साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गलबन्दी

गलबन्दीबाट तुलेगाँडाको दृष्टिमा अब मानचित्रभरि लाटैलाटाका देश देखिन्छन्, ऊ कोलम्बसभन्दा पनि ठूलो कोलम्बस हुन्छ, कतैको प्रधानपञ्च हुन्छ त कतैको प्रधानमन्त्री ।

Nepal Telecom ad

भैरव अर्याल :

लाटा ‘देशाँ’ गाँडो तन्नेरी भन्ने उखान सुने भने विश्वका समस्त गाँडाहरू धमाधम मानचित्र पल्टाएर धुईधुइँती खोज्न थाल्दा हुन्- त्यो लाटाको देश कुन महाद्वीपमा कहाँनेर पर्छ ? त्यस देशको भौगोलिक स्थिति कस्तो छ र किन त्यहाँ तन्नेरी हुने अधिकार गाँडाको लागि मात्र सुरक्षित हुन्छ ? लाटाको देशमा जाने भिसा कहाँबाट लिनुपर्ने हो र कुन प्लेन वा ट्रेन समाएर त्यहाँ पुग्न सकिने हो इत्यादि । तर उनीहरूलाई कसले बुझाइदिने ? लाटो भनेको बाटो न घाटोसित दगुर्ने प्राणी हो, जो इतिहासको फेदीदेखि थिति न ठेगानासित गुँड जमाउँदै आएको छ । हेरिल्याउँदा प्रत्येक देश लाटैलाटोको निर्माण हो तर हेरिलैजाँदा जहाँ बसे पनि लाटो स्वयं देशविहीन हुन्छ ।

ऊ पनि भन्थ्यो- कोलम्बसले अमेरिका पत्ता लगायो भने उसले लाटा देश ठम्याउन किन सक्तैन ? तर ऊ कोलम्बस होइन, ऊ त हो तुलेगाँडो, तुलामा राखेर जोख्ने हो भने जीउ जति धार्नीको छ, त्यति नै धार्नीको थियो उसको गाँड । त्यसैले उसको नाम पनि तुलेगाँडो, उपाधि पनि तुलेगाँडो । वास्तवमा ऊ लाटो नै होइन, गाँडो मात्र हो, तर राम्रैराम्राका बीच गाँडो हुनु पनि उपहासको भाँडो हुनु हो, त्यसैले पार्नु मर्का पारेको छ, उसलाई त्यो गाँडले । अन्तर्वार्ता गर्न जान्छ गाँडले पहिल्यै बहिर्वाता गरिदिन्छ, सभाभित्र पस्ता सबैको खिसी आकर्षित गरी सभापति बिर्साइदिन्छ उसकै गाँड । त्यसैले ऊ झर्किन्छ, रुन्छ र रुँदारुँदै हाइय्य गर्छ, एकैछिनमा मन्त्री हुन्छ ।

त्यो लाटाको देश हो त ? केही थाहा छैन उसलाई, केवल यत्ति थाहा छ, ऊ मन्त्री हो- सबैबाट सम्मानित, सबैबाट प्रशंसित । पण्डितहरू उसको गाँडको माहात्म्य गाउँछन्- अघिल्लो जन्ममा ऊ सरस्वतीको साह्रै प्यारो भक्त थियो, एक दिन उनले के माग्छस् भनी सोधिन् । ठाडो घाँटी लगाउँदै उसले भन्यो- “मलाई विद्यामृत दिनुहोस् ।” सरस्वतीले तथास्तु भनी वीणाको गट्टाले उसको घाँटीमा छोइदिइन् । जन्मजन्मान्तर नसिद्धिने गरी समस्त विद्याहरू पोको परेर उसको कण्ठमा झुन्डिए, त्यसैले मन्त्रीज्यूको विद्वत्ता अनुपमेय छ, अपरिमेय छ इत्यादि । उसलाई विश्वास लाग्दैन, तर इतिहास व्याख्या गर्दछ- मन्त्रीज्यू ती गण्डक ऋषिका सन्तान हुनुहुन्छ, जसले तपस्या गरेकोले नदीको नाम नै गण्डकी रहेको थियो, गण्डक गाँडवान् महर्षि थिए, त्यसैले मन्त्रीज्यू पनि आधुनिक जगत्का एक महर्षि नै हुनुहुन्छ । अझ उसलाई पत्यार लाग्दैन, तर कवि गाइदिन्छ-
हे विशाल रुद्रघण्टीश्वर
यो तिम्रो गाँड होइन, गहना हो
दुःखसागर तर्ने बहना हो ?

हो त नि, ऊ दङ्ग पर्छ, मक्ख पर्छ, नोकर्नीको हात समाएर ट्विस्ट गर्छ । तर अपशोच । खाटबाट लडेर गाँड ठोकिन्छ, रगत बगाउँदै झल्याँस्स हुन्छ- ऐना हेदां आफूलाई तुलेगाँडै पाउँछ ।

उसको सपना सत्य थिएन, तर यो असत्य कुरो पनि होइन । ठूलो हुन सके गाँडै पनि गहना हुन्छ, कृष्णको चीरहरण लीलामा गनिएझैँ, भियतनामको नरसंहार शान्तिको निम्ति भनिएझैँ । तर ठूलो कसलाई भन्ने ? घर ठूलो, बैड ब्यालेन्स ठूलो, दर्जा ठूलो, अधिकार ठूलो, डाँको ठूलो, देश ठूलो, डन्डा ठूलो या झन्डा ठूलो । उसको केही पनि छैन, छ भने त्यही गाँड छ सबैभन्दा ठूलो । त्यसैले ऊ ठूलाबडामा गनिन सक्तैन, किनभने चुत्थो मान्छेको रुद्रघण्टी नै पनि गाँड भइदिन्छ, दुनियाँमा गाँड गहना हुने त कुरै छैन । तुलेगाँडो हताश हुन्छ, निराश हुन्छ ।

अनि उसलाई झोक पनि चल्छ- भएभरका लाटागाँडा बटुलेर म नेता किन नभइदिऊँ ? गाँडाको ग्लानि खोरन्डालाई पनि हुन्छ, खोरन्डाले जति खिसी कानाले पनि पाउँछ । ऊ आफ्ना साथीहरूसित प्रस्ताव राख्छ – एउटा सङ्गठन बनाउने, जसको नाम रहनेछ- लाटागाँडा एवं लुलालङ्गडा सम्मान समिति । तर खल्वाट धूर्त हुन्छ- सभापतिको बाक्लो पगरी उसलाई चाहिन्छ । तुलेको चित्त बुझ्दैन, किनभने उसमा अरुको जस्तो कमी छैन । हुन पनि गाँड एउटा बढग्रन्थि हो, विशेष अङ्ग हो, जुन जो पायो उहीसित हँुदै हुँदैन । खुट्टे खड्काले निहुँ खोज्छ, त्यसो भए उसको खुट्टो झन् खम्बाजत्रो छ । मोटो सुँड हुने गणेशलाई सबभन्दा पहिले पुजिन्छ भने उसको खुट्टो सभापति बन्न किन सक्तैन ? ऊसित थोरै भए पनि गणेशत्व छ तर डुँडेले सभा ब्याकआउट गर्छ । ऊ सद्दे मान्छे गाँडाचर्चाको गोष्ठीमा किन बस्छ ? नभन्दै हो पनि, पन्जाभित्रको हातलाई कसले डुँडे देख्छ सङ्गठन गठन नहुँदै विघटन हुन्छ, तुलेगाँडो जिल्ल परेर गाँड कोतर्छ ।

हुन त ऊ पनि त्यस्तै । बाठैबाठासँग बाँच्नुपरेपछि उसले पनि बाठो बन्नै पर्छ । बठ्याइँको दीक्षा लिन छोप्ने विद्या जान्नै पर्छ । हो त नि, यहाँ कसले के छोपेको छैन ? टेरिलिनको सूटले दाउरिएको आङ छोपिन्छ, एक बट्टा पाउडरले चाउरिएको छाला छोपिन्छ, डिग्रीको साइनबोर्डले दिमागको गोबर छोपिन्छ, मानको पगरीले बेइमानीको घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाको राल छोपिन्छ । हो, हो- गाँडाको गम कम होइन- गलबन्दीले गाँड छोप्न सकेमा तन्नेरी हुन अरू केही चाहिँदैन । तुलेगाँडो ङिसिक्क हाँस्छ ।

गाँड उसको कत्रो समस्या ? तर समस्याको समाधान कति सजिलो छ एउटा गलबन्दी गुतिदिनु । अनि कसले भन्न सक्छ रङ्गीचङ्गी गलबन्दीभित्र जाँडको पुङ्गोजस्तो एउटा कुहिएको गाँड पनि छ । कसैले भनिहाले पनि जवाफ दिनुपर्छ भित्रभित्र खोतल्ने हो भने ककसको के के छन्, के के छन् ? ऊ श्री ‘क’ लाई सम्झन्छ- जसले एक हजार घर लुटेको थियो, सयौँ घरमा पोइलाई बधिर स्वास्नीको सतीत्व लुटेको थियो, रामनामीको गलबन्दीले ऊ कति सजिलैसित आफ्नो अपराधको गाँड छोप्छ, महामहोपाध्याय बनी नैतिकताको व्याख्या गर्छ ।

श्री ‘ख’ लाई सम्झन्छ, श्री ‘ग’ लाई सम्झन्छ- मासुको नहोस् सही, पापको गाँड उनीहरूको पनि छ, ऊ देख्छ- जजसको ठूलो गलबन्दी छ तिनको गाँड पनि ठूलै हुन्छ, तर ऊ गलबन्दी गुत्दैन ।

तर उसले नगुतेर के गर्नु ? आजको विश्वमा सबभन्दा बढी खपत छ गलबन्दीको । निरस्त्रीकरणको प्रस्ताव एउटा गलबन्दी हो- आणविक गाँडको । शान्तिवार्ता एउटा गलबन्दी हो- करतुत र कुचक्रका गाँडको । यसरी सोच्तै ल्याउँदा ऊ ठम्याउँछ ऊ मात्रै होइन, उसको समाजै गंड्याहा छ, उसको युगै गड्याहा छ । आफू चुत्थो मान्छे भएकोले साह्रै ठूलाको कल्पना गर्न सक्तैन र मात्रै, नत्र ऊ यो पनि ठान्दो हो यो विश्व नै ब्रह्माण्ड नभई ब्रह्मगाँड होला । पृथ्वी त्यस गाँडमाथिको खटिरा, अरु हुन सक्छ- मान्छेचाहिँ त्यस खटिराभित्रको कीरा ।

छ्याः आफू गाँडो हुँदैमा सबैतिर गाँडैगाँड देख्न ऊ चाहँदैन । तर उसले नचाहेर के गर्नु ? गाँड यथार्थ हो, गलबन्दी त त्यसलाई छोप्ने आदर्श मात्रै । त्यसैले यथार्थवादलाई ठूलाबडा मन पराउँदैनन्, किनभने यसबाट समाजको गाँड देखिन्छ- जो सभ्यताको विरुद्ध कर्म हो । हो, त्यसैले त तन्नेरीलाई गाँड देखाउन लाज लाग्छ, अनि गलबन्दीमै रमिता देख्छ, बुढालाई गाँड कोट्टयाउनु अपराध लाग्छ- अनि गलबन्दीकै कविता लेख्छ, तुलेगाँडो चिन्तक बन्छ, ऊ पुराण पल्टाउँछ, इतिहास पल्टाउँछ ।

रामको पनि गाँड थियो । ऊ आफू नर भएर वानर बटुल्छ, आफू भुँडी बोकाउँछ, स्वास्नीलाई बात लगाउँछ । एउटाको रिसमा हजारौँको घरबार जलाउँछ, सबलाई आदर्शको शिक्षा दिन्छ- तर मनमनै उसको गाँड पाक्छ- पश्चात्तापको पीप बगाएर, अनि सरयूमा हामफाल्छ, मर्छ । तर वाल्मीकि गलबन्दी गुताइदिन्छन् उसलाई । ऊ पूजनीय लाग्छ हामीलाई । चन्द्रशमशेरलाई लोभ लाग्छ, त्यस्तै गलबन्दीको अनि सेढाई बुन्न थाल्छ चन्द्र-मयूख । तर जङ्गबहादुर साढे बाठो मान्छे हो, आफ्नो गाँड छोप्न । ऊ कृष्णका आदर्शको गलबन्दी गुत्छ । नाङ्गी तरुनी उसको आराध्य, परचक्री तरुनी उसकी साध्य । लाटा गोपहरूका देशको कृष्ण एउटा गाँडो तन्नेरी, त्यसैले हत्या उसका चुट्कीको काम, सर्वसहार उसको दर्शनको अन्तिम धाम । तुलेगाँडो युग जोर्छ- महाभारतको हिटलर कृष्ण, कुरुक्षेत्र उसको ग्यासच्याम्बर, जहाँ आइकम्यानको पूणर्ावतार अर्जुन भुट्छ- आफ्ना दाजुभाइहरूलाई, लाखौँलाखौँ आइमाईका छोराहरूलाई, पोइहरूलाई । आखिर गाँड पाक्छ, कुहिन्छ, सलबलाउँछन् पश्चात्तापका कीराहरू । ऊ आत्महत्या गर्छ डा बाड्ले झैँ । मर्दामर्दै व्यासले ओढाइदिन्छन् स्वर्गारोहणको सुकिलो गलबन्दी । के गीता एउटा बलियो गलबन्दी होइन कृष्णको ?

धत्तेरी ! म कस्तो नास्तिक, आफू गाँडो भएँ भन्दैमा आफ्ना पूजनीय ऐतिहासिक पुरुषहरूलाई उडाउनु अपराध हो, अनास्था हो । के भित्र विष्ठा छ भन्दैमा आफ्नै पेटलाई चर्पी मान्ने ? तुलेगाँडो आफैलाई हप्काउँछ । अब ऊ कसैलाई निन्दा गर्दैन । यस लोकमा त गाँडो भइयो भइयो, परलोकमा उसको गाँड हुने छैन, ऊ सुन्दर र सलसलाउँदो हुनेछ किनभने उसले कसैको हत्या गरेको छैन, उसले कसैलाई दुःख दिएको छैन, ऊ स्वर्गे जान्छ सरासर । उसको मन प्रफुल्ल हुन्छ, तकिया सजिलो लाग्छ । सोच्तासोच्तै ऊ हर उड्छ । एकैछिनमा ऊ एउटा ठूलो ढोकामा उभिन पुग्छ । पालेले चर्को डाँकोमा उसलाई सोध्छ- तिम्रो नाम के ? कहाँबाट आयौ र बाँच्ताको ल्याकत कस्तो थियो इत्यादि । तुलेगाँडो सबै ‘हुलिया’ यथार्थ दिन्छ र भन्छ- मैले जीवनभर धर्मैधर्म गरेको छु । घोक्रेसुत्ती लाउदै पाले गर्जन्छ- गन्हाउने गाँड लिएर धर्मात्मा भन्दै अप्सराको देशमा आउन पाइन्छ ? तुरुन्तै जान्छस् भने गैहाल् नत्र सोझै रौरवमा खसालिएलास् मोरा ! ऊ भुतभुताउँछ- स्वर्ग गोराहरूको हो, स्वर्ग जोधाहाहरूको हो, यहाँ कत्राकत्रा सेठ, कत्राकत्रा शासक, कत्राकत्रा मन्त्री र कत्राकत्रा विजयीहरू छन्, यस्तायस्ता भएको ठाउँमा आउने को रे भने तुलेगाँडो । ऊ जिल्ल पर्छ । हुन त हो नि । दक्षिणा लिँदै स्वर्गको पासपोर्ट बाँड्ने पण्डितहरूलाई सम्झन्छ ऊ, धर्म र पापको तिनलाई के वास्ता ? दस रुपियाँको गोदान डाँकाले गरे पनि स्वर्गकै बास पाउँछ । उसले आफू हजार दुःख खपेर पनि अरुलाई दुःख नदिएको सित्तै भो त ? सित्तै भो त ? ऊ चिच्च्याउँछ । स्वास्नी बोलाउँदै उठाइदिन्छे के सित्तै भो तपाईंको ?

उसको यो लोक पनि सित्तै भो, परलोक पनि सित्तै भो । यो लोकको हैसियत राम्रो नहुनेको परलोक पनि कुम्भीपाक हुन्छ । हत्या गरेरै भए पनि कमाउनुपर्छ, लुटलाट गरेर पनि जमाउनै पर्छ, करोडपति हुन सके हजारको पाटी बनाएर अखबारमा दानको विज्ञापन पाइन्छ, ढ्वाङ नठटाई गरेको धर्म स्वर्गको तथ्याङ्क विभागले कहाँ सुन्न सक्छ ? त्यसैले त व्यापारीहरू बहुतै चतुरा हुन्छन्, धरोधर्मको गलबन्दी गुतेर मन लागेको भाउ गर्छन् ।

धत्तेरि, फेरि म नास्तिक भएँ । तुलेगाँडो पछुताउँछ । हो, दुनियाँमा कसैको पनि गाँड छैन, उसको मात्रै छ, ऊ मात्रै अभागी छ, ऊ मात्रै हतभागी छ । त्यसैले ऊ गाँड चिर्न अस्पताल पुग्छ । रातो झोल प्याउदै नर्स गिज्याउँछे- गाँडको ओखती निल्न गाह्रो पर्छ, एउटा राम्रो मफलर गुत्ने गर्नोस् न, देखिदैदेखिदैन नि । उसलाई झोक चल्छ, ऊ लुकाएर सिप्लिस पाल्ने जातको मान्छे होइन । त्यसैले गाँड भनेको चिर्नै पर्छ चाहे भित्री होस्, चाहे बाहिरी । तुलेगाँडो एक्लै चिच्च्याउँछ । डाक्टर फकाउँछ- हुँदैन बा हुँदैन । गाँड चिर्दा रुद्रघण्टी चिरिन्छ, मरिन्छ । त्यसैले एउटा पट्टी बाँधिदिन्छ उसलाई, पट्ठी स्वास्नीको आँखा पहिले पट्टीमै पुग्छ । गाँड चिर्न गएको मान्छे गाँडमा साइनबोर्ड टाँसेर आउँछ, ऊ पश्मिनाको गलबन्दी टक्रयाउँछे, तर तुलेगाँडो चिच्च्याउँछ- गाँडको समस्या गलबन्दीले समाधान हुँदैन । ऊ गलबन्दी फ्याँकिदिन्छ, गाँड हल्लाउदै बजार घुम्छ ।

ऊ गाँडो मात्रै होइन, लाटो पनि हो, लाटो मात्रै होइन, अब बौलाहा पनि भो- सर्वत्र यही चर्चा चल्छ, के ऊ पक्कै बहुलायो । ऊ आफैलाई शङ्का लाग्छ, घरमा पुगी ऐना हेर्छ- गँड्याहा र बौलाहाको समन्वय झन् नरमाइलो प्रतीत हुन्छ । ऐनाको गाँडले प्रश्न गर्छ- के गाँडको समस्या गलबन्दीले समाधान हुन्छ ? ऊ गलबन्दी ओढ्दै जवाफ दिन्छ- विज्ञानले चिर्ने चक्कुभन्दा छोप्ने गलबन्दी धेरै बनाएको छ ।

गलबन्दीबाट तुलेगाँडाको दृष्टिमा अब मानचित्रभरि लाटैलाटाका देश देखिन्छन्, ऊ कोलम्बसभन्दा पनि ठूलो कोलम्बस हुन्छ, कतैको प्रधानपञ्च हुन्छ त कतैको प्रधानमन्त्री । हुँदाहुँदै भूगोललाई भकुन्डाकै बुङ्ग हानिदिन खोज्छ ऊ, तर ऊजस्ता गाँडा अरु पनि त छन् नि ! भकुन्डो राम्रैसित सुरु हुन्छ । लाटाहरूको सातोपुत्लो जान्छ, रेफ्री हुने मान्छे नै छैन । त्यसैले उनीहरू पूर्व फर्केर चिच्च्याउँछन्- यो विश्वमा जान्नेसुन्ने को छ हँ ?
जवाफ आउँछ- तुलेगाँडो र म ।

०००
रचनाबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
0
Would love your thoughts, please comment.x
()
x