साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिस्टर एन. मुनि नेपालमा

जब पर्दामा नाच सुरु भएथ्यो नारद ‘ओहो उर्वशी, तिमी पनि यहाँ !’ भन्दै पर्दातिर दौडेको मार भित्तामा ठोक्किएर घोप्टिन पुगे नर्तकीको खुट्टानिर । यसले गर्दा हलको पर्दा च्यातियों, करेन्ट सट भएर जनसेवा भवन हुरहुर बल्यो, त्यताबाट पाइन्ट स्यारेर कुलेलम ठोकेका नारद यहाँ पुगे उहाँ पुगे पत्तो भएन ।

Nepal Telecom ad

फ्लोरिडाको वेधशालाले उड्दाउड्दै रित्तो स्पुतनिकमा एउटा मान्छे खुत्रुक्क भित्र पसेको कुरा थाहा पायो । अमेरिकी वैज्ञानिकहरूले खूब गहिरिएर त्यसको अध्ययन गरे । वायुमण्डलभन्दा पनि माथि पुगेको स्पुतनिकमा पृथ्वीको मान्छे पसेको भन्ने त कुरै थिएन, त्यो पक्कै ‘अन्तरिक्ष-मानव’ हो भन्ने उनीहरूले ठोकुवा गरे । अनि त्यस स्पुतनिकलाई अमेरिकाभित्रै उतार्ने कोसिस चल्न थाल्यो । किनभने स्पुतनिक थियो रूसको, ‘अन्तरिक्ष- मानव’, रूसमा ओर्लियो भने त बिताइहाल्यो । उसै त ‘पहिले ब्रह्माण्डभेदन गर्ने हामी’ भनी रूस लौकाजत्रो नाक पार्छ, झन् त्यो ‘अन्तरिक्ष-मानव’ समेत उसैको भयो भने लोकलोकान्तरको सारा रहस्य पहिले पत्तो पाउने पनि उही हुन्छ । अनि चन्द्रलोकमा पनि कम्युनिस्ट घुसाइदियो भने अरूले त डाडुमा पानी तताएर डुबे भैहाल्यो । तर रूसी वैज्ञानिकहरू झन् के कम हुन्थे । आफ्नो स्पुतनिक आफ्नै देशमा उतार्न उनीहरूले पनि ज्यूज्यानले मिहिनेत गरे । दुवैतिरका आकर्षण र प्रत्याकर्षणको फलस्वरूप स्पुतनिक ढलपलाउँदै ढलपलाउँदै आएर बसिदियो, सगरमाथाको टुप्पामा ।

यस कुरोको पत्तो पाउनासाथ रेडियो मास्कोले रूसको स्पुतनिकमा आएकोले सो मानव हाम्रै हुन्छ भनी ठोक्यो । टेलिभिजन अन्तर्वार्तामा अमेरिकी प्रवक्ताले भने- स्पुतनिकमा पसेको कुरो पहिले हामीले नै पत्ता लाएको हुनाले सो मानव हाम्रै हुन्छ । भारतीय लोकसभामा प्रस्ताव आयो- हिमालयको सेरोफेरो सबै मेरो भएकाले त्यहाँ उत्रेको प्राणी अरू कसैको हुनै सक्तैन । पेकिङको ‘पिपुल्स डेली’ ले सम्पादकीय लेख्यो- सो मान्छे उत्रनासाथ स्पुतनिकचाहिँ हाम्रै सीमाभित्र गुडेकोले अन्तरिक्ष-मानव चीनको हुन्छ । यस्तो खैलाबैला चलेको ३ दिनपछि नेपालले पत्तो पायो र रेडियो ककनीले विस्तारै फुक्यो- सगरमाथामा खसेकाले अन्तरिक्ष- मान्छे हाम्रो पो हुनुपर्छ कि ?

+ + +

नाम्चेबजारमा धेरै देशका पत्रकारहरू हेलिकोप्टर र पिलाटस पोर्टर चढेर ओइरिए ‘अन्तरिक्ष-मानव’ खोज्न । हुन त रकेटको गति हेर्ने यन्त्रले उसको फोटो खिचिसकेको थियो, तैपनि ऊसँग अन्तर्वार्ता लिने सबैको धोको छँदै थियो ।

+ + +

सोलुखुम्बुको स्यार्पादाइको पिंढीमा एउटा अनौठो जोगी बसेको रहेछ । पहेँलो धोती फेरेको, कपाल सिनित्त खौरेको, तर झन्डै एक हात लामो टुप्पी धरहराझैं ठड्याएर कुशले बाँधेको देख्दा निकै रातोपिरो, खुपै बक्ने होला जस्तो । एकातिर सितार र कमण्डलु, अर्कोतिर डोकाभरि पिंडालु राखेको स्यार्पादाइको फलैँचामा बसेर ऊ कुपकुपु उसिनेको तरुल खाइरहेको थियो । पत्रकारहरूले एक घण्टाको निरीक्षणपछि ठम्याए- ‘अन्तरिक्ष-मानव यही हुनुपर्छ ।’ अनि सबैले एकै स्वरमा ‘हल्लो मिस्टर !’ भन्दै ह्यान्डसेक गर्न हात दिए । तर उसले चाहिं यिनीहरूले खानेकुरो मागेका होलान् भन्ने ठानी आफूले खान थालेको तरुलका एक-एक ठुन्का भाँचेर सबैका हातमा राखिदियो । पत्रकारहरूले पनि यो ‘अन्तरिक्ष-फल’ होला भन्ने सम्झी बोक्रैसहितका तरुलका ठ्यौका च्याम्च्वाम् चपाए ।

अन्तवार्ता लिन पर्‍यो समस्या भाषाको । अङ्ग्रेजी, फ्रेन्च, जर्मन, रसियन, चाइनिज जे बोले पनि ऊ नबुझ्ने । वैदिक, संस्कृत, तान्त्रिक, मान्त्रिक उसले जे बोले पनि उनीहरू नबुझ्ने । दुई घण्टाको कपालदुखाइपछि बल्लबल्ल थाहा पाइयो, उनी त स्वर्गका नारदमुनिजी पो रहेछन् ! कस्तो अचम्म ! पत्रकारहरूले हत्त न पत्त नोट गरे, नाम- मि. एन्. मुनि, नागरिकता स्वर्गेली, आगमनको उद्देश्य- थाहा छैन ।

+ + +

‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैं स्वर्गका समस्यामा ब्रह्मासँग सरसल्लाह लिन सत्यलोक जान लागेका नारद रित्तो स्पुतनिक भेट्टाएर बसिदिएछन् त्यसैमा । पस्न त पसिहाले, तर बीचमा स्पुतनिक ढलपलाएर बिचराको सातोपुत्लो उडेछ । तै सासै नफेरीकन निर्गुणानन्द भजन गाइदिएछन् र मात्रै, नत्र चौटा खान आएको सम्धी झोलमा डुबेर मर्‍यो भनेझैं स्पुतनिक चढ्ने रहरले कुन खाँदमा गएर घुसमुन्टिन्थे होलान् बरा !

जे होस्, नारद पृथ्वीमा ओर्लेको समाचार सुन्दा दुनियै छक्क पर्‍यो । नेपाल र भारतका मान्छे हाम्रा नारद भनी गजक्क फुले । काठमाडौँमा रातारात गरी नारद-स्वागत समिति गठित भयो । स्वर्गबाट आएका नारदको स्वागत चानचुने ढङ्गले गर्न भएन । हलिउड पेरिस र बम्बैबाट मै हुँ भन्ने अभिनेतृहरू निम्त्याइए, गौचरदेखि शीतलनिवाससम्म ऐना ओछ्याइयो । सोह्रओटा हात्तीले तान्ने त बग्गी थियो अब !

+ + +

नाम्चेबजारबाट हेलिकोप्टरमा उड्दा नारदलाई अचम्म लाग्यो । अस्ति स्वर्गबाट झर्दा यो विमान बाटुलो थियो, अहिले त साँच्चै लामो भैसकेछ । ‘यसरी मान्छे च्यापेर विभिन्न अवतारमा आकाशमार्गबाट विचरण गर्ने यो भगवानकै मत्स्यावतार त होइन’ भन्ने शङ्का उनले झिके र मनमनै साष्टाङ्ग दण्डवत् गरे । जति पर जान्छन् उति गडरङगुडुरुङ गरी मेघ गर्जेको सुनित थाल्यो, तर भगवानकाे पेटमा बसेका नारदलाई केको डर ! अब सोझै स्वर्ग पुग्ने ढुक्कमा थिए उनी ।

नारदलाई लिएर आएको हेलिकोप्टर गौचर विमानघाटमा उत्रनासाथ नारदमुनि जिन्दावाद, नारदमुनि हाम्रै हुन्, स्वर्गेली नेपाली भाइ भाइ’ आदि नारा र करतल ध्वनिले आकाश थर्किरहेको थियो । हेलिकोप्टरबाट ओर्लनासाथ उनी झस्के- क्यामेराका तन्द्रङतुन्द्रुङ भिर्ने मान्छे, कोही यताबाट ताकिरहेका छन्, कोही उताबाट । उनलाई लाग्यो यी जन्तरमन्तर पैह्रने तान्त्रिकहरूले बाण ताके बा ! तर महामुनि नारद के दब्थे ? वीणाको बिंडले झन्डै फोटोग्राफरहरूको टाउको नफोरेका ! बीचैमा स्वागतमण्डलले नम्रतासाथ बुझाएपछि पो उनले सबै कुरा बुझे । अनि बैँस फुलेका कन्याहरूद्वारा टक्य्राइएका फूलका गुच्छा एक-एक गरी बटुलेर स्यार्पिनी भाउज्यूले सोतर काखी च्यापेझैं सकीनसकी मुनिजीले काखी च्यापे । स्वागत गर्नेहरू पनि थोरै हुन् र ? सबले माला पैह्राउँदापैह्राउँदा एकछिनपछि त नारद कता हुन् कता, फूलैफूलको रास हिँडेको पो देखियो त्यहाँ । तै टुप्पीको फुर्को अलिअलि देखिएर मात्र, नत्र नारद हराए भनी पुलिस कुदिसक्थे होलान्, रातो जिप लिएर ।

नासेर आऊन् कि नेहरू, नौला पाहुना आएको बेला जेजति हुनुपथ्र्यो त्यसको १८ खण्ड बढ्ता उनको स्वागत भयो । स्वागतभाषणको प्रत्युत्तरमा करैशान्ति नारदले पनि धर्मकर्मका केही उपदेश सुनाए तर माइकमा बोल्न लाग्दा बिचराको खुट्टा थुरथुर काम्यो । यस्तो चुइँक्क गर्दा ढ्वाइँक्क हुने यन्त्र त न स्वर्गमा थियो न वैकुण्ठमा । भाषण सिद्धिएपछि मञ्चैमा उपहारहरू दिइन थालियो । नेपालीहरूले भादगाउँले टोपी लगाइदिन आँटेका; एक हात लामो टुप्पीले दिँदैदिएन । एक जनाले सोध्यो- “मुनिज्यू, टुप्पी अलिकति छाँटौँ कि ?” नारद केही बोलेनन् । भारतीय स्वागतमण्डलले एक टोकरी मिठाई दिँदै भन्यो- “गुरुजी, भारतीय मिष्टान्न ।” ’कसैलाई केही धन्दा घरज्वाइँलाई. खानकै धन्दा’ भनेझैँ भोकले खहरिएका विचरा नारद, अरू अभिनन्दनपत्र पढ्न थाले, उनी लागे चपाउन लड्डु, मञ्चमै ! बृटिस स्वागतमण्डलले एक जोर सबभन्दा महंगो सुट ल्याएको रहेछ, तर यो लगाइदिन भने साह्रै फसाद पर्‍यो । मञ्चमा धोती फुकाल भन्नु कसरी ? भित्र कट्टु छ-छैन, अन्तरिक्ष- मानवको के विश्वास ! आखिर एउटाले हिम्मत गरेर भन्यो- “ऋषिजी, कसो होला ?” उनी चुप्प लागे । पर्दाभित्र लगेर लुगा फेराउने काम सम्पन्न भयो । अमेरिकी प्रतिनिधिले झुन्ड्याइदिए- घाँटीमा कोडाकको क्यामेरा ! चिनियाले खराउ झिकेर चाइनिज फ्लेक्स लगाइदिए । स्विट्जरल्यान्डका प्रतिनिधिले नारदको नाडी छाम्दै भने- “मिस्टर मुनि, यो कुशको सट्टा घडी लगाऊँ कि ?” नारदले ओल्टाईपल्टाई घडी हेरे- आफैँझैँ घुमिरहने सुई, टिक् टिक् टिक टिक चराको बोली, जन्तु त विचित्रको हो ! निकैबेर गम खाएपछि उनले सोधे- “होइन, यो प्राणी चारा के खान्छ नि ?”

रूसी प्रतिनिधिले दिएको मस्कोभिच कारमा गुडेर शीतलनिवास पुग्दा त नारद साँच्चीकै मिस्टर एन्. मुनिजस्तै देखिए । आसमानी रङ्गको सुट, चाइनिज जुत्ता इत्यादिले ठाँट्टिएका । तर घाँटीमा तुलसीको कण्ठी र हातमा वीणा भने छँदै थियो । बेलुका बेलाइती बैठकको कक्टेल पार्टीमा उनी सन्ध्या नगरी भोजन ग्रहण नै गर्दिन भनी अड्केकोले आयोजकहरूले फकाइफुल्याई बाथरुमभित्र पसाइदिए । तर घण्टाभर बितिसक्यो, सन्ध्या गर्न गएका नारद अहिले आउलान् छैन, भरे आउलान् छैन । लाचार भएर पार्टीका आयोजक ‘हल्लो मिस्टर मुनि !’ भन्दै बाथरुमभित्र पसेर हेर्छन् त मुनि समाधिमा ! बल्लबल्ल समाधि खुलाइयो- जापानी प्रतिनिधिले ल्याएको ट्रान्जिस्टरको सहायताले समाधि छुटेपछि जापानी प्रतिनिधिले त्यही ट्रान्जिस्टर समर्पण गर्दै मुनिजीसँग निवेदन गरे- “यो सबभन्दा पछिल्लो प्रडक्सन हो ।” बजिरहेको ट्रान्जिस्टर हातमा लिएर नारदले सबैतिर छामछामछुमछुम गरे, मीठो स्वर मात्र सुनिन्छ, देखिने केही होइन । नारद साँच्चै जिल्ल परे । यो सानो बाकसभित्र कुन संसार छ, जहाँ अप्सराका छमछम र किन्नरीका कोकिल कण्ठबाहेक अरू केही सुनिदैन । उनले सोचे- भगवान्को छातीमा विराट् ब्रह्माण्ड छ भन्थे, कसो यही त होइन ? चर्मचक्षुले के देखिन्थ्यो र भन्ने ठानेर उनले ट्रान्जिस्टरलाई ढोगिदिए । अनि विचार गरे यस्ता अलौकिक वाकस छोडेर को यो वीणाको घाँडो भिरोस् । पार्टी सकिएपछि जर्मन युवतीले घाँटीको कण्ठी फकालेर एन्टी क्रिज टाई बाँधिदिइन् ।

ट्रान्जिस्टर र क्यामेरा भिरेर भोस्तोक युगको जेन्टलम्यान भएका मिस्टर एन मुनि जनसेवा भवनमा च्यारिटी शो हेर्न लगिए । अनेकौं नरनारीको जमघटले जनसेवा हल धिपिक्के भएको थियो । नारदले देखे- भित्र फेरि अर्को संसार रहेछ, त्यस्तै हँसीखुसी र रहरमिताको । गायनवादन गरुन्जेल त उनलाई त्यति अचम्म लागेन, तर जब पर्दामा नाच सुरु भएथ्यो नारद ‘ओहो उर्वशी, तिमी पनि यहाँ !’ भन्दै पर्दातिर दौडेको मार भित्तामा ठोक्किएर घोप्टिन पुगे नर्तकीको खुट्टानिर । यसले गर्दा हलको पर्दा च्यातियों, करेन्ट सट भएर जनसेवा भवन हुरहुर बल्यो, त्यताबाट पाइन्ट स्यारेर कुलेलम ठोकेका नारद यहाँ पुगे उहाँ पुगे पत्तो भएन ।

मिस्टर एन्. मुनि वेपत्ता भएपछि उनलाई खोज्न विश्वका प्रमुख राष्ट्रहरूको एउटा खोज कमिसन गठित भयो र कमिसनका प्रतिनिधिहरूलाई लिएर अन्तरिक्ष-मानवको खोजी गर्न न्युयोर्कबाट उडेको विमान आजसम्म काठमाडौं आइपुगेको छैन ।

०००
‘काउकुति’ (२०१९),
‘भैरव अर्यालका हास्यव्यङ्ग्य’, भैरव पुरस्कार गुठी, (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x