ति भने पनि पुग्छ । त्यसैले धारामा होस् वा चौतारामा होस्, सडकको पेटीमा होस् कि रेस्टुराको कुर्सीमा होस्, हामी चुच्चैचुच्चा मिलाएर विचित्र वेधशाला बनाउन सक्छौं र धमाधम मान्छे उडाउन सक्छौं ।
उडाइने मान्छे भोजपुरमा होस् कि भक्तपुरमा होस्, भोज खान लागेको होस् कि भोकै मर्न आटेको होस्, उसको उपस्थितिविना नै उसलाई भुर्र उडाइदिन सक्नु हाम्रो उडानको अद्वितीय विशेषता हो । अर्को विशेषता के छ भने जुन बेला तपाईं अर्कालाई उडाइरहनुभएको हुन्छ त्यसै बेला तपाईंलाई अर्कोले उडाइरहेको हुन्छ । त्यसैले यो उडानमा जति आनन्द आउँछ उडाउनेले नै पाउँछ, उड्ने विचराले कहाँकहाँ कसकसले कसरीकसरी आफूलाई उडाउँदै छन् भन्ने कुराको सुइँको पाउँदैन । उडाउने कलामा अशिक्षित र गाउँलेहरूभन्दा सभ्य र शिक्षितहरूले बढी सफलता पाउनु स्वाभाविकै हो, किनभने आजको शिक्षा र सभ्यता नै गराइदिनुमा भन्दा उडाउनुमा बड़ी लहसिएको छ । त्यसैले तपाईं मलाई उडाउनुहुन्छ, म तपाईलाई उडाउँछु । हामी दुवै जनाको भेट भए फलानालाई उडाउँछौं । उड्नु र उडाउनुको यस अभियानमा घरको तरकारी समस्यादेखि अफिसको सरकारी फाइलसम्म न केहीको पीर, न कसैको परवाह । अरूलाई उडाउँदा पाइने एउटा गुलियो रसमा रसना रसाउदै एकैछिन हल्ल हाँस्न पाइन्छ, आफ्नो अहंमा एक थप्की लगाउदै बाँच्नुको मजा चाख्न पाइन्छ ।
यो त भयो अनुपस्थितिमा उडाउने कुरा । कोही मान्छे अघिल्तिरै उपस्थित छ र उसलाई उडाउनु छ भने थाल्नोस् तपाईं उसको तारिफ गर्न । उसको टोपीको टुप्पो सगरमाथाको जस्तो छ कि गौरीशङ्करको जस्तो छ- त्यसको बयानबाट सुरु गरी अन्त्यमा भनिदिनुहोस्- “चाहेको भए तपाइँ उहिल्यै केके भइसक्नुहुन्थ्यो ।” यो दिव्य वचन सुन्नासाथ ऊ आफ्नो भित्र बाहिर हेर्दै नहेरी अहंका पखेटा फटफटाउन थाल्छ र एकैछिनमा भारहीन भएर स्वयं उड्न थाल्छ- “प्रधानमन्त्रीसम्म पाएको भए सोच्नुहुन्थ्यो, मन्त्री जाबो को भइरहोस् !” तपाईं थपिदिनुहोस्- “यहाँजस्तो योग्य व्यक्तिले मन्त्री मात्र हुनु त नसुहाउने नै कुरा हो !” अनि ऊ झन् अकासिन्छ र आफूबाहेक सबैलाई लम्फूलम्फू देख्न थाल्छ । तर आफूलाई कति हाइलम्फु ठानेर उडाउँदैछन्, बिचराले पत्तै पाउँदैन । उडाउने योचाहिँ कलामा उड्नेले आत्मतृप्तिको महंगो मेवा पाउँछ, उडाउनेले मनोरञ्जनको सितनस्वरूप सके दुई घुट्को जाँडै पाउला नसके एक तुर्की चिया कतै नजा !
त्यसैले मर्सिडिज कारले कसैका आधासम्म धूलो उडाओस् वा शिक्षित बेकारले एक थाल भातबाट दुई थाल झिंगा उडाओस् उडाउनु भनेको वास्तवमा उडाउनु नै हो । यी सबै हेरिल्याएको खण्डमा बीसौं शताब्दी उडाउने युग हो । राकेट उडाउनेदेखि पाकेट उडाउने कलासम्ममा आज जति प्रगति भएको छ त्यति पहिले कहिल्यै थिएन । हिरोशिमा उडाउनेदेखि लिएर साँधसीमा उडाउनेसम्मका सय उडान पृथिवीमा भएका छन् भने चन्द्रदेखि मङ्गलसम्मका कैयौं उडान अन्तरिक्षमा भएका छन् । तर मलाई सोध्नुहुन्छ भनेचाहिँ, आधुनिक उडानको इतिहास हनुमानदेखि सुरु हुन्छ । हनुमानले द्रोणाचल उडाए भने उनका वंशज वानरहरूले पशुपतिको पूजासामा उडाउनुमा के आश्चर्य, वानरले देवताको पूजासामा उडाउँछ भने वानरबाट विकसित नरले पृथिवी नै उडाउनुमा के दोष ?
०००
रमझमबाट
‘गलबन्दी’ २०२६
Subscribe
Login
0 Comments
Oldest






































