भैरव अर्यालआधा घण्टा
एउटा नेताले अर्को नेतालाई ठाडै सुकाएर सत्ता हत्याउँदो हो, एक देशको राजधानीमा फूमन्तर गरेर अर्को देशमा भैँचालो ल्याइँदो हो । यस्तैमा एक दिन पृथ्वीलाई नै फुक्ता फुक्ता फुक्ता सानो गुज्जाजत्रो पारेर समुद्रका छालभित्र फुत्त फालिदिन्थ्यो कि कुनै तान्त्रिकले ?

भैरव अर्याल :
बस आएन ।
आफूलाई बेर भएको दिन बसले झन् अबेर गरिदिन्छ । बेर र अबेरको अर्थ कसरी एउटै हुन्छ ? ‘अ’ लागेपछि अर्थ उल्टनुपर्ने । भाषा पनि ठाउँठाउँमा रक्स्याहाझैँ बाटो न घाटो दगुरिदिन्छ । अस्ति राति पिङ्गलप्रसादले साफ रक्सी पिएछ । भन्थ्यो रे अब सडकमा हिँड्ने होइन, सुत्ने गरौँ । कुरा उसको पनि कम छैन । हुनेहरू बेस्करी कार कुदाएर उपयोग गरून्, नहुनेहरू जुत्ताको समेत भार नदिई हलुकासँग उपयोग गर्न चाहन्छन् तर पैदलयात्रीहरूलाई निषेध गरेर पेटीमा घोक्याइदिने किन ? सायद यही असमानताको विरुद्ध रक्स्याहा क्रान्ति गर्छ- सडकभरिभरि भएर सडकको उपयोग गर्छ । तन्द्रङ्ङ्ग सडकमै सुतेर स्वतन्त्र सपनाको उपभोग गर्छ । मोटर मात्र होइन, रङ्गीचङ्गी रकेटैमा शयर गर्छ
सपना भनेको रक्सी हो कि रकेट हो, त्यो मलाई थाहा छैन – तर सपनामा यस्तो यातायात समस्या हुँदैन । आजै राति सपनामा म घरबिदा लिएर आफ्नो घर गएछु । तनहुँको एउटा डाँडामा चिटिक्क परेको एउटा बङ्गला रहेछ, ग्यारेजमा मेरो एउटा हरियो टोयटा कार पनि रहेछ । स्वास्नीचाहिँ माइत गएकी ओखलढुङ्गामा । म आफै कार हाँक्तै हिमालको फेदीफेदी नाम्चेबजार पुगेछु र स्वास्नीलाई फोन गरेर आफू आएको जनाउ दिएछु । ससुराली पुग्नासाथ स्वास्नीले स्टकहोमबाट भर्खर आएको टेलिग्राम देखाएर मुस्कुराउँदै मलाई गाली गरी- “पर्सी नोबेल पुरस्कार लिन जानु छ हजुरचाहिँ आज सवारी हुने ?”, “लौत जाऔँ भनी ठाडै खुट्टाले म कार मोड्न थालेँ । स्वास्नी र छोरा पनि कारमा पसे । चाँडै पुग्नुपर्ने हुनाले मेरो गाडी यस्तरी कुदेछ कि पानीमा छ्यापल्याङ्ग हुँदा पो समुद्र आयो भन्ने थाहा पाइएछ । कारभरि पानी पानी, स्वास्नीको सारी पनि भिजेको आफ्नो सुट पनि । छोरो त झन् निचुक्कै । अब जमिनमा फर्की लुगा फेर्नुपर्यो भनेर मैले कार मोड्न बालेको मात्र के थिएँ झस्याङ्ग ब्यूझेछु । सँगै सुतेको सानु छोराले सु गरेर मेरो कट्टु र आमाचाहिँको पेटीकोटसमेत भिजाइदिइसकेछ ।
त्यो सपनाको जीवन सम्कँदा कुम्भकर्ण भएर छ महिना निदाउन पाए हुन्थ्यो जस्तो लाग्छ कहिलेकाहीँ । सायद यस्तै रङ्गीन सपनाहरूको स्वाद लिन अचेल एल्, एस्, डी, को प्रयोग बढेको होला ।
घ्यार्र गर्यो नि, बस आयो क्यारे ?
सपनामा त्यो विधि दगुर्ने मान्छेले विपनामा थोत्रो बस कुर्नुपर्छ । तर वैज्ञानिकहरूले कति कुरामा त सपना र विपनालाई एकछत्त पारिदिइसके बा । अस्ति कृष्ण भन्थ्यो- कुन्नि कहाँ हो तलमाथि लिफ्टजस्तै वरपर गर्ने स्विफ्ट’ पनि चल्न थाल्यो रे । यहाँ पनि चलाउन पाए महाराजगन्जबाट बटन थिच्यो सर्र शहीदगेट, त्यहाँबाट अर्को बटन थिच्यो सर्र सिंहदरबार । बटनको कुरा गर्दा अस्ति एउटा पत्रिकामा पढेको चर्चा सम्झिन्छु । अचेल कतिसम्म हुन घाल्यो रे भने बिहान उठेर सिरानमाथिको बटन थिचिदिएपछि कम्प्युटर कान्छाले पल्लो कोठाबाट आफै चिया पकाएर ल्याउँछ रे । टेबुलसमेत आफै तानी कपप्लेट सजाएर टक्याक्टुक्रुक् चाहिने कुरा सब सजाइदिन्छ रे । यसै गरी चिया खाने एउटी युवतीको गुनासो थियो- “यो बटन दाउने झन्झट मान्छेलाई कहिल्यै छुटेन । स्विच थिच्नै नपरी कम्प्युटर कान्छामा चिया खान दिने बुद्धि कहिले आउला ?”
खोइ त बस के मर्थ्यो ?
सके कतै बिग्रिएर अन्मरिएको होला । के भर यी ठाँडा मेसिनको । अस्ति फिलिपिन्समा एउटा जेट गोली लागेको गिद्धझैँ फ्यात्त एरोड्रममै खसेर चर्लामचुर्लुम्म भयो रे । सुविधा खोज्दाखोज्दै मान्छेले बटन थिच्नै नपरीकन कम्प्युटरले एक दिन भएजति बम भरर्र पड्काइदिए भने । बमै पड्काइदिए त केही थिएन । सुनिन्छ अब अफिसको काम उसको जिम्मा दिने रे । एउटा कम्प्युटर डाइरेक्टर, दुई-चारओटा क्लर्क, दुई-चारओटा पियन कामै खतम । मेरो ठाउँमा पनि मलाई खोसी एउटा कम्प्युटरै भर्ना गरियो भने झन् मज्जा, दिनभरि रङ्गरमिता गर्यो, बस्यो । न हाजिरको पीर न हजुरको । चौबीसै घण्टा फुर्सत पाए म के गर्थे त यो यान्त्रिकताको विरुद्ध क्रान्ति गर्थे- मामको बन्दोबस्त नगरी मान्छेको काम खोस्न पाइन्छ त ? अनि मान्छे र कम्प्युटर कुस्ताकुस्ती हुन्थ्यो । संसार पूरै हिरोशिमा पल्टन्थ्यो । हिरोशिमा भन्दा मैले हिरोमामाको कुरा सम्झेँ । मेरा मामाका गाउँको एउटा बौलाहा छ नि, हो त्यसैलाई हामी हिरोमामा भन्थ्यौँ, ऊ सधैँ कराइरहन्थ्यो- “ए घर नबनाओ, भत्किन्छ । घर नबनाओ, भत्किन्छ ।” कसैको घर बनाउने कुरा सुन्यो कि त हिरोमामा गएर सत्याग्रह गर्थ्यो- “खबरदार । घर नबनाओ, भत्किन्छ, भत्किन्छ ।” उसको कुरा सम्कँदा म फेरि एउटा कविता सम्झन पुग्छु-
‘काला केश नबाट है युवती हो फुस्किन्छ रे जोबन’
घर नबनाओ भन्ने बौलाहा र कपाल नकोर भन्ने कविमा के फरक ? गीताले भनेको मान्छे मर्दैन रे ।
बस पनि मर्दैन ।
यसको मतलब मरेपछि पनि यसै गरी बस पर्खनुपर्ला त । पण्डितहरू भन्छन्- “मर्त्यलोकदेखि यमलोकसम्म साह्रै यातना सहेर पैदैलै हिँड्नुपर्छ रे । तर हामी मरुन्जेल पनि त्यहाँ बससेवा चलिसकोइन त ?” वैतरणीमा सके पक्की नसके झोलुङ्गे पुल त पक्कै बनेको होला । सायद एक दिन यमराजले झोलुङ्गे पुलको उद्घाटन गर्दै भाषण गरिसके होलान् – ‘मान्छेहरूले युगौँदेखि पाएको दुःख घटाउने उद्देश्यले कुबेरलोकको आर्थिक सहायताबाट स्वर्गको सुप्रसिद्ध प्राविधिज्ञ विश्वकर्मालाई समेत यहीँ बोलाई उनकै निर्देशनमा यो वैतरणी पुलको निर्माण गरिएको हो ।’ साथै नरकमा एउटा नयाँ नोटिस पनि टाँसियो होला – पुल बनेकोले वैतरणीमा अब गाई नै दान गर्नुपर्छ भन्ने केही छैन- एउटा मोटो बँदेल वा राँगो दान गरे पनि हुन्छ । रोडशेष पनि सत्र पैसादेखि हैसियत हेरी एजेन्टबाजेहरूलाई बुझाइदिए हुन्छ ।
वैतरणीमा पुल हालेदेखि रौरव र कुम्भीपाकका बीच पनि बससेवा चलेको होला, स्वर्ग र नरकका बीच सोझै हवाई यातायात पनि चल्दो हो । कुनै दिन स्वर्गबाट नरक जान लागेको विमान मान्छेले अपहरण गरेर हाम्रो त्रिभुवन विमानघाटमा ओराल्न लगाउने हुन् कि ? स्वर्ग र नरकको अस्तित्व छ र त्यहाँ मरेका मान्छेहरूको आबादी छ भने ज्यूँदाले त जाल, जासुसी र जघन्यता गर्ने जमानामा मरेकाले नगर्दा हुन् भन्ने के ग्यारेन्टी ? मरेपछि हामी हुन्नौ भने हाम्रा वेदनाहरू पनि हुन्नन्, सम्भावनाहरू पनि हुन्नन् । वास्तवमा मलाई पिरेको मर्नुको पिरलोले हैन, सम्भावना नहुनुको पिरलोले पो त ?
आज बस नआउने नै हो कि त ?
पाँच-दस मिनेट अझ पर्खूँ । सेकेन्ड सुई घुमिरहेको छ- फनफन हवामिलको एरियलझैँ । ‘झैँ’ मात्र होइन प्रत्येक सेकेन्ड एउटा एरियल हो चेतनाको । वशिष्ठहरू बसीबसी भूत भविष्य वर्तमानको सबै कुरा थाहा पाउँथे रे । नारद ध्यानदृष्टिले एकै पटक विश्वमा कहाँ के भइरहेछ, तुरुन्तै बुझ्थे रे । उः त्यो नीलो सुटले नारदजीलाई अहिले भेट्यो भने के सोध्ला ? सायद मेरो प्रमोसन कहिले हुने हो भनी सोध्ला । त्यो रातो सारीले लोग्ने र छोराछोरीको भविष्य सोध्ली । उः त्यो ज्यापूदाइले सोध्ला- “अहिलेको वर्ष पानी कत्तिको पर्ला त बाज्या !“ तर मैले नारदलाई भेट्न पाएँ भने टुपी अँठ्याएर भन्ने थिएँ- “बाजे । आफूचाहिँ खराउको भरमा घरी सत्यलोक घरी मर्त्यलोक पुग्ने, हामी तिम्रै सन्तानले चाहिँ जोरपाटीबाट नयाँसडक जान घण्टौँ थोत्रो बस कुर्नुपर्ने ? खोइ त्यो तिम्रो पालाको ध्यानदृष्टि, खोइ त्यो मन्त्रशक्ति ? सब आफैले मासेर सिद्ध्यायौ ? शाखा-सन्तानलाई केही जेथा छाडिदिनुपर्दैनथ्यो ?’
त्यो मान्त्रिक जेथा पाएको भए यो यान्त्रिक दुनियाँमा किन हविगत खानुपर्थ्यो ? मनको जुन गति छ त्यसको सयकडा पच्चीस मात्रै पनि तनमा सार्न पाए मैले जान्याथ्यो ।
खोइ त आएन बस ।
म लुइँलुइँ हिँडेर गएको भए पनि यस बेला महांकाल पुगिसक्थेँ ।
महाकाल, भाटभटेनी पनि उड्थे रे बाबै । स्वतन्त्रसँगै उड्न दिँदा बमवर्षक विमानले झै जथाभावी बिगो गर्लान् भनेर बडे सिक्रीले बाँधेका रे तान्त्रिकहरूले । भाटभटेनी कहिल्यै भैँमा खुट्टा नटेक्ने रे, बाँध्दा पनि ऊ एक हात माथि तन्द्रङ्ग खुट्टा झुन्ड्याएर उभिइरहिछ । महर्षिसँग मन्त्र माग्नु र वैज्ञानिकसँग यन्त्र माग्नुभन्दा आफ्नै तन्त्रको विकास गर्न पाए कसो होला ? खोइ । जामुना गुभाजू ? बाह्रवर्षे इनार खोलखाल पार्नुपर्यो, केही जन्त्रतन्त्र लुकाइदिइराखेको छ कि ? तान्त्रिक दुनियाँ फेरि आयो भने म के बस कुरिरहँदो हुँ ?”
भात खाएर लुगासुगा लगाई एउटा तन्त्र जप्तै कलम टिप्थेँ, बिर्को उघारिनसक्तै अफिसको हाजिरकापी अगाडि पर्थ्यो । हाजिरकक्षमा उभिएर कापीमा नाम लेखिसक्न नपाउँदै तीन तलामाथिकी टाइपिस्टले नमस्ते गरिसक्थी । तैपनि एक सेकेन्ड किन अबेर गरिस् भनेर मलाई चड्कन दिन हाकिमले हात उठाए भने उनको हात गालामा नपर्दै म तान्त्रिकयानमा पेरिस पुगिसक्थें । चड्कन पर्न आँटेको गालामा मेरीशाँको चुम्बन पो परिराखेको हुन्थ्यो ।
बाटाघाटा जम्मै शून्य । सडकमा त मुटुका बिस्कुन हालिराखेका । किन रे भने बूढाबूढीका मुटुहरू बराबर ओसिन्छन्, त्यसैले दिउँसो घाममा रन्न तताएर बेलुका जड्दै सुत्ने रे । यसरी सुकाउँदा कसैको मुटु चीलले लगिदियो भने समस्या त त्यहाँ पनि बाँकी रहन्छ के समस्या ?
अर्को मान्छे चीलै भएर उडी मुटु खोसेर ल्याउन सक्तो हो नि ! युद्ध पनि तान्त्रिक हुन्थ्यो । एउटा नेताले अर्को नेतालाई ठाडै सुकाएर सत्ता हत्याउँदो हो, एक देशको राजधानीमा फूमन्तर गरेर अर्को देशमा भैँचालो ल्याइँदो हो । यस्तैमा एक दिन पृथ्वीलाई नै फुक्ता फुक्ता फुक्ता सानो गुज्जाजत्रो पारेर समुद्रका छालभित्र फुत्त फालिदिन्थ्यो कि कुनै तान्त्रिकले ? केही बेरै छैन । फेरि कसैले बराहको अवतार लिई दाह्रामा पृथिवी च्यापेर नयाँ इतिहासको सुरु गर्नुपर्ने पो हो कि ? घुम्दो पृथिवीको इतिहास फेरि घुम्न के बेर ? साह्रै बेर भो, बस आएन ।
अफिसमा हाकिम खोज्दै होलान् – “हरिप्रसाद खोइ त ? अझ आइपुगेको छैन ?” गर्जदा हुन्- “ठोक गयल त्यसलाई । के अड्डा भनेको कर्मचारीको ससुराली हो ?” उनको पनि ससुराली जानुपर्छ क्यारे आज । सालीको बिहा भन्थे । सालीचाहिँ त राम्रै हो, उसको मस्याकमुसुक मोनालिसाको जस्तै छ । रोममा त्यो मेरी गाइड थिई नि एउटी, ऊ भन्थी मोनालिसा कुनै आइमाईको होइन, जिन्दगीकै चित्र हो । तर भिन्सी अब पुरानो भैसक्यो रे। साँच्ची नारदको टुपी, आइन्स्टानइको टाउको, पिकासोका आँखा, घण्टाकर्णकाे कान, हनुमान्को चिउँडो, आर्मस्ट्रङको ओठ, उर्वशीको गाला, सोक्रेटसको नाक, काफ्काको कन्चट, लेनिनको दाह्री, कामदेवको रूप, बर्नार्ड शाको रङ, जामुना गुभाजूको जन्तर, भानुभक्तको टोपी सबै मिलाएर एउटै चित्र बनाउनु नि कस्तो होला ? मान्छेकै चित्र बनाउने हो भने म त भन्छ- “टाउको टेकेर कुद्ने, खुट्टा टेकेर पर्खने मान्छेको चित्र बनाउनुपर्ला कि ?”
उः बस आयो ।
०००
‘भैरव अर्यालका हास्यव्यङ्ग्य’ (२०६०)
Subscribe
Login
0 Comments
Oldest










































