साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मटितेल मेला- एक परम्परागत पर्व

चाड मनाउन सट्याकसुटुक बजारको शरण नपरी नहुने हामीलाई आफ्ना देशमा उत्पादन गर्न नसकेको मट्टितेल हाहाकार नहुने कुरै भएन । त्यसैले सजायस्वरूप बेलाबेला मटितेल मेला वा पेट्रोल पर्व मनाउन पर्नु आश्चर्यको कुरा त हुँदै होइन ।

Nepal Telecom ad

भैरव अर्याल :

हाम्रा शहर बजारतिर बेला न कुबेला लाग्ने एउटा आफ्नै किसिमको मेला छ- मटितेल मेला । यो सार्वजनिक मेला नेपालका प्रायः सबै शहरमा लाग्छ तापनि राजधानी भएकाले काठमाडौंमा यसको चहल-पहल बढी हुनु स्वाभाविक हो । शहर बजारमा लाग्ने हुनाले यो मेला शहरियामै मात्र सीमित हुन्छ कि भन्नु भूल हो, कारण मटितेल मेलाको पहिलो वैशिष्ट्य नै के हो भने मेला शहरमा लाग्छ, मनाउने चाहिँ धेरै गाउँले हुन्छन् । त्यसैले भन्नुपर्छ- मटितेल मेलामा स्थानीय, जातीय, वर्गीय वा लिङ्गीय आधारमा त्यति भेदभाव हुँदैन र प्रत्येक मटितेल पीडित नागरिक अनागरिकले मटितेल पाए पनि नपाए पनि रित्ता टीन बजाउँदै मेलामा भाग लिन चाहिँ पाउँछन् । दोस्रो वैचित्र्य यो मेलाको नियम नीति ठाउँ मिति केही पनि निश्चित हुँदैन । कच्छमा कुस्ती चल्यो भन्ने फुइँकी मात्र यहाँ चल्यो भने पनि डिलरका ड्रममा मटितेल छचल्किन्छ । त्रिभुवन राजपथमा पैह्रो खस्कँदा साहुजीका टीनका चाडमा पर्दा खस्छ । अझ कहिलेकाहीँ त केको उपलक्ष्यमा मटितेलको टीनले गुप्तबास खोजेका हुन् खुद्रे मटितेल साहुलाई पत्तै हुँदैन । हत्त न पत्त मटितेल बुइँगलमा थन्क्याएर ऊ सोध्न निस्कन्छ मटितेल किन नपाइएको हँ ? तर जुनसुकै उपलक्ष्यमा पनि मटितेलको गुप्तवास अभियान सङ्गठित रूपमा गर्न सक्नु हाम्रा बजारहरूको वैशिष्ट्य हो ।

जब पूर्ण टीनहरू गुप्तबास बस्छन् तब रित्ता टीनहरूको तडक भडक सुरु हुन्छ र रित्ता टीन मटितेल मेलाका मुख्य चिन्ह हुन पुग्छन् । नेपाली भाषामा मेलालाई हेर्न नभनीकन ‘मन’ भनेको पनि यही सनातन मटितेल मेलाको विचार गरेर हो कि ? जेहोस्, शिवरात्री र बालाचतुर्दशीको मेला भर्ने क्रिया भन्दा बेला-बेलाको मटितेल मेला भर्ने काम सार्थक छ, कारण यो मेलाका जात्रुहरूको हातमा रित्तो टीन हुन्छ । जब ती टीनहरू एक दोश्रामा ठोकिएर टर्‍याङ-टुरुङको आवाज निस्कन थाल्छ तब बुभनोस् मटितेल मेलाको परम्परागत मङ्गलधुन सुरु भयो ।

यो मेलाको परम्परा हाम्रो देशमा कहिलेदेखि चल्न थालेको हो किट्न सकिँदैन र जहाँसम्म गाउँगाउँ-घरघर विजुली पुग्दैन त्यहाँसम्म टुट्न पनि सक्तैन । कमसेकम बिजुलीले भ्याएको ठाउँमा त टुट्नु पर्थ्यो नि, तर बिजुलीको गडबडीले बराबर रेडियोसमेत बन्द हुने ठाउँमा मर्करी-मर्करीले घर छोपे पनि मटितेल नछोई निर्वाह गर्न सक्ने को। अझ जडी कुरा त के भने पहिले-पहिले भान्सामा मटितेल लाँदा छोइन्छ भन्ने नेपाली परिवारहरूको समेत अब मटितेल नभई भात पाक्दैन । हाम्रो यो मटितेलालम्बी आवश्यकता र बानीले बेला-बेला यस्तो बाध्यता जन्माइदिन्छ कि जतिसुकै भलाद्मीले पनि रित्तो टीन हल्लाउँदै मटितेल साहुका चीसा सिँढीमा सत्याग्रह गर्नुपर्छ । तर मटितेल मेलामा लाग्ने यो सट्याक्-सुटुक बजार सिधासाधा ग्रामीणले कहाँ देख्छ ? देखेरै पनि यस्तो बजारमा चल्ने काला-सेता रुपियाँ उसले कहाँ तिर्न सक्छ ? त्यसैले मटितेल मेलाका यात्रुहरूको आखिरी शरण ठाउँठाउँका लाममा जम्दछ । यी लामहरूले शहरको शोभा मात्र बढाउँदैनन् नेपालीका विवशताको एक झलक पनि दिन्छन् । किनभने त्यहाँ तीन दिनदेखिको बाटो नूनतेल लिन आएका साहिँला दाइ पनि हुन्छन्, तीन दिन ब्लड बैङ्क कुरेर रक्तदान गरी मटितेल बेसाउन आएका माइलादाइ पनि देखिन्छन् । गउनको गुन्यू लाउने बूढीआमै पनि हुन्छिन्, लुङ्गी वा बेलबटम लगाउने बैनीनानी पनि हिन्छन् । बेलाबेला यति रमाइला भेला गराइदिने मटितेल मेलालाई नरमाइलो किन भनिरहनु ?

आफ्नै देशमा तीन-तीनवटा सुगर मिल हुँदाहुँदै त बेलाबेला चिनी हाहाकार हुन्छ । चाड मनाउन सट्याकसुटुक बजारको शरण नपरी नहुने हामीलाई आफ्ना देशमा उत्पादन गर्न नसकेको मट्टितेल हाहाकार नहुने कुरै भएन । त्यसैले सजायस्वरूप बेलाबेला मटितेल मेला वा पेट्रोल पर्व मनाउन पर्नु आश्चर्यको कुरा त हुँदै होइन, तैपनि अहिलेको मटितेल मेला कहिले टुङ्गिने हो र अर्को मटितेल मेला कहिले सुरु हुने हो भन्ने खसखस प्रकट गर्दैमा के खती होला त ?

०००
‘गोरखापत्र’ २८ वैशाख २०३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x